~दिनेस अधिकारी~
छिमेकी घरबाट
तरकारीको मीठो बास्ना आए पनि
झल्झली ! आमा-अनुहार संझेको छ,
साँझ-बत्ती सँगसँगै
निथ्रुक्क ! परेली भिजाएर
हरेक साँझ-
स्वास्नी-संझना वर्सने गरेको छ,
कतै बगैँचा ढाकेर
फूल फुलेको देख्नु हुँदैन
झलक्क ! बहिनी-हातहरू संझेको छ
पसलमा, खेलौना देखे पनि
सडकमा, स्कुल जाने नानीहरूलाई भेटे पनि
आँखामा–
घरी घरी छोरो आकृति उतारेको छ
अथवा–
कसैले गाली गर्यो- घरै संझेको छ
कसैले माया गर्यो- घरै कल्पेको छ
सर्वाङ्ग लुतो पाकेको
घरको फोहोरी कुकुर पनि
कुनै यौवनाको मुस्कानभन्दा कम प्यारो हुँदो रहेनछ परदेशमा
र, फूल बिझाउँदो रहेछ
घाम, ठिहिर्याउँदो रहेछ
कसैले घृणा थुक्नु पनि पर्दैन
कसैले छाती टेक्नु पनि पर्दैन
छिन छिनमा-
मन उसै पनि कुँडिएकै छ
मन भत्कन परदेशमा-
घाम उदाउनु पनि पर्याप्त हुँदोरहेछ
घाम अस्ताउनु पनि पर्याप्त हुँदोरहेछ !!
(आदिम आवाज)