कथा : नजुरेको साइनो

~सुबिसुधा आचार्य~SubiSudha Acharya

गमलामा ढकमक्क फुलेको गोदावरीले हावामा सुगन्ध मिसाएर पृथक बनाइदिएको छ वातावरण । माघको महिना, घामको कलिलो शिशु स्पर्श अङ्ग–अङ्ग सुमसुम्याउँदा कता कता कुतकुतीले बनाउँछ आनन्द । छेवैको वरण्डामा राखेको अचारको सिसी तातेर निस्कन्छ तेल गुजुजु बाहिर र भिजाउँछ भुइँ । फूलको सुगन्धलाई जित्छ अमिलो मूलाको अचारबाट निस्केको अमिलो गन्धले ।
भन्छन् ‘अमिलो र पिरो देख्दा मुख नरसाउने मान्छे चाँडै मर्छ ।’ यो भनाइमा कत्तिको सत्यता छ त्यो भने मलार्ई जानकारी छैन तर एक चानो अचार सिसीबाट निकालेर जिब्रो पड्काउँदै खान मन लाग्छ । अाँत हरहर भएर मलार्ई, सम्झदै मुखबाट स्वार्र पानी आएर फेरि कसो कसो हिजो मात्र दीपताराले एक हप्ता यसको बिर्को खोल्न हुन्न है भनेको सम्झना हुँदा बढाएको हात हच्किन्छ उसै यथास्थानमै । के गरूँ कुनै समय इन्द्रियहरूलार्ई वशमा राख्नु पर्छ जवरजस्ति ।
झट्ट टेबलको पत्रिकामा जोतिन्छ नजर, बालक अपहरण शीर्षकले नै खलबलिन्छ गिदी, समाचार पढ्न त परै जाओस् । आजभोलि बालक अपहरण त फेसन जस्तै भएको छ, पाजी, नामर्द, पानीमरूवा, अल्छीहरू । ईश्वरले कमाइखान दिएका हातहरूको गर्छन् गलत प्रयोग । निमुखा, अबोध, कलिला बालकको अपहरण ग¥यो पैसा असुल्यो उस्तै परे बालकको हत्या गरिदियो । सुरू सुरूमा त हिन्दी सिनेमामा मात्र देख्न पाइन्थ्यो, यस्तो अपहरण जस्तो घृणित र निन्दनीय कार्य तर आजभोलि सहर बजारमा छ्यापछ्याप्ती बढेको छ । के गर्नु देशमा प्रशासन कमजोर भएपछि कसको के लाग्छ ?
“अङ्कल ! अङ्कल, ममीले भन्नु भा’को कोठामा आउनु रे ।” मेरो सोचाइको सगरमाथालाई एकलात हान्दै हातमा झुन्डेर तान्छ दिपक, म झ्ल्यास्स हुँदै कुर्सीबाट जुरूक्क उठ्छु । बस्दा खुजमुुुुुजिएको पाइन्ट मिलाउँछु तानतुन पारेर ।
“माइ ह्यान्सम व्वाइ के प¥यो र त्यस्तो म माथि जानु पर्ने ?” मसिनो चुच्चो उसको नाक हल्का तान्छु मायाले र बोकेर माथ्लो कोठामा उक्लन्छु । मन उसै रोमाञ्चित भैरहन्छ ।
रूमालले हात पुच्छ्दै ढोकैमा उभिन्छिन् दीपतारा । घिउ रङ्गको कुर्था सुरूवाल, भर्खर नुहाएर भिजेको केश, तप्प पानी चुहिँदैका परेली, चिसोले चुल्ठो परेका आँखी भौँ जाडोले जुरूक्क उठेका छातीका अनार दाना पातलो कुर्था भित्रै देखिन्छ प्रस्ट । अघिपछिका दिनहरूमा भन्दा सुन्दर सुकोमल राम्री देखिन्छिन् दीपतारा आज ।
म उनलाई हेरिरहन्छु एकोहोरो आँखा नझिम्काई । मेरो अँगालोबाट एकैपटक हुत्तेर दीपताराको अंगालो पकड्न्छ दिपक तब हामी दुवै खङ्रङ्ग हुन्छौँ । दिपक भुइँमा खस्यो भन्ने आशङ्काले अनायासै टाँसिन्छ हाम्रो शरीर, दुवैजना हाँस्छौ खित्का छाडेर, अलिकता लजाउछिन् उनी ।
“ममी मेरो एरोप्लेन ?” दुवै हातले घाँटीमा बेरेर बोल्छ दिपक ।
“ऊ क्या त भूइमा ।” बोकेको छोरोलार्ई भुइँमा राख्दै बोल्छिन् दीपतारा । छोरो कुद्दै एरोप्लेन समाउन जान्छ र उडाउँछ कोठैमा ।
म दीपताराको मुहारमा हेरिरहन्छु टोलाएर, मेरो हेराई कसो कसो उनलाई बिझाएछ वा काउकुती लगाएछ, हातले चार पाइला पर धकेली दिन्छिन् । कपालमा भएको स्याम्पुको मीठो सुगन्ध अलिकता टासिन्छ मेरो शरीरमा जुन उनको कपालबाट आइरहेछ ।
केही मिनेटको मौनतालाई बिथोल्दै हड्बडिएर बोल्छिन् उनी “के हेरेको त्यसरी, लाटाले पापा हेरेझैँँ, आज सपिङ गर्न बजार जाने भनेको भुल्यौ तिमीले ?”
