~बिजु सुवेदी ‘विजय’~
गङ्गा किनारमा माकंदिता नामको नगर अवस्थित छ । त्यहाँ एउटा मठमा एउटा मौनव्रतधारी साधु बस्दथ्यो । उसले बोलेको कसैलाई पनि थाहा थिएन । त्यस नगरका सबैले उक्त साधुलाई अत्यन्तै आदर-सम्मान गर्दथे । उसको मौनव्रतको जताततै चर्चा-परिचर्चा थियो ।
एकपल्ट उक्त साधु भिक्षा माग्नका लागि एक वैश्यको घरमा पुग्यो । वैश्यको छोरी भिक्षा लिएर आइन् । उसको रुप अत्यन्त अद्भूत र उन्मादक थियो । वैश्यपुत्रीलाई देखेर साधुले आफूलाई काबुमा राख्न सकेन र कामबाट पीडित भएर बैश्यलाई सुनाएर चिच्यायो :- ” ओहो ! कष्ट छ, कष्ट छ । “
त्यसपछि भिक्षा लिएर त्यो धूर्त आफ्नो मठमा आइपुग्यो । वैश्यलाई चिन्ता लाग्यो कि सदा मौन बस्ने साधु महाराजले मेरी छोरीलाई देखेर ” ओहो ! कष्ट छ, कष्ट छ । ” यस्तो किन भन्नुभयो ? त ऊ मठमा गएर एकान्तमा साधुलाई भेट्यो र सोध्न लाग्यो कि महाराज यस्तो कुरा के छ कि मेरो छोरीलाई हेरेर तपाइँले आफ्नो मौनव्रत तोड्नुभयो ?
साधुले भन्यो :- सुन, त्यो कन्या परम् अशुभ लक्षणको भई । त्यसको विवाह भयो भने तिम्रो सारा कुटुम्बको समूल नाश हुनेछ । त्यसैले यसलाई देखेर म चिच्याएँ । मलाई वास्तवमा तिम्रो लागि दुःख छ । तिमी मेरो भक्त हौ ।तिम्रो माथि मडारिरहेको बिपत्तिलाई हटाउने उपाय मैले सोचेको छु । तिमी उक्त कन्यालाई काठको एउटा सन्दूकमा बन्द गरेर गङ्गामा बहाइदेऊ । आज रातिनै यो काम गर । सन्दूकको माथि एउटा दियो पनि बालेर पठाइदिनु ।
वैश्य अनिष्ट होला भनेर अत्यन्तै डराइसकेको थियो । त्यसैले उसले त्यही गर्यो जुन साधुले भनेको थियो ।
यता साधुले आफ्नो चेलाहरुलाई भन्यो कि जाऊ, गङ्गा नदीमा कुनै सन्दूक, जसमा दियो राखिएको होस्, देख्यो भने त्यसलाई चुपचाप उठाएर ल्याऊ । हेर सन्दूकको भित्रबाट कुनै आवाज आएतापनि त्यसलाई वास्ता नगर यो तन्त्रको मामला हो ।
साधुको आदेशलाई मानेर उसको चेलाहरु गङ्गा किनारमा पुगे । तर त्यसभन्दा पहिलेनै एउटा राजकुमार त्यहाँ पुग्यो र गङ्गामा बगिरहेको सन्दूकलाई देख्यो र उसले आफ्नो सेवकहरुलाई भनेर सन्दूकलाई किनारमा ल्याउन लगायो । सन्दूक खोल्ने बित्तिकै अत्यन्तै अद्भूत र उन्मादक रुपकी युवतीलाई देखेर ऊसँग बिहे गर्नलाई उसलाई लिएर गयो र सन्दूकमा एउटा खुँखार बाँदरलाई बन्द गरेर दियो पनि बलेकै राखेर गङ्गामा बहाइदियो ।
फेरि त्यो साधुको चेलाहरुले त्यो सन्दूकलाई उठाएर ल्याए । अनि गुरुको अगाडि राखिदिए । साधुले उनीहरुलाई भने :-“यो सन्दूकमा एउटा प्रेत छ । यसलाई एकान्तमा साधना गरेर खत्तम पार्नुपर्छ । तिमीहरु कोहीपनि यहाँ नआऊ । कुनै पनि प्रकारको आवाज आउपनि त्यो प्रेत भनेर सम्झनु ।”
यसप्रकार शिष्यलाई पठाइसकेपछि साधुले सन्दूकलाई कोठामा लग्यो अनि झयाल ढोका सबै बन्द गर्यो, अनि सबै ठाउँमा चुकुल लगायो, अनि सन्दूक खोल्यो अनि त्यहाँबाट बाँदर निस्क्यो । बाँदरले साधुलाई चिथोर्न, कोपर्न थाल्यो । बाँदरले साधुको बेहाल अनुहार बनाइदियो । उसको शिष्यहरुले प्रेतको करामत र तन्त्रको मामला भनेर केहिपनि वास्ता गरेनन् अन्त्यमा सबैकुरा पत्ता लाग्यो । माकंदिका नगर भरी उक्त साधुको महा बेइज्जत भयो । त्यो साधुलाई कसैले मानेनन् । उक्त साधुको बेहाल रुप देखेर कसैलाई पनि दया पलाएन । बरु सबै ऊदेखि हाँस्दथे ।
उता बैश्यपुत्री र राजकुमार आनन्दसँग जीवन बिताई बस्न थाले ।
नोट :- महाकवि सोमदेव विरचितद्वारा रचिएको कथासरित्सागरको संस्कृत कथालाई रुपान्तरण गरी उक्त कथाको मैले यहाँ नेपालीमा रुपान्तरण गरी पेश गरेको छु ।
बिजु सुवेदी “विजय”
कुलेश्वर काठमाण्डौं ।
bijusubedi@hotmail.com
(स्रोत : Blog)