~श्रीभद्र शर्मा~
१. मलाई वीपी जयन्तीका सन्दर्भमा उहाँका विषयमा केही लेखिदिने आग्रह साथीहरुबाट जब भयो, मैले आफूलाई निकै अप्ठ्यारोमा पाएँ। हुन्न भनूँ, ममा त्यो आँट आएन। हुन्छ भनेर स्वीकार गर्न पनि सजिलो भएन किनभने वीपीका विषयमा खास गरी २०४६ सालको जनआन्दोलनपछि त यति धेरै मानिसले विभिन्न दृष्टिकोणले यति धेरै लेखिसकेका छन् अब नयाँ केही कुरा लेख्न मेरो कलम समर्थ होला भन्ने मलाई विश्वासै लागेन। त्यसमा
अझ मैले नै पनि वीपीका विषयमा कम कहाँ लेखेको छु र? तै पनि नाइँ भन्न नसक्ने मेरो आफ्नो कमजोरीले भनूँ वा वीपीप्रतिको श्रद्धाले मैले यो कलम चलाउन लागेको हुँ। यसमा पिष्टपेषा भएको भए पनि पीठाले आफ्नो पौष्टिकता सरसता गुमाएको हुनेछैन भन्ने मेरो विश्वास छ।
जब हामी वीपीका विषयमा चर्चा गर्न थाल्छौँ त्यस बेला हामीले बिर्सनै नहुने वा बिर्सनै नसक्ने गुण उहाँमा के थिए त? प्रारम्भमा त्यसैको चर्चा गर्नु उचित हुनेछ। अत्यन्तै ठूलो साहस, आफ्नो कर्तव्यका प्रति ज्यादै ठूलो इमान्दारी, भविष्यसम्मको दूरदर्शिता र आफ्ना निश्चयमा दृढता उहाँका विशेष गुन हुन्। यसमा पनि उहाँको अझ ठूलो गुण निरन्तरको क्रियाशीलता र कर्मठता हो; मैले उहाँलाई कहिल्यै निष्क्रिय बसेको देख्न पाइनँ। निरन्तरको यही क्रियाशीलता नै उहाँलाइ निरन्तर उच्चतातिर बढाउने प्रमुख कारक हो। आफ्ना मित्रहरुप्रतिको सद्भावना, समानता र संवेदनशीलता उहाँका अद्भुत गुणमध्ये नै पर्छन्। उहाँले आफ्ना साथी वा मित्रहरु कसैलाई पनि आफूभन्दा सानो ठान्नुभएन र सबैसँग समानता र आत्मीयतापूर्ण व्यवहार कायम राख्न सदा सफल हुनुभयो। अहँ, यतिमात्र होइन; उहाँले आफूभन्दा ठूलो पनि कसैलाई मान्नुभएन चाहे त्यो संसारको जतिसुकै ठूलो नेता होस्।
उहाँ जुन बखत प्रधानमन्त्री हुनुहुन्थ्यो त्यस बखत हाम्रा उत्तर र दक्षिणका महान् मित्रराष्ट्र चीन र भारतका प्रधानमन्त्रीका रुपमा चाउ एन लाई र पं. जवाहरलाल नेहरु थिए। यी दुई आफ्ना जमानाका कति ठूला व्यक्ति हुन्– यो हामी सबैलाई थाहा छ। यी दुवै प्रधानमन्त्रीसँगको व्यवहारमा उनीहरुलाई आदर–सम्मान दिने कुरामा र स्वागत–सत्कार गर्ने कुरामा उहाँले कुनै कमी रहन दिनुभएन र उहाँले आफूलाई कुनै अवस्थामा पनि उनीहरुका सामुन्ने कान्छो सहयोगीका रुपमा प्रस्तुत हुन नदिएर उनीहरुकै बराबरीमा प्रस्तुत गर्नुभयो। यो बराबरी केवल पदीय हैसियतमा मात्र होइन, व्यक्तित्व र विचारका हैसियतमा पनि र राष्ट्रिय स्वार्थ र राष्ट्रिय सार्वभौमिकताको संरक्षणका हिसाबमा पनि थियो। उहाँले आफूलाई उनीहरुको बराबरीको श्रेणीबाट एक इन्च मात्र पनि तल पर्न दिनुभएन। राष्ट्रिय स्वाभिमानको जुन भावना उहाँका अङ्ग—अङ्गमा र नसा—नसामा भरिएको थियो, यो त्यसैबाट मात्र सम्भव भएको हो।