म टाउकोले मात्र बिर्सेको छैन भन्ने सङ्केत जनाउँछु ।
“त्यसो भए जाऊँ न त छिटो तयार बन । यहाँ उभिएको छ, न मलार्ई कपडा लगाउन दिनु छ न आफूले लगाउनु ?”
अलिकति रिसाएर फन्किन्छिन् उनी । रिसाउँदा परेली हल्का उचालिन्छ भने निधारमा एउटा खुम्चा पर्छ । जुन सुन्दरतामा अझ सुन्दर बनाउने सिङ्गार जस्तो लाग्छ मलार्ई ।
“हस् हजुर, हजुरकै मर्जी, म तयार हुन गएँ । यहाँ पनि छिट्टै तयार बन्नु धेरै सिङ्गार गर्ने हैन है, फेरि अरूले आँखा लगाउछन् । म यति भनेर ढोका ढप्काइदिएर तल ओर्लन्छु ।
कोठाभित्र पस्छु । सदाको भन्दा रमाइलो लाग्छ । कोठाको वातावरण पूर्वतर्फबाट चलेको मन्द मन्द पवनले झ्यालको पर्दा सुस्तरी हल्लिन्छ । भित्तामा दीपताराको तस्बिरले मीठो मुस्कान पोख्छ सधैँभरि ।
झ्यालमा गएर उभिन्छु । तल बगैंँचाको केराको बोटमा एकजोडी धोबिने चराले बचेरालाई पालैपालो चारा खुवाउँछन् । मन उसै फुरूङ्ग बन्छ उक्त दृश्य देखेर । सम्झन्छु धोबिनेको जोडी हाम्रो दीपतारा, म र सानो बच्चा दिपकको जस्तो । आहा, कति रमाइलो संसार !
कपडा लगाउन दराज खोल्छु, कुनै सर्ट पनि मन पर्दैन, सर्टहरू निकाल्दै भुइँंमा फ्याँक्दै गर्दा एक हप्ता अगाडि दीपताराले किनिदिएको सर्ट हात पर्छ ।
“ल । हेर छत्र ! यो सर्टको कलर तिमीलाई एकदम सुट् गर्छ । मसँग बजार हिंड्दा यही लगाउनू है ।”
उनले कुनैबेला भनेकी थिइन् । यो सर्ट मायाले किनिदिएकी मलार्ई । सर्ट लगाउँछु, साच्चै आफँैलार्ई निकै सुहाएझैँ लाग्छ । त्यसैसँग मिल्ने पाइन्ट लगाउँछु र सँगै लेदरको ज्याकेट पनि ।
आफू आफैँलार्ई राम्रो लाग्छ । कुनै समय आउँदो रहेछ काँडामा पनि फूल फुल्ने । जब जीवनमा वहार आउँछ संसार रमाइलो लाग्नु स्वाभाविकै हो । दीपतारा मेरो जीवनमा सुनौलो बिहानी बनेर प्रवेश गरेकी छिन् । जब उनको र मेरो दूरी छोटियो, मैले नयाँ संसार भेटेँ । त्यही संसारमा डुल्दै छाँै हामी, कावा खाँदै नयाँ संसारमा । दीपतारा र दिपक पनि अत्याधीक खुसी छन् । हामी तीन शरीर एक आत्मा भएका छौँ ।
कपडा लगाएर एकपटक दराजको सिसा अगाडि उभिन्छु म, आधी निधार छोप्ने कर्ली कपालले उज्यालो बनाएको छ मोहडा । खरानी रङ्गको सर्टमाथि लेदरको ज्याकेटले एकदमै खुलेको छ, सुन्दरता । यत्तिको म दीपतारासँग हिंड्न पक्कै सुहाउँछु हैन त ? मनले मनसँग नै प्रश्न गर्छु अनि हल्का मस्किन्छु ।
मलाई असाध्यै हतार लाग्छ, मन चञ्चल भएर पनि होला आतुरताले, बेस्सरी गिजोलेको । आफू उहिल्यै तयार भएँ, उनलाई कति समय लाग्ने हो मेकअप
गर्न ?
