~तीर्थराज अधिकारी~
छिटै अमर मर्नाले, अशोक शोकमा पर्र्यो ।
आरोग्य रोगले गल्दा, अभय भयले ढल्यो ।।
कुमारी गर्भकी भारी, पति कुमार छन् घरै ।
मौनता जोडले बोल्दा लाग्यो नि घर चर्कनै ।।
रमिता दिनहुँ काम गर्दा–गर्दै गलीसकी ।
निर्जला जलमा डुब्दै आँखा चिम्ली चलीसकी ।।
इयरफोनले मात्र कर्ण कान सुन्दछ ।
लठ्ठी समाउने गुम्दा हस्तको झन् बेहाल छ ।।
निर्मल मल छर्दै छ खेत –बारी सबैतिर ।
बुदभतm खसी काटी लिन्छ निरन्तर ।।
नेत्र खोज्छ उता चस्मा,पढ्न–लेख्न बस्यो भने ।
बलवीर कति दुब्लो बिचरा छ पिलन्धरे ।।
दाताराम छ त्यो लोभी, दयाराम छ निष्ठुर ।
माया र ममता हान्छन् परस्पर ।।
शीतल घामले गर्दा घामजस्तै बनीसक्यो ।
रुँदा, चिच्याउँदा शान्ति नूर पूरै गिरीसक्यो ।।
प्रदीप दीप सल्काई अन्धकार भगाउँछ ।
कर्मवीर सबै काम अर्कालाई लगाउँछ ।।
रुपमा गोलको थुप्रो नाम पाइछ सुन्दरी ।
निशामा दरिई अर्की विचरी रुपकी परी ।।
वसन्त सन्त भेटिन्न, वज्रजस्तै कठोर छ ।
भेटिन्न जयमा जीत, हारको मात्र हार छ ।।
छैन सौरभमा बास्ना, छैन गौरवमा कला ।
कलामा नै कहाँ होला, मनै लठ्याउने गला ।।
किन यो नाममा गर्व, कर्म मेसो कतातिर ?
कर्महीन कहाँ बन्छु म धाम मठ–मन्दिर ?
(स्रोत : “सत्ताका किनाराहरू” – कवितासंग्रह – २०७० बाट साभार )