२. उहाँले कसैलाई आफूभन्दा ठूलो नठान्ने मात्र होइन, आफूभन्दा सानो पनि कसैलाई ठान्ने गर्नुभएन। यतिसम्म कि घरमा कामका लागि राखिएका नोकरहरुमा पनि उहाँको साहानुभूति उत्तिकै रहन्थ्यो। म उहाँ नक्साल नागपोखरीमा बस्दा उहाँका घरमा बसेको पूर्ण भन्ने केटालाई सम्झन्छु। कुन्नि अचेल ऊ कहाँ कुन अवस्थामा छ, अथवा जीवित नै पनि छ कि छैन; त्यो मलाई थाहा छैन। त्यो केटो घरको मालिक हो कि नोकर हो— छुट्टयाउन सकिन्नथ्यो। वीपीबाहेक अरुलाई ऊ टेर्दैनथ्यो र नमीठो खान र धुलो—मैलो लगाउन त ऊ जान्दै जान्दैनथ्यो। मीठो खाने र राम्रो लगाउन त ऊ जान्दै जान्दैन्थ्यो। मीठो खाने र राम्रो लगाउने कुरामा त वीपी चर्चित नै हुनुहुन्थ्यो। त्यो केटो यस कुरामा वीपीलाई पनि उछिन्ने खालको थियो। कहिलेकाहीँ वीपी ठट्टैठट्टामा भन्ने पनि गर्नुहुन्थ्यो— “कसको नोकर हो, बुझ्यौ? के उ मभन्दा कम छ त?” यसै सन्दर्भमा एउटा यस्तै अर्को घटनाको पनि चर्चा गरौँ। कुरो २००९ सालको हो— रामनारायण मिश्रज्यूका छोराहरुको व्रतबन्धमा आमन्त्रित भएर हामी महोत्तरीको पिपरा गाउँमा रामनारायणजीका घरमा पुगेका थियौँ। कुरो बिहान जलपान गर्नलाग्दाको हो।
रामनारायणजी तराईको जमिन्दार। आफ्ना नोकर, चाकर र हरुवा—चरुवाका प्रति जमिन्दारहरुको डाँको त्यसै पनि चर्को हुने। त्यसमा पनि रामनारायण त चर्को डाँकोका लागि ख्यातनामा नै हुनुहुन्थ्यो। उहाँले आफ्नो घरको एकजना नोकरलाई “ए बिसेसरा” भनेर चर्को डाँकोले हप्काउँदै कुनै काम अराउनुभयो। हामी सबै जलपानमा नै मस्त थियौँ र रामनारायणजीको डाँकोका प्रति त्यति वास्ता गरेनौँ। तर वीपीलाई त्यो डाँको चसक्क बिझेछ। उहाँले ठट्यौलो पारामानै भन्नुभयो— “यो बिचरा गरीब र अशिक्षित भएर नै त यसलाई रामनारायणजीले यत्रो चर्को स्वरमा हप्काउन सके। यदी यो केटो पनि घरमा दुई गाँस खान पाउने भएको भए र दुई अक्षर पढ्नलेख्न पाएको भए मजस्तै ‘वीपी बाबु’ वा ‘विश्वेश्वरजी’ हुन्थ्यो होला नि हैन?” वीपीले सामान्य ठट्टाकै रुपमा भए पनि गरीबहरुका प्रति आफ्नो साहानुभूतिको उद्गार पोख्नुभएको थियो। वीपीको यस उद्गारलाई त्यस बखत त्यहाँ जलपान गरिरहेका साथीहरुले वा स्वयं रामनारायणजीले कुन रुपमा लिनुभयो, त्यो म भन्न सत्तिनँ। तर मलाई लाग्यो— त्यो गरिबहरुका प्रतिको वीपीको सहानुभूतिकै एउटा प्रतिबिम्ब थियो।
