~बिजु सुवेदी ‘विजय’~
रामको पसलभन्दा श्यामको पसल १० कि.मी. टाढा छ । रामको पसल शहरको पश्चिमतिर छ भने श्यामको पसल शहरको पूर्वतिर छ । रामको घरभन्दा श्यामको घर पनि १० कि.मी. टाढा छ । रामको घर शहरको पूर्वतिर छ भने श्यामको घर शहरको पश्चिमतिर छ । दुबैले आफ्नो घरको पसलको भाडा उठाउने काम श्रीमतीलाई जिम्मा लगाएका हुन्छन् ।
पसल खोल्न राम र श्याम सधैं घरबाट पसलतिर बिहानै जान्छ र बेलुकी फर्किने गर्दछ । उनीहरु दुबै परिचित नभए पनि पसल खोल्ने समयमा घरबाट पसल जाँदा र पसलबाट घर फर्कदा बीचबाटोमा उनीहरुको सधैं हेराहेर हुन्छ । यस्तो हेराहेर हेराहेरमै करीब ५ वर्ष वितिसकेको हुन्छ ।
एकदिन बिहान पसल खोल्न गएको बेला रामले श्यामसँग हेराहेर हुने बित्तिक्कै हाम्रो जागिर साट्ने हो ? भनेर भन्छ । श्यामले लौन लौ साटौं न साटौं , हामी दुईले बेकारमा समय खेर फालिराछौं भनेर भन्छ र उनीहरुले आफ्नो फोन नंबर साटासाट गर्दछन् ।
कति चोटी उनीहरुलाई देश द्वन्द्वले अक्रान्त भएको बेला गुप्तचर जस्तो लाग्थ्यो रे । एकले अर्कालाई छल्न पाए हुन्थ्यो भत्रे लाग्थ्यो रे । तर प्रायः सधैं हेराहेर हुँदा दुबैजना झस्कन्छन् रे । अहिले द्वन्द्वकाल समाप्त भइसकेपछि बोल्नैपर्यो अब त केही फरक पर्दैन भनेर दुबैलाई बोल्न मन लागेको रहेछ । तर पहलको श्रेय भने रामले पाएछ ।
राम भवन निर्माण सामग्री सम्बन्धी बिज्ञ हो र भवन निर्माण सामग्रीको सेन्टर भनेको पश्चिम हो । श्यामलाई खाद्यात्र बारे धेरै राम्रो ज्ञान छ र खाद्यात्रको सेन्टर भनेको पूर्व हो । त्यसैले रामले भवन निर्माण सामग्रीको र श्यामले खाद्यात्रको पसल गरेका रहेछन् ।
फोनमा उनीहरुले आफ्नो घरपट्टी साहुनीसँग भेटेर पसल साट्ने कुरो गर्छन् । जब घरपट्टी साहुनी भेट्न भनेर दुबैजना परिचय गर्न जान्छन् त अचम्मै पो हुन्छ रामको घरपट्टी साहुनी श्यामकी श्रीमती राधा हुन्छे भने श्यामको घरपट्टी साहूनी रामकी श्रीमती सीता हुन्छे । यस प्रसङ्गले उनीहरुबीच हाँसोको फोहोरा निक्लन्छ ।
अन्त्यमा उनीहरुले आ–आफ्नो घर साटेर सधैंको सकसको जाँदा १० कि.मी. र आउँदा १० कि.मी. गरी जम्मा २० कि.मी.को यात्रालाई सदाका लागि टुङ्ग्याउँछन् ।