मलाई इच्छा नहुँदा – नहुँदै पनि श्रीमतीले तानेर लगी । साँच्चै मलाई मन्दिर र भगवान कुनैप्रति पनि लगाव थिएन । मेरी श्रीमती भने धर्मप्रति सारै अनुरक्त थिई । घर परिवारको अभाव, दुःख, शोक, सन्ताप, रोगव्याध सबै भगवानले हरण गरिदिने हुन् र सुख, सम्पत्ति, यश, समृद्धि र परिवारको हाँसो सबै तथास्तु प्रभुले नै गरिदिने हुन् भन्ने कुरामा ऊ ढुक्क थिई ।
‘भगवानले केही गर्दैनन्, जम्मै गर्ने हाम्ले नै हो’ भनेर जति तर्क, प्रमाण पेश गरे पनि ऊ एउटा कानले सुन्थी, अर्को कानले उडाउँथी । र उल्टै ‘मेरो बूढो अबुझ छ भगवान, यिनलाई माफ गर’ भन्दै जबरजस्ती भगवानका मूर्तिमा ढोग्न लगाउँथी । म हारेर उसको मन राख्न ढोगिदिन्थेँ – यदाकदा मन्दिर गइदिन्थेँ । ऊ मलाई मुर्ख ठान्दथी र म उसलाई मुर्ख ठान्दथेँ । ‘मुर्ख देखि दैव डरे’ सोच्दै मैले मन्दिर हातामा प्रवेश गरेँ । उसले मेरो हात छोडेकी थिइन । मानौँ हात छोडिदिए म फुत्किएर कुलेलम ठोक्ने छु ।
मन्दिर हातामा लहरै माग्नेहरू बसेका थिए । मलाई यी माग्नेहरूको याचनाले द्रवित बनायो र खल्तीबाट केही पैसा झोरझार गरी उनीहरूलाई चढाइदिएँ ।
श्रीमतीले झन् मलाई घिसारूँला जत्तिकै गरी, मानौँ उसलाई लागिरहेको थियो– माग्नेहरूतिर धेरै हेमखेम गर्ने मौका यी बूढालाई प्रदान गरे, यिनले आफूसँग भएको सबै माग्नेलाई दिनेछन् । पैसा सिद्धिएपछि लगाएको सुइटर नै पनि खोलेर दिनेछन् ।
‘‘ए पखन ! विचरा…!’’ म भन्दैथिएँ ।
‘‘को विचरा ? हामी पनि विचरा ! भरे तरकारी छैन, त्यो भएको खुद्रा पैसाले त तरकारीको भरेको छाक टर्छ ! हिंड्नुस् छिटो…।’’ मेरी श्रीमतीले मलाई घिस्याउँदै लगिछोडी…।
मन्दिर भित्र पुगेर देवीका मूर्तिमा ‘माथा’ टेक्न लगाई । मैले जसो–जसो भन्छे, उसै–उसै गरिदिँदै गएँ ।
उसलाई धेरै रिस उठाउनु पनि ठीक थिएन । किनभने खान दिने अन्नपूर्णादेवी उही थिई । अभावको तत्काल प्रभाव उसैमा पर्ने गरे पनि ऊ विचलित हुने गर्दैनथिई । यस अर्थमा म उसको प्रशंशक पनि थिएँ । यो धर्म, भगवान केही नमाने पनि उसको चित्त नदुखाउन पनि म उसले भनेका कुरा प्रायः मानिदिने गर्दथेँ ।
मन्दिरबाट फर्किँदै गर्दा तिनै माग्नेहरूका झुण्डमा मेरा कदम फेरि मत्थर हुन थाले । श्रीमतीले मलाई नछाडी फेरि घिसारी । अचानक मेरा ओठ मुस्कुराए । श्रीमतीले घुरेर हेरी र सोधी– ‘‘किन पागलझैँ हाँस्नु भएको ?’’
‘‘भनुँ किन हाँसेको ? तिमी ऊ त्यही माग्ने भिखारी जस्तै माग्ने भएकीले हाँसेको…।’’ ऊ बोलिन, ट्वाल्ल परिरही । मैले नै फेरि थपेँ– ‘‘ती माग्नेहरू मान्छेसित माग्दछन् र तिमी ढुंगासित माग्दछ्यौ…! दुवै भिखारी, हा..हा..हा…!’’ साँच्चै म पागललेझैँ जोडजोडले ठहाका लगाएर हाँसेँ ।
‘‘कमसेकम, यी भिखारीले त मानिसबाट केही पाउँछन्, तिमीले ती मूर्तिहरूबाट के पाउँछ्यौ हँ ..? के पाउँछ्यौ…?’’ यसपल्ट मेरो स्वर गंभिर भएको थियो र काँपिरहेको थियो । अनायाशै श्रीमतीको हातबाट मेरो हात छुटेको थियो । उसको अनुहार पनि एकतमासको भएको थियो । मानौँ त्यहाँ कालो मैलो भएर मेघ उठेको छ र अब केही बेरमै घनघोर वर्षा हुनेछ…!
(“महँगी, भोक र सार्वभौमसत्ता” शीर्षक लघुकथासङ्ग्रहबाट)