१.
यति धेरै उदास हुने कसले बनायो मलाइ ?
डाको छोडि छोडि रुने कसले बनायो मलाइ ?
फूलहरुको संसार बाट जबर्जस्ति लखेटेर,
पत्थर अनि हतियार छुने कसले बनायो मलाइ ?
२.
उसका र मेरा सबै कुरा उस्तै उस्तै
मुखका राम राम बगलिका छुरा उस्तै उस्तै
अनुहार र नाम मात्र फरक हो हजुर
व्यवहार र काम त पुरा उस्तै उस्तै
३.
निती नियमका सारा डण्डा भाँच्ने अधिकार हुनेछ,
आँखाभरी परीवर्तनका सपना साँच्ने अधिकार हुनेछ,
पख एकदिन यस्तो परंपरा बसाउनेछु नि,
जहाँ विद्रोहीलाई मात्र बाँच्ने अधिकार हुनेछ…
४.
एकोहोरो उदास संगीत हुनु छैन जिन्दगीमा
जत्ति भए नि, नमर्ने धीत हुनु छैन जिन्दगीमा
आफुलाई हसाउन त जसरी नि सकिन्छ नै
अरुलाई रुवाउने जीत हुनु छैन जिन्दगीमा
५.
चुँडिदिन्छ, फेरी गाँस्न लगाउँछ
आफैँ रुवाउँछ, आफैँ हाँस्न लगाँउछ
यो साले जिन्दगी पनि साँच्चै अनौठो छ
आखैँ अगाडी मृत्यु देखाँउछ, अनि बाँच्न लगाउँछ
६.
आवरणले अक्सर यथार्थ छेकिन्छ
रातमा मात्रै ताराले भरिएको आकाश देखिन्छ
हिलोमा कमल,कोइलाको भीडमा हीरा अनि
आँशुको सागरमै खुसिको मोती भेटिन्छ
७.
चट्टान भई उभीउ भँगालो आफैँ तर्कीने छ,
पीपल हुने साहस गर ढुङ्गा आफैँ चर्कीने छ
जसरी आएको थियो रात जानेछ त्यसरी नै,
पर्खने हिम्मत जुटाउ बिहान आफैँ फर्कीने छ….
८.
यो जुनी पनि चोट हरु पाउन लाई मात्र हो की,
यी ओठ पनि बिछोडका गीत गुनगुनाउन लाइ मात्र हो की
कहिले काँही त यस्तो लाग्छ जिन्दगी मा
यी हात पनि विदाई मा हल्लाउन लाई मात्र हो की….
९.
मेरा कुनै अनुरोधहरु मान-नमान छुट छ,
यो उजाड मनमा भेटीए जति सबथोक लान छुट छ,
आएको थियौ जिन्दगीमा बटुवा झैँ कुनै दिन,
चौतारो झैँ सधैँलाई बिर्सी जान छुट छ…
१०.
सम्झनाको सिरेटोले बारम्बार सास थुन्छ
आँखा रो’को सब ले देख्छ,मन रो’को कसले सुन्छ ?
शंका लाग्छ संसार मा अरु पनि मान्छे छन् र,
कहिलेकाँही किन मान्छे यत्ति साह्रो एक्लो हुन्छ ?
११.
सुन्दर त्यो मनको आँगन, टेक्दै थिएँ भर्खर भर्खर
जिन्दगीको रंगिन गीत, लेख्दै थिएँ भर्खर भर्खर
अफसोच..तिमीले नै निन्द्रा बिथोलिदियौ
तिम्रै बारे सपनाहरु, देख्दै थिएँ भर्खर भर्खर….
१३.
पर्खीरहनु यहि बाटो हुदैं आउने छु
तिम्रा सुदुर सपनाका खबरहरु ल्याउने छु
ति ओठका हराएका मुस्कान र आँखाको चमक भेटिएको दिन,
यो मान्छे कहिल्यै रोएको थिएन भनेझैँ मुस्कुराउने छु…
(स्रोत : Nabinprachin.com)