~सन्जोग ठकुरी~
खेलिरहेको भुन्टे
एक्कासि करायो
फकाउदै आमाले सोध्नुहुँदा
रुदै भन्यो– बल हरायो ।
खाटमुनि पनि खोजियो
दराजभित्र पनि
भुन्टे अत्तालिन थाल्यो
लौ, बल छैन कहीं पनि ।
केरकार भो भुन्टेलाई
बल कहाँ गयो
तर्सदै भन्न थाल्यो–
खै कहाँ गयो–गयो ।
–याकमा पनि हेरियो
दराजभित्र पनि
कहाँ जान्छ कौसीमा
बलको खुट्टा पनि त छैन नि ।
बल गयो कहाँ–कहाँ
घरमा आउँछन् को–को
काका–काकी कराउन थाल्नुभो
भुन्टेले नै सम्झिए पो !
लौ पाइएन भुन्टे बल
हराएको नै हो कि क्या हो
कति खोज्ने त्यो बल जाबो
लौ न ! सब बितिगो ।
जसले जे भन्दा पनि
भुन्टेको आँसु रोकिएन
साँच्चै बलको मायाले
भुन्टेको मन थामिएन ।
खाना पकाउन हतारो
काममा जान अबेर
हजुरबुबा कराउनु भो
खेल्नुपर्छ र सबेर ?
आमा कराउन थाल्नुभो
‘भुन्टे, स्कुल जानु परेन त ?’
टुलुटुलु हेरेको बललाई
झाडीमुनि कसैले खोजेन ।
(स्रोत : Ketaketi.org