“आइमाई जातिलाई सारै नक्कल गर्नुपर्ने, यसो बाहिर निस्कन प¥यो कि बेहुली नै अन्माउने बेलाजस्तो ?” वल्लो छेउ र पल्लो छेउ गर्छु कोठामा ।
फेरि झ्याल छेउमा उभिन पुग्छु । नजर हातको घडीमा पुगेर रोकिन्छ । दिउँसोको चार बजेबाट पनि समय उकालो लागिसकेको छ । किनमेल गर्नु धेरै छ । ‘साँझ अबेर हुने भो कतिबेर लगाएकी होलिन् उनले पनि’, झ्यालबाट फरक्क फर्केर सोफामा टुसुक्क बस्छु । हिजो खान भनेर बजारबाट किनेर ल्याएको पिजा चिलाउनेको बोक्राजस्तो जर्कट्ट र अररो भएर बसेछ प्लेटमा । एकपटक हुत्तिन्छ नजर त्यही पिजाको प्लेटमा ।
हरे शिव खानै पो बिर्सेछु के भा’छ ? आजभोलि मलार्ई मन कावुमा पटक्कै छैन । दीपतारा मेरो जीवनमा छताछुल्ल पोखिन आएदेखि, अपनत्वले लफ्लफ्ति भिजाएदेखि मेरो मन मधुकरको वायुपंखी घोडा बनेको छ जुन पहाडको माथि गाउँमा डुल्ने इन्द्रेणीको देश घुम्ने अनि अञ्जुलीमा जूनतारा उठाउने गर्छ ।
अङ्कलको आवाज उच्चारणसँगै एकै पटक ढोका उघार्छ दिपकले । उसको अप्रत्याशित प्रवेशले खङ्रङ्ग हुन्छु म, सोचाइको तानाबाना बीचमै चुडिन्छ माकुराको जालोमा साङ्ला जेलिएझैँ ।
“ममी तयार भै सक्नु भो जाऊँ न अङ्कल ।” सुकोमल, सलिल अनि नरम हातले लगातार तान्छ मलाई ।
“ओके बाबा, म झन एकघण्टा अगाडिबाटै तयार छु ल जाऊँ ।”
दिपक मेरो हातमा लिसोझैँ टासिन्छ, उसलाई बोकेर बाहिरिंदै ढोकामा साँचो लगाउँछु । यतिखेरसम्म दीपताराले मोटरगाडी स्टार्ट गर्न थालिसकेकी छिन् । उनले घरको कम्पाउन्डबाट सडकमा मोटर निकाले पछि काम गर्ने केटाले गेट बन्द गर्छ । दिपक र म पनि मोटरभित्र गएर बस्छौँ ।
एकपटक नियाल्छ मेरो चोर, छडुले, बैसालु आँखाले दिपतारालाई । आकासे रङ्गको सारी, व्लाउजमा उनी स्वर्गको परीझैँ देखिन्छिन् । घाँटीका हार र कानका झुम्का, हातका ब्रास्लेट अनि औंलाका आंैँठीहरूले थप चमक दिएको छ उनलाई । एकपटक हेर्दा आँखा तिरमिराउने सिङ्गार धपक्क बलेकी उनी ड्राइभिङ सिटमा बसेर मोटर हाँक्दै छिन्, तीव्र रफ्तारमा । उनको छेवैको सिटमा म बसेको छु, काखमा दिपकलाई राखेर । घरि उनी मतिर हेर्दै मुस्कानका वाण छोड्छिन्, जुन वाणले आच्छु आच्छु पार्छ मलार्ई ।
