~कृष्णप्रकाश श्रेष्ठ~
हाम्रो समयमा पनि नेपालका अनुश्रुतिहरु र किम्बदन्तीहरुको सम्पन्न भण्डारको महत्व कम भएको छैन । आधुनिक साहित्यिक रचनाहरुका लागि पनि त्यसबाट सामग्री प्राप्त गरिन्छ । यस सन्दर्भमा नेपालका प्रसिद्ध राजनीतिज्ञ एवं साहित्यकार विश्वेश्वरप्रसाद कोइराला (ई.सं. १९१५-१९८२) को उपन्यास “सुम्निमा” विशेष रुपले रोचक छ । उपन्यासकारबाट जेलजीवनको समयमा लेखिएको यो उपन्यास किरात युवती र आर्य युवकको प्रणयसम्बन्धी पुराकथा वा किम्बदन्तीमा आधारित छ । नेपाली भाषासाहित्यमा मनोविश्लेषणमूलक कथा र उपन्यासहरु भित्य्राउने विश्वेश्वरप्रसाद कोइरालाको कृतित्व “डी.एच.लरेन्सबाट ज्यादै प्रभावित छ” भन्ने प्रसिद्ध नेपाली समालोचक यदुनाथ खनालको कथनानुसार विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास “सुम्निमा” मा “आकाश र धरतीझैं दुर्इ परस्परविरोधी संस्कृतिका बीच अन्ध संघर्ष” प्रतिबिम्बित भएको छ । “एउटा संस्कृति हृदय (अनुभूति) मा आघात पुग्ने किसिमबाट शिर (बुद्धि) मा आधारित छ भने अर्को चाहिं बुद्धिमा आघात पुग्ने गरी अनुभूतिमा भर परेको छ । उपन्यासका नायक र नायिकाले यी दुर्इ तत्वको प्रतिनिधित्व गर्दै आआफ्नो सांस्कृतिक परम्पराको अभिव्यक्ति गर्दछन् । जे भए तापनि उपन्यासकारले चित्रण गरेको वस्तुस्थिति कतिसम्म सुस्पष्ट छ भने लेखकले कुनै निश्चित सूत्रको प्रभावमा परेर अनुभूतिको वर्णन गरेको प्रतीत हुँदैन, किनभने त्यो एकदमै तार्किक हुनुका साथै यथार्थजस्तै लाग्दछ” (खनाल, १९७३, पृ. १३१) ।
अर्का प्रसिद्ध उपन्यासकार दौलतबिक्रम बिष्ट (१९२६-२००२) ले “ज्योति, ज्योति, महाज्योति” (ई.सं. १९८८) शीर्षकमा एउटा निकै प्रभावोत्पादक उपन्यास लेखेका छन् । यस सघन कथानक भएको उपन्यासका घटनाहरु नेपालको प्रमुख शिवमन्दिर पशुपतिनाथको परिसरको सानो परिधिभित्र मात्र सीमित रहेका छन् । उपन्यासको शीर्षक स्वयं नै प्रतीकात्मक छ जसको व्याख्या अनेक प्रकारले गर्न सकिन्छ । शाव्दिक अर्थमा यसलाई पशुपतिनाथको ज्योतिर्लिंगको रुपमा लिन सकिन्छ । पौराणिक अनुश्रुतिअनुसार पशुपतिनाथको प्रादुर्भाव ज्योतिर्लिंगको रुपमा भएको मानिन्छ । यस उपन्यासमा लेखकले साहित्यिक परिकल्पनाको सहायताले मात्र नभई पशुपतिनाथको मन्दिर एवं त्यसको आसपासको इलाकासित सम्बन्धित अनुश्रुति र ऐतिहासिक तथ्यहरुको आधारमा समेत विभिन्न पात्रहरुको चरित्रचित्रण गरेका छन् । उपन्यासको मूल नायक मानसिक असन्तुलनको रोगले