कथा : मृत्यु बिक्रीमा छ

~सुरज अर्याल~

रात चकमन्न थियो, आकाशमा बग्रेल्ती ताराहरु निरास निरास पिल्पिलाईरहेका थिए त्यो दिन, निदाउन सकिरहेको थिइन म, निदाउने हरेक प्रयासहरु असफल भइरहेका थिए, किन किन शुन्य लागइरहेको थियो आफ्नै मन? कतै केहि नमिलेजस्तो, कतै केहि नपुगेजस्तो, निरस र निस्सार (?) ओच्छ्यान संगैको झ्यालको पर्दा खोलें बाहिर हेरें बाटोमा हिंडिरहेका सवारीहरुको बत्तिको उज्यालो आइपुग्छ कोठासम्म, चारैतिर उज्यालो भरिन्छ- झलमल्ल, डर लाग्छ आफैंसंग त्यो उज्यालोमा, आफ्नै छायाँसंग तर्सेको जस्तो हुन्छु, मुटु ढुक्क फुल्छ तर किन??? को संग डराईरहेको छु म? के ले तर्साइ रहेछ मलाइ? किन डर लाग्दैछ उज्यालोसंग? बेहोस जस्तै भएको छु म हिजोआज, दिमाग कुनै पनि कुरामा एकत्रित गराउन सकेको छैन, मनमा नानाथरिका कुराहरु खेलिरहन्छन- सबै नकारात्मक मात्र | सोच्छु के म नकारात्मक सोचको सिकार भैरहेको त छैन? सपना हरु पनि त्यस्तै त्यस्तै देख्न थालेको छु, कहिले आफ्नै मृत्युको उत्सब मनाइरहेको हुन्छु त कहिले आफ्नै नजिकका मान्छेहरुको, हरेक सपनाहरु केहि न केहि अर्थ राख्ने खालका देखेको छु हिजो आज, तर के अर्थ राख्छन आफैलाई थाहा छैन? कुनै ठुलो दुर्घटना अगाडिको शुन्यताको भान हुदैछ मलाइ, डर लागि रहेछ भित्र भित्र, आफैदेखि, आफ्नै परिवारदेखि अनि नजिकका साथीभाई र अफिसका स्टाफहरु सबै देखि डर मात्र लाग्न थालेको छ, कसैलाई बिश्वास गर्न सकिरहेको छैन, साथीभाई हरुका सल्लाहहरुमा ठुलै षड्यन्त्रको आभास हुँदैछ, दाजुभाई-इष्टमित्रको सुझाब पनि नमिठो लाग्दैछ, सबैको माझमा पनि म एक्लै छु जस्तो लागेको छ | फेरी एकपटक चहकिलो उज्यालो पस्छ कोठाभित्र र म फेरी झस्किन्छु त्यो उज्यालो संग, किन यस्तो हुदैछ मलाइ आज भोलि? किन डर लाग्दैछ आफ्नै मान्छेहरुसंग? ओच्छ्यानबाट उठेर नजिकै रहेको पानिको जग बाट अलिकति पानि पिउछु र सिरानीको नजिकै रहेको बत्तिको स्विचनेर हात पुर्याएर स्विच अन गर्छु- बत्ति बल्छ झलमल्ल | धन्न आज लोडशेडिंग रहेनछ यति बेला यसो घडी हेर्छु रातको ११ बजेर ४० मिनेट गएको रहेछ भर्खरै-

निदाउने उपक्रमहरू लगभग सबै फेल भएको अवस्थामा मेरो लागि इन्टरनेट एउटा भरपर्दो सहयात्री हुनसक्थ्यो समय कटाउने, त्यसैले छेवैको टेबलमा रहेको ल्यापटप समातेर अन गर्छु र इन्टरनेट कनेक्ट गर्छु, इन्टरनेट कनेक्ट हुनासाथ क्रोम ब्राउजरमा एकैपटक धेरै ट्याब हरु खोलेर “फेसबुक”, “ट्विटर”, “जी-मेल” र आफ्नै ब्लग खोलेर हेर्छु, जी-मेल मा एउटा मेसेज आएको रहेछ “Secret Admirer” को नामबाट जहाँ लेखिएको थियो-

“Sorry for this message, but you compelled me to write something anonymously. Actually I saw you today years later and again your face made me crazy about you. I have nothing to share with you right now. Only I want to let you know that I opened this account only for you and I have a facebook account in same identity. I added you in my friend list. Hope you’ll accept and we’ll have a wonderful talk over there. See you on facebook”

बिना कुनै नाम र परिचय आएको त्यो इ-मेल पढिसकेपछि फेसबुक हेरें, त्यहाँ २ वटा फ्रेन्ड्स रिक्वेस्ट आएका रहेछन | जसमध्ये एउटा त्यहि “Secret Admirer” को नामको थ्यो, एकछिन एक्सेप्ट गरुं कि नगरुं भनेर सोच्दै थिएँ मनले भन्यो – “गर गर नत्र फुत्काउलास सजिलै हात पर्न लागेको चिज” म संग कुरा गर्नको लागि भनौं मेरै लागि भनेर कसैले जी-मेल देखि फेसबुक सम्म सबैतिर छद्म नाममा एकाउन्ट खोल्छ भने पक्कै पनि त्यसको पछाडी कुनै न कुनै राज अवस्य छ भन्ने सोचेर एक्सेप्ट गरें र नोटिफिकेसन हरु हेर्न मात्र थालेको थिएँ च्याटको आवाज सहित ब्राउजरको तलपट्टी रातो बत्ति बल्यो, क्लिक गरें उही रहिछे “Secret Admirer” भन्दै थिइ –

–    “So sweet of you. Thank you!”

–    “You are most welcome”  मैले पनि औपचारिकता पुरा गरें,

–    “No formalities. Please” उसले भनि,

–    “Ok, let’s talk in an informal way then, what’s your good name?” मैले अनौपचारिक कुराकानी गरौँ न त भनेर औपचारिक प्रस्ताब राखें,

–    “कति हतार?” उसले भनि,

–    “हुदैन त? को हो? के हो? केहि चिन्दै नचिनी के कुरा गर्नु त?” मैले भनें,

–    “नडराउनुस, म राम्रो संग चिन्छु तपाइंलाई, त्यसैले कुरा गर्न मन लागेको तपाइंसँग” उसले भनि,

–    “साँच्चै, तपाईं त मोटाउनु भएछ त पहिलाको भन्दा” उसले फेरी थपी “मैले हिजो देखें नि तपाइंलाई बाटोमा निकै पछी” मलाइ केहि कुरा सोध्ने अवसर नै नदिइ एकोहोरो उसले लेखिरहि |

–    “हो र? बाटोमा रे? कहाँ को बाटोमा?” मैले सोधें,

–    “न्युरोड, जर्मन बेकरी क्याफे बाहिर, सायद तपाईं साथीहरुसंग हुनुहुन्थ्यो” उसले भनि

–    “ए, हिजो हो है, अँ म साथीहरु संग कफी खान गाको थें” मैले भनें,

–    “कफी खान क्याफे मा? अनि त्यो पनि केटा साथीहरु संग? बिचरा !!!” उसले मेरो मनकै कुरा बोलि सायद, कहिले काहीं त मलाइ पनि आफ्नै अवस्था देखेर दिक्दार लाग्थ्यो, जहिले आडपाडको टेबलहरुमा मस्किदै कफिको चुस्की लगाउदै गरिरहेका जोडीहरु हेरेर थुक निल्दै बस्नुको विकल्प थिएन म संग, कल्पना गर्थें कहिले काहीं त आफनै पनि गर्लफ्रेन्ड भएको अनि संगै गएर मस्किदै कफी पिउदै गरेको “सर कफी” वेटरको बोलीले झसङ्ग हुन्थें धेरैजसो, छिनभरमै सबै ग्वार्लाम्म्गुर्लुम्मै हुन्थ्यो र म फेरी बास्तबिकतामा फर्किन्थें, “भाइ एउटा सुर्य” त्यहि झोंकमा अर्को एक खिल्ली चुरोट मगाउथें र रमाउथें त्यसैसँग |

–    “केटि साथि त हुनु पनि पर्यो नि संगै कफी खान जाने खालको?” मैले भनें,

–    “नभए बनाउनु पर्यो नि त बोस” उसले फेरी पनि जिस्किँदै भनि,

–    “बन्ने हो?” जिस्किएँ म पनि,

–    “बनाउने हो?” उ पनि के कम, मलाइ झन च्यालेन्ज नै पो गरि,

–    :) – के भन्ने, के नभन्ने सोच्दा सोच्दै मैले स्माइली टाइप गरेर इन्टर थिचें,

–    “खोइ त मेरो उत्तर?” उसले फेरी प्रशं गरि,

–    “के कुराको उत्तर?” मैले कुरा नबुझे झैँ गरें,

–    “Stupid! Still I love you” उसले भनि,

–    “Ha ha ha, Good joke” मैले उसको कुरालाई हावामा उडाइदिए,

–    “So…, still you are the same, not a single change in your behavior. Anyway liked

it. Keep it with you” –उसले मलाइ निकै पहिले देखि चिनेको जस्तै गरि भनि, हुनत उसले मेल गरेर भनिसकेकी थिइ अनि भर्खरै पनि निकै मोटाउनु भएछ पहिला भन्दा भनेर भनेकि थिइ, त्यसैको आधारमा पनि उसले मलाइ पहिला देखि नै चिन्छे भन्ने कुरामा कुनै शंका बाँकी रहेन, त्यसैले मैले भरमग्दुर प्रयास गरें कि उ को हो? मलाइ कसरि र कहिले देखि चिन्छे? के यो त्यहि केटि हुन सक्छे जस्ले मलाइ बेवारिसे बनाएर अलपत्र छाडेकी थिइ जीवनका कुनै मोडहरुमा? होइन, त्यो कसरि सम्भव हुन सक्छ? जब कोहि तिमीलाई जीवनको कुनै अप्ठ्यारा मोडहरुमा अलपत्र छाडेर जान्छ र फेरी जब तिम्रो जीवनले गति लिन थाल्छ अनि त्यहि व्यक्ति यो वा त्यो स्वरुपमा तिम्रो जीवनमा कसरि प्रवेश पाउन सक्छ? त्यसैले मैले भरमग्दुर  प्रयास गरेको थिएँ उसको बास्तबिकता वा भनुँ परिचय पत्ता लगाउन तर अहँ कसै गरे पनि त्यो बारेमा सोध्यो कि उसको एउटै जवाफ हुन्थ्यो, धम्कीपूर्ण –

–    “तपाईं नचिनेको मान्छे हरुसंग बोल्नुहुदैन भने ठिक छ मलाइ ब्लक गर्नुस, तर मलाइ थाहा छ तपाईंको बानि राम्रोसंग” उसले धम्कि दिदै अझ थपी

–    “चिनेको संग कुरा गर्नुहुँदा कसरि र नचिनेको संग कसरि अनि कतिबेर कुरा गर्नुहुन्छ सबै थाहा छ मलाइ, धेरै गफ नदिनु” मैले केहि भन्न नपाउदै सबै भनिसकि उसले

–    “ल ल भयो, तिमि संग कुरा त गरुंला तर दुबैले नचिनेको जस्तो पनि त भएन नि, मैले पो चिन्दिन त तिमीलाई, तिमीले त चिन्छौ भो मलाइ, अनि कसरि कुरा गर्नु त तिमीसंग? चिनेको मान्छे संग जसरि कुरा गरु भने चिनेको छैन अनि नचिनेको मान्छे संग जस्तो कुरा गरु भने दुवै एक-अर्कासंग अपरिचित छैनौं, सम्बोधनको लागि पनि त नामको जरुरत हुन्छ, नाम त भन” मैले भनें,

–    “म एउटा नाउँ दिन्छु तपाइंलाई म संग कुरा गर्न, तपाइंले मलाइ त्यहि नामले सम्बोधन गर्नुस तर त्यो मेरो बास्तबिक नाउँ होइन” उसले भनि,

–    “किन त्यस्तो? बास्तबिक नाम भने के नै पो जान्छ र?” मैले भनें,

–    “भन्छु कुनै दिन, तर तपाईं मेरो बास्तबिक नाम थाहा पाएपछि पनि म संग बोल्न छोड्नुहुन्न भन्ने कुराको ग्यारेन्टी भएपछी मात्र”

–    “ल ग्यारेन्टी भो” मैले भनें,

–    “तपाइंले ग्यारेन्टी गरेर हुदैन” उसले भनि,

–    “म बोल्ने कुराको ग्यारेन्टी मैले गरेर हुदैन रे? कसले गर्नु पर्छ त? नेपालि कागजमा लेखेर ल्याप्चे ठोकेर दिनुपर्ने हो?” म जिस्किएँ,

–    “मलाइ तपाईंको कुराको बिश्वास लाग्दैन, तपाईकै कारणले धेरै दुख पाइसकेकी छु मैले” उसले भनि,

म अवाक भएँ ! उसका शब्दहरुमा बिश्वास गरुं कि नगरुं? आफ्नो परिचय गोप्य राखेर म संग कुरा गर्ने मन छ उसलाई, अनि फेरी मेरै कुराको बिश्वास लाग्दैन रे? मैले कुनै निचोड नै निकाल्न सकिन उसले भनेका कुराको तैपनि को रहेछ पत्ता लगाई छोड्छु भन्ने अठोट लिएर कुरा गर्न थालें |

–    “मलाइ एउटा कुरा भन है त नाम नभन्ने भए” मैले प्रश्न गरें,

–    “के कुरा?”

–    “तिम्रो घर कहाँ हो?”

–    “किन?”

–    “हरे प्रभु ! हरेक कुराको उत्तर चाहिने तिमीलाई अनि मैले सोधेको कुराको उत्तर केहि पनि नदिने?” म रिसाएजस्तो गरें,

–    “रिसाको हो हाँडी?” उसले भनि

“हाँडी?” म झन्डै झस्कें यो शब्दले, यो त्यस्तो शब्द थियो जो मैले मेरा अति नजिकका साथीभाई हरुसंग मात्र प्रयोग गर्ने गर्थें, अब भने मलाइ पक्का भो कि यो केटि संग मैले भेटेको छु, कुरा गरेको छु अनि नजिकको सम्बन्ध स्थापित भैसकेको छ हामीबीच, किनभने यो शब्द मैले तिनीहरुसंग मात्र प्रयोग गर्थें, जो संग म अत्यन्तै नजिक थिएँ, जसलाई म मायाँ गर्थें वा जसलाई म मन पराउँथे र जिस्काउँथें त्यहि नामले उनीहरुसंग नजिक हुन, उ जो भए पनि एउटा कुरा भने पक्का भयो कि उसले मलाइ जति नजिक बाट चिन्छे त्यति नै नजिक बाट मैले पनि चिनेको छु उसलाई, तर कोहि थियो त्यस्तै मान्छे पनि मेरो जीवनमा तर यसरि साथ छोडेर गएकी थिई उसले कि उ अब फेरी यो वा त्यो रुपमा फर्केर आउनु सम्भव थिएन मेरो जीवनमा |

–    “तिमीले आफ्नो नाम भन्ने कि नभन्ने?” मैले फेरी उही कुरा दोहोर्याएँ,

–    “भनें त एउटा नाम दिन्छु हजुरलाई मलाइ सम्बोधन गर्न, मेरो बास्तबिक नाम पछी कुनै दिन भनुँला” उसले भनि त त्यो दिन”

–    “ठिक छ ल तर छिटै आउनु पर्छ है त त्यो दिन?” मैले उसको प्रस्ताब स्वीकार गरें,

–    “You can call me Sagarika” उसले भनि,

–    “सागरिका ?” आइ मिन लास्ट नेम?” मैले उसको बास्तबिकता को नजिक पुग्ने उदेश्यले उसको थर पनि सोधें,

–    “What’s in a name?- Shakespeare”  उसले लेखि,

मैले उसको कुरा बुझें र चुप लागें, चुपचाप उसकै बारेमा सोच्न थालें त्यतिकैमा च्याट बक्स मा रातो बत्ति बल्यो, क्लिक गरें, जहाँ लेखिएको थियो –

“Sorry I kept you in dark. But you compelled me to do all this. Please keep in touch. I’ll tell you all about me very soon but I must be assured from my heart that you’ll not stop talking with me like you did. Check your mobile inbox. There is a message waiting for you. Good night. Take care.”

