~शान्तिराम ढकाल~
‘गनगने कामी’ । सबैले गाउँमा त्यही नामले उनलाई बोलाउथे, मेरा बालाई सधैं बाजे भनेर बोलाउथे तिनले । गाउँभरि उनलाई सबैले तँ भनेर सम्बोधन गर्थे । तर मेरो बाले आफूभन्दा ठूलो, जेठो मान्छेलाई ‘तँ’ भन्नु हुँदैन भनेर सिकाउनु भएकाले मैले उनलाई गनगने कामी दाइ भनेर ‘तपाईं’बाट सम्बोधन गर्थें ।
एक दिन भैंसी हेर्दै गर्दा तिनको घर छेउमा बोडीको झ्यांग हाम्रो भैंसीले खाइदियो । उनी मसँग जंगिए, धेरै रिसाए ।
“यत्रो दुख गरेर रोपेँ, हुर्काएँ । अब फल्न थालेपछि चैं सर्वनासै गरायौ काइँला भाइ …! फलेपछि त म एक्लै खाने त होइन नि तिमीहरुलाई पनि त हुन्थ्यो नि !” यसरी कराइरहे ।
उनी हाम्रो बारीमा सानो झुप्रो बनाएर बसेका थिए । हाम्रोमा नै काम गर्थे । एकै परिवार जस्तो थियो । मलाई उनीसँग त त्यस्तो डर लागेन । एक छिन कराउछन सकिहाल्छ भन्ने लाग्थ्यो । मलाई साह्रै नै माया गर्थे । तर यही कुरा भैंसी राम्रोसँग नहेरेको भनेर बालाई भनिदिए भने चैं के गर्नु भन्ने भयो । नभन्दै सुनाइदिएछन् । बाले मलाई धेरै कराउनु भयो ।
त्यो रातभरि सुत्ने गारो भो । मलाई रिस उठ्यो । बिहानै उठ्ने बित्तिक्कै राते कुकुरलाई डोर्याउदै लगेर उनको कुखुराको खोरमा छिराइदिएँ । कुकुरले दुई ओटा कुखुरा मारिदियो । भित्रबाट गनगने दाइ कुखुराको च्याँ च्याँ र चुँ चुँ कक र कुकू सुनेर बाहिर निस्किए ।
मैले पनि “किन पोल लगाको ?” भनेर तथानाम गाली गरें ।
त्यसपछि उनी जंगिएर कराउन थाले – “काइँला भाइ ! तिमी धेरै बदमास भयौ होस् गर । त्यो मुखलाई त एक माना भात हो, त्यसपछि केही चाहिन्न । तर नाकलाई धेरै चाहिन्छ नाक जोगाउनु ।”
त्यो उपदेश गनगने दाइबाट रिसको बेला पाए पनि अति महान उपदेश रहेछ । धन्य मेरा गनगने दाइ धन्य ।
गनगने दाइ अहिले निक्कै सिपालु भएका छन् । आजकाल जात पात केही होइन भन्दै अनेक अर्ती उपदेश दिंदै त्यही गाउँमा अलिक ठुलो घर बनाएर बसेका छन् । सबैका साझा भएका छन् मान्य भएका छन् ।