संस्मरण : कुलेश्वर – नेमुनिको आश्रमस्थल

~कृष्णप्रकाश श्रेष्ठ~

कुलेश्वर – नेमुनिले आश्रम बनाएर बसेको पवित्र स्थल !

यसपल्ट घर (काठमाडौं) जाँदा बगलमै रहेको कुलेश्वर महादेवको स्थान पनि हेर्न जाने योजनाअनुसार एकाबिहानै भाइ तेजप्रकाश र बहिनी ताराबदन सहित म त्यहाँ पुगें । पाँच वर्षअघि पहिलोपल्ट म त्यहाँ पुग्दा जीर्णोद्धारको काम भइरहेजस्तो लागेको थियो र राम्ररी अवलोकन गर्न पाएको थिइन, तर यसपटक केही फोटो समेत खिंचेर ल्याउने मौका मिल्यो । मूल सडकबाट सिंढी उक्लेर माथि जाने ठाउँनेरै कसैले बनाइदिएको

द्वारभित्र पस्नासाथ माथि ठूलो आकारको ॐ अक्षरले आकर्षित गरिहाल्दछ भने बिस्तारै माथि उक्लँदै जाँदा अगल-बगलमा बोटबुट्यान र सम्भवतः पाटी-पौवाहरू पनि देखिन्छन् । केही सम्म परेको महादेवस्थानमा रुद्राक्षको बोट समेत देख्न पाइयो । त्यहाँ भजन गर्ने पाटी पनि देखियो । कुलेश्वरको शिवलिङ्गमा अटूट जलधाराको व्यवस्था पनि गरिएको रहेछ । त्यसको पछिल्तिर अभिलेखसहितको धातुको पट चाहिं उति पुरानो थिएन, न त तल ओर्लने ठाउँनेर भित्तामा रहेको शिलापत्र नै पुरानो थियो । शिवलिङ्ग वरपरका सम्भवतः पुराना केही मूर्तिहरू र एउटा शिलापत्र पनि सुरक्षित ढङ्गले राखिएका थिए ।

आफू पूजापाठ गर्ने उद्देश्यले त्यहाँ गएको नभए तापनि प्राचीन कालमा किम्बदन्तीका नेमुनिको आश्रम रहेको स्थलमा पदार्पण गर्दा अलौकिक आनन्दको अनुभव हुनु स्वाभाविकै थियो । वास्तवमै यो स्थल काठमाडौं उपत्यकामा पशुपालनको युगमा गोरेटो मात्र भएको वेला एकातिर वाग्मतीको तीरैतिर श्लेषमान्तक वनमा पशुपतिनाथको ज्योतिर्लिङ्गसम्म पुग्न र अर्कोतिर चन्द्रागिरिको फेदीमा अवस्थित मातातीर्थ जान निकै पाइक पर्ने ठाउँमा नै नेमुनिको आश्रम हुनु आश्चर्यको कुरो भएन । यदि प्रातःकालीन ध्यान र जपमा वाधा नपुग्ने देखिएमा उनी नजिकै रहेको कीर्तिपुरको डाँडासम्म त सायद हरेक दिन नै “मोर्निङ वाक” मा जान पनि भ्याउँथे होलान्… ।

काठमाडौं उपत्यकामा पहिला वस्तीहरू बस्न थालेदेखि नै विष्णुमती र वाग्मतीको संगमस्थलनेर अवस्थित केही अग्लो यसै थुम्कोमा नेमुनिले आफ्नो आश्रम बनाएर वरिपरिका वासिन्दाहरूको संरक्षण गर्न थालेको प्रतीत हुन्छ । अहिले कालीमाटीको छेवैमा रहेको यस स्थानमा त्रिभुवन विश्वविद्यालयतिर जाने सडकको दुवैतिर नयाँ बस्ती बसेको छ । आधा शताब्दीअधिसम्म पनि यस स्थानमा नरकटका झाडीहरू रहेको थियो । तर थुम्कोमा रहेको कुलेश्वर महादेव भने प्राचीन काल अर्थात् गोपालवंशको शासनकालदेखि नै यहाँ स्थापित भएको हुन सक्छ । त्यस सुदूरवर्ती युगमा यहाँका वासिन्दाहरूका प्रमुख आराध्यदेव शिवजी नै भएको हुँदा यहाँ महादेवको शिवलिङ्ग स्वयं नेमुनिले नै स्थापना गरेको हुनु पनि असम्भव छैन । यिनै ने भन्ने मुनिले न्यायपूर्वक पालना गरेको देश हुनाले नेपाल नाम रहन गएको हो भन्ने सर्ववीदितै छ ।