फेसबुकमा सागरिकाको मेसेज पढिसक्दा नसक्दै मोबाइलमा मेसेजको घन्टी बज्छ मोबाइल खोज्छु हतार हतार, सिरानीमुनि रहेछ | सिरानीमुनि बाट मोबाइल निकाल्दै थिएँ अर्को पनि मेसेज आउंछ तुरुन्तै ९८४३-XXXXXX नम्बर थियो काठमाडौँको, सायद उसैको हुनुपर्छ- पहिलो मेसेज खोलेर हेर्छु, लेखिएको हुन्छ- “You know what? This number is only for you like my g-mail and facebook account. Don’t be surprised. There are lots of other stuffs to be disclosed.” संगै अर्को पनि मेसेज हेर्छु जहाँ लेखिएको हुन्छ- “and, again sorry for disturbing you, but you know? I am so much happy today just because of you. Thanks” सायद, मैले सोध्नु पर्ने कुराहरु धेरै भएर होला, केहि पनि सुझिराको थिएन मेरो दिमागमा के लेखौं? के सोधौँ भनेर सोच्दैथें फेरी अर्को मेसेज आयो, रोमनमा लेखिएको थियो-

–    “कन्जुस!!! पोस्टपेड मोबाइल बोकेर पनि १ रुपैयाँ खर्च गर्न नसक्ने रिप्लाई गर्न?

मलाइ भने निद्राले झ्याप बनाइसकेको थियो, त्यसैले पनि कुनै रिप्लाई बिना नै सुत्दिने निश्चय गरें | के थाहा, उसका मेसेजको रिप्लाई गरेर बस्न थालें भने भोलि बिहान अरु उठ्ने बेला सम्म पनि मरो सुत्ने समय आउँथ्यो-आउदैनथ्यो? त्यसैले पहिलो र अन्तिम मेसेज “I am not happy today just because of you. At least I should know you before replying your message. Good night” लेखें र मोबाइल स्विच अफ गरि उसैको बारेमा सोच्दै पल्टिएँ, मनमा नानाथरी कुरा हरु खेल्न थाले, को होला, किन यस्तो गर्दैछ मेरो लागि? कतै कुनै चिनेको साथीले नै पो नयाँ मोबाइल लिएर मलाइ मुर्गा बनाउदै त छैन? अर्को मन सोच्छु, तर जी-मेल, फेसबुक सबै तिर फेक एकाउन्ट बनाएरै मेरो पछी लाग्ने गरि त कुनचाहिं साथीको दिमाग फुस्क्या होला र? अझै उसले च्याटमा लेखेको सम्झें -”Stupid ! Still I love you”- Still?  यसको अर्थ उसले मलाइ अझै पनि माया गर्छे | कुनै समय पहिलो प्रेममा परेर बिछोडिएका प्रेमी-प्रेमिका ले लामो समयसम्म एक-अर्कालाई बिर्सन नसकेको र कता कता नजानिँदो प्रेम गरेको जस्तै उसले पनि मलाइ “अझैंपनि” प्रेम गर्छे | मान्छेहरुले भनेको सुनेथें समय बलवान छ र पृथ्वी गोलो अनि इतिहास दोहोरिन्छ | के उ म संग फेरी भेटिएकी हो त? के उसले मलाइ साँच्चिकै प्रेम गर्थी त? गर्थी भनें त्यसरी अनायास छोडेर जानुको अर्थ के? के पृथ्वी गोलो भएकैले उ फेरी भेटिएकी हो? के इतिहास फेरी दोहोरिएकै हो? तर पनि म बिश्वस्त थिएँ कि उसले फेरी मेरो जीवनमा फर्केर आउने आँट गर्दिन | के उ फर्केर आएपनि मैले उसलाई स्वीकार गर्छु होला र फेरि पनि? अहँ यो त कसैगरेपनि सम्भव छैन | म बिश्वस्त भएँ कि यो त्यहि केटि होइन अर्थात  कम्तिमा यो मेरो बिगतसंग जोडिएकि पात्र होइन | मलाइ फेरी इतिहास दोहोर्याउनु छैन, बिगल बल्झाएर सधैं भरि आफु त्यसैमा अल्झिरहनु छैन त्यसैले जब मा त्यो घटनाबाट संयमित भएर आएँ, त्यतिबेला देखि नै मैले मेरो बिगत बिर्सेर आएँ, कुनै याद बाँकी थिएन अब | जिबनको एउटा पाटो मेटिएको थियो र एउटा आयाम सकिएको थियो र फेरी सुरु हुने कुनै लक्षण मात्र पनि बाँकी थिएन | यस्तै कुरा हरु सोच्दै गर्दा कतिबेला निदाएछु कुन्नि पत्तै भएन |

भोलिपल्ट साथि निमेशले आएर ढोका ढकढकाउदा पो झसङ्ग भएँ र यसो घडी हेरेको त बिहानको ७:४५ भैसकेको रहेछ, हत्तपत्त उठें र ढोका खोलें | खल्तीबाट सुर्य चुरोटको प्याकेट निकाल्दै उसले भन्यो “के हो टन्न जांड खाएर सुतियो जस्तो छ नि? आँखा त रातो छ त?”

–    “होइन यार, कुरा अर्कै छ,”

–    “के कुरा हो त्यस्तो? हामीलाई भन्न हुने हो कि नहुने?” जिस्कियो निमेष,

–    “साले, मैले तँ संग भन्न नहुने अनि नभन्ने कुरा नै के पो होला र?” बट्टाबाट एक

खिल्ली चुरोट निकाल्दै मैले भनें,

–    “त्यसो’भा भन न त,” झ्यार्र सलाईको काँटि सल्काउदै उसले भन्यो,

–    “हिजो एउटा अचम्म भो यार”- मैले चिया को भाँडो ग्यासमा बसाल्दै भनें |

–    “कस्तो अचम्म?”

–    “हिजो एउटाले केटिले फेसबुकमा दह्रो दिमाग चाटी” भन्दै थिएँ मोबाइल याद आयो,

-टेबलमाथि रहेको मोबाइल स्विच अन गरें- “कति गरे पनि नाम थाहा पाउन सकिएन, अझै मोबाइलमा पनि मेसेज आएको थियो” बिचबिचमा चुरोटको सर्को तान्दै हिजो रातिको सबै घटना सुनाएँ उसलाई, त्यतिन्जेल चिया पाकिसकेको थियो | उसको एक हातमा चियाको गिलास थमाउदै भनें- “ओई, केटि राम्री रहिछे भने त तैले भाउजु भन्न पाउलास जस्तो भो नि त दुइ-चार दिनमै”

उ चुपचाप, एकोहोरो मेरो कुरा सुन्दै मुखबाट निस्केको चुरोटको धुवाँलाई गोलो पारेर सिलींगतिर हुत्याउँदै थियो | यस्तो लाग्थ्यो मेरा कुराहरुमा भन्दा उसको ध्यान गोलो हुँदै सिलिंगतिर उड्दै गरेको धुवाँमा अझै बढी थियो |

–    “धेरै मक्ख नपर साले, कुन चाहिंले केटि बनेर तँलाई मुर्गा बनाइरा’को होला?” लगभग फिल्टर सम्म बलेको चुरोटको ठुटो नजिकै को एस्ट्रे मा निभाउदै उसले भन्यो, निमेष बोल्दैथ्यो त्यहि बेला मोबाइलमा मेसेज को टोन बज्यो | लगातार करिब ५-७ पटक बजेपछि आवाज बन्द भयो, यसो हेरेको “7 message received” लेखिएको थियो स्क्रीनमा | सबै उसैका अर्थात सागरिका (उसले मलाइ मात्र दिएको उसको नाम) का थिए | लगभग उस्तै ब्योहोराका- “उठिएको छैन अझै?” “चिया खाको हो?”, “चुरोट पनि खाको होला?”, “मोबाइल किन अफ?”, “रिप्लाई नगर्ने नै हो त?” आदि आदि | कुनै धम्कीपूर्ण त कुनै मायालु जस्ता लाग्ने, तर सबैको सार संक्षेपमा एउटै थियो- “म उसको लागि महत्वपूर्ण छु र उ मलाइ अझैपनि माया गर्छे” उसको त्यो “अझैपनि” को अर्थ बुझ्न निकै कठिन भो मलाइ भनु बुझ्दै बुझिन | कहिले पो माया गरेकी थिइ र उसले मलाइ, फेरी अझै पनि माया गर्छु भन्नु पर्ने? उसका मेसेज हरुको खास अर्थ नबुझेपनि रोमन मा नै रिप्लाई गरें मैले “भर्खर उठें, चिया र चुरोट पिउँदै छु अनि तिमि के गर्दै?”

–    “भर्खर खाजा खाएँ, आज त घर मा छु नि, ममीले पकाको मिठो मिठो खाने” तुरुन्तै रिप्लाई गरि |

–    “लक्की यु” यतिमात्र लेखेर सेन्ड गरिदिएँ | निमेशले त्यो नम्बर कतै आफ्नो मोबाइलमा सेभ छ कि भनेर चेक गर्यो, रहेनछ | अनि भन्यो केटि नै हुनसक्छ फोन गर न एकपटक को रहेछ थाहा भैहाल्छ नि ?

–    “ठिक भनिस यार !” मैले तुरुन्त कल गरें, “तपाईंले डायल गर्नुभएको नम्बर अहिले ब्यस्त छ” दुइ घन्टी गएपछि फोन काटियो उताबाट,

–    “को हो भनेर चेक गर्न होला नि फोन गरेको? मैले उठाए पो?” उताबाट मेसेज आयो, मैले कुनै रेस्पोन्स गरिन त्यो मेसेज को, “म ममी संग बाहिर जानु लागेको, पछी मेसेज गर्छु है” फेरी उसैले मेसेज गरि |

–    “ओके, टेक योर टाइम” मैले रिप्लाई गरें |

केहि समय उसैको कुरा अनि केहि नितान्त आफ्नै मात्र कुराहरु गरेर साँझ जर्मन बेकरी, ड्यामसाइडमा भेट हुने प्रतिबद्धताका साथ निमेष निस्क्यो कोठाबाट |

निमेष गएपछि फेरी एक कप कालो कफी बनाएँ, यौटा चुरोट बलिरहेको ग्याँसमा सल्काएं र बाहिर बरन्डामा निस्कें | श्रावण भदौ को महिना, बिहानै देखि निकै चर्को घाम लागिरहेको थियो, सफा मौसम, अगाडी हाँसिरहेको माछापुच्छ्रे हिमाल, छेवैमा हरियो जंगलले ढाकिएको काहुँ डाँडा र हातमा चुरोट अनि ब्ल्याक कफी, त्यसमाथि मन मा को होला? के होला? कहाँ की होला? यस्तैखाले कौतुहलता, समय नै रोमान्चक थियो वा मेरो मन मात्र? जे होस् म रोमान्चित भैरहेको थिएँ त्यो बिहान |

–    “Do you have a girlfriend?” उसैको मेसेज आयो,

–    “Nope! Do you? I mean –have a boyfriend?” मैले सोधें,

–    “What do you think? Guess!!!” उसले लेखि

–    “Umm, I guess, you have.” मैले फेरी लेखें “I think every girl has a boyfriend these days. And you’re not an exception at all.”

–    “What if I said-I don’t have and I am an exception?” उसले प्रश्न गरि,

–    “What if? Simple. I think, still I have some scope” मैले भनें,

–    “and again, you didn’t reply me. Do you have a girlfriend” उसले फेरी सोधी,

–    “What if, If I have?” अब मेरो पालो थियो सायद,

–    “What? I’ll kill myself…..” उसले यतिमात्र लेखि,

–    “Ha, ha ha, Do you need any help? I mean a rope to hang or a bottle of poison to drink?” मैले मजाक सुरु गरें

उसले रिप्लाई गरिन, म कोठा भित्र छिरेर कोठा मिलाउन थालें, घरि घरि मोबाइल हेरिरहन्थें कतै रिप्लाई गरि कि भनेर? लगभग एक घण्टा सम्म पनि उसको मेसेज को रिप्लाई नआएपछी आफैले अर्को मेसेज पठाएँ “Where are you? You lost! Still hanging or already killed yourself?”

शनिबारको दिन, कोठा सफा गर्ने, खाना बनाउने, लुगा धुने यस्तै यस्तै काम मा म ब्यस्त भए त्यसपछी को केहि समय तर पनि बिच-बिचमा मोबाइल हेरिरहन्थें, लामो समय सम्म उसको रिप्लाई नआएपछी उसको नम्बर डायल गरें, उताबाट आवाज आयो – “माफ गर्नुहोला, तपाइंले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ…”

दिनभर त्यसै बित्यो | तैपनि बेला बेला मोबाइल हेरिरहन्थें कतै रिप्लाई आयो कि भनेर तर अहँ, न उसको रिप्लाई नै आयो न त उसको फोन अन नै भयो | साँझपख साथिहरुसंग जर्मन बेकरी मा भेट्ने प्लान थियो त्यसैले उतै लागियो, तैपनि बिच-बिचमा मोबाइलमा आँखा लगाइरहन्थें | दिनभर लोडशेडिंग को कारणले मोबाइल चार्ज गर्न पानि पाइएन, ब्याट्री निकै कम थ्यो त्यसैमाथि साथीहरुले कति मोबाइलमा मात्रै झुण्डीइराको भनेर कराउन थालेपछि खल्तीमा राखें | निकै रमाइलो भयो त्यो दिन, धेरै पछी संगै काम गरेका साथीहरु संग भेट भएको थियो, कति कामका कुरा, कति बेकाम का कुरा, केहि पढाई का कुरा केहि रमाइलो, ठट्टा, अनि फेरी केटि साथि, गर्लफ्रेन्ड र जिन्दगीका कुरा ! समग्रमा एउटा पुरै जिन्दगीको कुरा गरियो होला | त्यो दिन यस्तो लाग्यो कि समस्या सबैका हुँदारहेछन | व्यक्ति फरक हुन सक्ला, परिबेश फरक हुन सक्ला संगसंगै समस्या पनि फरक नै होलान तर समस्या बिहिन मान्छे भेट्नु लगभग असम्भब नै हुँदोरहेछ | त्यो दिनको हाम्रो जमघट फरक-फरक पृष्ठभुमीका तर उस्तै समस्या र लगभग एकै खालको भोगाई भोगिरहेका विभिन्न पात्रहरुको प्रतिनिधित्व गर्ने समूह जस्तै लाग्दैथ्यो | समग्रमा सबै आफ्ना आफ्ना समस्या हरुबाट केहि समय मात्र भए पनि भागेर आफु जिउनुको अर्थ खोज्दै पो थियौं कि जस्तो | आफैं देखि भागेर, आफैंलाई झुक्याएर रमाइलो गर्ने बहानामा सायद सफल भएका थियौं हामि त्यसैले पनि हुन सक्छ निकै रमाइलो अनुभूति भएको थियो त्यो दिन |

जर्मन बेकरीबाट करिब ६:३० बजे तिर निस्केको हाम्रो समूह राति करिब १०:३० बजे लेकसाइड बाट ट्याक्सी चढी पृथ्वीचोक आएर छुट्टियो, करिब ११ बजेतिर | सबै साथि हरुसंग बिदा भएर कोठामा आएँ, दिनभर जे जे गरे पनि, जहाँ जता हराएपनि, जति रमाइलो गरेपनि आफ्नो पीडा अनि आ-आफ्नो बास्तबिकता त आ-आफ्नै साथमा हुने रहेछ | साथीहरुसंग छुटिएर कोठामा छिर्नासाथ म फेरी आफ्नै बास्तबिकतामा फर्कें, उही घर, उही कोठा, उही खाट अनि उही ग्याँस चुलो र स्ट्याण्ड | दिनभर पो आफ्नो बास्तबिकता बिर्सेको रहेछु र रमाइलो भएको रहेछ | अब फेरी उही जिन्दगि, उही अभाब, उही शुन्यता जिन्दगीमा, कताकता हिनताबोध, संगै पढेका साथीहरुको जतिको प्रगति गर्न नसकेकोमा अनि आफ्ना आमाबाबुको सपनाहरु बिबश भएर आफैले बलात्कार गर्नुपर्दाको पीडा (?) आखिर के रहेछ र जिन्दगी?

मोबाइल चार्जमा राखें, ल्यापटप अन गरें र फेसबुक साइन इन गरें | मेसेज आएको रहेछ, कतै सागरिकाको त होइन भनेर हतार हतार हेरें, उसैको रहेछ | लेखेकी थिइ- “ओई कता गायब? दिनभर मान्छे डोरी लिएर आउला भनेर कुर्दा कुर्दा? कि आफैले युज गरेको हो र? डोरी” | मैले कुनै रिप्लाई गरिन |

–    “हाइ, सन्चै?” उ अनलाइन नै रहिछे,

–    “अँ, ज्युँदै छु” मैले लेखें,

–    “के रे? के भो?”

