गएको वैशाख रिन तिर्न फर्कियो
रुख—रुखमा कलिला पात टाँगेर गयो
गएको हिउँद रिन लिन फर्कियो
रुखलाई बुच्चै पारेर सारा पात टिपेर फर्कियो
आँखामा आँसुका पदचाप छाडेर
नांगा गोडा हिँडेको मेरो सपना
फेरि फर्किएन ।
बाँझो पहाडको फेदमा
अचानक रसिलो मुल फुटेझैँ
खङ्रङ्ग सुकेको रुखमा
काठेचराले गुँड हालेझैँ
लडाइँमा गएको सिपाही
धागो बाँधेको चिठीभन्दा अघि, आफुनै फर्केझैँ
फर्किनेछ, मेरो सपना
पहाड उक्लिन उसले नयाँ जुत्ता किनेको छ ।
यसपालि आयो भने सपना, म फर्किन दिनेछैन
ऊ ढुंगा भयो भने
म देउता बनाउने छु
ऊ लाख भयो भने
म एउटा बनाउने छु
जति पात झरे पनि
वैशाखले पात रोप्न छाड्दैन,
जति पाल लगेपनि
हिउँदले हरियो रंग लैजान सक्दैन
यसपालि आँसुझैँ तप्कियो भने सपना
म मुठीमा कसेर राख्नेछु
जब मुठी खोल्नेछु —
सपना….. मोती बनेर खस्नेछ ।
साभारः बुद्धिसागरका कविता