पीडित छ । अन्य पात्रहरुले कुनै खास व्यक्तिको नभई विशेष सामाजिक समूह वा वर्गकै प्रतिनिधित्व गर्दछन् भन्न सकिन्छ । नेपाली समालोचक ठाकुर पराजुलीले लेखेअनुसार “यहाँ देखिने सबै पात्र र उनीहरुका क्रियाकलाप स्थानीय आस्थाका विपक्षमा छैनन्, बरु पशुपति र त्यस क्षेत्रका विश्वाससंग आफ्ना आस्था जोडेर कतिपय व्यक्तिहरुले आफूलाई धर्माधिकारी बनाउने चेष्टा गरेका छन् भने कतिपय व्यक्तिहरुले आफ्नो पारिवारिक भरणपोषण र जीवन निर्वाहको अजस्र स्रोत । अनि कतिपय व्यक्तिहरुले जीवनको अन्तिम विश्रान्ति पाउने आशाले त्यहाँ डेरा जमाएका छन् । त्यति मात्र होइन, अन्तर्राष्ट्रिय तस्करीको सुगम क्षेत्रका रुपमा पनि कसैले त्यसलाई उपयोग गरेका छन् भने स्थानीय राजनीतिको वर्चस्व स्थापित गर्नका लागि पनि धेरैले त्यहाँका प्रभावको उपयोग गरेका छन्” (पराजुली, १९८२, पृ. १८३) । उपन्यासकारले यस कृतिमा पात्रहरुको चरित्रचित्रणमा मनोविश्लेषणात्मक पद्धतिको उपयोग गरेर आजका नेपालीहरुको जीवनका धार्मिक, दार्शनिक, राजनैतिक, आर्थिक आदि सबै क्षेत्रहरुको समुद्घाटन गरेका छन् । त्यसमा पशुपतिनाथको मन्दिरको सीमित परिसरमा नेपालको अतीत र वर्तमानको सम्पूर्ण बहुरुपता संकेन्द्रित भएको प्रतीत हुन्छ । उपन्यासकारले परशु भन्ने एक कथा सुनाउने पात्रको सिर्जना गरेर उसको मुखबाट उपन्यासको कथालाई अगाडि बढाउँदै लगेका छन् । यसरी ऐतिहासिक घटना र वर्तमान जनजीवन, किम्बदन्ती र वास्तविक तथ्यका बीच राम्रो तालमेल मिलाएर उपन्यासको कथातन्तुलाई कुशलतापूर्वक एउटै सूत्रमा सम्बद्ध पारिएको छ । उक्त कथा सुनाउने पात्रले स्वयं उपन्यासकारकै प्रतिनिधित्व गरेझैं गरी वर्तमान घटनाको प्रत्यक्ष साक्षी मात्र नभई प्राचीन इतिहासको अनुसंधानकर्ताको भूमिका समेत निर्वाह गर्दछ । यस प्रकार पाठकको सामु प्राचीन कालदेखि वर्तमान समयसम्मकै नेपाली समाजको विकासक्रमलाई समेट्ने ऐतिहासिक चित्रावलीको सम्पूर्ण दृश्य चलचित्रमा झैं फटाफट खुल्दै जान्छ ।
मनोविश्लेषणात्मक कृतिहरुका रचयिता नेपाली कवि, उपन्यासकार एवं नाटककार विजय मल्ल (ई.सं. १९२६-१९९९) ले आफ्नो बहुचर्चित कृति “कुमारी शोभा” उपन्यासको निम्ति खास गरी “जीवन्त किम्बदन्ती” लाई नै चयन गरेका छन् । कुनै समयमा जीवित देवीको रुपमा पूज्य रहेकी युवतीको मनोवैज्ञानिक चरित्रको उद्घाटन गर्ने प्रयास यस उपन्यासमा भएको छ । भूतपूर्व कुमारी बैंस चढेपछि एक युवकको प्रियतमा बन्न पुग्दछे, तर युवकका