–    “केहि भएको छैन” मैले भनें

–    “किन त यस्तो उदास?” उसले प्रश्न गरि,

–    “सधैं रमाइलो नहुँदो रहेछ जिन्दगी, आज नरमाइलो लागिरहेछ”

–    “किन? केहि नराम्रो भयो र?” उसले सहानुभुती ब्यक्त गर्न खोजि

–    “होइन, सबै ठिक छ” अलि सहज हुने प्रयास गरें मैले

–    “साँच्ची भन्नु त कस्तो छ तपाइंलाई?” उसले चिन्ता ब्यक्त गरि

–    “म ठिक छु, सबै गज्जब चल्दै छ” मेरो उत्तर थियो

–    “तपाईं धेरै सोच्नुहुन्छ जिन्दगीको बारेमा, त्यसैले यस्तो कुरा गर्नुहुन्छ सायद” उसले भनि

किन किन मलाइ त्यो दिन उ संग कुरा गर्ने मन नै थिएन, कुनै रिप्लाई नै गरिन उसको कुराको | उसले फेरी लेखि-

–    “किन? कुरा गर्न मूड छैन हो आज?”

–    “मलाइ परिचय चाहियो तिम्रो” मैले ठाडै भनें

–    “परिचय? किन? मैले भनें त –तपाईंको लागि म सागरिका | तपाईं मलाइ यहि नामले सम्बोधन गर्नुस निकै खुसि हुनेछु म”

–    “सरि ! म तिम्रो खुसीको लागि आफ्नै खुसि बन्धक राख्न सक्दिन | मैले चिन्नु छ तिमीलाई” सायद म अलि बढी नै झोक्कीएँ |

–    “केहि दिन त धैर्य गर्नुस बाबा, भनिहाल्छु नि म, कति रिसाइराको?” फेरी थपी- “कसैको नभाको रिस, नाकको टुप्पामा छ होला नि त?”

–    “कम्तिमा चिनजानको औपचारिकता त पुरा हुनु पर्यो नि?” मैले भने

–    “तपाइंलाई मेरो नाम चाहिएको होइन? मैले दिएँ त एउटा नाम” उसले कसै गरे पनि केहि नभन्ने अठोट गरेजस्तै लाग्यो |

–    “गुड नाइट, म सुतें | तिमीसंग बेफ्वाँकका कुरा गरेर रात फाल्नु छैन मलाइ” यति लेखेर उसको प्रतिक्रियाको कुनै वास्ता नगरी साइन आउट गरें र सुत्ने तरखर गर्दै थिएँ मोबाइल बज्यो, मेसेज आएको रहेछ, हेरें, लेखिएको थियो

–    “रिस को पोको !”

–    “मलाई तिम्रो परिचय चाहियो” फेरी त्यहि प्रसंग कोट्याएँ मैले

–    “प्लिज, मलाइ यति छिटै परिचय दिन बाध्य नपार्नुस, म फेरी तपाइंलाई गुमाउन चाहन्न, यति बुझ्नुस म तपाइंलाई सानै देखि माया गर्थें र अझै पनि गरिरहन्छु” उसले लेखि

–    “तर? को हौ त तिमि? मैले चिन्छु तिमीलाई? हाम्रो भेट भएको छ?”

–    “हो त्यहि त म भन्न सक्दिन अहिले नै, म को हो भनेर | तर यो चाहिं भन्छु हाम्रो भेट भने भएको छ | नत्र म के अन्तर्यामी हो र हजुरको सबै कुरा आफै थाहा पाउनलाइ?” उसले भनि |

–    “ठिक छ त्यसो भए भन म बाट के चाहन्छौ तिमि?”

–    “माया” उसले भनि

–    “माया? मैले गरिन भने?” मैले जिस्किदै भने तरपनि कता कता लागिरहेथ्यो कि म पनि उसलाई माया गर्न थालेको छु, मन पराउन थालेको छु भित्रभित्रै | नत्र किन त उसको मेसेज नआउँदा दिनभर नरमाइलो लागेको मलाइ? उसको फोन अफ हुँदा किन त्यस्तो छटपटी म भित्र?

–    “यु वेर मिस्ड टुडे” उसको जवाफ आउनु भन्दा अगाडी नै मैले अर्को मेसेज गरें

–    “आइ नो, यु मिस्ड मि कज आइ मेड यु टु मिस ! बट यु नो? सिरियसली, आइ विल किल माइसेल्फ इफ यु से आइ ह्याब अ गर्लफ्रेन्ड” उसले भनि,

–    “सुड आइ हेल्प?”

–    “फेरी त्यहि कुरा? स्टुपिड !!!” उसले भनि

फेरी उसको कुराको उत्तर केहि पनि दिइन मैले, के गरुं, के नगरुंको दोसाँधमा थिएँ | खाँचो मलाइ पनि त थियो माया गर्ने मान्छे को, रहर मलाइ पनि त थियो दिनहुँ जर्मन बेकरीमा भेटीइने प्रेमिल जोडीहरु जस्तै संगै कफी खान जाने आफ्नी प्रेमिकासँग | दुवैजना मिलेर माया-प्रेमका मिठा मिठा कुराहरु गर्ने, एक अर्का संगै रमाइलो जिन्दगीको कल्पना गर्दै फेवातालको किनारमा घन्टौं बिताउने | तर के सबै रहरहरु पुरा हुनै पर्छ भन्ने छ र? सबै देखेका सपनाहरु साकार हुनै पर्छ भन्ने छ र?

–    “रिसाको हो?” उसले फेरी मेसेज गरि

–    “नाइँ, छैन | तिमीसंग कसरि कुरा गरुं भनेर सोच्दै” मैले भनें

–    “कसरि? मतलब?” उसले प्रश्न गरि

–    “म अन्यौलमा छु, तिमीसंग कसरि बोल्ने? कसरि कुरा गर्ने भनेर? परिचित वा अपरिचित?” मैले भनें

–    “बोल्नु पर्दैन, मात्र मेसेजको रिप्लाई गरे पुग्छ अहिलेलाइ | अनि अर्को कुरा हामि एक अर्का संग परिचित छौं र पनि अपरिचित” उसले भनि

–    “मतलब?” मैले प्रश्न गरें,

–    “मतलब, मैले जहिले देखि हजुरलाई चिनें त्यहि समय देखि चिन्नु हुन्छ हजुरले पनि मलाइ | तर अब को? के? कहाँ र कसरि नसोध्नुस? आफुले सोधेको कुराको जवाफ पाउनु भएन भने रिस उठ्न सक्छ तपाइंलाई” उसले भनि | म झन अन्यौलमा परें | यसो घडी हेरें, रातको १:४५ भैसकेको रहेछ |

–    “सुत्ने होइन अब? सुत्नुस, भोलि कुरा गरौंला | गुड नाइट” उसले सबै कुरा सकी त्यो दिनको लागि |

–    “अब सुत्ने हो, गुड नाइट” मैले पनि बल्लबल्ल छुटकारा पाए जसरि सजिलै गुड नाइट भनिदिएँ |

भोलिपल्ट,

बिहान करिब आठ बजेतिर निद्रा खुल्यो | उठेर मोबाइल हेरें, कहींकतै आश थियो उसको मेसेज पो आएको छ कि भन्ने | तर आएको रहेनछ | सोचें मलाइ बानि नै परिसकेछ कि के हो १-२ दिन मा नै? अनौठो लाग्यो उसको कुरा गर्ने तरिका र आफ्नो परिचय गोप्य राखेर पनि खुला मनले प्रस्तुत हुन सक्ने आत्मविश्वास देखेर | कता कता उसको त्यो बानि आफैंलाई मन पर्दै गएको आभाष पनि भयो | आफ्नै मन संग प्रश्न गरें- “के तँ साँच्ची मन पराउछस त त्यो केटीलाई?” थाहै नपाइ मन जितिसकेकी रहिछे त्यसले, आफ्नै मनले पनि “अँ, हो” भनेको जस्तो लाग्यो | पक्का भैसकेको थिएँ कि मलाइ कोहि केटा साथीहरुले केटि बनेर जिस्काई रहेका अथवा जिस्किइरहेका थिएनन भनेर त्यसैले अब साँच्चिकै उसले सोचेको जस्तो माया दिन सकुँला त उसलाई? भनेर पो सोच्न थालिसकेछु | मन न हो? बेलगाम छ, सोचिदिन्छ, हुने नहुने कुराहरु |

–    “गुड मर्निंग ! उठेको छैनौ? अल्छी !!!” मैले पहिलो मेसेज गरें त्यो दिन

–    “नाइँ, छैन नि उठेको, सपना देखिराको छु कस्तो रमाइलो” उताबाट रिप्लाई आयो

एकछिन मज्जाले हाँसें त्यो मेसेज पढेर | उसको त्यो जिस्किने बानि झनै मन परेर आयो |

–    “कहाँ छौ?” मैले सोधें मेसेजमा नै,

–    “घरमा नि, आफ्नै बेडमा” उसले भनि

–    “एक्लै?” म जिस्किएँ

–    “हो त, अरु को संग हुनु त अफ्नो बेडमा?” उसले कुरा नबुझेको जस्तो गरि

–    “कति बर्ष भयौ?” मैले सोधें | र फेरी लेखें “केटाकेटी नै छौ होला?”

–    “तपाइंलाई कति बर्षको हुनु पर्ने? कति वर्ष भएँ भनें भने खुसि हुनुहुन्छ तपाईं?” निकै

अप्ठ्यारोमा पारेर प्रश्न गरि | के भन्दा ठिक हुने हो के? वा रिसाउने पो हो कि? डर लाग्यो रिप्लाई गर्न तैपनि जिस्किएको झैँ नै गरेर अर्को पनि रिप्लाई गरें

–    “कम्तिमा पनि २० बर्ष”

–    “किन?” उसले प्रश्न गरि

–    “अब किन भन्नु नि? हाम्रो देशमा बिस वर्ष भन्दा कम उमेरको केटीसंग बिबाह गर्यो भने कानुन लाग्छ” मैले भनें

–    “अरे वाह ! बिबाह? हिजोसम्म को? के? नभनेसम्म बोल्दिन भन्ने मान्छे आज बिबाह?” उसले भनि

–    “किन? तिमीलाई म संग बिहे गर्ने मन छैन र?’ मैले प्रश्न गरें

–    “गर्नुहुन्छ र?” प्रश्नमाथि उसले प्रतिप्रश्न गरि

–    “गर्छु, तर तिमीलाई चिनेपछि मात्र” मैले भनें

–    “बुद्धु, मैले मलाइ चिन्दै नचिनी बिबाह गर्नुस भनेको छु त”

–    “के थाहा? बिबाह गरिनस भने म मर्दिन्छु पो भन्ने हो कि भनेर नि? धम्क्याउने बानि जो रहेछ” मैले भनें

–    “छुचो केटो” उसले झसंगै बनाइ मलाइ फेरी एकपटक | मैले ट्विटर ह्यान्डल को रुपमा प्रयोग

गर्ने नाम समेत थाहा रहेछ उसलाई |

उठेर बाथरुम गएँ | नुहा-धुवाई गरेर फ्रेश भएर आइ पानि बसालें कालो कफी बनाउन | त्यतिन्जेल दुइवटा मेसेज आइसकेका रहेछन |

–    “रिस उठ्यो? छुचो भनेर?” र अनि अर्को “रिप्लाई नगर्ने हो? कि निदाएको फेरी?”

झ्यालमा बसेर मेसेज पढ्दै चुरोटको धुवाँ उडाउदै थिएँ फेरी घन्टी बज्यो मेसेजको | हेरें, लेखिएको थियो “चिया खाको हो?” “बन्दै छ” रिप्लाई गरें | “को को हो?” डेलिभरी नोटिफिकेसन र मेसेज संगै आयो तुरुन्तै |

–    “म, चुरोट अनि मोबाइल र तिमि” मैले रिप्लाई गरें

–    “म पनि? अचम्मै भएछ त?” लभ पर्ला है? होस् गर्नुस !” उसले भनि

–    “को संग?” मैले प्रश्न गरें

–    “अरु को संग हुनु नि? म संग” उसले भनि

–    “परिसक्यो |” मैले भने

–    “साँच्ची?”

–    “कुनै शंका?” मैले भने

–    “नाचिनिकनै?” उसले प्रश्न माथि प्रश्न मात्रै गर्दै रही

–    “तिमीले चिने पुग्यो ! साँच्ची के गर्छौ रे तिमि?” मैले केहि कुरा जान्न चाहें उसको बारेमा

–    “पढ्दैछु, बि.बि.ए” उसले भनि

–    “कहाँ?”

–    “काठमान्डुमा, एपेक्स कलेज” उसले भनि

–    “अनि अहिले?” मैले सोधें

–    “कति भन्नु? घरमा छु हिजो आज, भर्खर कलेज बिदा भएर घरमा आएको”

–    “अनि? घर चाहिं कहाँ त?” मैले सोधें

–    “भन्दिन” उसको ठाडो जवाफ थियो

–    “ल भो नभने चाहिएन मलाइ पनि, अब एकैचोटी जन्ती लिएर आउँछु घर चिन्न” मैले भनें

–    “लौ, भयो अब? सुरुमै जन्ती लिएर आउने?” उसले भनि

–    “हो त, तिम्रो नाम?? सागरिका…, अनि थर के रे?”

–    “बाहुनी हुँ, ढुक्क हुनुस” उसले भनि

–    “थर त होला नि?” मैले ढिपी कसें

–    “पौडेल”

–    “मलाइ भेट्दैनौ त?” मैले अनायास सोधें,

–    “कहिले?”

–    “आजै” मैले भनें

–    “नाइँ, डर लाग्छ” उसले भनि

–    “को संग? अनि किन?” मैले सोधें

–    “हजुरसँग, मैले आफ्नो नाम लुकाएको छु नि त त्यसैले”

–    “भन न त अहिले नै नाम अनि भेटौला नि त | त्यसपछी त के को डर?” मैले भने

–    “साँच्ची भनुम? रिसाउनु त हुन्न नि म सँग, मलाइ राम्रो संग चिनेपछि?” उसले शंका ब्यक्त गरि

–    “रिसाउदिन, ल भन”

–    “प्रमिस मी !!!” उसले भनि “अनि मलाइ भोलि भेट्नु पर्छ है त”

–    “ल प्रमिस भो, रिसाउदिन तिम्रो कसम | हुन्छ, म भेट्ने भएँ भोलि नै” मैले भनें |

लामो समयसम्म उसले रिप्लाई गरिन | मैले पनि खोइ रिप्लाई भनेर सोधिन एकछिन कुरौं न त भन्ने मनसायले | एउटा चुरोट सल्काएं र छतमा उक्लिएँ | सार्बजनिक बिदाको दिन भएर होला तल बाटो सुनसान थ्यो | अरुदिन हुँदो हो त बिहान क्याम्पस पढ्ने केटा केटीहरुको हुल ले भरिएको हुन्थ्यो बाटो चारैतिर अनि सँगसंगै चर्को चर्को आवाज पनि कानै थुन्नु पर्ने गरि | खल्तीमा मोबाइल बज्यो निकालेर हेरें | मेसेज थ्यो सागरिका को, झन्डै इ-मेल जतिकै लामो मेसेजमा अंग्रेजीमा लेखिएको थियो

–    “रियल्ली सरि फर नट डिस्क्लोजिंग माइ रियल नेम येट, एण्ड नाउ… आइ एम गोइंग टु टेल यु द ट्रुथ बिहेन्ड द स्टोरी, बट रिमेम्बर, यु प्रोमिस्ड मि टु मीट टुमरो, वी विल टक दिस इभिनिंग अबाउट व्हेर टु मीट एण्ड व्हेन? प्लिज मीट मि एण्ड डु नट लेट मि डाउन, “स्टिल, आइ लभ यु” आइ एम स्मारिका, स्मारिका पौडेल फ्रम स्याङ्गजा |”

– “स्मारिका???” मेसेज पढीसक्दा नसक्दै मेरो टाउको घुमाएर आयो, मन गह्रुंगो हुँदै गयो, आफु वरिपरिको जमिन, भू-भाग सबै घुमिरहे जस्तो लाग्न थाल्यो | घरको छतमा भएको फलामे डन्डीमा दह्रोसंग समातें, थचक्क भुइंमा बसें र एउटा चुरोट सल्काएर लामो सर्को तानें……………