नेमुनिको बारेमा कतिपय किम्बदन्तीहरू प्रचलित छन् । एउटी ने भन्ने गाईले बाछो बियाउँदा पनि दूध नदिंदा गाईधनी एक गोपालले चियोचर्चो लिंदै जाँदा वाग्मतीको किनारामा अवस्थित श्लेषमान्तक वनमा नित्य आफ्नो थुनबाट दुग्धधारा बहाउने गरेको चाल पाई त्यस ठाउँको जमीन खन्दा ज्वाला उत्पन्न भई गोपालहरूका नेता भुक्तमान भष्म भएपछि तत्कालै नेमुनि त्यहाँ पुगेर पशुपतिनाथको ज्योतिर्लिंग प्रकट भएको घोषणा गरेर भुक्तमानका पुत्रलाई देशको शासक बनाइदिएको किम्बदन्ती प्रचलित छ । यसबाट पनि नेमुनि शिवभक्त भएको स्पष्ट छ । मुनिको नाम मात्र नभई गाईको नाम समेत ने हुनु पनि विचारणीय छ । सम्भवतः स्वयं नेमुनि पनि गोपालवंशकै थिए कि भन्ने प्रतीत हुन्छ । यसै कारण गोपालहरूमा उनको प्रतिष्ठा निकै ठूलो थियो भन्ने कुरा बागभैरवको उत्पत्तिबारे किम्बदन्तीबाट समेत पुष्टि हुन्छ ।

जीवधारी सबैका स्वामी पशुपति नाथ मानिएझैं बाघभैरव चाहिं घरपालुवा जीवजन्तुको रक्षक र गोपालहरूका इष्टदेवता बनेर रहेको मानिन्छ । पद्मकूटगिरि (अहिलेको कीर्तिपुर) नेर गोपालहरू चौरमा आफ्ना भेडाबाख्रा चराउँथे । एकपल्ट सबै मिलेर माटाको बाघको मूर्ति बनाई त्यसको मुखमा जिब्रो हाल्नका लागि पात खोज्न बनभित्र जाँदा बाघको मूर्तिमा भैरव जागी भेडाबाख्राहरू खाइदिएकाले बिनाजिब्रोको बाघभैरव उत्पन्न भएको किम्बदन्ती प्रचलित छ ।
मातातीर्थसम्बन्धी एउटा अर्को किम्बदन्ती पनि गोपालहरूसित सम्बन्धित छ । सधैं चहुरमा गाईवस्तु चराउने एक गोठालोले एकपल्ट आफ्नी दिवंगत आमा सम्झेर नजिकैको कुण्डमा रोटीको टुक्रा चढाउँदा आमाले पानीको सतहमाथि निस्केर हात पसारी पुत्रले चढाएको रोटी टिपेर लिएको घटनाबारे थाहा पाउनासाथै नेमुनि त्यहाँ पुगेका थिए । उनले त्यो घटना घटेको वैशाख कृष्ण औंसीको दिनलाई मातृपर्वको रूपमा घोषणा गरी चन्द्रागिरिको उत्तरी फेदीमा अवस्थित त्यस पवित्र ठाउँको नाम मातृतीर्थ राखिदिए । वर्षोनी मातृऔंसीमा मातृविहीन नरनारीहरू त्यहाँ भेला भई स्वर्गीय आमाको स्मृतिमा पिण्ड र जल अर्पण गर्दछन् भने आमा जीवितै हुनेहरू चाहिं घरमा आमाको मुख हेरेर मिष्ठ भोजन ख्वाउँछन् ।

कुनै समयमा नेपालमा गोपालवंशको शासन थियो भन्ने कुरा ‘गोपालराजवंशावली’ बाट स्पष्ट हुन गएको छ । ती गोपालवंशी को थिए भन्ने ऐतिहासिक प्रमाण पाउन नसकिए तापनि प्राचीन गोपालका वंशजहरू अध्यापि चन्द्रागिरिको दुवैतिर छरिएर बसेका छन् जो आफूलाई गोपाली (नेवारीमा ग्वा) भन्दछन् । खास गरी कीर्तिपुर भेकका विभिन्न उत्सवपर्वहरूमा अद्यापि यी गोपालीहरूको प्रमुख भूमिका रहने गरेको पाइन्छ । लिच्छविकालमा पनि प्रशासन र बौद्धिक क्षेत्रमा यस वंशका निकै प्रख्यात व्यक्तिहरू भएको चाल पाइन्छ, जसले गोमी वा गुप्त थर (आभिरवंश) ग्रहण गरेका थिए । नेपालका भौमगुप्त आदि प्रसिद्ध शासकहरू मात्र नभई अनुपरम नामका प्रथम ज्ञात कवि पनि यसै वंशका थिए भन्ने अनुमान गरिएको छ ।