आमाबाबु चाहिं यस्तो विवाहबन्धनको कल्पनाबाट समेत भयभीत हुन्छन् । कुमारीको आँखामा आँखा जुध्नु समेत अनिष्टकर हुन्छ जनधारणा र यसबाट जुनसुकै व्यक्तिको पनि मृत्यु हुन सक्छ भन्ने अन्धविश्वास अझैं नेपाली समाजमा व्याप्त छ । तसर्थ हतपति कुनै पनि नेपाली युवकले भूतपूर्व कुमारीसंग विवाह गर्ने आँट गर्न सक्तैन । यस उपन्यासमा पुरानो अन्धविश्वास र जीवनप्रति नयाँ दृष्टिकोणका बीच चर्को संघर्षको राम्रो अभिव्यक्ति भएको छ । उपन्यासकारले यस उपन्यासमा वास्तविक जीवनमा “भूतपूर्व कुमारी” को तीतो अनुभवको गहन विवेचना र सूक्ष्म मनोविश्लेषणात्मक वर्णन गरेका छन् ।
राजेश्वर देवकोटा (१९२९-२०१०) ले पनि “द्वन्द्वको अवसान” (ई.सं. १९८५) शीर्षकमा महाभारतको कथानकलाई “पुनर्व्याख्याका साथ समसामयिक सचेततासमेत प्रदान गरी” एउटा उपन्यासको रचना गरेका छन् । संरचनात्मक हिसाबले “छोटा र छरिता खण्डहरुमा विभाजित ८३ पृष्ठको लघुकाय” यो उपन्यास नौलो छ । यसमा “घटनाको प्रसंग बदलेर अर्कातिर पुर्याउने सन्दर्भमा प्रसंगचिन्हहरु प्रयोग गरेर उपन्यासको सम्पूर्णतालाई खण्डित गरी संरचना तयार गरिएको छ । यसरी हेर्दा उपन्यासमा ३३ स्थानमा प्रसंगचिन्ह र एउटा उपसंहार खण्ड गरी ३४ वटा खण्डहरु रहेका छन् भन्ने थाहा पाइन्छ । पात्रहरुको द्वन्द्वलाई महत्व दिइएका ५ पंक्तिदेखि ५ पृष्ठसम्मका प्रसंगचिन्हद्वारा विभाजित खण्डहरु रहेकाले पढ्दा पट्यार लाग्ने स्थिति छैन । यसो गर्दा उपन्यासकारले उपन्यासको उद्देश्यलाई प्रभावकारी बनाउने प्रसंगहरुलाई मात्र स्थान दिएर गौण जतिलाई हटाउने मौका पाएका छन्” (बराल, एटम, २०५६, पृ. ३१५) । खण्डविभाजनरहित यस उपन्यासमा प्रारम्भदेखि नै घटनाक्रमलाई अघि बढाउन मानसिक घात-प्रतिघातलाई प्राथमिकताका साथ प्रकट गर्दै “पुराना पात्रहरुमा नयाँ अनुहार देखाइएको छ” । उदाहरणस्वरुप, महाभारतका नायक रहेका कृष्ण यस उपन्यासमा खलनायक बन्न पुगेका छन् भने नायकको भूमिका निर्वाह गर्ने कर्णबारे गरिएको “नवीन व्याख्या” पनि महाभारतका रचनाकार व्यासको सोचाइभन्दा एकदमै फरक छ । नभन्दै “पात्रहरुको द्वन्द्वको भुमरी” बन्न पुगेको यस उपन्यासले हीन कुलको भनेर सबैबाट खिज्याइने “कर्णप्रति सहानुभूति र कृष्णप्रति नकारात्मक भावनाको उद्बोध” गराउँछ । संक्षेपमा भन्ने हो भने अन्त्यमा कर्णको दानशीलता, दृढता र अविजेय व्यक्तित्वका कारण युधिष्टिरले युद्ध जितिसकेपछि मृत कर्णको शवलाई राजा घोषित गर्दछन् । कर्णको