~रमा देवकोटा पराजुली~
नारीकै कोखमा
नौ महिना आश्रित पुरुष
नारी
आधा आकाश हुन् भन्छ
नारीको स्तनपानले
बाच्न सिकेको पुरुष
नारी
अर्धांगिनी हुन् भन्छ
…………
सफलतामा
पुरुषत्व देख्छ
विफलतामा
नारीको असहयोग देख्छ
जग भुलेर
गजुरमा सम्पन्नता देख्छ
र भन्छ,
नारी अर्धांगिनी हो
………………
महलहरू
अग्ला कलात्मक देखिन्छन
भित्तामा कुदिएका कलात्मक चित्रहरू
सुन्दर लाग्छन
मानिसहरू भन्छन
कति सुन्दर गगनचुम्बी महल
तर मानिसहरू
जमिन मुनिको जगको कुरा गर्दैनन्
कति कठोर सत्य
गगनचुम्बी महल
अग्ला कलात्मक दरबार
मन्दिर, गिर्जाघरहरू
आखिर बलियो जगमा उभिएको न हुन्छ
जग
केवल अदृश्य
केवल भासिएको
जमिन मुनी
चर्चाहीन
शब्दहीन
हामी नारी जस्तै
…………………………..
पुरुष
हाम्रो सुन्दरता कालो बुर्काले छोपेर
फतवाको आडमा राज गर्न खोज्छ
प्योंग्यांगको नारकीय जिबनमा
आगो सल्काएर जलाउछ निस्वार्थ प्रेमलाई
सत्तान्धताको बेलगाम दौडमा
पुरुष
बर्लिन, जेनेभा र वासिंगटनमा
सोकेशमा सजाएर बिक्रि गर्छ महिलालाई
निर्लज्ज भोगेर अस्मितालाई
पानी फोहरा र तलैयाको रमणीयता हेर्दै
नारी अधिकारको फोस्रो खेस्रा कोर्छ
संचारको गोएबल्स भूगोलमा
पुरुष
दहेजको नाममा जलाउछ
विश्वास र आस्थाको मन्दिर
भत्काउछ
प्रेमको कलात्मक दरबार
र भन्छ,
नारी आधा आकाश हो
नारी आधा आकाश होइन
नारी सम्पूर्ण आकास हो
नारी अर्धांगिनी होइन
नारी जननी हो
नारी आमा हो
के तिमीसंग आमाको कुनै परिभाषा छ ?
के तिमीसंग जननीको कुनै अर्थ छ ?
नारी
सप्तरंगी फूल हो
नारी हरियाली हो
नारी धरती हो
नारी पंक्षी हो
म त भन्छु
नारी सम्पूर्ण ब्रम्हाण्ड हो
नारी बाइबल हो
गीता हो
कुरान हो
अनि बेद बेदान्त हो
सिंगो जिबन भरि अध्ययन गर्न सकिने
बिस्वबिद्यालय हो
पाखण्डीहरुले
आधा आकासमा सिमित गर्न खोजेको
तर खुला आकासमा कैद एउटा बन्दि हो
प्रेमको पिंजडामा बन्द
मायाको झन्कारमा चल्ने मन्द मन्द
पाइला पाइला हो
आफु भोको बसेर
अरुको पेट भर्ने दानी हो
ज्ञानी अनि महाज्ञानी हो
नारी खुला आकाशमा कैद
बन्दी हो
मदनपोखरा ७, दमकडा पाल्पा
(स्रोत : Nepalbritain.com)