कतिपय गोपालीहरू ‘श्रीमद्भागवत् महापुराण’ को हवाला दिंदै आफूलाई शोणितपुर (वर्तमान थानकोट भेक) का सम्भवतः किरातवंशी राजा शिवभक्त वाणासुरसंग लड्न कृष्णको साथमा आएका यदुवंशी सैन्यका सन्तति मान्दछन् । पुराणको वर्णनलाई ऐतिहासिक तथ्यबाट पुष्टि गर्न असम्भव भए तापनि वर्तमान गोपालीहरूको वंशगत सम्बन्ध तराई क्षेत्रबाट वाग्मतीको तीरैतिर काठमाडौं उपत्यकामा पसेका गोठाला (सम्भवतः अहिलेका यादव) हरूसित हुनु निकै सम्भव छ । जे होस्, नेवारी संस्कृतिमा भिजिसकेका गोपालीहरूको रीतिथितिमा अन्य नेवार समुदायको भन्दा केही फरक चालचलन पाइनुबाट पनि यसको पुष्टि हुन्छ । तराई क्षेत्रमा विष्णु वा कृष्णका भक्त गोपालहरूको उपत्यकामा प्रवेशको क्रममा उनीहरूले यहाँका शिवमार्गी किरातवंशी शासकहरूसंग युद्ध पनि गर्नुपरेको हुन सक्तछ । यहाँका शिवभक्त शासक वाणासुरकी सुन्दरी पुत्री उषाप्रति आसक्त भएको कुनै वैष्णव (कृष्णभक्त) सुन्दर यदुवंशी (यादव) गणनायकको झपडको प्रतिबिम्ब कृष्ण र वाणासुरबीच युद्धसम्बन्धी पौराणिक कथामा परेको होला भन्न सकिन्छ ।

कुलेश्वरमा नै नेमुनिको आश्रम रहेको तथ्य ‘कीर्तिपुर’ शीर्षकको अनुसन्धानात्मक कृतिका रचनाकार वासुपासाले उल्लेख गरेका थिए । वास्तवमा नै यो स्थान उपत्यकाको मध्यभागमा रहेको हुँदा त्यस सुदूर युगमा वरिपरिको भूभागमा बसोवास गरिरहेका वासिन्दाहरूका घरगाउँसम्म पुग्न अपेक्षतया सहज हुनु स्वाभाविकै हो ।
यसपटकको काठमाडौं यात्राकालमा एक दिन “बन्द” घोषणा भएको हुँदा यातायात ठप भएकाले कतै टाढा जाने योजना रद्द गरी भाइ तेजप्रकाशको साथमा निजकै रहेको आवासक्षेत्रकै अवलोकन गर्न गइयो । विहानै घुम्दै रूसमा अध्ययन समाप्त गरेका रामविलास चौधरीको घरमा पुगियो । उनले मास्कोमा रूसी भाषाको अध्ययनको समयमा एकै कोठामा रही नेपाली समेत बोल्न सिकेको भन्ने थाहा पाएर तराईतिर गएका मेरा आत्मीय साथी उमेश झासंग पनि टेलिफोन-सम्पर्क गराइदिएका थिए । यत्तिकैमा रूसबाटै फर्केका डा. केशवभक्त श्रेष्ठ पनि त्यहीं पुगे । चियापानपश्चात् केशवभक्तजीको घर पनि हेर्दै फर्कने क्रममा सुनियोजित ढङ्गबाट बनेको आवासक्षेत्रमा समेत पैदल हिंड्ने बटुवाका लागि पेटी नभएको साँगुरो बाटोमा हिंड्नुपर्दा अप्ठेरो अनुभव हुनु स्वाभाविकै थियो । यो आवासक्षेत्र बनाउनुभन्दा पहिले सरकारले इन्जीनियर टोलीलाई नगरनिर्माणको अध्ययनार्थ सिंगापुर पठाइएको प्रसङ्ग रामविलास चौधरीले उठाउनुभयो । ‘इन्जीनियर टोली कसरी पेटी बनाउनुपर्छ भन्ने अध्ययन नगरी भव्य सिंगापुरको रमिता हर्न गएकोले यहाँ पेटी नबनेको होला’ भन्ने मेरो टिप्पणीले एक छिन हाँसोको लहर चलाएको थियो… ।

वास्तवमा भन्ने हो भने हाल कुलेश्वर आवासक्षेत्रमा नेपालको विभिन्न भागबाट आएका विभिन्न भाषाभाषी व्यक्तिहरू बस्ने गर्दछन् र यसले हिमाल, मधेश तराईको जातीय एकत्वको उदाहरण दिंदै वास्तवमा नै सानो नेपालको प्रतिनिधित्व गर्दछ भन्न सकिन्छ । देशको नामका प्रवर्तक नेमुनिको यो आश्रमस्थल वृहत् नेपालको लागि प्रेरणास्रोत बनोस् !

२९ अप्रिल २०११ (शुक्रवार)
मास्को, रूस महासंघ ।

(स्रोत : Sundarshailee.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.