पौराणिक कथा : कालभैरब

~बिजु सुवेदी ‘विजय’~Biju Subedi - Bijaya-2

धेरैजसो व्यक्तिलाई थाहा नहुन सक्छ कि काठमाण्डौंको हनुमानढोकामा अवस्थित कालभैरबको मूर्ति अलिकति हँसिलो हुनुको रहस्य केहो भनेर । यसबारे जिज्ञासा जो कोहीलाई पनि हुनु स्वाभाविक हो । कालभैरव त वीररसले भरिपूर्ण हुनुपर्ने । तर किन अलिकति हाँसेको जस्तो देखिन्छ त ?

वास्तवमा कालभैरब पहिले हँसिलो थिएन । वीररसले भरिपूर्ण भयानक थियो । कालभैरबको मूर्ति अगाडि जो कोहीले पनि त्यहाँ असत्य बक्थ्यो त्यसले रगत छादेर मर्थ्यो । त्यसैले कसैले झूठ बोल्यो भने कालभैरबकहाँ ल्याएर बकाउँदथ्यो झूठ बोलेमा रगत छादेर मर्ने कारणले गर्दा साँचो कुरा पत्ता लाग्दथ्यो ।

धेरै पहिले एकजना नामूद घुस्याहा थियो । त्यो घुस्याहाले घुस खाएको कसैले पत्ता लगाउन सक्दैनथ्यो । एकदिन घुस पत्ता लगाउने सरकारी कर्मचारीहरू मिलेर त्यस घुस्याहालाई भोलि तँलाई कालभैरबको अगाडि लगेर बकाउने भनेर भने ।

त्यो घुस्याहा आफ्नो घर फर्क्यो । आफ्नो आमालाई सबैकुरा बेलिविस्तार लायो । अनि घुस्याहाको आमाले घुस्याहालाई आफ्नो स्तन चुस्न आग्रह गरिन् । घुस्याहाले मानेन । अनि आमाले यत्ति गर्यौ भने तिमीले रगत छादेर मर्नु पर्दैन भनेर धेरै जिद्दी गरेपछि घुस्याहाले मान्यो । अनि आमाले, “सुत्न जाऊ म तिमीलाई भोलि उपाय भन्छु, अवश्य नै तिमीले कालभैरवको अगाडि बके पनि तिमीले रगत छाद्नुपर्ने छैन,” भनेर भनिन् ।

घुस्याहालाई निन्द्रा लागेन । रातभरि छटपटी भइरह्यो । आमाले ठीक हुन्छ भनेको सम्झीरह्यो । भोलिपल्ट बिहान झसिमिसेमा आमाले कुचोले कोठामा बढार्दै थिइन् अनि घुस्याहाले अब भन्नुस् न आमा भनेर भन्यो । आमाले भनिन् :- ” तिमीले बक्दाखेरी मैले अन्तिमपटक आमाको दूध चुसेको बेलादेखि अहिलेसम्म एकपटक पनि घुस खाएको छैन भनेर भन्नु ।”

घुस्याहालाई आफू आमाभन्दा निक्कै चलाख लागेको थियो । तर ऊभन्दा पनि आमा झनै चलाख भएको अब उसले ठान्यो । उसको ऊ मात्रै चलाख भन्ने घमण्ड तोडियो ।

भोलिपल्ट घुस्याहालाई बकाउन कालभैरब कहाँ लगियो । उसलाई “तैंले घुस खाएको छ कि छैन भन् !” भनेर सोधियो ।

उसले “मैले आमाको दूध चुसेको बेलादेखि अहिलेसम्म एकपटक पनि घुस खाएको छैन” भनेर भन्यो ।

उसको चलाखी देखेर उग्ररुप भएको कालभैरब पनि हाँस्न पुगे ।

भनिन्छ त्यति बेलादेखि कालभैरबकहाँ लगेर बकाउने चलन हट्यो र त्यत्तिबेलादेखि नै कालभैरबको अलिकति हाँसेको रुप भएको हो भन्ने मान्यता अद्यापी पाइन्छ ।

बिजु सुवेदी “विजय”
कुलेश्वर काठमाण्डौं
bijusubedi@hotmail.com

नोट :- मैले पहिले वाल्यकालदेखिनै यो कथा सुन्दै आएकोले र अहिले पनि टुरिस्ट गाइडहरूले कालभैरबलाई देखाउँदै यही कथा भनेको सुनेकोले गर्दा यसलाई कृतिको रुपमा प्रस्तुत गरेको हुँ । इतिहासको कुरा बङ्गाउने मेरो प्रयास होइन । इतिहासको संरक्षण गर्ने मेरो उद्देश्य हो । यसबारे दिग्गजहरूबाट अरु पनि थप जानकारीको अपेक्षा गरेको छु । केही कारणले गलत प्रस्तुतिकरण भएको भए भूलचूक क्षमाप्रार्थी छु ।

(स्रोत : Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा, पौराणिक कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.