३. वीपीको अर्को गुणको चर्चा गर्दा उहाँको निस्पृहतालाई लिनुपर्छ। उहाँ कुनै पनि आफ्नो व्यक्तिगत स्वार्थभन्दा धेरै पर हुनुहुन्थ्यो र उहाँमा कुनै प्रकारको पनि व्यक्तिगत स्पृहा वा वाञ्छा थिएन। उहाँको चिन्तन हमेशा नै राष्ट्र र प्रजातन्त्रप्रति नै रहने गथ्र्यो। यस विषयमा राम्रो प्रकाश पार्न पनि म यहाँ एउटा सानो घटनाको उल्लेख गर्न चाहन्छु।
कुरो सम्भवतः २०१० सालतिरकै हो। वीपी तिनताका विशालनगर वसन्तशमशेरका दरबारमा बस्नुहुन्थ्यो। एक दिन बिहान म उहाँलाई भेट्न पुगेँ। त्यस बखत सुशीला भाउजू पनि काठमाडौंमै हुनुहुन्थ्यो। म पुग्दा उहाँहरु भोजनकक्षमा बिहानको नास्तामा हुनुहुन्थ्यो। मलाई पनि त्यहीँ बोलाउनु भएकालले म टेबुलमै पुगेँ। मलाई आफ्नो कुरा भन्नु त केही थिएन। त्यसैले म पति—पत्नीका बीचको कुरा सुन्नमा नै व्यस्त रहेँ। सुशीला भाउजू राजनीतिमा उति चाख नराख्ने मान्छे; एउटी सच्चा गृहिनी। वीपी प्रायः काठमाडौंमा नै बस्ने भएपछि सँधै डेरा खोज्दै दश ठाउँमा चाहार्नु सट्टा एउटा सानै भए पनि आफ्नै घर बनाउन पाए …. भन्ने उहाँको इच्छा। उहाँहरुको कुरा यसै विषयमा हुँदै थियो। सुशीला भाउजू आफै पनि एउटी समझदार गृहिणी। उहाँले स्वयं नै पनि नजान्ने र नबुझ्ने कुरो त के थियो र? तैपनि त्यस बखत वीपीले सुशीला भाउजूलाई जे भन्नुभयो त्यो यति मार्मिक थियो कि त्यो मैले अहिलेसम्म बिर्सेको छैन। उहाँले भन्नुभएको थियो— “काठमाडौंमा घर नभएर के भयो र? विराटनगरमा हाम्रो घर त छ नि। घर छ, जग्गा—जमिन छ, के छैन? रातमा मुड आत्ने ठाउँसम्म नहुने र एक गाँस खानसम्म नपाउने हामी जस्ता कति नेपाली छन्, तिनका व्यवस्था कसरी गर्न सकिएला भनेर ध्यान दिने कि मेरा काठमाडौंमा घर भएन भनेर घर बनाउनेतर्फ ध्यान दिने त विश्वेश्वरले? काठमाडौंमा घर भएनत के भयो, पाटीमा बास बस्नुपरेको छैन। जुन घरमा बस्यो त्यसैलाई आफू बसिन्जेल आफ्नै ठानिदिए भइहाल्यो नि? आफ्नो र अर्काको ठान्ने भन्ने त मन न हो। अहिले यहाँ विशालनगरमा यो भव्य महलमा बसेका छौँ, यसैलाई आफ्नो ठान। भोलि यहाँबाट जानुपरेछ भने जहाँ जाऔँला त्यसैलाई आफ्नै ठानेर बसौँला, केको चिन्ता? यहाँ आफ्नै भनेर ठूलठूला भवन र दरबारमा बस्नेहरु पनि एकदिन सबै छोडछाड गएर गएकै छन्। जहाँ बसे पनि सुबिस्तासँग बस्न पाए त भइहाल्यो नि।” उहाँको यस्तो दार्शनिक उत्तरले सुशीला भाउजूको कति चित्त बुझ्थ्यो, तयो बेग्लै कुरो हो। तर वीपी भने आफ्नो यस दर्शनमा जीवनभर लिसो टाँस्सिएझैँ टास्सिएरै बस्नुभयो।
