~बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’~
अभावको कसौडी बसाली
अनुभवको प्रमाण-पत्र जलाई
भित्री हड्डीको ढुङ्ग्रोले फुssफुss गर्दै
धेरै बेर उसले आकाक्षाको ढुंगा पकायो ।
पाक्छ किन नपाक्ने भन्दै आफ्नै मन बुझायो ।।
गल्न त दाल पनि गल्छ
गल्न त मन पनि गल्छ
भरिएर गरिवीको आहत सहे पछि
जल्न त मन पनि जल्छ
जल्न त तन पनि जल्छ
उस्ले पनि भोगाइको राप बनाएकै हो ।
व्यथाको भुङ्गोमा आफैलाई डुवाएकै हो ।
डकनी उघार्यो
दु:खमा उम्लिएको पानी नियाल्यो ।
सन्टुष्ठीको एक घुटको थुक निल्यो ।।
बिचरा !
ऊ संगै थुक बाहेक निल्न लायक केही थिएँन ।
भरोसाको सानो बार लगायो
आशाको अगुल्टोलाई ठोस् ठास गर्यो
पीडा रुपी धुवाको गुम्वजमा ढुंगा पाक्ने सपना फूल्न थाल्यो ।
प्रतिक्षाको एक सरो आवरण फेरि मनभित्र ढाक्न उद्धेलित भयो ।
पाक्न त चामल पनि पाक्छ ।
पाक्न त हृदय पनि पाक्छ ।।
रातले उषाको किरण भेट्दासम्म न गले पछि
थाक्न त भरोसा पनि थाक्छ ।
थाक्न त आशा पनि थाक्छ ।।
ओदानलाई कुनोतिर मिल्कायो ।
तातो नपाकेको गरिवीको ढुंगालाई पटुकीमा बेर्यो ।
कठै !
उसले त्यहि तातोपनलाई पेटमा सेकाएर रातभर /दिनभर निदायो ।।
बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’
मिति:०६८-०३-२०
(स्रोत : Openbooksonline.com)