हातमा बलिरहेको चुरोटको ठुटो त्यहीं आडैमा रहेको इंट्टामा ठोसेर निभाएँ र भर्खरै प्राप्त मेसेज फेरी एकपटक पढें, दोहोर्याई तेहेर्याइ पढें | तर एउटा कुरा मनमा नमिठो संग बिझीरह्यो; किन यस्तो गरि स्मारिकाले म संग? के चाहन्थी आखिर उ? कहाँ हराएकी थिइ उ आजसम्म? फेरी किन आइ उ मेरो जीवनमा फर्किएर? यस्तै यस्तै कुराहरुले निमोठीरह्यो भित्रभित्रै, छटपटी बढिरह्यो निरन्तर |

उ संगको मेरो भेट पनि अनौठो थियो | लगभग ४-५ वर्ष अगाडिको कुरा हुनुपर्छ- अनामनगरमा बस्थें म त्यतिबेला | अनामनगर कोठा सरेर गएको भोलिपल्ट साथीहरुसंग दक्षिणकाली मन्दिर गएको थिएँ | फर्कंदा बाटोमा एउटा स्कूटर भेटियो बिस्तारै गुडिरहेको, दुइ जना थिए, दिदि बहिनि जस्ता लाग्ने, त्यस्तै २०-२२ र १६-१७ वर्ष जतिका | हामि चार जना थियौं दुइवटा मोटरसाइकलमा | केटाहरु न पर्यौं, आफ्नै उमेरका केटीहरु भेटेपछि नजिस्किने कुरै भएन | बाटोभरि, घरि त्यो स्कुटरको अगाडी त घरि पछाडी गर्दै जिस्किँदै आउँदै गर्दा चोभार नजिक आइपुगेपछि पानीको चिप्लोमा चिप्लिएर लडेका थिए तिनीहरु | सामान्य चोट मात्र लागेपनि लाजले हुनुपर्छ अनुहार रातो पारेका थिए दुबैले हामीहरुको अगाडी |

–    “थ्यांक यु” मैले स्कुटर उठाएर स्टेन्ड लगाइदिए पछी स्कुटर चलाउदै गरेकी चाहिंले पेन्टको हिलो

टकटक्याउँदै भनेकी थिइ |

–    “चोट त लागेको छैन नि?” औपचारिकता पुरा गरेको थिएँ मैले |

–    “नाइँ छैन, पेन्टमात्र हिलो भाको हो” उसले भनि |

–    “अनि तपाइंलाई?” पछाडी बसेकिलाई पनि सोधेको थिएँ मैले |

उ केहि नबोली हांसी मात्र रही | त्यहि नै थियो उ संग अर्थात स्मारिका संगको मेरो पहिलो भेट | केहि समयपछि उनीहरु पनि सामान्य भए अनि हामि सबै आ-आफ्नो बाटो लाग्यौं अर्थात काठमाडौँ फर्क्यौं | लगभग संगसंगै, तर नजिस्किकनै | किर्तिपुर उक्लिने बाटो निर आइपुगेपछि हामीले स्पिड बढायौं, उनीहरु बिस्तारै आउँदै थिए, पछाडी पछाडी | बल्खु चोक आइपुगेर हामि रोकियौं, खाजा खान | नजिकैको एउटा रेस्टुरेन्टमा पसेर मो:मो, चिसो र चुरोट मगाई टेबलमा बसेका मात्र के थियौं उनीहरु पनि आइपुगे त्यहीं नै |

–    “ए हजुरहरु पनि यहीं?” दिदिचाहिंले सोधी |

–    “अँ, खाजा खाएर जाउँ न भनेर रोकिएको” हामिमध्येको कसैले बोल्यो |

“दाइ, यी चुरोट लिनुस” बहिनि चाहिंलाइ हेरिरहेको थिएँ, वेटरले झसङ्ग बनाइदियो | उसको हातबाट चुरोट लिएर सल्काएं | “बानि छ, माइन्ड नगर्नुहोला है”- सल्किँदै गरेको चुरोट भएको हात उनीहरूतिर तेर्स्याएर देखाउँदै भनें र अलि परको कुर्सीमा बसें | दुवै केहि बोलेनन, हाँसीमात्र रहे | सामान्य कुराकानी भयो उनीहरुसंग | अनौपचारिक परिचय पनि सायद | यौटै गाउँका दिदीबहिनीहरु रहेछन स्याङ्गजा तिरका, ठुलिआमा सानीआमाका छोरी रे, नाताले पनि दिदीबहिनी नै | पढ्न बसेका काठमान्डुमा | दिदिचाहीं नर्स रहिछे काठमाडौँ मोडेल हस्पिटलमा, बहिनि भर्खर एस.एल.सी सकेर घुम्न आएकी रे, मेसो मिल्यो भने यतै पढ्ने गरेर |

–    “म सुयोग्य है, सुयोग्य लम्साल | कतै बाटोतिर भेटियो फेरी भने बोलाउनुहोला” छुटिने बेला मैले

उनीहरूतिर दायाँ हात हल्लाउँदै भनें | चाहेर पनि उनीहरुको नाम सोध्न सकिएन, डर थियो कस्तो उरंठ्याउलो रहेछ भन्लान कि भनेर |

हामि आफ्नो बाटो लाग्यौं, “साले, फोन नम्बर माग्नु पर्ने नि? त्यो पछाडी बस्ने केटि त बबाल थिइ यार” संजयले भन्यो | राम्रा केटि कसैलाई देख्नै नहुने, उसले पनि त्यहि पछाडी बस्ने केटीलाई नै हेरिरहेको रहेछ | “चुप लाग ! मुला, अघि त्यहीं संगै होउन्जेल केहि बोलिनस, अहिले नम्बर माग्नु पर्ने रे?” मैले हप्काएँ | आफैलाई पनि फोन नम्बर माग्न नसकेकोमा भित्र भित्र चुकचुकी लागिरेहेथ्यो | बाँकी बाटो पनि तिनै केटीहरुको र बिशेषगरि त्यहि पछाडी बस्ने केटिको प्रसंशा गर्दै कटाइयो | त्यसपछिको बाँकी समय शंखमुल साथीको तिर बिताएर साँझ करिब ६:३० बजेतिर न्यु प्लाजा स्थित कोठामा संजयलाई छाडेर म आफ्नो कोठामा आएँ, अनामनगर |

कोठा सरेको तेश्रो दिन हुनुपर्छ सायद, शनिबारको दिन थियो | बिहानै दुध लिन नजिकैको पसलमा गएको थिएँ | एक पोका दुध उठाएँ र भनें साहुजी “१ प्याकेट सुर्य चुरोट पनि है” | खल्तीबाट रु. १०० को नोट निकालेर साहुजीको हातमा थमाएँ र प्याकेटबाट एउटा चुरोट निकालेर सल्काउँदै फिर्ता पैसा कुरिरहेको थिएँ “अंकल, दुध छ?” पछाडी एउटा नारि आवाज सुनें लगभग चिरपरिचित जस्तो र पछाडी फर्केर हेरें | हिजोकै केटी अझै त्यहि पछाडिको सिटमा बस्नेवाला |

–    “हेल्लो” मैले हात हल्लाएँ |

–    “हजुर पनि यता?” निकै अचम्मित हुँदै उसले सोधी |

–    “तपाइंहरुको पनि बसाइ यतै हो?” मैले प्रश्न गरें |

–    “हो त, उ त्यहीं नजिकै” उसले हामि बस्ने घर तिर नै इशारा गर्दै देखाई |

–    “हो र? हामि पनि त्यहि नजिकै त हो नि” साउजीले दिएको फिर्ता पैसा शर्टको खल्तीमा राख्दै मैले भनें |

–    “अनि हिजो कतै लागेको त रहेनछ नि?” मैले बोल्ने प्रसङ्ग निकालें

–    “अलिअलि” छोटो जवाफ दिइ उसले,

–    “अनि दिदीलाई?” मैले फेरी सोधें,

–    “दिदीलाई पनि अलिअलि मात्र, हिजो बेलुका सुत्ने बेला तातो पानिले सेकेर सुतेको, खासै केहि भएको रहेनछ” उसले भनि

गफ गर्दै जाँदा थाहा भो उनीहरु र हामि बस्ने घर नै एउटै रहेछ | अनामनगरस्थित भर्खरै हामि सरेको तिन तले घरको अन्तिम तलामा उ र उसकी दिदि बस्ने रहेछन भने त्यो भन्दा माथिको तलामा हामि | हामि अर्थात् म लगायत अन्य तिन साथीहरु | महिनाको सात हजार तिरेर त्यो पुरै फ्ल्याट हामीले किनेका थियौं मतलब त्यो नितान्त हाम्रो नियन्त्रणमा थियो | पढ्ने बहानामा बसेका हामीहरुको पढाई बाहेक सबैका आफ्ना आफ्नै पेशा थिए, फरक फरक र पनि हामीबीच यौटा समानता थियो –चुरोट | हरेकले चुरोट तान्थ्यौ | त्यसैले हरेक बिहान दुधको प्याकेट संगै चुरोट पनि आउँथ्यो कोठामा |

र अर्को पनि महत्वपुर्ण कुरा, हरेक दिन उसंग भेट हुन्थ्यो, त्यो पनि बिहानै | लगभग उही समय र उही स्थान, बिहान ६:३० बजे अनि घरको मूल गेट | एकदिन मैले अनायास उसको नाम सोधेको थिएँ

–    “तिम्रो नाम चाहिं के रे?”

–    “स्मारिका, स्मारिका पौडेल !” गिज्याएको जस्तै गरि हाँसेकी थिइ उ त्यो दिन तर मुसुक्क |

–    “मैले सम्झेको छु” मैले भनेथें

लाग्थ्यो, त्यसपछिका दिनहरु सबै शुभ नै बितेका थिए | दिनहुँको भेटघाट र कुराकानीले हामि दुवै एक-अर्कासंग नजिक भैसकेका थियौं | कम्तिमा जिस्किने र जिस्काउने क्रम बढ्दो थियो | दिदिसंग पनि सम्बन्ध राम्रै बन्दै गयो |

–    “त्यो चुरोट नखाए हुन्न?” एकदिन पसलबाट दुध र चुरोट किनेर संगै फर्किने बेला अनायास भनि उसले,

–    “नाइँ, हुँदैन रे” मैले भनें

–    “अझै, हुँदैन रे पो? के हुन्छ रे त नखाए?”

–    “पृथ्वी उल्टो घुम्न थाल्छ रे, त्यहि डरले गर्दा खान नछोडेको मैले”

–    “स्टुपिड !!!” दायाँ हातले मेरो बायाँ गालामा बिस्तारै हिर्काउँदै भनि “कति गज्जबको एक्स्युज है?”

–    “हा हा हा, यतापनि…” मैले आफ्नो दायाँ गाला थापें

–    “लौ? किन? के भो?” उसले भनि, केहि नबुझेको जस्तै गरेर

–    “गान्धीजी ले भनेका थिए रे -’यदि कसैले तिम्रो गालामा चड्कन हान्यो भने अर्को पनि गाला थापिदेउ’ त्यसैले”

–    “के त अब? मैले फेरी हान्नु पर्ने?” उसले प्रश्न गरि

–    “म खुसि हुनेछु हान्यौ भने पनि”

–    “फेरी मलाइ नहान्ने भए मात्र? दोस्रोमा पनि हानेपछि के गर्ने गान्धीजी ले भनेका थिएनन भन्दै मलाइ झन दह्रो संग हान्ने होला नि?”

–    “म महिला हिँसा बिरोधि मान्छे हुँ” म जिस्केको थिएँ

जिस्किँदै गर्दा हामि हाम्रो घरमा आइपुगीसकेका थियौं | यसैगरि दिनहरु बित्दै गए, हप्ता बित्यो, र बित्दै गए महिनाहरु पनि | लगभग छ महिना जति उ संग एउटा दुरी कायम गरेर नै बित्यो तर हामि अत्यन्तै नजिक भैसकेका थियौं | यो बिचको समयमा धेरै निकटता नभए पनि मैले कता कता उसलाई मन पराउन थालेको थिएँ र मलाइ स्पष्ट संग थाहा थियो उसले पनि मलाइ मन पराउँथी |

उसकी दिदी प्रायः घरमा हुँदैनथी दिउँसोको समयमा | म साँझको ड्युटी गर्थें पेन्टासफ्ट नामक कम्पनीमा साँझ ७ बजेदेखि राति १२ बजेसम्म | दिनभर घरमा बसिरहने कुरा पनि भएन, अनि हामि घुम्न जान्थ्यौं, कहिले कता त कहिले कता | लगनखेल देखि धुलिखेल सम्म र ककनी देखि नगरकोट सम्म कुनै ठाउँ बाँकी रहेनन | चोभार र गोदाबरी पनि कैयौं पटक पुगियो | बिस्तारै हाम्रो निकटता उसकी दिदिसम्म पनि नपुग्ने कुरै भएन, पुग्यो र पनि फरक परेन | त्यसको अर्थ हाम्रो अघोषित सम्बन्धलाई उसकी दिदीले पनि स्वीकारिसकेकी थिइ, सजिलै | हो, हामि यौटा यस्तो सम्बन्धमा बाँधिएका थियौं, जसको कुनै नाउँ नै थिएन, निकटता थियो तर निकट थिएनौं हामि, यौटा दुरी कायम रहिरह्यो हामीबीच, निरन्तर…, न उसले त्यो दुरी मेटाउने प्रयास गरि न मैले नै | सिधा भनौं, हाम्रो सम्बन्धको बारेमा हामीले कहिले पनि खुलेर कुरा नै गरेनौं | सायद दुबैले आवश्यक ठानेनौं वा भनौं समय र परिस्थिति हामि अनुकुल बनिदियो | जे चाह्यो त्यो हुने, जसरि चाह्यो त्यसै गरि भैदिने | कहिलेपनि सम्बन्धको बारेमा खुलेर कुरा गर्नु पर्ने आवश्यकता नै महसुस गरिएन, दुबैजनाले | सम्बन्धहरु त्यतिबेला दरिला र अझै भरपर्दा हुनेरहेछन जतिबेला सम्बन्धको बारेमा खुलेर कुरा गरिन्छ र त्यो बेला मात्र सम्बन्धको बारेमा खुलेर कुरा गर्नु आवश्यक हुन्छ जतिबेला सम्बन्धहरु संकटमा पर्छन वा पारिन्छन | तर हाम्रो सम्बन्ध न त कुनै संकटमा पर्यो न त पारियो नै? त्यसैले कुनै कुरा गर्नु आवश्यक नै भएन हामीबीच, कहिलेपनि- सम्बन्धको बारेमा |

अब त उसको कलेज पनि सुरु भैसकेको थियो, काठमाडौँ मोडेल कलेजमा कक्षा ११ मा भर्ना भएर होटेल म्यानेजमेन्ट पढ्न थालिसकेकी थिइ | कहिलेकाहीं जिस्किन्थें म “अब भने मिठो-मिठो पाक्ने भो है तल?” “खुवाउछु नि मिठो पाक्यो भने, पीर नगर्नुस” उसले मक्ख पार्थि लोभलाग्दो पाराले | अत्यन्तै भाग्यमानि सम्झिन्थें त्यो समयमा आफुलाई | तर नसोचेकै धेरै कुरा हुने रहेछन जिन्दगीमा, नचाहेरै कोल्टो फेर्दो रहेछ जिन्दगीले, त्यही समयले यसरि धारे हात लगाएर सराप्ला भन्ने मैले कहिले पो सोचेको थिएँ होला र ? फेरी त्यहि जिन्दगी यसरि ह्वात्तै कोल्टे फेर्ला भन्ने कल्पना पनि त गरेको थिइन मैले, कहिलेपनि |

र एकदिन उनीहरु कोठा सरे, धापासीमा | कोठा सर्नुभन्दा अघिल्लो दिन बिहान उसले भनेकी थिइ “अब कहिले पो जान पाइएला र यसैगरी बिहानै दुध लिन संगसंगै?” म चुपचाप सुनिरहेको थिएँ उसको कुरा | केहि उत्तर दिन सकिन उसको प्रश्नको, एकोहोरो हिंडीरह्यौँ, दुबैजना संगसंगै | तर उसको प्रश्नले मनमा कता कता बिझाइ रह्यो | पोलिरह्यो भित्रभित्र | “साँच्चिकै हामि बिछोडिदै छौं त?” “के अब हाम्रो सम्बन्ध यतिकै मा सकियो त?” प्रश्न गर्न मन थ्यो उ संग तर सकिन | सोचें उसलाई पनि त यस्तै भएको हुँदो हो? त्यो दिन सायद उ संग भेटेपछिको पहिलो दिन थियो उ र म नजिस्केको अझै भनौं उसलाई नजिस्काएको |

–    “आज दिउँसो फुर्सद छ?” घर नजिक आइपुगेपछि उसले सोधेकि थिइ मलिनो स्वरमा

–    “किन?” मैले प्रश्न गरें

–    “मलाइ आज कतै घुम्न जाने मन छ, अलि टाढा” उसले भनि “र अर्को कुरा मलाइ धेरै कुरा गर्नु पनि छ हजुरसंग”

–    “हुन्छ |” उसकै जस्तो स्वर थियो मेरो पनि | त्यसपछी चुपचाप दुवै घर भित्र पस्यौं, अरु दिनहरु

जस्तो रमाइलो थिएन त्यो दिन | म सरासर माथि उक्लें, ग्याँस चुलोको एकातिर चियाको लागि पानि बसालें, अर्को तिर भर्खरै लिएर आएको दुध बसालें, एउटा चुरोट सल्काएं र बाहिर निस्कें |

कोठामा मोबाइल बज्यो | गएर हेरें मेसेज आएको रहेछ स्मारिकाको | लेखेके थिई “आज पहिलोपटक केहि माग्दैछु हजुरसंग, दिनुहुन्छ?”