मृत्युपश्चात् सबै द्वन्द्वहरुको पनि अवसान हुन्छ । यस प्रकार महाभारतमा वणिर्त “कुरुक्षेत्रको युद्ध सुरु हुन थालेदेखि अन्त्यसम्मको दृश्य” उपस्थित रहेको प्राचीन कथानकको आधारमा रचिएको प्रस्तुत उपन्यासमा उपन्यासकारले “प्रतीकात्मक स्वरुपमा समकालीन राजनीतिक परिदृश्यको पुनर्व्याख्या” गरेका छन् । यस अर्थमा भन्ने हो भने यसको देशकाल “प्राचीन र आधुनिक दुवै रहेको छ” (बराल, एटम, २०५६, पृ. ३२२) ।
वर्तमान समयमा वैदिक तथा औपनिषदिक साहित्यलाई नयाँ ढंगले विश्लेषण गरी उपन्यासको रचना गर्ने नौलो प्रयोग नेपालका विख्यात पत्रकार एवं वरिष्ठ साहित्यकार मदनमणि दीक्षित (जन्म : ७ फागुन १९७९ तदनुसार १७ फेब्रुअरी १९२३) बाट भएको पाइन्छ । वैदिक साहित्य तथा प्राच्य दर्शनका ज्ञाता मदनमणि दीक्षितले आफ्नो जीवनको उत्तरार्धतिर वैदिक, औपनिषदिक तथा पौराणिक ग्रन्थहरुको अध्ययन-मननतिर प्रवृत्त रही प्राचीन परम्परा र सांस्कृतिक मूल्यको अनुबोधन गरेर कतिपय साहित्यिक कृतिहरु प्रकाशमा ल्याएका छन् । यस परिप्रेक्ष्यमा वैदिक समाजको विश्लेषणमा आधारित उनका दुर्इ उपन्यासहरु निकै चर्चित हुन पुगेका छन् । ती हुन् : “सामन्ती व्यवस्थातर्फ संक्रमण गर्न थालेको दाससमाजमा अबलम्बित” (प्रकाशकीय, २०३९) उत्तरवैदिककालीन उपन्यास “माधवी” (वि.सं. २०३९) तथा आदि लोकमाता युगदेखि मध्य वैदिक युगमा अहल्याको उद्धारसम्मको पृथिवीको संगीत भनी स्वयं लेखकद्वारा अवगत गराइएको उपन्यास “भूमिसूक्त” (वि.सं.२०५८) । तुलनात्मक दृष्टिले पहिलो उपन्यास “महाभारत” ग्रन्थको एउटा आख्यानमा आधारित छ भने दोस्रो चाहिं “नारीको जननी रुपको महत्ताको गायन” (सुवेदी, २०५८, पृ. ७) प्रति समर्पित छ ।
पहिलो उपन्यासको कथावस्तुको सन्दर्भमा स्वयं लेखकले परिचय शीर्षक दिइएको भूमिकामा अंशतः लेखेका छन् : “त्यस युगको सम्पूर्णताले महाभारतको केशशुल्का माधवीको कथालाई उपर्युक्त महाभारतीय गाथामा पूर्णाङ्ग सूक्ष्मताका साथ आफूलाई प्रकट गरेको ठानेको छु मैले । महाभारतकी “माधवी” त्यो युगको पूर्णाङ्ग प्रतीक भएकी छे । गुरुदक्षिणा निम्ति घोडा चाहिएकोले माधवीले आफूलाई चार ठाउँमा घोडासित साँटिन स्वीकार गर्दै सन्तान पाइदिन्छे । पूर्णत: दासत्वको त्यो युगमाथि महाभारतका रचयिता व्यासले त्यस वेला अत्यन्त कठोर व्यंग्य गर्छन्, जुन वेला गुरुदक्षिणामा एउटा घोडा पूरा हुन नसक्ने थाहा पाएपछि लावण्यवती माधवीप्रति नै लोभिएर त्यसबाट पुत्रोत्पत्ति गर्न महर्षि