बाल-कथा : दशैँको लुगा

~सुधा रिसाल शर्मा~

“भोलि त घटस्थापना, भोलिदेखि हाम्रो स्कूल बन्द छ” राम र नीरा कराउँदै थिए । रामले भन्यो -“आमा ! आमा ! भोलि हामी नयाँ लुगा किन्न जाने है- तपाईंको पनि भोलि अफिस छुट्टी छ हैन -” त्यत्तिकैमा नीरा कराइन् -” मलाई त महँगो फ्रक चाहिन्छ । सस्तो खाले म त लगाउँदिन नि !”

आजभोलिका केटाकेटीले महँगो र सस्तो भनेर कुरा गरेको देखेर आमालाई दिक्क लाग्यो । उनले छोराछोरीलाई थामपुर पार्दै भनिन् -“हुन्छ ! हुन्छ ! भोलि जाऔँला । बिहान सबेरै उठेर जमरा राखौँला अनि दिउँसो चाहिं बजार जाऔँला ।” बिहान भयो । राम र नीरा सधैँ भन्दा चाँडो उठे । नुहाए अनि मन्दिर गएर आए । नीरा, राम र आमा तिनैजना मिलेर जमरा राख्ने घडा र ठाउँ सिँगारे । टपरीको बालुवा र घडामा बाबाले जमराको लागि जौ छरे । बेलैमा पूजा सिद्धियो । राम र नीरा कराउन थाले -“बाबा ! आमा ! छिट्टै जाऊँ बजार, ढिला भयो भने भीड हुन थाल्छ क्या ! छिट्टै जाउँ न !” आमा र बाबालाई केटाकेटीको कुरा ठीक जस्तो लाग्यो । उनीहरू छिटोछिटो बजारतिर लागे । बजार जान भनेर माइक्रोबस चढे । बसमा रामले आमालाई भन्यो -“आमा! आमा ! यसपालि हामीलाई महँगो खाले लुगा किनिदिनुस् है ।

त्यत्तिकैमा बसको खलासी केटा भाडा माग्न आइपुग्यो । आफ्नो छोरा जत्रै केटा देखेर रामको बाबालाई माया लाग्यो । उनले मायालु स्वरमा सोधे-“दिनको कति रुपियाँ कमाउँछौ नि बाबु-” केटाले बडो गर्व साथ भन्यो -“दिनभर खाएर ६० रुपिैयाँ बाँकी हुन्छ ।” बाबाले केही पनि नसोची तुरुन्त सोधे -“त्यो पैसा के गर्र्छौ त- दशैँको बेला छ तास, लङगुरबुर्जा खेलेर सिध्याउँछौ होला, हैन -” केटाले तुरुन्त जवाफ दियो -“हैन हजुर म त दिउँसो दिउँसो खलासीको काम गर्छु अनि राति राति रात्रि स्कूलमा गएर पढ्छु । पढाइमा नै त्यो पैसा खर्च गर्छु ” रामको बाबालाई लाज मर्नु भयो । केटाले बोल्दै थियो -“कहिले काहीं घरमा पैसा नभएको बेलामा चामल दाल किन्न पनि पैसा दिन्छु । यसपलि त अष्टमीमा मासु किन्न आमालाई एकदुर्इ सय दिने विचार छ । कहाँ तास खेल्नु नि!” सबै जना सानो खलासीको कुरा सुनेर छक्क परे । चुपचाप उसको कुरा सुन्न थाले, ऊ बोल्दै थियो -“नयाँ लुगा त किन्नुपर्ने थियो । तर त्योभन्दा पनि म त थुप्रै कथाका किताबहरू पो किन्छु त्यो पैसाले । आ ! नयाँ लुगा किन्दिन यसपालि” राम र नीरा केही बोलेनन् । खालि कुरा मात्र सुनिराखे । केही समयपछि बजार पनि आइपुग्यो । सबैजना बसबाट ओर्लिएर लुगा पसलमा पुगे । लुगा पसलमा पुग्ने बित्तिकै राम र नीराले एकै स्वरले बोले -“पसले दाइ ! हामीलाई राम्रो तर अलि सस्तो खाले लुगा देखाउनुस् त ।” घरमा महँगो भनेर कराउने केटाकेटीले एकैचोटी सस्तो भनेको देख्दा आमा बा छक्क परे । बसको सानो खलासी केटाको कुरा सुनेर आफ्नो छोरा छोरीको मन परिवर्तन भएको कुरा उनीहरूले बुझिहाले अनि मनमनै खलासी केटालाई धन्यवाद पनि दिए । राम भन्दै थियो -“नाइ दाइ त्यो नदेखाउनुस् । त्यो पक्कै पनि महँगो होला । अलि सस्तो खाले देखाउनुस् ।” आमा बा मुसुमुसु हाँस्दै केटाकेटीको लुगा छान्न थाले ।

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.