–    “प्रयास गर्नेछु, पहिले मागेर त हेर?” मैले भनेको थिएँ |

–    “पहिले दिन्छु भनेर प्रमिस गर्नुस”

–    “प्रमिस गर्नुपर्दैन, तिमीले मागेको कुरा म दिन्न होला त?” मैले भनें

–    “मागम?” उसले त्यति मात्र लेखि

–    “हुन्छ, बरु छिटो माग है, म आतिन्छु तिमीले धेरै बेर लगायौ भने” मैले भनें

–    “यौटा बाचा गर्नुस म संग”

–    “कस्तो बाचा?” मैले सोधें

–    “प्लिज चुरोट छोडिदिनुस, मलाइ थाहा भैसक्यो अब तपाइंले चुरोट छाडेर पृथ्वी उल्टो घुम्दैन”

–    “हा हा हा, म प्रयास गर्छु, तर आजै छोड नभन है?” मैले भनें

–    “किन?” उसले प्रश्न गरि

–    “म पछी भन्छु सबै कुरा” मैले भनें

–    “हुन्छ दिउसो भन्नु पर्छ है?”

–    “हस” मैले भने |

त्यसपछी कुनै उत्तर आएन अनि प्रश्न पनि सोधिएन कुनै |दिउसो ११:३० बजे फोन गरि उसले “म यहाँ मैतिदेवीमा छु, यतै आउनुस अनि घुम्न जाउँला कतै” उसले भनि | “हुन्छ, म १० मिनटमा आइपुग्छु, तिमि मन्दिर अघि बसी राख्नु” मैले भने र लुगा लगाएर निस्किएँ |

“कहाँ जाने?” मैतीदेवी अगाडी पुगेर उसको अगाडी मोटरसाइकल रोक्ने बित्तिकै मैले नें,

–    “थाहा छैन” उसले भनि

–    “अनि कतै टाढा जाने भनेको होइन त?” मैले भनें

–    “हो, तर कहाँ भन्ने थाहा छैन” उसले भनि

हामि त्यहाँबाट पुतलीसडकक हुँदै लैनचौर निस्केर महाराजगंज तिर लाग्यौं | मेरो दिमागमा कुनै गन्तब्य थिएन, उ संग पनि सोधिन कहाँ जाने भनेर | बस चुपचाप, मोटरसाइकल हिंडिरह्यो र हामि पनि बतासियौं, मोटरसाइकल संगसंगै | नारायणगोपाल चोक बाट भित्र छिरेपछि मात्र स्मारिकाले सोधी “कहाँ जाने?” “खोइ, थाहा छैन, जाउँ न, जहाँ त पुगिएला?” मैले भनें र फेरी चुपचाप मोटरसाइकल चलाइरहें |

बुढानिलकण्ठ मन्दिरलाई दाहिने पारेर बुढानिलकण्ठ स्कुल काटेर अलिकति माथि उक्लेपछि आउने सल्लाघारी नजिकै पुगेर रोकियो मोटरसाइकल | घरबाट निस्किने बेला किनेको चुरोटको बट्टाभित्र बाट एउटा चुरोट निकालेर सल्काएं र नजिकै बसें शितलमा, संगै आएर बसी उ पनि तर नटाँसीइकिन |

–    “छोड्नुहुन्न है चुरोट?” उसले भनि

–    “प्रयास गर्छु” मैले भनें

–    “प्रयास गर्छु रे? छोड्छु भन्नु नि नछोडे पनि अब त? दिनहुँ खाएपनि के भो र मैले देख्ने होइन क्यारे? मेरो अगाडी नखाए त भैगो नि?” उसले भनि

–    “मलाइ झुटा कुरा गर्न मन पर्दैन” मैले भनें र संगै थपें “खान्न भनें भने कहिले पनि खान्न, न तिम्रो अगाडी, न पछाडी”

–    “ठिक छ तर मैले कि मलाइ छोड्नुस कि चुरोट भनें भने नि?” उसले भनि

–    “दुवै छोड्दिन, किनभने तिमीहरु दुवै प्यारो लाग्छ मलाइ, अब त झन तिमि नहुँदा तिम्रो याद दिलाउने पनि यहि चुरोट त हुने भो नि मेरो?” मैले भने

–    “म मायाँ गर्छु हजुरलाई” एक्कासी बोलि उ,

–    “र मैले पनि” मैले भनें | त्यो भन्दा बढी केहि बोल्नै सकिन म | हठातको उसको त्यो कुराले

भित्र भित्रै खुसि भए पनि त्यो खुसि ब्यक्त गर्नै सकिन मैले |

त्यसपछी निकै बेर हामि दुवै चुपचाप बसिरह्यौँ, को पहिला बोल्ने भनेर कुरिरहेको जस्तो तर कोहि पनि बोलिएन | उसले २-४ वटा फोन रिसिभ गरिहोला अनि मैले पनि त्यस्तै २-३ वटा, जति बोलियो त्यहि फोनमा कुरा गर्दा मात्र | मैले चेन स्मोकर झैं एकपछि अर्को चुरोट सल्काउँदै गएँ | एकपछि अर्को, एकपछि अर्को निरन्तर, यस्तो लाग्थ्यो त्यो दिन हातमा भएको चुरोटको खिल्ली संगै मेरो मन पनि सल्कीइरहेथ्यो संगसंगै | के बोल्ने? कसरि बोल्ने केहि सुझिरहेकै थिएन दिमागमा | उसको पनि त्यस्तै हाल थियो, घरि खुट्टाको बुढी नंगले भुइँ कोतर्ने त घरि हातका नङ टोक्ने गरिरहेकी थिइ स्मारिका पनि | हरेक दिन एउटा भन्दा बढी चुरोट सल्काउँदा खोसेर मिल्काइदिने उसले त्यो दिन मैले दशौँ चुरोट सल्काउँदा पनि केहि बोलिन, मात्र एकोहोरो हेरिरही मलाइ, सायद मायाले |

–    “मलाइ भगाउनुस, आजै, अहिले नै” अनायास उसले भनि | म अवाक उभीइरहें | चुपचाप…

 

 

के बोलौं, के भनौं? कुनै शब्द नै भेटिरहेको थिइन मैले, मेरो शब्दकोश रित्तिएको थियो, मैले जानेका, सुनेका शब्दहरु कुनै पनि काम लागिरहेका थिएनन, आफ्नै ज्ञानको भारीले पनि धोका दिएको थियो | मेरा लागि जिन्दगी भन्ने कुरा केवल माया, प्रेम र रमाइलो मात्र पनि त थिएन त्यतिबेला, सबैभन्दा ठुलो कुरा त आफ्नै आफन्त माझ संकटमा परेको मेरो अस्तित्व थियो, साँझ-बिहानको छाक थियो र थियो बिरामी परेको बेला खाइने केवल दुइ गोलि औषधि | त्यसैले पनि मैले उसले भनेकै बखत उसलाई स्वीकार्न सम्भब थिएन | धेरै बाँकी थियो मैले गर्नु पर्ने कुराहरु, पुरा गराउनु थियो सपनाहरु, बाबुआमाले देखेका मेरा लागि, अझै धेरै संघर्ष मेरो अगाडी लमतन्न फैलिएको थियो र म प्रष्ट संग अनुभूत गर्न सक्थें मेरा अगाडी आइपर्न सक्ने समस्याहरु | आखिर मेरो जिबन भनेको अभावै अभाव र समस्याहरुको पोको न थियो | त्यतिबेला सम्म मैले बुझेको जीवन संकटमा परेको मेरो अस्तित्व थियो, मेरो आफ्नै अभाब थियो र मेरो आफ्नै पीडा थियो | सम्भवतः मैले जीवन भनेर जहिले देखि बुझ्न थालें त्यो मेरो अभाब थियो, त्यो मेरो समस्या थियो | अभाब, पीडा र नितान्त व्यक्तिगत समस्या, पर्याय थियो मैले बुझेको जीवनको | त्यसैले, जिन्दगीको मेरो परिभाषा नै फरक थियो सायद, आम मानिस हरुको भन्दा | “जिन्दगी”, अभावै अभाब र समस्यै समस्याहरुको एउटा पोको | हो, त्यस्तै थियो मेरो जिन्दगीको परिभाषा, नचाहेरै थुप्रिएका अभाब र पीडाहरु, अनगिन्ति समस्याहरु | बस, जिन्दगि त्यति नै थियो मेरो लागि |

–    “स्मारिका” लामो समयको मौनता र मानसिक अन्तर्द्वन्द पछी मैले बिस्तारै बोलाएको थिएँ

–    “हुँ” म तिर हेर्दै नहेरी बोलेकि थिइ उ |

–    “के तिमि साँच्ची म सँग बिहे गर्न चाहन्छौ?” मैले प्रश्न गरेको थिएँ

–    “तपाइंलाई के लाग्छ? म तपाई संग मजाक गर्दैछु?”  रिसाएको झैं गरि जबाफ दिएकी थिइ उसले

–    “तर मलाइ लाग्छ, तिमी अझै बच्चै छौ, जिन्दगीको यति ठुलो निर्णय गर्नसक्ने क्षमता अझै बिकसित भैसकेको छैन तिमीमा” उसको प्रतिक्रियाको कुनै वास्तै नगरी मैले फेरी थपेको थिएँ “तिमीले आजसम्म जे जति भोग्यौ, जसरि यहाँ सम्म आयौ, त्यतिमात्र होइन तिम्रो जिन्दगी, अझै धेरै सिक्नु छ तिमीले, भोग्न धेरै बाँकी छ | त्यसैले अहिले नै गरेको तिम्रो यो निर्णय भोलि आफैलाई पछुतो हुनसक्छ, फेरी एकपटक सोच राम्रोसँग ताकी भोलि आफ्नै निर्णयमा पछुताउनु नपरोस तिमीले “

–    “म माया गर्छु तपाइंलाई” उसले मेरो कुराको वास्तै नगरी बीचैमा बोलेकी थिइ

–    “माया? के लाग्छ तिमीलाई? मैले पनि गर्दिन होला र तिमीलाई माया?” मैले भनेको थिएँ

–    “शंका लाग्छ” उसले भनेकी थिइ

–    “शंका? किन? के मैले कुनै कसर बाँकी राखेको छु र? आफ्नो ठानेको छैन र?” मैले फेरी थपेको थिएँ “हो मैले देखाउन जानिन होला, ब्यक्त गर्ने तरिका गलत थियो होला, तर तिमीले मलाई जति माया गर्छौ नि त्यो भन्दा अलिकति नै सहि, धेरै माया गर्छु म तिमीलाई”

–    “एकपटक आफैंले सोच्नुस त, आजसम्म कुनै दिन भन्नु भयो म माया गर्छु तिमीलाई भनेर?” उसले प्रश्न गरेकी थिइ |

–    “मलाइ लाग्दैन, माया गर्नेहरुले म माया गर्छु भनेर स्वीकार गर्नु पर्छ भनेर, सबैभन्दा ठुलो कुरा आत्मस्वीकार हो र मैले तिमीलाई आफ्नो भनेर स्वीकार गरिसकेको छु भलै तिमीसामु नभनेको हुँ |” मैले आफ्नो कुरा एकैसासमा राखेको थिएँ

–    “तरपनि, तपाईं केटा हो, पहिले तपाइंले नै भन्न सक्नुपर्थ्यो, अफसोच, आज मैले स्वीकार गरेकी छु तपाईंको अघि, मैले तपाईं बाहेक अर्को मानिसलाई अब आफ्नो सोच्न छाडिसकेकी छु | यहाँ सम्म कि तपाईंको लागि म मेरो परिवार समेत त्याग्न तयार छु, तर तपाईं उल्टै मलाइ बच्चै छस भनेर उम्किने प्रयासमा लाग्दै हुनुहुन्छ?” घुमाउरो पाराले मेरो नामर्दिपन माथि ब्यङ्ग गरेकी थिइ उसले | तर उसलाई के थाहा मेरो बिबशता, मेरो बाध्यता?

–    “हेर, आज अनि अहिले नै मलाइ भगा भनेर भन्छौ भने म केहि गर्न सक्दिन, तिमि स्वतन्त्र छौ आफ्नो अनुकुल निर्णय गर्न र तिम्रो त्यो निर्णय मलाइ मान्य हुनेछ |” मैले सम्झाउने प्रयास गरेको थिएँ उसलाई | फेरी थपेथेँ मैले “हतार नगर, सोच फेरी एकपटक राम्रोसँग र उपयुक्त निर्णय गर |”

केहि बोलिन उ, मात्र चुपचाप सुनिरही मेरा कुराहरु, उसले बुझी वा बुझिन त्यो त म भन्न सक्दिन तर मैले जे भन्नु पर्थ्यो सबै भनें | उसले चुपचाप सुनीरही, बिना प्रतिक्रिया |

निकै लामो समयसम्मको सन्नाटापछी स्मारिकाले भनेकी थिइ “जाउँ अब ढिला हुन्छ |” म चुपचाप केहि नबोली हातमा बलिरहेको चुरोटको ठुटो जुत्ताले कुल्चिएर निभाइ उसको पछाडी लागेको थिएँ | बाटोमा आएर मैले मोटरसाइकल स्टार्ट गरें, उ बसी र भनि “मलाइ महाराजगन्ज छोडिदिनुस” | मैले बोल्ने कुरा नै के पो थियो र त्यहाँ, किन? के को लागि? केहिपनि नसोधी प्रहरी प्रशिक्षण केन्द्र भन्दा अलिकति अगाडी आएर रोकिएको थिएँ म |

–    “धन्यबाद” उसंग भेटेपछिकै पहिलोपटक हुनुपर्छ सायद, त्यति धेरै औपचारिक भएकी थिइ उ म सँग,

त्यो साँझ म ढिलो गरि कोठामा फर्केको थिएँ, करिब ११ बजेतिर | मूलगेटबाट भित्र छिर्नासाथ स्मारिकाको झ्यालबाट चिहाउनै लागेको थिएँ झट्ट सम्झें “उनीहरु त गइसके” मन अमिलिएर आयो, भक्कानो छुट्यो मुटुमा | सम्हालिएँ बिस्तारै र माथि आफ्नो कोठामा पुगें | त्यो घर बसाइकै सबैभन्दा नमिठो पल थियो त्यो सायद, बानि लागेको रहेछ मलाइ फर्किंदै गर्दा उसको झ्याल चिहाउने | साथीहरु सुतिसकेका रहेछन, बाथरुम गएँ फ्रेश भएर आइ एक कप चिया बसालें, एउटा चुरोट सल्काएँ र बाहिर बरन्डामा निस्कें | उसको याद हावाको झोंका बनेर आयो, ठोक्कियो म संगै र फर्कियो, नमिठो सम्झना छाडेर | त्यतिन्जेल उसको न मेसेज आएको थियो न त फोन नै, एउटै छत बाँडेर बसेको बेला, उ तलको कोठा र म माथि भएको बेला पनि राति नसुत्दासम्म हरेक आधा घण्टा मा मेसेज आउँथ्यो उसको | बिहान कलेज जाँदा होस् वा साथीहरुसंग कतै घुम्न जांदा, पुग्नेबित्तिकै खबर गर्थी “म पुगें” भनेर | तर आज अहिलेसम्म एउटा पनि मेसेज आएन न त फोन नै | हुनत, मैले नै गरेको भए पनि त हुन्थ्यो नि “कस्तो रहेछ त नयाँ कोठा” भनेर? सायद, छुटिनुपर्दाको पीडा मलाइ जस्तै उसलाई पनि त असह्य भएको हुँदो हो ! वा अझै कोठा मिलाउँदै पो छे कि? यस्तै सोच्दै जुन को उज्यालोमा बसेर आकाशतिर उड्दै गरेको चुरोटको धुवाँ हेर्दै थिएँ आकाशमा खस्दै गरेको तारा देखें | आँखा  बन्द गरें र कामना गरें “भगवान, स्मारिकाका सबै इच्छाहरु पुरा गरिदेउ र उसलाई यस्तो बरदान देउ, कि उसले मेरो जस्तो जिन्दगी कहिल्यै बाँच्नु नपरोस |”

आधाउधी चुरोट पिउदैगर्दा मोबाइल बज्यो कोठामा | हतारिंदै गएर हेरें, आशा थियो स्मारिकाको हुनुपर्छ भनेर, मेसेज आएको रहेछ | लेखेकी थिइ “स्टुपिड, कम्तिमा १ पटक फोन त गर्नुपर्छ नि, खाना खाको हो?”