विश्वामित्र आफै अघि सर्छन् र युवक गालव गुरुसामु नतमस्तक उभिइरहन्छ । तर त्यस समाजले यौनमाथि व्यक्तिको एकाधिकार निम्ति अर्थात् विवाहको व्यवस्था गरिसकेको पनि त थिएन । युगप्रति व्यंग गरे तापनि सम्भावित समाधान र सत्य मार्गलाई त्यस वेला व्यासले देख्न सकेनन्,, (दीक्षित, २०३९, पृ. ४- ५) । महाभारतको आख्यानमा त्यो युगको त्यस्तो कारुणिक जीवनसित अघाएकी माधवी आफ्नो स्वयम्बरलाई बीचैमा छोडेर वनप्रवेश गरी मृगवत् जीवनयापन गर्छे, तर उपन्यासकारले प्राचीन कथावस्तुमा किञ्चित हेरफेर ल्याएर माधवी तथा गालवबीच फेरि मिलन गराएका छन् र उनीहरु पूर्ण वार्धक्यसम्म नै संगै बस्छन् । यस परिप्रेक्ष्यमा उपन्यासकारको भनाइ छ : “व्यासले गालव र माधवी मिलन गराएका छैनन् तर मैले त्यति हृदयहीन हुनुपर्ने देखिन, न त ती आर्य र असुर भारतीय नारीहरु व्यासकी माधवीजस्तै उज्ज्वल भविष्यहीन थिए नै” (दीक्षित, २०३९, पृ. ५) । यसरी उपन्यासकारले पौने दुई सयभन्दा बढी पौराणिक पात्रनाम, स्थाननाम र प्राचीन संस्कृतका साढे दुर्इ सयभन्दा बढी शव्द प्रयोगद्वारा (ई.पू. १००० वर्षतिरको युगलाई प्रतिबिम्बित गर्दै “एक हप्ता कम तीन वर्ष (ई.सं. १९७६-१९७९) लगाएर लेखिएको यस उपन्यासको माध्यमबाट प्राचीन सामाजिक तथा मानवीय मूल्यलाई आधुनिक पाठकहरुसमक्ष सम्प्रेषण गर्ने स्तुत्य प्रयास गरेका छन् ।
दोस्रो उपन्यासको सन्दर्भमा चाहिं स्वयं लेखकले अंशतः यसरी स्वीकार गरेका छन् : “आफ्नो प्रकृतिले गर्दा यो उपन्यासमा एउटा पनि मुख्य नायक र नायिकानिम्ति ठाउँ छैन । त्यस कारण उपन्यासमा अनिवार्यतः रहनुपर्ने लक्षण घटनाविकासअनुरुप चरित्रको विकास यसमा छैन । यो कृतिले उपन्यास विधाको परम्परागत विधानभन्दा फरक पद्धतिलाई उपर्युक्त कारणले स्वीकार गर्न वाध्य हुनुपर्यो” (दीक्षित, २०५८, पृ. ३४) । यस “भूमिसूक्त” उपन्यासले एघार अर्ब वर्षपहिले घटेको महाविष्फोटले सिर्जेको तारामण्डल र सौरमण्डलको सृष्टिको कथालाई क्रमिक गति प्रदान गरेको भए तापति मुख्यतः पृथिवीको एउटा फराकिलो भूभागका साथै झण्डै १५०० वर्षको समयावधिलाई ओगटेको छ । उपन्यासको मुख्य कथावस्तु हिमवान्मा जीवनको प्रारम्भबाट सुरु हुन्छ । महाकालसूक्तबाट सुरु भई महाकाल वाणीमा पुगेर समाप्त हुने यस उपन्यासका प्रधान पात्र हुन् महाकाल, सूर्य र पृथिवी जो, कमलराज रेग्मीले आफ्नो मन्तव्यमा जनाएझैं, “आदिदेखि अन्त्यसम्म रंगमंचका यथास्थानमा प्रकट हुँदै अनि प्रच्छन्न रहँदै सदा