~पुरुषोत्तम ढकाल~
शहरमा एउटा भोज छ
निम्तालुहरुलाई मोज छ
सप्ताहान्तको यो साँझ
बधुहरु आउंदै छन्
भोजमा सबलाई मोज छ
एकै छिन है
नेता महोदयको आगमन भयो
भात कविले बेशुरा गायो
मुस्कुराउछे फुंडी
नाच्दै रमाउदै नशामा
वाह! वाह! तालीले
ओठमा पोखिएको लालिले
उपस्थित सबैलाई मोज छ ।
बाहिर शहर अँध्यारो छ
उज्यालोले अङ्ग छेड्यो
सल्बलाए हातहरु
नेताज्यूलाई मोज छ ।
टुप्लुक्क पत्रकार महोदय
तिन शहर चहारेर
बस्ने टेबुलको खोज छ
जुवा घरे साहुजीको
आज ब्यापार चर्कियो
यसरीनै रात घर्कियो
यता उता तान तुन
आंटनेहरुलाई मोज छ ।
नशामा अंग्रेजी पसेपछी
नेताज्यू फुंडीसंग फसेपछि
ब्यापारी महोदय मन्त्र मुघ्ध सदर फाइलमा
थानेदार पिउदै छ
कठैबरा लर्बराउदै सिपाहीहरुका आँखा खुले
मेलम्ची महाकालीको सपना सकियो
अचेलत नयाँ संबिधान छ
खुस्किएछ बधुको भित्रि तुना
ढाँट नेताहरुलाई मोज छ
किनकी आज सप्ताहान्त
शहरमा एउटा भोज छ ।
ति तिम्रा चिम्रा आँखा
नाका नखोले पनि आँखा खोल्ने
भाग्य थुन्ने मतुवाली मतका तिमि
अर्को छिमेकी पनि हौ
तिम्रो पनि अचेल पनि भोज छ
भैयाले नपत्याएर के भयो
उतैको बन्दुक बोकेपछी
सुटुक्क ! हरेक साँझ भोज छ ।
कठै बरा ! खासामै एड्स लागेर
कोदारी हिंडेकी फुंडीले
गालामा सेतो पोतेको
खै के हो भन्न खोजेको
बुझेरै कमरेड बसेछन
नशाले होला फ़सेछन
देशमा अचेल भोज छ
फर्किउ साथी स्वदेश
हरेक साँझ मोज छ ।
भर्खरै !
एक दर्जन लाश कोतरेर
फर्कियो अध्यागमन अधिकारी
सुनाउदैछ कथा, खाडीबाट फर्किएको सुन कुखुराको
धन्य रेमिटेन्स
देश हाम्रो चलेकै छ
पशुपतिमा लाश जलेकै छ
आज फेरी शुक्रबार आयो क्यारे !
शहरमा एउटा भोज छ
अतिथी गणलाई मोज छ ।
जी हजुरी सचिबज्यूको
चल्नु चल्यो हजुर
मालपोतेले देश हाक्दा
तहांको एक भाग मागीयोरे
याहां यस्तै छ
दिनहु शहरमा भोज छ
मालपोतेलाई पनि अचेलत् मोज छ ।
बनाइदिने बिधातालाईत
पहाडको बधु छानी छानी
यतै बहादुर उतै बहादुर
ए मेरा भैया ..!
रोटि कपडा मकान तिम्रो
मेरो देश बैंश पोख्ने तिम्रो ठेगान
आज सप्ताहान्त, साँझ परिसक्यो
चना चटपटे नमिठो होला
शहरमा एउटा भोज छ
हाम्रो टाउकोमा गिर खेल्ने
देशी भाइलाई मोज छ ।
कर्णालीमा भोकमरी
दार्चुलामा बाढी पैह्रो
कोहि भोकै मरोसकी
बाढी पैह्रोमा परोसकी
शहरमा हाम्रो भोज छ
न हाम्रो घर छ, नत हाम्रो देश छ
सप्ताहान्त आइसक्यो
हप्ता पाउने योग छ
हरेक शुक्रबार भोज छ
हामीलाई सधैं मोज छ ।
जंगे पिलर सारोसकी
सुस्तामा बन्धु मारोसकी
हिमाल हाम्रो हरायो
हर्षन हामीलाई बिष्मात
न हाम्रो भाषा छ, नत हाम्रो भेष छ
शुक्रबारको साँझमा
देशमा एउटा भोज छ
हामीलाई संधै मोज छ ।
भन्दियौ हामीले संघियता
मेची काली रडाको
जात र भटमा लड्दै छौ
नत हाम्रो भात छ, नत हाम्रो जात छ
छत देशमा अँध्यारो
अँध्यारोमै भोज छ
देशमा सबलाई मोज छ ।
मनको कुरा: मृत्यू उत्सवको भोजै भोज छ मेरो देशमा ..फर्किउ साथी स्वदेश सबलाई त्यहाँ मोजै मोज छ ।
पुरुषोत्तम ढकाल
३१ फेब्रुवरी, २०१४
नटिङ्गम, बाल्टिमोर
(स्रोत : Nepalbritain.com)