–    “हाँडी, तिमि रिसाएर गएको मान्छे, थाहा छँदै थियो क्यारे मलाइ फकाउन आउदैन भनेर” मैले रिप्लाई गरें

–    “म रिसाएको छैन डियर, थाकेको छु समान सार्दा, मान्छे, आउला भनेर कुर्दा कुर्दा गायब? भर्खर सामान मिलाएर सकियो” उसले भनेकि थिइ |

–    “म सुतें अब, लभ यु स्टुपिड, मिसिंग यु” उसको एसएमएस को कुनै रिप्लाई गर्नुभन्दा अगाडी नै उसले लेखेकी थिइ

–    “एण्ड द्याट्स द रियल प्रब्लम, आइ लभ यु टू, हाँडी” मैले रिप्लाई गरेको थिएँ |

–   “:) उसले स्माइली टाइप गरेर पठाएकी थिइ संगै लेखिएको थियो “गुड नाइट”

भोलिपल्ट, बिहानै दुध लिन जाने बेला एक्लै हुँदा सायद पहिलोपटक त्यति धेरै मिस गरेको थिएँ मैले स्मारिकालाई | फोन गरें म एक्लै छु भनेर “खुन्चिंग परो” उसले जिस्काएकि थिइ र अन्त्यमा भनेकी थिइ “आजबाट म जाँदिन दुध लिन, दिदि गएकी छ, मलाइ एक्लै दुध लिन गएर तपाइंलाई अझै धेरै मिस गर्ने रहर छैन”

समय हो, नचाहेरै बढिरहन्छ आफ्नै गतिमा, एकोहोरो अगाडी, न मेरो लागि, न स्मारिकाको लागि, न अरु कसैको लागि रोकिन्छ यो | समयक्रमसंगै हाम्रो सम्बन्ध पनि झाँगिदै थियो, दिनहुँ विभिन्न बहानामा भेट हुने, फुर्सद मिलेसम्म घुम्न जाने क्रम पनि निरन्तर चलिरह्यो |

एकदिन काम बिशेषले म पोखरा जानुपर्ने भयो, कोठामा साथीहरु कोहि थिएनन, काठमाडौँ ट्याक्सी ब्यबसायीको उपत्यका बन्द थियो तर सार्बजनिक सवारीमात्र | निजि सवारीसाधन र मोटरसाइकलहरु निर्बाध चलिरहेका थिए | मैले स्मारिकालाई फोन गरें र मलाइ कलंकी छोडिदेउ भने | उ आइ, जानेबेला आफ्नै हातले बनाएको एक कप कफी खुवाएर पठाउँछु भनि, मलाइ पनि के भो र, बनाउ न त भनें र उ कफी बनाउन लागि | म एउटा चुरोट सल्काएं र बरन्डामा निस्कें, स्मारिकाले कफी लिएर आइ, दायाँ हातको कफिको कप म तिर बढाउँदै भनि;

–    “तपाइंले यो चुरोट छोड्नुस भनेर कहिले मान्नु भएन है? पख्नुस बिहे गरेर एक महिना संगै बस्न त दिनुस, तपाइंलाई चुरोट नै बिर्सिने बनाउँछु”

–    “अनि के मैले गाँजा खान थाल्नु पर्ने हो चुरोट छोडेर?” मैले भनें

–    “मैले त्यसो भनें?” उसले प्रश्न गरि

–    “अनि कसरि बनाउँछौ त चुरोट नै बिर्सिने?”

–    “मायाले, तपाइंलाई यति धेरै माया दिन्छु कि तपाइंले चुरोट खानै बिर्सिनुहुनेछ” कति मायालु लागेका थिए उसले भनेका ति शब्दहरु

–    “भनेपछि मैले तिमि संग बिहे नगर्ने भएँ” म जिस्किएको थिएँ

–    “लौ, किन?” अचम्म मान्दै सोधेकी थिइ उसले

–    “तिम्रो मायाले मैले खाना नै खान बिर्सिन थालें भने नि? मलाइ छिट्टै मर्नु छैन तिमीसंग बिहे गरेर” हातमा रहेको चुरोटको ठुटो नजिकैको एस्ट्रेमा निभाउँदै मैले भनेथें |

–    “बुद्धु, खाना खुवाउने त म छँदै छु नि, तपाइंले बिर्सेर के भो र?” फेरी एकपटक मायालु शब्दले ब्ल्याकमेल गरेकी थिई उसले मलाइ र बाध्य पारेकी थिइ भन्न कि “हुन्छ बाबा, म तिमीसंगै बिहे गर्नेछु, तर एउटा सर्तमा मात्र” मैले जिस्किने अर्को बहाना निकालेको थिएँ

–    “सर्त? के?” अचम्मित हुँदै उसले सोधेकी थिइ |

–    “मलाइ पहिलो वर्ष नै घोर्ले छोरो दिनुपर्छ है त?” अलिक छिल्लिएको थिएँ म

–    “स्टुपिड” भन्दै आफ्ना दुवै हातले मलाइ अंगाल्दै मेरो छातीमा आफ्नु अनुहार लुकाएकी थिइ उसले, सायद लजाएकी थिइ, अलिकति | अनि मैले बिस्तारै उसको अनुहार म तिर फर्काएर दुवै हातले उसको टाउकोलाई आड दिएर समाई चुम्बन गरेको थिएँ उसको निधारमा, पहिलोपटक |

त्यसपछी दुबैजना कोठाबाट निस्केर लागेका थियौं कलंकीतिर, स्कुटर उसैले चलाएकी थिइ, म उसको पछाडी बसेको थिएँ | अनामनगर बाट निस्किएर न्यु प्लाजा हुँदै भद्रकालीको बाटो त्रिपुरेश्वर चोक आइपुगेपछि स्कुटर रोकिएको थियो अनायास |

–    “के भो” मैले सोधें

–    “एकछिन है,” उसले भनि र फेरी भनि “झर्नुस न”

–    “किन? के भो र?” मैले स्कुटरबाट नझरिकनै प्रश्न गरेको थिएँ,

–    “पहिले झर्नुस त सहि” उसले ढिपी कसी

–    “ल भन” स्कुटरबाट झरेर उसको अगाडी गइ भनेको थिएँ मैले

–    “ल अब २० पटक उठबस गर्नुस” अनायास बिच बाटोमा रोकेर उठबस गर भन्नुको अर्थ बुझिन मैले र सोधें

–    “किन? मैले के गल्ति गरें र?” मैले केहि नबुझेर सोधेको थिएँ, उ भने मुसुमुसु मुस्काउँदै भन्दै थिइ “पहिला उठबस त गर्नुस बाबा”

–    “गर्दिन, गल्ति के भो त्यो त थाहा पाउनु पर्यो नि मिस पहिला?” मैले इन्कार गरेको थिएँ उठबस गर्न

–    “ए गल्ति? अर्काको छोरीलाई एक्लै पारेर त्यो पनि आफ्नो कोठामा लगेर किस गर्ने? अनि गल्ति के गरें रे? ल खुरुक्क उठबस गर्नुस २० पटक” त्रिपुरेश्वर चोकमा संगै गएको स्कुटरबाट झरेर २० पटक उठबस गर भनेर भन्दा मेरो अनुहार हेर्न लायक देखिएको थियो सायद, मेरो अनुहार हेरेर खित्का छाडेर हाँसेकी थिइ स्मारिका त्यो बेला | “पख न मेरो पालो पनि आउँछ नि, कुनैदिन?” मैले मनमनै भनेथें

–    “खोइ त? छिटो गर्नुस न, गाडी नपाइएला फेरी?” म चुपचाप उभिएको देखेर उसले भनेकी थिइ

–    “मैले गरिन भनें?” मैले नगर्ने अड्डी कसें

–    “सिम्प्ली, हिंडेर जानुस, अब यहाँ बाट कलंकीसम्म” उसले धम्कि दिएकी थिइ, उठबस नगरे कलंकी नलगीदिने भनेर

–    “हाँडी, मेरो पालो पनि आउला नि कुनै दिन?” भन्दै मैले कान समात्न मात्र के थालेको थिएँ

–    “भो पर्दैन, म जिस्केको मात्र तर अब देखि त्यसरी एक्लै पारेर मनलागी गर्न पाइन्दैन नि?’ उसले चोर औंला ठड्याएर चेतावनी दिएकी थिइ

–    “हस माता, म अब सोधेर मात्र छुन्छु हजुरलाई,” मैले भनेको थिएँ

–    “ल त्यसो भए नमस्ते गर्नुस, अब नसोधी छुदैछुन्न भनेर” उस्ले फेरी अर्को अड्को थापी

–    “ल अब नसोधी छुने त के कुरा बोल्दा पनि बोल्दिन” उसको अगाडी दुवै हात जोडेर भनेको थिएँ र स्कुटरमा बसेको थिएँ चुपचाप

बाटोभरी उ जिस्किरहि नानाथरी कुरा गर्दै, म भने सबै कुरा सुनेर पनि केहि नसुनेजस्तो गरेर मौन बसें कलंकी नपुगुन्जेल,

–    “म बोलौं?” कलंकी पुगेर स्कुटर बाट झरेपछि म जिस्किएको थिएँ

–    “हस, महाराज अब बोल्नुस, इच्छा लागेको गर्नुस अब, नसोधीकानै जे गरेपनि हुन्छ, छुट भो हजुरलाई” दिक्क माने झैं गरेर भनेकी थिइ उसले,

–    “जाउँ हिंड खाजा खान, भोक लाग्यो” मैले भनेको थिएँ

नजिकैको रेस्टुरेन्टमा पसेका थियौं दुवै जना खाजा खान भनेर, टेबलमा गएर बस्नासाथ मैले एउटा चुरोट सल्काएं | उसले मोमो अर्डर गरि दुबैजनाको लागि | एउटा फेन्टा र एउटा स्प्राइट पनि उसको अर्डर लिस्ट मा परेका थिए | फेन्टा उसको लागि र मेरो लागि स्प्राइट |

–    “तपाइंलाई रिस उठेको छ हो म संग?” उसले सोधेकी थिइ

–    “छैन, मैले नसोधी तिमीलाई चुम्बन गर्नु मेरो गल्ति थियो र त्यसैको सजायँ पाएँ | अनि किन रिस उठ्नु पर्यो मलाइ?” मैले रिसाएरै जवाफ दिएँ

–    “ल, अब बराबर भो” मैले अन्तै हेर्दै गर्दा मेरो गालामा हठात चुम्बन गरेर हिसाब किताब मिलाएकी थिइ उसले र फेरी भनेकी थिइ “अब खुस?”

–    “फटाही” मैले त्यतिमात्र भनेको थिएँ

केहि समयपछि हाम्रो अर्डर आयो, मोमो खाएर संगै बाहिर निस्क्यौं, उ मलाइ बस सम्म पुर्याउन आइ र भनि “मैले धेरै मिस गर्नेछु तपाइंलाई, छिट्टै फर्कनु है?”

–    “पीर नगर, म के महिनौं बस्ने गरेर जान लागेको हो र? फर्किहाल्छु नि, तिमीले पनि आफ्नो ख्याल राख्नु, फोन गर्दै गर्नु | म फर्केर आएपछी घुम्न जानुपर्छ” सायद मैले फकाएको थिएँ उसलाई फर्केर आएपछी घुम्न जाउँला भनेर |

–    “ह्याब अ नाइस जर्नी, लभ यु” म बसको सिटमा बसिसकेपछि उसले गहभरी आँशु पारेर भनेकी थिइ र बिदाइको हात हल्लाउँदै थिई, बस ओझेल नपरुन्जेल |

थानकोट नआइपुग्दै मोबाइलमा मेसेज आएको थियो उसको, लेखेकी थिई “सरि डियर, फर माइ स्टुपिडीटि, लभ यु अ लट, मिसिंग यु” मैलेपनि त उसकै बारेमा सोच्दै थिएँ, त्यसैले तुरुन्त उसको मेसेजको रिप्लाई गरिहालें “इट्स ओके, एण्ड यु नो व्हाट? आइ लभ्ड योर स्टाइल अफ पनिशमेन्ट, लभ यु टू, टेक केयर” | पुरै बाटोभरी स्मारिका संगै मेसेज गर्दै गर्दा समय बितेको पत्तै भएनछ, साँझ सात बजे नै पोखरा झारिदिएको थियो बसले | पृथ्वीचोक आइपुगेर पहिलो मेसेज गरेको थिएँ उसलाई म आइपुगें भनेर |

एक हप्ताको पोखरा बसाइ थियो मेरो, हरेक दिन स्मारिका संग कुरा हुन्थ्यो | जिस्कन्थे घरीघरी त घरि मिस गर्दैछु भनेर मक्ख पार्दिन्थें, यथार्थमा पनि मिस गरिरहेको थिएँ उसलाई निकै धेरै |

पोखरा आएको पाँचौं दिन बिहान, बिहानै मोबाइलमा मेसेजको आवाजले ब्युँझिएँ | अरु कस्को हुन सक्थ्यो र त्यति बिहानै मेसेज? स्मारिकाको नै थियो | लेखेकी थिइ “बुडो, छिट्टै फर्किनुस काठमाडौँ, तपाईं बिनाको काठमाडौँ निकै शुन्य लागिरहेको छ मलाई” र यहाँनेर भन्नै पर्ने कुरा हाम्रो सम्बन्ध अब केवल प्रेमी-प्रेमिका मात्र नभएर श्रीमान-श्रीमतीमा परिणत भैसकेको थियो, कम्तिमा मेसेजमै भएपनि | बितेका चार दिन सायद अलि बढी नै मेसेज गरिएको थियो र त्यसैको परिणाम थियो त्यो शब्द “बुडो” | “हस, अब आज र भोलि को दिन त हो नि, पर्सि त म काठमाडौँ” मैले रिप्लाई गरेको थिएँ | बाँकी दुइ दिन हरु पनि त्यसरी नै बिते, हरेक साँझ मेसेज र फोन हुन्थ्यो, कुरा हुन्थ्यो दिनभरिको | के के गरियो, कहाँ गइयो र के खाइयो? हरेक दिन उसका उस्तै खाले प्रश्न हुन्थे र म इमान्दार बालकले जसरि सम्झेसम्मका सबै कुरा नछुटाई बेलिबिस्तार लगाउँथे |

म काठमाडौँ फर्किने दिन, बिहानै स्मारिकाले मेसेज गरि “कतिबेला आउनुहुन्छ? लिन आउनु पर्ने हो कलंकी?” “सायद, नपर्ला” मैले रिप्लाई गरेको थिएँ संगै लेखेको थिएँ “म फोन गरुंला नि बस चढेपछि” | बिहान सात बजे म बस चढेको थिएँ, सरासर गएको भए ढिलोमा २ बजे म काठमाडौँ पुगिसक्नुपर्ने थियो तर त्यहि त हो साँघुरो सडक, सडकले धान्न सक्ने भन्दा धेरै सवारीको चाप अनि त्यहिमाथि सडक दुर्घटना, जाम नहुने त कुरै भएन? मुग्लिन पुग्नै चार बज्यो, फोन गरें स्मारिकालाई | भन्दै थिइ म आउँछु लिन “अनि आज मेरो मा नै बसौंला, दिदि छैन” मलाइ अचम्म लाग्यो, के भनुँ के? जाउँ उसकोमा वा नजाउँ? भोलि समाजले के भन्नेछ उसलाई? त्यहि सोचेर रिप्लाई गरें “नाइँ, पर्दैन म शंकर (मेरो रुममेट) लाइ बोलाउँछु” | उसले फेरी मेसेज गरि “प्लिज, आइ वान्ट यु टु बि हेयर विथ मि टुनाइट, आइ एम स्केयर्ड अफ बीइंग अलोन, प्लिज कम टु मी, आइ वान्ट टु बी इन योर वार्म हग” मैले मात्र “हस, म फोनं गर्छु” लेखें र रिप्लाई गरें |

साँझ करिब ८:३० मा थानकोट पुगें र स्मारिकालाई फोन गरें | भन्दै थिइ “छिटो आउनुस खाना बनाएर बसेकी छु म |” म कलंकी आइपुगेर फोन गर्छु तिमि नयाँ बसपार्कमा आइराख्नु अनि संगै जाउँला भनें र फोन राखें | शंकरलाई फोन गरें र भनें “म आज आउँदिन कोठामा, यतै सामाखुसितिर बस्छु साथीकोमा र भोलि मात्र आउँछु, मलाइ खाना नराख्नु” |

कलंकी काट्नेबित्तिकै स्मारिका लाइ फोन गरें र बोलाएँ बसपार्कमा | बसपार्कमा पुगेर बसबाट झर्ने बित्तिकै स्मारिका दौडदै आइ, झ्याम्म अंगालो हाली र भनि “यु वेर मिस्ड अ लट, बाइ द वे, हाउ वाज योर जर्नी?”