आफ्ना जीवनकालमा उहाँको काठमाडौंमा न कुनै घर बन्यो, न त कतै कुनै धनसम्पति र जायजेथा नै जोडियो। उहाँले आफ्ना जीवनमा कमाउन सकेको केवल एउटै कुरा मात्र हो; त्यो हो— “वीपी कोइराला” भन्ने नाम। उहाँले आफू बाचुन्जेल आफ्नो चरित्रमा कुनै स्निग्ध पदार्थ दलिन नदिएकै कारण उहाँको चरित्रमा कुनै दाग वा धूलो दलिन वा टाँस्सिन पाएन। उहाँको विशेषता नै यही हो।
४. अब आउनुहोस्; एक्कैछिन वीपीका यी विचार, व्यवहार, सिद्धान्त र आदर्शलाई आजको वास्तविक राजनैतिक धरातलमा खोज्ने प्रयास गरौँ। यहाँ एमाले वा विभिन्न कम्युनिष्ट घटकहरुको वा नयाँ नयाँ पार्टीहरुको कुरा गर्न नलागेर वीपीले आफ्नो जीवनभरको प्रयासबाट बनाएको पार्टी नेपाली कांग्रेसकै कुरा गरौँ। के आजको कांग्रेसमा वीपीका विचार, व्यवहार, सिद्धान्त र आदर्शको अवशेष कहिँ बाँकी छ त? हो यहाँ वीपीको नाम लिएर नथाक्ने नेताहरुको कमी छैन। आमसभा वा सार्वजनिक समारोहहरुमा वीपीको सपना पूरा गर्ने शपथ नखाईकन र राष्ट्रियता, प्रजातन्त्र र समाजवादको फलाको नफलाकीकन कसैको भाषण टुङ्गिदैन। तर व्यवहारमा? कसैको पनि के हो वीपीको सपना र के हो राट्रियता, प्रजातन्त्र र समाजवाद— त्यसको अत्तोपत्तो नै रहदैन। राट्रियतका नाममा छिमेकी मित्रराष्ट्रका नेताहरुलाई रिझाउन तँछाडमछाड गर्नु र समाजवादका नाममा नाफामा चलिरहेका सरकारी क्षेत्रका उद्योगधन्दा र कलकारखाना कौडीको मूल्यमा निजी क्षेत्रलाई बेच्नु आजको सामान्य क्रिया भइरहेको छ।
वीपीको जीवनकालमा जुन भारतीय नेताहरु उहाँका सामुन्ने झुकेर दण्डवत् प्रणाम गर्थे, आज तिनै नेताहरुलाई हाम्रा नेताहरुले झुकेर दण्डवत् प्रणाम गरेको देख्नुपरे पनि आश्चर्य मान्नुपर्ने खण्ड पर्दैन। हाम्रा नेताहरु आपसमा झगडा गरेर मारामार गर्दा मित्रराष्ट्र भारतबाट भारतीय नेताहरु आएर मिलाउनु परेका कुरा त इतिहासका ताजै घटना छन्। राष्ट्रियता र समाजवादका कुरा यहीँ छाडेर वीपीको आदर्शकै मात्र कुरा गरौँ। यस प्रसङ्गमा म एउटै मात्र दृष्टान्त दिन चाहन्छु। वीपी प्रधानमन्त्री हुनुभयो १८ महिना। उहाँ प्रधानमन्त्री नभएको भए पनि वीपी त वीपी नै हुनुहुन्थ्यो के फरक पथ्र्यो र? तर हुनुभयो।
स्वर्गीय श्री ५ महेन्द्रबाट सत्र साल पुष १ गते संसद् विघटन गरिबक्सेर वीपीसमेतका मन्त्रीहरु र कांग्रेसका नेताहरु पक्राउ परेपछि वीपीलाई सुरक्षा कानुनअन्तर्गत थुन्नुभन्दा कुनै पनि भ्रष्टाचारसम्बन्धी वा अन्य कुनै देवानी वा फौजदारी मुद्दा चलाएर थुन्न सकिन्छ कि भनेर त्यसबखतका प्रशासकहरुले के नै प्रयास गर्न बाँकी राखेका थिए र? यसलाई अंग्रेजीको प्रचलित उखानमा भन्नु पर्दा ‘नट अ सिङ्गल स्टोन वाज लेफ्ट अनटर्नड’। वीपीको कहाँ के मात्रै खानतलासी लिन