हुन त यो मेरो पहिलो यात्रा हैन, उनीसँग । डेढ वर्ष यता विभिन्न बहानामा उनीसँग लामो छोटो काठमाडांैबाट पोखरा, ककनी, नगरकोट, पाल्पा, लुम्बिनी, दार्जिलिङ आदिसम्मको यात्रा गरिसकेको छु तर आज भिन्दै रमाइलो अनुभूति भैरहेछ । खुसीका सीमाहरू मलाई नाघेर अग्लिदै छन् आकाश चुम्न, म आफू आफैँभित्र यसरी भरिंदै छु मानौं अटाइरहेकै छैन । हप्तौदेखि प्यासिएको काकाकुलले चिलाउनेको टोड्कोमा पानी पाउँदाको जस्तो खुसी, रोइरहेको बच्चाले इच्छा बमोजिमको खेलौना एकलौटी हकभोग गर्न पाउँदाको प्रसन्नता जस्तो, बाटो भुलेर लखतरान भएको बटुवाले गन्तव्यपरक मूलबाटो पाएजस्तो हर्षोतिरेक, त्यो भन्दा पनि दङ्ग फुरूङ्ग, मख्ख, प्रसन्न प्रफुल्ल छुु ।
सानेपाको दोबाटोबाट मोटर हर्न बजाउँदै पुल्चोक, हरिहरभवन, कुपण्डोल, त्रिपुरेश्वर, सुन्धारा हुँदै काठमाडांै मलमा गएर पार्किङ क्षेत्रतर्फ मोडिएर साइड लाग्छ । आज दीपतारा सपिङ्ग गर्न जाने हिँजैदेखि थाहा थियो तर कहाँ जाने भन्ने सवालमा म निकै अनभिज्ञ थिएँ । काठमाडांैमा च्याउ उम्रिएझैँ डिपार्टमेन्ट स्टोर, सपिङ्ग सेन्टर छन् तर काठमाडांै मल नै रोज्नु विज्ञापनको प्रभाव हुनसक्छ ।
चुपचाप म दिपकलाई काखमा च्यापेर मोटरबाट झर्छु । उनी पनि आङ तन्काउदै झर्छिन् हातमा मनी व्याग च्यापेर । घरबाट निस्केदेखि पिजाको रड लगाउँदै छ दिपकले । पहिला त उसकै इच्छा पूरा गर्न हामी लम्कन्छौँ मलभित्रकै रेस्टुरेन्टतर्फ ।
देख्दै बसूँ बसूँ लाग्ने सफा रेस्टुरेन्ट वरपरको सजावट देख्दा पनि आकर्षित लाग्छ मलार्ई, कोही प्राकृतिक त कोही कृत्रिम फूलका गमला, सिसा भित्रको रङ्गीचङ्गी माछा, मधुरो सङ्गीतको गुञ्जन तर मन बिथोल्ने सडकको अनियन्त्रित मोटरका हर्न ध्वनि प्रदूषण र मान्छेको हल्ला भने हलुवामा बालुवा र कवाफमा हड्डी बन्दै छ ।
दीपताराको अर्डर मुताबिक पिजा आइपुग्छ टेबलमा, हामी सबै बडो प्रसन्नताका साथ हाँस्दै गफ चुट्दै पिजा खान्छौँ, उता दिपक आइसक्रिम भनेर पिराउँछ । माघको मुटु कमाउने जाडो त्यसमाथि आइसक्रिम, दिपकलाई अरू नै खेलौना किनिदिने सर्तमा फकाउँछिन् दीपतारा । जाडोमा तातो पिजा खाएर पेट टम्म भरेपछि लाग्छौँ सपिङ गर्नतर्फ ।
हामी तीनजनामा सबभन्दा कान्छो, मायाले पुलपुलिएको, हाम्रो मुटुको ढुकढुकी उही त दिपक थियो, जसलार्ई दीपतारा मुटु सम्झन्थिन् भने म प्राण । उसको फर्माइस पूरा गर्नु हाम्रो कर्तव्य चाहना यसो भनौँ रहर । त्यसैले पनि सुरूमा बच्चाको सामान पाइने ठाउँतिर लम्किन्छन् पाउ दिपकलाई कपडा किन्न । कारण हाम्रो ओठको मुस्कान, हाम्रो सास उही नै त हो, जबसम्म ऊ हाँसी खुसी रहन्छ तब मात्र उमङ्गका मुनाहरू देखिन्छन् हाम्रो ओठमा । दिपकलाई रोजाएर पाइन्ट, ज्याकेट, टिसर्ट, जुत्ता र क्याप किनेपछि लाग्छाँै गृहिणी डिपार्टमेन्टतर्फ ।
