~शैलेन्द्र क. थापा~
दिन, हप्ता, महिना बर्ष हुदै दशकौ बितेछ आफु जन्मेको गाँऊ नपुगेको ! मन नलागेर होईन, प्रकृति संग पौठेजोरि खेल्दै बाँचेको ज्यान, कट-कट मन खाँदै बस्नु परेको छ। आज अचानक चौउर घरे ठाँइला बा आइपुग्नु भयो। पशुपतिनाथको दर्शन गर्न भनि आउनु भएको रहेछ। के छ गाँऊ घरको हाल-खबर भनेर के सोधेको थिँए, ठाँइला बाले आफ्नो मनको बह एक सासमा पोख्नु भयो…के हुनु बाबु ! ढुङ्गा-माटो त तीमिले छोडेर हिड्दा जस्तो थियो त्यस्तै छ। तर बाँकिको कुरा नगर। थिति-रिति बिग्रिएको छ, मान्छे एक-अर्काका दुश्मन भएका छन्। “मर्दाका मलामि बाँच्दाका जन्ति” भन्ने कुरा हराएको छ। पुरानोले भएन अब नयाँ बनाउछौँ भनेर आउनेहरुलाई पत्याईयो। ब्यबस्था पनि ल्याए। तर त्यस पछि केहि नयाँ भएन। बरु भस्मे खोरियामा नङ्ग्रा खियाएर हात-मुख जोड्ने जोहो मिलाउने हातहरु बिदेशिए। गाँउ बिरान भएको छ बाबु ! सुन्छु नयाँ बनाउन यता आएकाहरु पनि सप्रिएका र बिग्रिएका दुई थरि भएका छन् रे, तर ठाट-बाट सबैको उस्तै छ रे ! कुन सप्रिएका, कुन बिग्रिएका ! मेरै पनि दुईटा नाति नयाँ बनाउन हिडेका थिए। अहिले एउटा सप्रिएकाको भागमा, अर्कोचाँहि बिग्रिएकाको भागमा पर्या छ रे। डर लाग्छ बाबु, कुन बेला को कस्को शिकार हुने हो ! “सपनाको लड्डु खान जाँदा विपनाको सुख्खा रोटि गुम्यो बाबु” यस्तै छ हाल-खबर……..!!
सुन्दा सुन्दै म त टोलाएछु, किन टोलाको बाबु ! भन्दा झस्किए र केहि होईन भनेर टारेँ। मनमा लागिरहेको थियो, ठाँइला बाले यताको नसोधुन्, किनभने, म संगपनि त बताउनलाई यो भन्दा राम्रो के छ र !!!!!