~बिक्रम सुब्बा~
मेरो मायाको रुमालमा कसैले
आफ्नो मतलबको फूल भ-यो
सग्लो मेरो मन बाँचेर
आफ्नो धून बजाउँने बाँसुरि बनायो
मेरो सपनाको ऊनी धागो उधारेर
आफ्नोलागि न्यानो स्वीटर बुन्यो
मेरो इज्जतको लम्बाई समेटेर
आफ्नो घमण्डको पगरी बनायो
मेरो कविता लेख्ने कलम समाएर
मेरै मुस्कानलाई थुन्ने जेलको नक्सा बनायो
दु:खमा सँगै बसि खिचेर टाँगेको हाम्रो तस्बिरलाई
भित्ता समाउँदै भुइँबाट उक्लेको चीसो ओसले छुन थाल्यो ।
मेरो छातीको ढुक-ढुकि निकालेर
आफ्नो घडीको समय दिने टिकटिके बनायो
मेरा हार्दिक र इमान्दार प्वाँखहरू लिएर
आफ्नो स्वार्थको घोडालाई बाइपंखी बनायो
मेरो धैर्यको ह्याकुला लिएर
आफ्नो कालो टाउको विसाउवने सिरानी बनायो
मेरो विश्वासको आरनमा हालेर
आफ्नो पत्तलको हृदयलाई सुन बनायो
मेरो भक्कानो फुटेर निस्केको गीतलाई
आफ्नो व्यक्तित्व टल्काउँने पालिस बनायो
हाम्रो तस्बिरको फलामे फ्रेमलाई
अदृश्य खियाले विस्तारै विस्तारे खान थाल्यो ।
मेरो हृदयको डुँगा खियाएर
आफ्नो लागि असला माछा मा-यो
मेरो आँखाको नर्सरीबाट उज्यालोको विरुवा उखेलेर
सम्बन्धको उपत्यकामा अँध्यारोको खेती ग-यो
उसलाई आफ्नै मुटु बनाएर राखेको अपराधमा
मलाई काटेर मबाट उसले आफुलाई बाहिर निकाल्यो
जमानाको अनुहारमा अनौठो रगत-आँसु पोतियो ।
यो कथा विस्तारै वातावरनमा फैलिएपछि
धमिलो भएको मानवीय मानचित्र सुस्त-सुस्त हल्लिरह्यो !
(स्रोत : Sundarshailee.com)
Pingback: My Story | साहित्य संग्रहालय