~दिव्य गिरी~
सधैंको जस्तै आज पनि
तिम्री दुःखी चमेलीको सादर प्रणाम
तिम्री विरही चमेलीको सदा सम्झना ।
हिजो—अस्तिका चिठीहरू
आँसुले लेखेथें
विछोडको पीडामा बगेको आँसुले कोरेथें
तर आज यो चिठी
रगतले लेखिरहेछु
हो, रगतले
तिम्रै भाइहरूको रातो रगतले
तिम्रै दाजुहरूको तातो रगतले
तिम्रै आमा—बुबा र
दिदी—बहिनीहरूको आलो रगतले ।
साँच्चै, मेरो प्रिय खसम
यतिवेला यो वर्तमान
रगतको आहालमा चुर्लुम्म डुबेको छ
यतिवेला यी बस्तीहरू
आँसुको झरीमा निथु्रक्क रूझेका छन् ।
मेरो प्रिय परदेशी खसम,
हिजोआज,
म स्वयम् घाइते बाँचिरहेछु
म स्वयम् पीडाको पहाड अग्लिरहेछु
म स्वयम् आँसुको नदी बगिरहेछु
र, कसरी लेखुँ गाउँघरको खबर
घरहरू बलेको खबर
मनहरू जलेको खबर
रगतको आहाल जमेको खबर
आँसुको भेल बगेको खबर
अलाप—विलाप र रूवाबासिको खबर
गन्ति गर्नेै नभ्याउने लाशहरूको खबर
दिनदिनै मलाम जानु परेको खबर
सम्पूर्णमा भन्नुपर्दा सिँगै देशले बरखी बारेको खबर ।
देखेर हजारौं टुहुराहरूको मुहार
देखेर हजारौं विधवाहरूको अनुहार
हरदम यो मन हजारौं टुक्रामा विभक्त हुन्छ
हरदम यो छाती चरचरि चिरिन्छ ।
खासै भन्नुपर्दा यतिबेला
चराहरूको चिरविर गुञ्जने आँगनमा
बन्दुक र बम् पड्किरहेछन्
परेवाका बथान उड्ने आकाशमा
भय र त्रासको मुस्लो उठिरहेछ
अशान्ति र अँध्यारोको आँधी चलिरहेछ
यस्तो परिवेशमा
यो सङ्कटग्रस्त देशमा
मेरो प्यारो खसम् ,
तिम्री चमेली पनि सुरक्षित छैन ।
त्यसैले यसवेला
मभित्र तिमीभन्दा पनि बढी
शान्तिको खाँचो छ
तिम्रो मायाकोभन्दा पनि बढी
शान्तिको भोक छ ।