~जनकराज पौडेल~
मै नरहे मेरो लागि यो धर्तीमा के नै छ र
बाँचुन्जेल संसार छ भने अरू केको डर
मैले हिँडे बाटो हिँड्छ, म रोकिए पर्खाल हुन्छ
मैले हाँसे फूल हाँस्छ, मैले रोए जून रुन्छ
म बगे यो नदी बग्छ, सुकेँ भने म बगर
बाँचुन्जेल संसार छ भने अरू केको डर
म छु र त मेरो लागि घाम लाग्छ, पानी पर्छ
मेरै लागि बतास चल्छ, फूलले ‘नि सुवास छर्छ
प्रकृतिको भन्दा बढी कसैको नि हुन्न भर
बाँचुन्जेल संसार छ भने अरू केको डर
मैले सुने गीत बज्छ, मैले हेरे दृश्य बन्छ
मैले मानिदिए मात्र ढुंगामाथि भगवान् छ
आफैँभित्र ईश्वर छ किन खोज्नु पर पर ?
बाँचुन्जेल संसार छ भने अरू केको डर ।
(सभार : तन्नेरि डट कम)