दीपताराको लागि दोपाटा सारी, पेटिकोट किनियो साथै सँगैको जुत्ता पसलबाट निकै आकर्षण जुत्ता पनि, साथमा चुरा लगायत कस्मेटिक सामग्रीहरू पनि खरिद गरिन् उनले । महङ्गो त असाध्यै रैछ यहाँका सामान ।
एक हप्ता अगाडि एउटा साथीले भनेको सम्झन्छु– “काँ यार रत्नपार्कमा तीन सयमा पाइने पाइन्टलाई बिल्ला टाँस्यो, राम्रो प्लाष्टिकमा पट्याएर प्याकिङ बनायो अनि लियो दुर्ई हजार, यी ठूला ठूला डिपार्टमेन्ट स्टोरहरूमा त अन्तको भन्दा दोब्बर, तेब्बर भन्दा बढी नै पो लगाउँदा रैछन् ।”
साच्चै यसरी ग्राहकलाई मुर्गा नबनाए पसलको महङ्गो भाडा कसरी तिरून् यिनीहरूले ? दोष हाम्रो पनि हो, सामान जस्तो भएपनि बढी पैसा तिरेपछि हामी गुणस्तरको सम्झन्छाँै । कम दामको राम्रै क्वालिटीको भएपनि हेला हुने, यसैको फाइदा उठाउँछन् डिपार्टमेन्ट स्टोर र सपिङ्ग सेन्टरहरूले ।
दीपतारालाई आवश्यक सामग्री खरिद गरेपछि गएर बस्छौँ, मारूती कार भित्र । उनी कार स्टार्ट गरेर हुँइक्याउँछिन् विशालबजारतिर । सडक जाम असाध्यै, सडकपेटी हुँदाहुँदै मान्छे तथानाम सडक बीचबाट छास्सिएका छन् । असन, इन्द्रचोक, नयाँसडकमा साँझपख तीलसम्म नछिर्ने घुइँचो लाग्छ मान्छेको । त्यस्तै भिडमा प्वा……..प्वा मोटरको हर्न बजाउदै प्रवेश गर्छाँै हामी । विशालबजारको कम्पाउन्डभित्र, मोटरलार्ई पार्किङ क्षेत्रमा राखेर लैजान्छिन् उनले हामीलाई विशाल बजारको तेस्रो तलामा रहेको सालिमा ज्वेलर्स पसलमा, त्यहाँ पुगेर रोकिएपछि थाहा हुन्छ त्यहाँ लैजानुको प्रयोजन ।
सुन पसलमा पुगेपछि विभिन्न डिजाइनका, साइजका, पृथक बनावटका सिक्री र औंठी रोजाउछिन् दीपताराले मलार्ई ।
उनले किन यसो गर्दै छिन् ? थाहा छैन एउटा औंठी र एउटा सिक्री रोजाउँछिन् दीपताराले मलार्ई, बनावटी रोजोइमा छानिदिन्छु, उनी मख्ख परेर किनिदिन्छिन् । विवाहको लगनको महिना त्यसमाथि एकदुई वर्षदेखि सुनको भाउ आकासिदैँ छ ।
त्यसो त के पो सस्तो छ र ? उनी आफ्ना लागि पनि एउटा नयाँ डिजाइनको हार किन्छिन् र हामी त्यहाँबाट फर्कन्छौ वागबजारमा रहेको श्रेष्ठ टेलरिङ्गतर्फ जहाँ एक हप्ताअगाडि मेरालागि सुट पिस सिलाउन दिएको थियो ।
बाटोमा मोटर चलाउदै सवाल लडाउँछिन् उनी– “छत्र, कस्तो लाग्दै छ तिमीलाई आजको दिन ?”