गतिमान् भइरहेका बुझिन्छन्” (रेग्मी, २०५८, पृ. ११) । उपन्यासकारले महाकाललाई अनादि र अनन्त, निरन्तर गतिमान्, शाश्वत, सनातन र सृष्टिको मूल आधार मान्दै काल र समयको अवधारणा पनि स्पष्ट पारेका छन् । उनको धारणा यस्तो छ : “ती दुवैमा गतिमन्यता छ तर महाकाल अर्थात् काल शाश्वत र अमृत हो, समयको भने आदि-अन्त्य छ । सृष्टिको आधार र परिचयमा काल पर्छ । हामी पृथिवीका मानवले स्वीकार गरेको समय सूर्यसापेक्ष छ जसले गर्दा दिन र रात, महिना र ऋतु तथा वर्षहरुका रुपमा हाम्रो र हाम्रो समाजको जीवन-इतिहास अंकित हुन्छ । जीवन र मृत्यु समयमा हुन्छ तर काल भने यी सबैबाट निरपेक्ष रहन्छ” (दीक्षित, २०५८, पृ. ३६) ।
यस उपन्यासको सन्दर्भमा समालोचक घनश्याम कँडेलको निष्कर्षोक्तिअनुसार “सामान्य रुपमा हेर्दा परम्परागत उपन्यासमा झैं यसमा एउटै सुसम्बद्ध र श्रृंखलाबद्ध कथावस्तु छैन, नायक, नायिका छैनन् र विभिन्न शीर्षकअन्तर्गत कथावस्तुका अंशहरु स्वतन्त्रजस्तै छन् तर गम्भीरतासाथ नियाल्ने हो भने ती स्वतन्त्र नभएर परस्पर सम्बद्ध नै देखिन्छन् । वेदान्तको ब्रह्म, सांख्यको पुरुष र बौद्धहरुको सर्वतोव्यापी शून्यजस्तै यस उपन्यासको महाकालले प्रत्यक्ष रुपमा केही नगरेर पनि उपन्यासका कथावस्तुका अनेक प्रसंगबीच सम्बन्ध र श्रृंखला जोड्ने काम गरेको छ । त्यस्तै नित्य सृजनारत धर्तीलाई नायिकाको रुपमा लिन सकिन्छ” (कँडेल, २०५८, पृ. १६) । सम्भवतः यसै मूल नायिकाको आधारमा उपन्यासको शीर्षक नै भूमिसूक्त रहेको हो ।
अर्का समालोचक देवीप्रसाद सुवेदीले चाहिं “सम्भवतः केशशुल्काका रुपमा पुरुषहरुसामु स्वाभिमानमा चोटको अनुभव गरेकी माधवीका पीडाबाट आहत बनेका उपन्यासकार दीक्षितले महामात्रिकाका रुपमा नारीको महिमालाई उठाउने र ती नारीसामु पुरुषहरुको बलि र महामातृका प्रजालाई प्रस्तुत गरेर आफ्नो हृदयको घाउलाई निको बनाउने चेष्टा भूमिसूक्त उपन्यासद्वारा गर्नुभएको हो” (सुवेदी, २०५८, पृ. ४) भन्दै पछिल्लो उपन्यासको मन्तव्यस्वरुप प्रकाशित “वैचारिक तत्वचिन्तनको औपन्यासिक प्रस्तुति” शीर्षकको लेखमा झण्डै दुर्इ दशकको अन्तरालमा रचिएका यी दुवै उपन्यासहरुको तुलनात्मक विवेचना गरेर भिन्नताको स्पष्ट रेखा यसरी खिंचेका छन् :
माधवी | भूमिसूक्त | |
१. | हृदयपक्ष प्रवल | मस्तिष्क पक्षको प्राधान्य |
२. | घटनामूलक | विचारमूलक |
३. | चरित्रप्रधान | कथ्यप्रधान |
४. | सिन्धुसभ्यतापछिको वैदिक समाजकोप्रस्तुति | हिमाली उपमहादेशको संरचनासमेत समाविष्ट |