बाँकी राखियो र? बैङ्कखाता जाँच गरिएन कि? अथवा कतै कहि लुकाएर पो राखेको छ कि भनेर खोज्ने प्रयास गरिएन कि? त्यसबखत वीपीलाई हालको मलेसियाका अनवर बनाउने कति प्रयास भएको थियो भन्ने कुराको जीवन्त साक्ष्य त त्यस बखतका काठमाडौंबाट प्रकाशित हुने अखवार नै छन्। तर पनि ती प्रशासकहरुलाई केवल असफलताभन्दा बढी अरु के नै हात लाग्यो त? वीपी प्रधानमन्त्रीको शपथग्रहण गरेर सिंहदरबार पस्ता उहाँको आर्थिक अवस्था जस्तो थियो, सत्र साल पुष १ गते थापाथलीबाट पक्रिएर बरफबाग भित्रिँदा पनि त्यसमा कत्ति पनि परिवर्तन थिएन। थियो नै बरु हुन सक्छ उहाँमाथि आफ्ना मित्रहरुको केही ऋण थपिएको होस्। तर आज? आज खासगरी ०४६ सालपछि जो पनि सासद वा मन्त्री बन्न पुगेका छन्, तीमध्ये केवल छ महिना मात्र मन्त्री बन्न पाएका पनि काठमाडौंमा आफ्नो घर—घडेरीको बन्दोबस्त मिलाउनतिर नलागेका वा नलाग्ने को छन् त? आजको यो कुरो केवल कांग्रसको मात्र एकलौटी होइन। एमालेको नौ महिने सरकारका मन्त्रीहरुको वा त्यसपछि बनेका विभिन्न संयुक्त सरकारका मन्त्रीहरुको पनि कथा यही हो। यसैले आजको राजनैतिक धरातलको वास्तविकतालाई राम्ररी केलाएर भन्नुपर्दा यही भन्नुपर्छ कि आजको राजनीतिले वीपीलाई बिर्सिसकेको छ।
नेपाली कांग्रसका नेताहरुले वीपीलाई “जननायक” वा “महामानव” जस्ता विशेषण जति ओढाए पनि र उहाँको सपना साकार पार्ने फलाको (नारा) जति फलाके पनि व्यवहारतः त्यो निरर्थक भइरकेको छ। वास्तवमा नै आजको नेपाली कांग्रेस वीपी र सुवर्णको पालाको कांग्रेस रहेको छैन। यो पार्टी वीपी र सुवर्णको निधनपछि त्यसै पनि टुहुरो भइसकेको थियो भने गणेशमानजीको निधनले त वास्तवमा नै यस पार्टीलाई ‘सिद्धान्त र आदर्शविहीन’ पार्टीका रुपमा परिणत गरिदिइसकेको छ। आज यस पार्टीको धुकधुकी यसको उज्ज्वल इतिहासले मात्र कायम राखेको छ। इतिहासले कमाइदिएको पूँजी सदाका लागि कायम रहन सक्तैन। त्यस पूँजीमा आजको पुस्ताले पनि आफ्नो लगानी थप्न सक्नुपर्छ। आम्दानीभन्दा खर्च धेरै गर्दछ भने जति धनी भए पनि भोलि त्यो गरीब हुने निश्चित छ। सधैँ इतिहासले कमाइदिएको पूँजीको भरमा बाँच्न खोज्नुको सट्टा कांग्रेसभित्रको आजको नयाँ पुस्ताले इतिहासको त्यस सञ्चित कोशमा आफ्नो समेत लगानी थप्ने र नयाँ इतिहास निर्माण गर्ने कुरामा बेलैमा सतर्क हुनसके बेस हुनेछ। नत्र इतिहासले कांग्रेसी युवाहरुलाई पर्खेर बस्ने छैन र आफ्नो बाटो आफैँ बनाउनतिर लाग्नेछ।
वीपीसँगका केही संस्मरणः जननायक वीपी कोइरालाको व्यक्तित्वका अनेक आयाम (काठमाडौँ: एकता प्रकाशन, २०५७) (पृ. १५५–१६०)