उनको यो सोचाइले आन्दोलित बन्छु म । “धत लाटी, के सोधेको यस्तो, संसारमा खुसी, हर्ष, प्रसन्न नाप्ने यन्त्र बनेको छ र ? यदि तिनीहरूको आविष्कार भएको भए ज्वरो नापेर यति डिग्री फरेनहाइड छ भने जस्तै जवाफ दिन्थँे तिमीलाई ।”
उनी मख्ख पर्छिन् मेरो जवाफमा ।
“साच्चैँ छत्र, सौरवको चिठी आएदेखि मैले कल्पना पनि गरेको थिइन, फेरि मेरो जीवनमा अर्र्को बहार बोकेर वसन्त चियाँउछ भनेर, तिमीसँग नजिक नबन्दा, मुटु नसाट्दा म त जिउदै मरेकी थिएँ ।”
उनी अलिकति उदास बन्छिन् अतीततिर धकेलिएर ।
“कमन दीपतारा, यो उमङ्गको खुसीको पलमा किन चिमोटेर ल्याउँछौ अतीतलाई, फूलको बोटबाट एउटा फूल झर्दैमा बोटै रित्तो कहाँ हुन्छ र ? लाटी ! मात्र मनको आँखाले चियाउन जान्नुपर्छ, जीवनमा के बित्यो त्यो सँगको सरोकार हैन अब के कसरी बित्छ, वस त्यसतर्फ ध्यान दिनुपर्छ ।”
म सान्त्वनाको छापरले छोप्ने प्रयत्न गर्छु उनलार्ई, आँखामा आँसु छल्काएर पनि मुसुक्क हाँस्छिन् उनी । हामी श्रेष्ठ टेलरिङ्ग अगाडि पुगिसकेका छौँ । भित्र म मात्र जान्छु, बिल देखाएपछि प्याक गरेर राखेको सुट पाइन्ट दिन्छन् पसलका दाइले र म पैसा तिरेर मोटरमैँ फर्कन्छु । त्यहाँबाट हामी पुतलीसडक हुँदै लाग्छौँ घरतिर ।
बाटोमा न उनी सवाल तेर्साउँछिन्, दिपक भने लुटुक्क निदाउँछ मेरो छातीमा टाँसिएर ।
“बिचरा बाबुको अनुहार कस्तो थियो जान्न पाएन यसले, माया र स्नेह त परैको कुरा, आफू गर्भमा रहँदा विदेशिएको बाबु दुई वर्षको पुग्न नपाउँदै कुइरिनीको माया जालमा डुबेर आमालाई अर्र्को घर बसाल्नु भनी चिठी पठाएथ्यो ।”
मलाई राम्रोसँग याद छ त्यो दिन, म त्यो घरमा डेरा गरेर बस्न आएको त्यस्तै दुई महिना भएको थियो होला, शनिवारका दिन कपडा धोएर कोठा सफा गरेर म पारिजातको चर्चित उपन्यास शिरीषको फूल पढ्दै थिएँ । माथिल्लो तलामा ढ्याक ढ्याक आवाज आयो साथमा कोही चिच्याएको पनि, त्यो घरको लागि म नितान्त नौलो, नवीन भएकै कारण घरबेटीको कोठामा गैहाल्ने आँट पटक्कै आएन, मन सशङ्कित हुँदा हुँदै पनि ध्यान खिचेर पुस्तकमा केन्द्रित रहने प्रयास भएको थियो, मेरो ।
त्यसको एक मिनेट बित्न नपाउँदै घरबेटीको घरमा काम गर्ने केटो अत्तालिएर आएको थियो मेरो कोठामा र भनेको थियो–
“दाइ ! दिज्यू ढोका थुनेर भित्र रूँदै बस्नु भएको छ, बाबु पनि जोडले रूँदै छ, अघि नै ढकरक्क गरेको आवाज पनि आएको थियो, लौ न दाइ केही गरिदिनुस् । दिज्यू चिच्याएको जस्तो पनि लाग्छ तर क्यासेट जोडले बजिरैछ । म त डरले काम्न थालेँ ।” एकै सासमा ओकल्छ ऊ मनभरिका अत्यासहरू ।
हातको किताब भुइँमा फ्यात्त फालेर माथिल्लो तलामा गएको थिएँ । ढोका भित्रबाट बन्द, रूवाबासी अर्र्कोतर्फ क्यासेट घन्केको आवाज, म उसै अत्तालिएको थिएँ, के गर्ने, के नगर्ने दिमागले कामै गरेको थिएन, ढोका जोडले धकेलेको थिएँ तर एक इन्च पनि चलेन । भान्छा कोठाबाट पछाडिको झ्यालको सिसा फुटाएर भित्र पसेँ, त्यहाँको स्थिति देख्दा रिङ्गटा लागेको थियो मलार्ई पनि ।