५. | नारीहरुले पुरुषहरुको आज्ञाकारिणीबन्नुपरेको स्थिति | महामात्रिकाहरुको बोलबाला |
यहाँनेर के पनि भन्नु आवश्यक छ भने “वैदिक वाङ्मयसित मात्र होइन कि त्यो समाजप्रति सम्भावित ऐतिहासिक तथा मानव विकासबारे समाजशास्त्रीय दृष्ट्रिकोणसित अपरिचित रहेका पाठकहरुनिम्ति” (दीक्षित, २०५८, पृ. ३५) प्रतीक र बिम्बद्वारा सम्प्रेषण गर्ने प्रयास गरिएको “भूमिसूक्त” उपन्यास पक्कै पनि “माधवी” उपन्यासभन्दा कठिन अर्थात् संश्लिष्ट कृति हुने आशंका लेखकको छ । साथै उनले अगाडि सूचित गरेका छन् : “माधवी लेख्ताको सौन्दर्यचेतयुक्त मनःस्थितिलाई त्यसपछिका दुर्इ दशकमा थपिएको उमेरले मबाट हरण गरिसकेको हुँदा यो भूमिसूक्तमा लालित्यको पछि लाग्न म सकिन” (दीक्षित, २०५८, पृ. ३६) । देवीप्रसाद सुवेदीको शव्दमा “हिमाली उपमहादेशको भौगोलिक संरचनाको प्राग्इतिहास र मानवसभ्यताको विकासको इतिहास विषयको सूक्ष्म निर्देश” (सुवेदी, २०५८, पृ. ६) भन्न सकिने “भूमिसूक्त” उपन्यासमा न कुनै खास चरित्रको क्रमिक विकास पाइन्छ, न त घटनाश्रृंखलाको निरन्तरता नै भेटिन्छ । निसन्देह नै “हिमाली उपमहादेशको अति प्राचीन सभ्यताको ऐतिहासिक स्वरुपलाई चिनाउने पहिलो नेपाली उपन्यास” भएको नाताले यस विचारप्रधान कृतिमा “ऐतिहासिक अन्वेषणलाई काल्पनिकताको चास्नीमा घोलेर औपन्यासिक मिठास दिने प्रयास” (सुवेदी, २०५८, पृ. ७) भएको छ ।
प्राचीन विषयवस्तुलाई आधुनिक समयसाक्षेप रुपमा प्रस्तुत गर्ने उपन्यासकारको स्वीकारोक्ति मननीय छ । आफ्ना कृतिहरुको सन्दर्भमा स्वयं मदनमणि दीक्षितको भनाइ यस्तो छ : “यसमा मैले रोजेका कथावस्तुमध्ये अधिकांश बीज रुपमा वैदिक वाङ्मय र महाभारतमा छन् । तर तिनका प्रस्तुति मैले आफ्नै विचार र विश्लेषणका आधारमा गरेको छु” (दीक्षित, २०५८, पृ. ३५) । उपरोक्त विवेचनाको आधारमा के निष्कर्षनिकाल्न सकिन्छ भने मदनमणि दीक्षितले प्राच्य तथा पौरस्त्य दर्शन, वाङ्मय तथा लिखित साहित्यको गहन अध्ययनबाट प्राप्त आफ्नो अपुल ज्ञानलाई मनन र मन्थन गरी प्राचीन विषयवस्तुलाई पुरानै लाग्ने तर एकदमै नयाँ पारामा ढालेर “माधवी” तथा “भूमिसूक्त” शिर्षकका दुर्इ अनुपम उपन्यासद्वारा नेपाली साहित्यको भण्डार भरेका छन् ।
उपरोक्त संक्षिप्त विवेचनाको आधारमा विगत ६ दशकको समयावधिमा नेपालको गद्यसाहित्यले निकै ठूलो फड्को मारिसकेको छ भन्ने निचोड निकाल्न सकिन्छ ।
मास्को, रूस महासंघ ।
(स्रोत : Sundarshaili)