–    “पेनफुल वन एण्ड आइ मिस्ड यु टू” भन्दै उसको निधारमा चुम्बन गरें, दोस्रोपटक |

–    “एकछिन एकछिन, रोक त” बसुन्धरा चौकी नजिकै पुगेपछि मैले स्मारिकालाई स्कुटर रोक्न आग्रह गरें

–    “किन” स्कुटर साइड लगाउँदै उसले सोधी

–    “नमस्ते, म्यामलाई आज पनि नसोधी किस गरें नि त, त्यसैले” स्कुटर रोकिने बित्तिकै झरेर उसको अगाडी गएर नमस्ते गरें र भनें,

–    “स्टुपिड, बस्नुस, ढिला भैसक्यो” उसले हाँस्दै भनि |

त्यो रात उसैकोमा बिताएँ, घन्टौं दुखसुखका कुरा गर्यौं, भविष्यको कल्पना गर्यौं र रमायौं राति अबेरसम्म | त्यो रात एउटा श्रीमानले आफ्नो श्रीमतीबाट जति अधिकार पाउँथ्यो, त्यहाँसम्मको अधिकार दिएकी थिइ उसले मलाइ |

समयसंगै सबै कुरा राम्रै चल्दै थियो, हामि सम्भब भएसम्म हरेक दिन भेट्थ्यौं, सम्भब नभए दुइ दिन मा एकपटक त जसरि भए पनि भेटिन्थ्यो मिलाएर | हामीबीच अब केहि पनि बाँकी रहेन, मात्र बैधानिकता बाँकी थियो श्रीमान श्रीमतीको, सामाजिक रुपमा |

केहि समय पछिनै मेरो अफिस दिउसोमा हुन थाल्यो, अब भने स्मारिकासंगको भेट अलि पातलिन थाल्यो, बिहान उ कलेज जान्थी, दिउसो म अफिस | हप्ता मा एकदिन बिदा हुन्थ्यो शनिबार, त्यहि पनि नुहाई-धुवाई, सरसफाई अनि साथीभाई संगको जमघट, उसको पनि त्यस्तै हुन्थ्यो सायद, भेटघाट अलि पातलिन थाल्यो | सुरुसुरुका दिनहरुमा हप्तै पिच्छे भेट हुन्थ्यो भने अलि पछी आएर पन्ध्र दिन हुँदै एक महिना सम्म पनि पुग्न थालेको थियो हाम्रो भेट्ने समय | फोन र मेसेजमा कुरा भैरहन्थ्यो |

एक साँझ म अफिसको मिटिंगमा थिएँ, स्मारिकाको फोन आयो, फोन रिसिभ गरेर कुरा गर्न मिल्ने अवस्था थिएन, त्यसैले मैले फोन काटें | तुरुन्तै मेसेज आयो “इट्स एन अर्जेन्ट, प्लिज कल मी ब्याक” मेसेजमा लेखिएको थियो | तुरुन्तै फोन गर्न मिलेन, करिब आधा घण्टा जति पछी मिटिंग सकेर निस्कनासाथ स्मारिकालाई फोन गरे तर अफसोच, उसको फोन अफ थियो | हरेक पांच मिनटमा फोन ट्राइ गर्दै रहें, बिचबिचमा मेसेज पनि गरिरहेको थिएँ तर न उसको फोन अन भयो न त रिप्लाई नै आयो उताबाट |

राति करिब ११ बजेतिर म कान्तिपुर एफ.एम सुनेर बसिरहेको थिएँ | एउटा मेसेज आयो, स्मारिकाको | लेखिएको थियो “प्लिज फर्गिभ मी एण्ड फर्गेट, आइ वन्ट बी एबल टु बी विथ यु फरेभर” | मेसेज पढीसक्दा नसक्दै रिंगटा लागेर आयो, टाउको ग्रहौं भयो, थुचुक्क भुइंमा बसें र नजिकैको टावेल तानेर पसिना पुछें | एफ.एम मा नेपालि आधुनिक गीत बजिरहेथ्यो “सबैले भन्छन मान्छेको मन, बदलिन कतीबेर, दोबाटो भेटे बिर्सेर माया, मोडिन कतिबेर…”त्यो रात फेरी रोएँ म कोहि अरुको लागि, आफ्नो लागि रुनु त नियति बनिसकेको थियो मेरो तर अरुको लागि रोइदिनु पर्ने? त्यो पनि बाध्य भएर | रुँदा रुँदा कतिबेला निदाएछु कुन्नि? भोलिपल्ट बिहानै मोबाइलमा अलार्म बज्दा पो थाहा भो, म भुइंमा नै सुतेको रहेछु | उठेर घडी हेरें, भर्खर बजेको अलार्म मेरो उठ्ने समयको नभएर अर्कै रहेछ, मात्र बिहानको ५ बजेको थियो, मैले के नै पो लछारपाटो लगाउनु थियो र त्यति बिहानै उठेर? मोबाइलको स्क्रीनमा केहि डिस्प्ले हुँदै थियो, नियालेर हेरें, लेखिएको थियो “माइ फर्स्ट एन्निभर्सरी विथ स्मारिका” | फेरी एकपटक हिजो साँझ रिसिभ गरेको मेसेज पढें “प्लिज फर्गिभ मी एण्ड फर्गेट, आइ वन्ट बी एबल टु बी विथ यु फरेभर” र फेरी आफैंले सेभ गरेको अलर्ट हेरें “फर्स्ट एन्निभर्सरी” अन्यौलमा परें म, मेरो मेरो लागि यो खुसीको खबर थियो वा दुखको? खुसि मनाउनु वा दुख?

धेरै सोचें त्यो बिहान, के कारण हुन सक्थ्यो स्मारिकाले त्यसरी हठात मेरो साथ छोड्नुको? कि उ बाध्य पारिएकी थिइ? उसलाई कुनै दबाब पो थियो कि? यस्तै यस्तै सोचेर बिस्तारामा पल्टिरहेको थिएँ, सिंहदरबार भित्र छ पटक सम्म समयसूचक घण्टि बज्यो | उठेर बाहिर निस्किएँ, घट्टेकुलो चोक पुगेर चुरोट किनें, एउटा निकालेर सल्काएं र मैतीदेवीको बाटो हुँदै अगाडी बढें | कहाँ जाने कुनै लक्ष्य थिएन, न कुनै गन्तब्य नै निर्धारित थियो | आफैंमा एउटा अस्पष्ट जीवन बाँचिरहेको म र मेरो निरुदेश्य हिंडाइ… कतिन्जेल पो हिंड्न सकिन्थ्यो होला र बेहोसिमा? अघि भर्खर रातो पुल नजिकै आइपुग्दा सल्काएको तेस्रो चुरोट सल्किँदै आएर हातका औंलाहरु पोलेपछि पो झसङ्ग भएँ | हातबाट एक्कासी चुरोटको ठुटो फालेर सहज भैसकेपछि थाहा पाएँ, म गौशाला पुगीसकेको रहेछु, सिधै पशुपति मन्दिर तिर लागें | बिहानको समय, मन्दिर वरपर शंख र घन्टको आवाज गुन्जिरहेको थियो | चराचुरुंगीहरु भर्खर आ-आफ्ना गुडबाट निस्केर संसार चिहाइरहेका जस्ता देखिन्थे | जताततै बिहानको घामको झुल्कोले रापिलो लालिमता छरेको थियो तर मेरो मनभित्र भने निकै ठुलो खैलाबैला मच्चिएको थियो, भुमरी रिंगीरहेको थियो सोचाइहरुको र ज्वारभाटा उठिरहेको थियो असैह्य पीडाहरुको | सरासर मन्दिरमा पसें, शिव लिंगलाई बाहिरै बाट दर्शन गरें, तीनपटक सम्म हातले आफ्नै छाती र निधार छोइरहें | त्यतिबेला मनमनै कामना गरिरहेको थिएँ “भगवान, स्मारिकालाई केहि नहोस, मैले जस्तै जीवन बाँच्नु नपरोस उसले” | बाहिर निस्किसकेपछि पो थाहा पाएँ सबै उसको लागि कामना गर्दैगर्दा आफनै लागि कामना गर्न पो बिर्सेछु |

कहाँ जाने अब फेरी कुनै गन्तब्य थिएन मेरो, न त कहीं समयमै पुग्नुपर्ने हतारो पनि? फर्किएर मन्दिर छिरें, बाग्मती नदि पार गरेर अलि माथि गएँ, एकपटक फेरी फर्किएर मन्दिर हेरें अनि लागें माथि बनकालितिर | सबैभन्दा माथिको सिंढीमा पुगेर थुचुक्क बसें, एउटा चुरोट निकालेर सल्काएं, र फेरी सोच्न थालें, स्मारिकाको बारेमा | तल पशुपतितिर सब बाहनको साइरन बजिरहेको थियो, मोबाइलको याद आयो, खल्तीबाट मोबाइल निकालें स्मारिकाको मेसेज पढें फेरी एकपटक र उसकै नम्बर डायल गरें “माफ गर्नुहोला, तपाइंले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्विच अफ गरिएको छ” उताबाट आवाज आइरह्यो र म अवाक सुनिरहें |

बिहानभरि साथीहरुले फोन गरिरहे कोठाबाट, न फोन काटें कसैको न कसैसंग कुरा नै गरें फोन उठाएर | हरेक पटक घन्टी बज्नेबित्तिकै साइलेन्ट गराईदिन्थें फोन | कर्रिब ११ बजेतिर अफिसबाट फोन आयो, बल्ल सम्झना भयो कि मेरो अफिस त आजभोली दिउँसो पो त? “सर हजुर कहाँ?’ फ्रन्ट अफिस डिपार्टमेन्ट इन्चार्ज आरति भन्दै थिइ | बहाना बनाएँ ‘बिरामी भाको छु, अस्पताल आएको फोन गर्ने चान्स नै मिलेन” | “होइन सर, इट्स ओके, टेक योर टाइम टु गेट वेल, आउनुभएन र मात्र के रहेछ भनेर फोन गरेको, म सरलाई खबर गरिदिन्छु नि” भनेर फोन राखी | उसले भनेको त्यो सर मेरो हाकिम थियो | अब अलि आनन्द भयो, अफिस पनि नगए भैगो, कहाँ जाने भनेर सोच्दै थिएँ झल्याँस्स याद आयो “ओशो तपोबन” जहाँ स्मारिका र म दर्जनौं पटक पुगेका थियौं, मिठा मिठा कुरा गरेका थियौं मायाप्रेमका, पिरतीका अनि जिन्दगीका, सबै रमाइला र सायद झुटा पनि |

बनकालीबाट झरेर पशुपति मन्दिर बाहिर निस्केको मात्र थिएँ, मोबाइल बज्यो निकालेर हेरें, मेसेज डेलिभरी नोटिफिकेसन थियो | हिजो साँझ स्मारिका लाइ पठाएको | तुरुन्तै उसको नम्बर डायल गरें, घन्टी गयो, लगातार, तर फोन उठेन | फेरी डायल गरें, घन्टी गयो, लगातार तेस्रो घन्टीपछी उताबाट आवाज आयो “तपाइंले डायल गर्नुभएको नम्बर अहिले ब्यस्त छ” मतलब फोन काटियो | “प्लिज रिसिभ माइ फोन, आइ वान्ट टु टक टु यु, प्लीज !!!” मैले मेसेज गरें | तुरुन्त रिप्लाई आयो “देयर इज नो पोइन्ट इन टकिंग अबाउट द सेम टपिक, आइ अलरेडी टोल्ड यु टु फर्गेट मी एण्ड फर्गिभ, प्लिज लिभ मी अलोन, आइ डोन्ट वान्ट टु टक टु यु !!!” उसको मेसेज पढिसकेपछि रिप्लाई नगरी फेरी एकपटक उसको नम्बर डायल गरें, दोश्रो घन्टीपछी फोन उठ्यो तर उताबाट बोल्नेको आवाज अर्कै थियो | “स्मारिका खोइ?” मैले सोध्दै थिएँ “प्लिज अब यो नम्बरमा फोन गर्न छाडिदिनुस” यतिमात्र सुनें मैले, लगत्तै फोन काटियो |

फर्केर कोठामा गएँ, साथीहरु कोहि थिएनन, खाना खाने मन थिएन | तल पसलमा गएँ, एउटा सिग्नेचर फुल बोतल लिएर आएँ, संगै एक प्याकेट चुरोट पनि | कोठामा चाउचाउ रहेछ त्यहि काँचो चाउचाउ प्लेटमा राखें | एउटा गिलास र पानीको बोतल लिएर आएँ किचनबाट अनि सिग्नेचर खोलेर गिलासमा आधा सिग्नेचर र आधा पानि मिलाएँ, एउटा चुरोट सल्काएँ, ल्यापटप खोलें र इन्टरनेट कनेक्ट गरि स्मारिकालाई लामो मेसेज लेखें फेसबुकमा;

प्रिय स्मारिका,

म भन्दिन तिमि सुखी छौ होला, खुसि छौ होला? चाहना बिना नै संकेत टुट्दा कसलाई पो खुसि लाग्ला र? म पनि त खुसि छैन र मलाइ गुनासो पनि छैन तिमीसंग | सोचेको थिएँ, मलाइ माया गर्छौ तिमीले, आफ्नो ठान्छौ हरेक पल र म संग बिताउनेछौ तिम्रो पुरै जिन्दगी | भ्रममा रहेछु म वा भनौं सधैं माया गर्छु भनेर भ्रममा राखेको रहेछौ तिमीले मलाइ | तर आज मेरो भ्रम टुटेको छ, बास्तबिकता मेरो आफ्नै अगाडी छ, र त म फेरी रुँदै छु एकपटक | हुनत म भ्रम पालेर त्यसैमा रमाउन बानि परेको मान्छे, मात्र एउटा भ्रम तोड्यौ त के भो र? अरु हजार भ्रम पालेर जिउने प्रयास गर्नेछु |

स्मारिका, जिन्दगीमा दुर्घटनाहरु हुन्छन धेरै धेरै, तर सबै अन्जानमै | कसैले दुर्घटना जानीजानी किन पो निम्त्याउँथ्यो होला र? निश्चित हार बोकेर युद्द मैदानमा को पो निस्कन्थ्यो होला र? सम्भवतः हाम्रो सम्बन्ध पनि एउटा दुर्घटना थियो, नमिठो दुर्घटना | तिमीलाई याद छ? एकपटक गोदावरी जाँदा  तिमीले सोधेकी थियौ नि मलाइ “केहि गरि हाम्रो बिहे भएन भने?”