गलैंचाभरि वान्ता गरेर दीपतारा छट्पटाइरहेकी, त्यही वान्तामा लटपटिदै दिपक रूँदै गरेको । नजिकै भएको विषको शिशी देखेपछि थाहा पाएँ, उनले विष खाइछन् । तुरून्तै उनलार्ई ट्याक्सीमा लगेको थिएँ अस्पतालतर्फ ।
“ओ मान्छे निदाएको हो कि कसो ? उत्रनु प¥यो घरमा आइपुग्यौँ ।”
उनको आवाजले ह्वात्तै अतीतबाट वर्तमानमा आइपुग्छु म । नभन्दै घरको गेटमा आइ पुगेछौँ हामी । दीपाले गाडीको हर्न थिचिन् । घरको आँगनका बत्तीहरू बाल्दै केटो गेट खोल्न कुद्दै आयो । मोटर कम्पाउन्डभित्र भित्रिएपछि म दिपकलाई बोकेर माथि कोठामा गएँ । सामानहरू केही दीपताराले त केही केटाले बोकेर आए मेरो पछिपछि ।
दिपकलाई सुताइदिन्छु ओछ्यानमा, धेरै फुरफुर छ उनको मन, मलार्ई भने दोधारले रेट्छ नराम्रोसँग भित्रभित्रै । मैले जे गर्न खाज्दै छु के यो ठीकै हो त ? अर्काकी पत्नीलाई आफ्नो बनाउनु पाप त हैन ? यसरी सवाल लडाउँछ एक मनले भने छोरा र श्रीमती छाडेर विदेशमा गोरीसँग रमाए पछि एक्लिएकी दीपतारालाई सहारा दिनु पाप हैन, धर्म हो जवाफ लडाउँछ दोस्रो मनले । अलिकति छटपटिन्छु म । चिटचिट पसिना फुट्छ शरीरमा, जे नहुनु पर्ने सबै भैसक्यो, सामानहरू सबै तयार छन् । भोलि बिहान त हामी मन्दिरमा गएर विवाह गर्दैछौँ ।
“सुन त, आज मलाई खाना खान मनै छैन, सुत्न जाऊँ ।” डराई डराई सोध्छु म उनीसँग ।
“छि तिमीलाई सुत्न कस्तो हतार भएको, भर्खर त नौ बज्दै छ, एकछिन कुराकानी गरौँ, खाना नखाए पनि हल्का ड्रिङ्स त गर्छौ नि हैन ?”
उनी लाडिदै मेरो कपाल मुसार्छिन् । उनी भित्र के जादु छ, म नाइँ भन्नै सक्दिन र सोफामा बस्छु थ्याच्च ।
“हैन छत्र, आज केही उदास छौ तिमी किन ? के हामी एक हुन लागेकोमा खुसी छैनौ ?” निन्याउरो मुख लगाएर सँगैको सोफामा बस्छिन् उनी पनि ।
“त्यस्तो केही हैन, मलाई डर छ कतै ऊ आउने हो कि ?”
“तिमी पनि नचाहिने तर्क मात्रै गर्छौ । उसले उतैको खैरेनीसँग विवाह गरेको सात वर्ष भै सक्यो । यस अवधिमा न एउटा इमेल पठायो न त एककल फोन नै, फेरि तिमी त्यसैको शंङ्का गर्छाै ?”
उनी हल्का मसँग चिडिए जस्तो गरी पल्लो सोफामा गएर बस्छिन् ।
“के साच्चै तिमीले आफ्नो मनबाट नै सौरभलाई हटाइसकेकी हौ त ? भन दीपतारा मेरो आँखामा आँखा जुधाएर बोल ?” म उनकै नजिकै गएर बस्दै सोध्छु ।
“तिमी कसलार्ई मनबाट हटाएको प्रसङ्ग जोड्दै छौ ? सौरभ कहिले मनमा बसेको थियो र हटाउन आवश्यक छ ? उसले मलार्ई हैन मेरो रूप र यौवनलाई मन पराउँथ्यो, मेरो बाबा आमाले छोरीको मनमा के छ एकवचन नसोधी उसैलार्ई सुम्पिदिए, धन र दौलतको भरोसामा । सौरभले मेरो चाहना, भावना कहिल्यै बुझेन, म प्रत्येक रात बलात्कृत हुन्थेँ ऊ बाट । हो, त्यसैको परिणाम हो दिपक, छत्र तिमी बुझ्दैनौ यस्ता कुरा, कतिपय नारी बजारका पुरूषबाट मात्र हैन आफ्नै लोग्नेबाट पनि बलात्कृत हुन्छन् ।”
