~प्रमोद भट्टराई ~
स्नातक तहमा बजार व्यवस्थापन (मार्केटिङ) पढ्दा मेडमले भनेका कुरा उसले सम्झीराखेको थियो- प्रशंसा विशेषतः आइमाईहरुको कमजोरी हो । अहिले उसले अफिस ज्वाइन गर्यो ।
अफिसमा लामो नाक, डोरी जस्तो कपाल अनि सुख्खा मुहारकी सहयोगी एक युवतीलाई देख्यो । तर शुरु शुरुका दिनहरूमा उनीसँग ऊ धेरै बोलेको थिएन । क्रमशः दिनहरू बितिरहेकै थिए आफ्नै गतिमा ।
चर्को मेकअप, बोल्ड ड्रेसअपले ऊ एक दिन अचानक बोल्न बाध्य भयो । अनि मनमनै हाँस्दै प्याच्च भनी हाल्यो- तपाई…. तपाई त ज्यादै नै आर्कषक र राम्री देखिनु भएको छ । अनि तपाई……. तपाइको ड्रेसअप पनि निकै नै सुहाएको छ ।
ऊ मख्ख परी । मुख झण्डै-झण्डै कानकान सम्म पुग्ने गरी तन्काएर हाँसी । बिचरीको चाउरी र पोतो, क्रिम र पाउडर घेरा तोडेर छताछुल्ल पोखिदैं थियो ।
बछौली, चितवन