–    “म अर्की केटि खोजेर बिहे गर्छु” मैले जिस्किएर भनेथें अनि तिमि रुन थालेथ्यौ सुँक्क सुँक्क |

त्यो दिन मैले लाख प्रयास गरेर सम्झाएको थिएँ तिमीलाई र मैले बाचा गरेथें तिमीसंग कि “तिमीसंग बिहे भएन भने आजीवन बिहे गर्दिन म” | मलाइ अझै याद छ त्यो दिन रुँदारुँदै मुसुक्क हाँसेकी थियौ तिमि, सायद ढुक्क भएर हुनुपर्छ | र फेरी आजपनि त्यहि कुरा दोहोर्याउंदै छु म “तिमिजस्तो धोकेवाज हुन सक्दिन म | मैले बाचा गरेको छु तिमीसंग कि तिमि बाहेक अरु कसैसंग बिहे गर्दिन, र म त्यो बाचा पुरा गरेरै छाड्नेछु चाहे मैले जस्तो सुकै मूल्य चुकाउनु परोस” तिमीलाई के थाहा, तिमीसंग भेट हुनु भन्दा अगाडी मैले जीवनमा कस्तो कस्तो दुख भोगेको थिएँ? कुन अवस्था बाट गुज्रेर यहाँसम्म आइपुगेको थिएँ? तिमीले देखेको म र मैले भोगेको म मा आकाश जमिनको फरक थियो स्मारिका, आकाश जमिनको फरक थियो |

हो, समस्याहरु सबैका हुन्छन, आफ्ना-आफ्नै | तिम्रा समस्या हरु थिएनन भन्दिन म तर पक्का हो मेरा समस्या हरु कम्तिमा तिम्रा जस्ता थिएनन | हुन त हरेकलाई आफ्नै पीडा ठुलो र आफ्नै समस्या भयङ्कर लाग्दो हो, तर मैले भोगेको पीडा, मैले भोगेको अभाब (?) चाहेर पनि म तिमीलाई सुनाउन सक्दिन थिएँ | त्यसैले त म चुपचाप बसिरहन्थे हरेक बखत, जुन बखत तिमि र मेरो बिच आफ्नो बिगतको कुरा हुन्थ्यो, सुखदुखको कुरा हुन्थ्यो | सुखका कुराहरु र रमाइला कुरा हरु त सजिलै सुनाउन सक्थें तिमीलाई र सुनाएको पनि थिएँ तर मैले भोगेको दुख (?) म कसरि सुनाउन सक्थें र तिमीलाई कि मैले भोकभोकै काठमाडौँ मा धेरै रात काटेको थिएँ | तरकारी किन्ने पैसा नभएर एउटा प्याज पकाउँथे पानीमा नुन हालेर, अनि त्यसैसंग निल्थे भोक, अनि त्यहि बोकले जन्माएका असंख्य पीडा, घृणा र आँशुहरु |

तिमीले जस्तो म देख्यौ नि, त्यो बास्तबिक म नभएर मेरो छायाँ थियो र त्यहि छायाँ संग रमिरहेकी थियौ तिमि | त्यस्तो बेला म कसरि तिम्रो त्यो खुसि खोस्न सक्थें र? बास्तबिकता तिमीलाई बताएर | तर आज मेरो बास्तबिकता नै थाहा नपाइ टाढिन खोज्दैछौ तिमि म संग भने ठिकै छ, म कहिले पनि तिम्रा आँखा सामु नआउँला, तर स्मारिका संसार सानो छ, गोलो छ, भोलिका दिनमा कहीं कतै भेटिन सक्छ, भन्ने डर लाग्छ भने पनि भन है, म तिम्रो लागि आफ्नो बाटै मोड्न तयार छु, यो संसारकै बिकल्प रोज्न तयार छु | सोच त एकफेर, मेरा पनि त थिए होलान नि, अनगिन्ति रहरहरु, सपनाहरु, तिमिजस्तै कुनै सुन्दर केटि खोजेर उसंगै जीवन जिउने, हाँसीखुसी बिताउने जिन्दगी, सधैंभरी, संगसंगै |

भोको पेट, काठमाडौँ को ठाउँ, रित्तो खल्ती र मेरा अनगिन्ति चाहनाहरु(?) मेरोजस्तै जीवन फेरी एकपटक कसैले बाँचोस भन्दिन म | तर एकपटक कसैले कल्पना गरोस, अलिकति सहानुभूति माग्दा पनि कन्जुस्याईं गर्नेहरुको सहर काठमाडौँ, घरेलु द्वन्दले आक्रान्त पारेको देश, महिना पछी आफ्नै घर फर्किदा पनि शंकाको दृष्टिले हेर्नुपर्ने गरि बदलिएको समय र त्यहि समयमा बिना पैसा काठमाडौँमा अलपत्र जिन्दगी बाँचिरहेको म | सोच एकपटक, कल्पना गर आफुलाई मेरो ठाउँमा उभ्याएर, अनिमात्र भेटिनेछ मेरो रुवाइको अर्थ, मेरा आँशुका बुँद-बुँदको मुल्य, जसलाई मैले बेहिसाब बगाएको थिएँ, रातदिन रत्नपार्क भित्र सिमेन्टको चिसो मेचमा बसेर |

हो स्मारिका हो, त्यहि अत्यासलाग्दो जिन्दगीबाट उम्केर यहाँ सम्म आइपुगेको थिएँ म | हिजोआज, म अहिले कमाउछु २-४ हजार, कम्तिमा आफु पालिन सक्छु, आफैले कमाएको पैसाले | मेरा लागि चिया र चुरोट किन्न सक्ने भएको छु | तिमीले भनेको बखत तिम्रा रहरहरु पुरा गराउन सक्ने भएको छु | त्यसको मतलब मैले आफ्नो बिगत बिर्सेको होइन स्मारिका, म कसरि बिर्सन सक्छु र बिना छाता रुझ्दै, भिज्दै सडक नापेका ति दिनहरु? भोको पेट रत्नपार्कको चिसोमा बिताएका रातहरु? हरेक मोडमा घाइते भएर आएको छु म यहाँसम्म, कसरि बिर्सन सक्छु र म ति सपनाहरु, मेरा आमाबाबुले देखेका? चाहनाहरु आफैले पालेका? यहि बिचमा न हो तिमि आएको मेरो जीवनमा, कसरि बुझ्यौ भन्नु तिमीले मलाइ? जे देख्यौ तिमीले त्यो म थिइन, थियो त केवल एउटा भ्रम थियो म आफैंले सृजना गरिदिएको भ्रम कि म सम्पन्न थिएँ, कहिले दुख भोगेको थिइन, त्यसैले त सजिलै आयौ मेरो जीवनमा तिमि र पनि भ्रम नै सहि केहि समय खुसि दिएर गयौ मलाइ | म त्यहि खुसि कल्पना गर्दै जीवन बांच्नेछु स्मारिका | तिमीसंग बिताएका हरेक पल स्मरणीय छन् र तिनै स्मरणीय पलहरुको याद साँचेर बांच्नेछु म त्यति नै सजिलोसँग जति सजिलोसंग छोडेर गयौ तिमीले |

अन्त्यमा, तिम्रा हेरक चाहनाहरु पुरा होउन, तिम्रा पाइलाहरुले सफलताको शिखर चुमुन तर नबिर्स है त्यो बेला पनि म त्यहि शिखरको फेदमा बसेर तालि पिट्दै गरेको हुनेछु, तिम्रो सफलताको खुसीमा म नाच्दै गरेको हुनेछु | र फेरी एकपटक भगवान संग प्रार्थना गर्छु कि- मैले जस्तो जिन्दगी तिमीले कहिले पनि बाँच्नु नपरोस अनि मैले जस्तै अरुको लागि रुन भनेर आँशु साँच्न नपरोस,

जहाँ रहनु, खुसि, सुखिसाथ रहनु,

तिम्रो हुन नसकेको,

सुयोग्य

त्यसपछी कहिले भेट भएन मेरो स्मारिकासंग, जिन्दगीले कोल्टे फेर्यो, समयले धारे हात लगाइदियो पटक पटक, अनि मैले काठमांडू छोडें | हुँदाखाँदाको जागिर छोडें अझै भनौं बाँच्ने रहर पाल्न छोडें | कसैलाई खबर नगरी जुम्ला गएँ, केहि समय यताउता बिताएर करिब १० दिनजति पछी घर फर्किएँ | काठमाडौँमा जागिर खाएर बसेको छोरो एकाएक हराएपछि ठुलै खैलाबैला मच्चिएछ घरतिर, समयपनि त्यस्तै न थियो कतै अपहरणमा पो पर्यो कि भन्ने सोचेछन सबै जनाले, प्रहरीमा खबर गर्ने देखि लिएर रेडियो टि.भी जताततै फुकेछन “मान्छे हराएको खबर” भनेर | आफन्तहरुको घर, डेरा कसरि बाँकी रहन्थ्यो र? सबैकोमा चाहारेछन | बिभिन्न प्रश्न हरुको ओइरो लाग्न थाल्यो म फर्किएपछि, म कसरि बताउन सक्थें र बास्तबिकता सबैलाई कि म बिक्षिप्त भएर हिंडेको थिएँ? सम्बन्ध दिगो हुन नसक्दाको पीडा सहन नसकेर काठमाडौँ छाडेको थिएँ ? त्यो बेला मेरो मौनता असैह्य बनेको थियो सबैको लागि, दाजुभाइ, आफन्त, इष्टमित्रहरु कोहि आफ्ना रहेनन, अरु त अरु आफ्नै सहोदर दाजुभाइहरुले पनि सम्बन्ध तोडे | मेरा लागि केहि सोच्ने अब कोहि बाँकी थियो भने केवल मेरा बाबुआमा थिए र थिएँ सिंगो म |

अन्ततः मैले घर छोडें र पोखरा आइ एक्लो जीवन आफ्नै तालमा जिउन सुरु गरें, कहिले काहीं आमाबुबा आउनुहुन्थ्यो भेट्न र सधैंको गन्थन एउटै हुन्थ्यो उहाँहरुको “बिहे गर, घर सम्हालेर बस” | तर म कसरि भन्न सक्थें कि मैले कसम खाएको छु बिहे नगर्ने, बाचा गरेको छु कसैसंग? लामो समय सम्मको मेरो बिहे गरिदिने प्रयास असफल भएपछी उहाँहरु पनि कराउन छोड्नुभयो अब | मैले आफ्नै तरिकाले जिन्दगि काट्न थालें, सानोतिनो जागिर पाएँ पोखरामा र त्यसैको भरमा जिन्दगि डोर्याउन थालें | सायद म जति धेरै कोहि रोएन होला त्यसपछी | एक्लै हुनुको पीडा, बिग्रेको सम्बन्धका कारण बिक्षिप्त बनेको मानसिकता अनि फेरी पटक-पटक समयले हाल्ने भाँजो, जिउने रहरहरुको माझ | मान्छेलाई जब जब असंख्य पीडाहरुले थिच्छन, तब मानिसले रुन बाहेक के नै पो गर्न सक्दो रहेछ र? हो, म पनि रोएको छु धेरैपटक, ढोका थुनेर रोएको छु, सिरकले मुख छोपेर रोएको छु, बाथरुम मा पसेर आवाज दबाएर त कति कति? सायद रुनु पनि आफैमा एउटा जिन्दगि बाँच्नु थियो मेरो लागि | हरेक रुवाइपछी कमिजको बाहुलाले आँशु पुछेर फिस्स हाँसो हाँस्नु मेरो दैनिकी बनेको थियो | डर लाग्थ्यो कहिलेकाहीं, कि मैले हाँस्न नबिर्सिउ, त्यसैले रुँदा रुँदै चटक्क छोडेर हाँसीदिन्थें धेरैजसो, जसले मलाइ मनमनै ढुक्क बनाउँथ्यो कि मैले हाँस्न बिर्सेको छैन | हाँस्नु मेरो रहर थिएन, बाध्यता थियो र यौटा भ्रम थियो मैले हाँस्न बिर्सेको छैन भनेर आफैलाई आश्वस्त पार्ने | मैले रुदै गर्दा सोच्थें, कतै आफ्नो भागमा परेको अलिकति खुसि पनि बाँच्न जान्दिन कि? मेरो डर, सबैभन्दा ठुलो, जिन्दगीको, कि कतै हाँस्न नबिर्सिउ, आफ्नो भागको खुसि बाँच्न नबिर्सिउ |

मेरा हरेक रहर र चाहना हरुका बिच पर्खाल भनेर ठडिएको थियो मेरो अभाब अनि सपना, मेरा आमाबाबुका र मेरा आफन्तहरुका | नचाहेरै धेरैपटक म आफैंले आफ्ना रहरहरुको बलात्कार गरेको थिएँ, जिउँदै जलाइदिएको थिएँ आमाबाबुका सपनाहरु र फेरी पनि म ज्युँदो थिएँ | मर्ने प्रयास पनि नगरेको होइन पटक पटक, तर मेरा तिनै प्रयासहरुमा पनि भाँजो हालेको थियो जिन्दगीले | बाँच्ने रहर थियो तर अभाब तगारो बनेर आइदिन्थ्यो पटक पटक, बाँच्ने रहरहरुको माझ | म, म हुन नसक्नुको पीडाले घोचिरहन्थ्यो हरेक बखत | आफैंले आफ्नो अस्तित्व खोज्थें, आफु हुनुको अर्थ लगाउने प्रयास गर्थें तर हरेक प्रयासहरु असफल भैदिन्थे र मैले धिक्कार्थें आफैंलाई, म जस्तो छोरोलाई जन्मदिने बाबुआमालाई अनि मलाइ यति धेरै हेलाँ गरेर पनि बाँचिरहन बाध्य पार्ने मेरो समाजलाई र सबैभन्दा धेरै, भगवानलाई….

मलाइ अझै धेरै बाँच्ने रहर बाँकी नै थियो, सपना हरु पुरा गर्नु थियो केहि आफ्ना अनि केहि आफ्ना भनाउदाहरुका, त्यसैले मृत्यु देखि सधैं डर लाग्थ्यो, भयङ्कर | कतै बाटोमा कसैको शब घाट लैजाँदै गरेको देखें भनेपनि आङ सिरिंग हुन्थ्यो | लुक्थे कतै र कामना गर्थें, उसलाई लैजाने यमराजले मलाइ नदेखोस | कहिले काहीं त यस्तो लाग्थ्यो मैले बाँचेको आधा जिन्दगी अर्कैको लागि बांचिदिएको थिएँ | त्यसैले अब मैले आफ्नो लागि बाँच्नु पर्छ, मेरा लक्ष्यहरु पहिल्याउनु पर्छ र साकार पार्नु पर्छ सपनाहरु मेरी आमाका, मेरा बाबाका र मेरा नजिकका आफन्तहरुका जसले हरेक दिन कम्तिमा एउटा सपना देख्ने गरेका छन् मेरा लागि, सिर्फ मेरा लागि | तिनै रहरहरुका माझ कहिलेकाहीं लाग्थ्यो, बेचिदिउ यो मृत्यु रत्नपार्कमा पसल फैलाएर, होलसेलको दाममा | तर जब फेरी असंख्य समस्याहरुले थिचेर घाइते बनाउँथे, पीडा र बिबसताहरुले चिमोटेर थिलोथिलो पार्थे अनि सपनाहरुले आफ्नै अगाडी खुलेआम आत्महत्या गर्थे तब फेरी एकपटक म साहस बटुलेर तयार भैदिन्थें, सिध्याउन आफैलाई, बलजफ्ती 

अनि आज फेरी अनायास स्मारिकाको यो आगमनले झस्किएको छु म | तर्सिएको छु आफैंदेखि, इतिहास दोहोरिन्छ भन्छन त्यहि पीरले निचोरिएको छु भित्रभित्रै | सोच्दैछु पटक पटक रुन बाध्य पारेर आमाको आँशुको पाप नलागोस मलाइ, निरन्तर बाबुका सपनाहरु बलात्कार गर्नुको श्राप भोग्नु नपरोस मैले, त्यसैले लामो समयको मानसिक अन्तर्द्वन्द पछी निर्णय गरेको छु आज, एउटा कठोर निर्णय |

त्यसपछिका केहि पानाहरु खालि नै थिए, हतार, हतार पानाहरु पल्टाउँदै गएँ, जसको अन्तिम पेजमा लेखिएको थियो

“र, अझै पनि मृत्यु बिक्रीमा छ”

यो त्यहि डायरी थियो जसलाई मैले केहि दिन अघि मात्र पोखरा रंगशालाको बाहिरि चौरमा बेवारिसे अवस्थामा भेटेको थिएँ |

(स्रोत : Suraj’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.