दीपतारा आँखाबाट बर्रर आँसु खसाल्छिन् । उनको आँखाको आँसुले चिथोर्छ, कोपर्छ मेरो मुटु कलेजो । जहिलेदेखि हामी यति नजिक भयौँ, उनलार्ई चोट लाग्दा मलार्ई दुख्ने र मलार्ई घाउ हुँदा उनलार्ई पीडा हुने । गालाबाट तप्कदै गरेको आँसु दुवै हातले पुछिदिंदै अँगालो मार्छु म उनलार्ई । उनी मेरो खोकिलामा सुकसुकाइरहन्छिन् ।
“भान्छा तयार भो ।”
यो आवाजले झसङ्ग हुँदै छुट्टिन्छौँ हामी एक अर्काबाट । ढोकामा ठिङ्ग उभिन्छ काम गर्ने केटो ।
“आज हामीलाई खान मन छैन, जा भान्छाबाट एउटा प्लेटमा मासु राखेर ल्याइदे । अँ सुन त दुईटा गिलास पनि ल्याउन नभुलेस्, तँ खाना खानू र सुत्नू ।”
हस् भन्दै केटो जान्छ ।
“तिमी बहुतै चलाख छौ, छत्र । मनमा छुरा पनि आफैँ चलाउँछौ र मलम पनि आफैँ लगाउँछौ । किन र मप्रति विश्वास छैन कि कसो ?” गाजल पोतिएका आँखा उचाल्दै हेर्छिन् मतिर । म यसपटकको सवालमा केही बोल्दिन, केटाले एक प्लेट मासु र दुइटा गिलास ल्याएर राखिदिन्छ टेबलमा । किचनबाट केही सलाद बोकेर आउँछिन् उनी ।
“आज वियर खाने कि वाइन ?” मतिर हेर्दै दराज खोल्छिन् ।
“तिम्रो मर्जी ।” बस यत्ति मात्र बोल्छु म ।
“त्यसो भए वाइन नै लिगौँ है ?” यति बोलेर दुर्ईटा गिलासमा वाइन खन्याउँछिन् । हामी एकैपटक चियर्स भन्दै गिलास उठाउँछौँ र पिउन थाल्छौँ ।
“मलाई त यो पिउने बानी तिमीले सिकायौ भन तिमीलाई कसले सिकायो ?” मासुको टुक्रा चपाउँदै सोध्छु म ।
“के सोधेको छत्र तिमीले, एक्लोपनले, बिछोडको कुराले ?” उनी सुरूप्प पिउँदै भन्छिन् ।
“तिमी सौरभलाई प्रेम गर्दिन थियौ, कहाँ आयो विछोडको कुरा ?” म फेरि घोच्छु वचनले ।
“मैले प्रेम नगरेर के भो त ऊ मेरो जीवनमा त आइसकेको थियो नि, छ भन्नु र नहुनुमा बेग्लै पीडा हुन्छ ।” प्लेटबाट सलाद झिकेर चपाउँदै बोल्छिन् उनी ।
“च्वाँ… च्वाँ….” ढोकाको घण्टीले दुवै खङ्रङ्ग हुन्छौँ ।
“कान्छा ए कान्छा जा हेर त को आएको रहेछ यति राति ।” केटालाई अ¥हाउदै फेरि पिउँछिन् उनी ।
म भने पिउन सक्दिन, यति राती को आयो भन्ने शङ्काले पिरोल्छ नराम्रोसँग ।
“दिज्यू साहेप………… ।” सुटकेस घिसार्दै भित्र पस्छ केटो ।
म देख्छु पछिपछि सौरभ अर्र्को सुटकेस घिसार्दै भित्र पस्छ । सुटकेस भुइँमा फ्यात्त फालेर दीपताराको अगाडि गै बोल्छ सौरभ ।
“मलाई माफ गर दीपा । त्यो कुइरेनीले मलाई धोका दिई, मसँग विवाह हैन छ वर्षको सम्झौता मात्र गरेकी रैछ, अहिले आएर डिर्भोस गरी । म एक्लै भएँ दीपा । मलाई माफ गर । खै हाम्रो छोरो, मलाई थाहा छ तिमीमाथि अन्याय गरेको छु । हो, त्यसैको प्रायश्चित गर्न अब अमेरिका नफर्कने गरी आएको छु ।”
ऊ दीपतारालाई अँगालोमा बेर्छ । दीपतारा हातमा गिलास उठाएको उठायै हुन्छिन् । मेरो हातबाट एक्कासि खस्छ, वाइनको बोत्तल भुइँमा । फुटेर भुइँमा छरिएको गिलासलार्ई हेर्छु, मेरो भाग्य पनि त्यसरी नै फुट्यो नजुरेको साइनो गाँस्न खोज्दा, चोइटियो सम्बन्ध बीचमै ।

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.