~शिवराज पन्त~
आज घरमा सबै जना खुशी छन् । अनन्त अनलाइन आउने भएकोले लाइभ च्याट गर्न सबै कम्प्युटर अगाडी बसेका छन् । अनन्त ब्रिटिश सेना अन्तर्गत अफगानिस्तान तैनाथ छन् । भर्खरै त्यहाँ एउटा ठुलो आतंक बादी हमला भयो । अहिले शान्ति छ । अनन्त बिदामा छन् । अनि नेपाल फर्कने सुरमा छन् । यसै विषयमा आज कुरा हुँदै छ । अनन्तले भाई, बहिनि, आमा, बाबा सबलाई अनलाइन आउन भनेको छ । बाबुआमा अनन्तलाई अत्यन्तै माया गर्नु हुन्छ । भाई बहिनीले पनि अतिनै माया र सम्मान गर्छन उनलाई ।अनन्तले घरमा सबै कुरा पुर्याएको छ । कहिले आर्थिक अभाव र कमि कमजोरीको कसैले महशुस गर्नु परेन ।
एकैछिनमा कम्प्युटरमा घन्टी बज्यो । आमा कम्प्युटर मा हुनुहुन्थ्यो । अरु सबै जना छेउमा बसेका छन् । ’बाबु किन दारी नकाटेको ? कपाल पनि लामो भएछ । सन्चो छैन र तँलाई ?’ अनन्तको फोटो कम्प्युटरमा देख्ने बित्तिकै आमाले सोध्नुभो ।
‘होइन सबै ठिक छ । बिदा भएकोले त्यत्तिकै बसेको हुँ’ अनन्तले जवाफ फर्कायो ।
‘अनि कहिले आउने त नेपाल अब ‘? बुबाले सोध्नु भो ।
‘एक हप्ता मै आउँछु’ अनन्तले जवाफ दियो ‘तर म सँग मेरो एउटा साथी छ । त्यो हमला हुँदा उसको दुवै खुट्टा काम नलाग्ने भो । उसको कोहि छैन आफ्नो भन्ने । मैले मसँगै घर ल्याउने विचार गरें । उसको रेखदेख हामीलेनै गर्नुपर्छ । मैले तपाईहरुको के छ विचार बुझ्नलाई सबै जनालाइ खोजेको हो’ अनन्तले गम्भीर हुँदै भन्यो । बाबा झस्किए ‘कहाँ हुन्छ बाबु त्यस्तो अपाङ्ग भएको मान्छेलाई यहाँ कसले हेर्ने , बोझ हुन्छ ।’
‘के कुरा गर्छ यो ? किन जो पायो त्यहीलाई घरमा ल्याउने कुरा गर्छ ? हाम्रो काम छैन त्यसलाई स्याहारेर बस्नलाई ?’ आमा परर पड्किनु भो ।
‘नाई दादा डिस्टर्ब हुन्छ’ बहिनिको विचार आयो ।
‘उतै बरु अपाङ्गहरु राख्ने ठाउँमा बस्ने सल्लाह दिनुस न दाइ उसलाई’ भाइले उपाय रच्यो ।
‘ल ठिक छ म ल्याउन्न । मैले कहिलेपनि तपाईहरुको इच्छा विपरित काम गरेको छैन । दुख दिएको छैन । अहिले पनि दिन्न । ल म एक हप्तापछि आउँछु ।’ यति भन्दाभन्दै डिस्कनेक्ट भो लाइन ।
छैठौं दिन घरमा फोन आयो ‘तपाईहरु तुरुन्त एअरपोर्ट आउनुस ।’ सबैजना अतालिँदै पुगे । अनन्तको साथी गेटमै पर्खिरहेको रहेछ । नमस्कार गर्यो सबलाई र भन्यो ‘अनन्तले आत्महत्या गर्यो आफैंलाई गोली ठोकेर । उसको लास लिएर आएका छौं ।’ सबै स्तब्ध भए ।
‘किन र के भाको थियो ?’ अनन्तको भाईले सोध्यो ।
‘उसको आतंकबादी हमलामा परी दुवै खुट्टा काम नलाग्ने भाको थियो । घरमा कुरा गरेको दिन देखि अति नै दुखि भएको थियो ।’ यो सुनेर अनन्तका सबै परिवारको शिर निहुरियो । ग्लानीले अनुहार कालो निलो भो । बोली कसैको फुटेन ।