~सुयर्मा राइ~
एक भीड मान्छेहर्रू
भर्खरै युद्धपोतबाट फर्केर
एकजोडा परेवा
उडाए आकाशमाथि– भुरुर्र
शान्तिको नाममा ।
म सधैंजसो देख्ने गर्छु
मान्छेहरू जीवनको लामोखण्ड
गोलावारुदमा बिताएर
एकनिमेष फूर्सद
परेवा उडाउन भीड गर्छन–यो ठाउँमा ।
लामो कालदेखि
मैले यो भीड
देख्दैभोग्दै र, यी मान्छेहरू–पढ्दै आएको छु ।
एक क्रुर
तर उदासीन–आँखा ।
एक कठोर
तर नैराश्य–आत्मा ।
एक हिंस्रक
तर दिशाहीन–मानवता ।
सहसा बोकेर जसै पाइला राख्छन्–यो ठाउँमा ।
फर्कदा उज्यालो चेहरामा
असीम खुशी र चरम आनन्द
पोल्टाएर फर्कन्छन– शान्ति अनुभूतको मृदु मुस्कान लिएर ।
ओ बुद्ध…. ।
हरेक अमानव र क्रुर आत्माहरू
तिमीलाई एकजोडा परेवा उडाएकै भरमा
शान्ति प्राप्त गर्न सक्छ यदि भने
के भो र– तिम्रो नाममा
हजारौं परेवा उडाउन तत्पर छु – आकाशमा
म एक्लै– ती सम्पूर्ण मान्छेहरूको यादमा ।
(स्रोत : Sundarshailee.com)