लघुकथा : अनन्तको आत्महत्या

~शिवराज पन्त~

आज घरमा सबै जना खुशी छन् । अनन्त अनलाइन आउने भएकोले लाइभ च्याट गर्न सबै कम्प्युटर अगाडी बसेका छन् । अनन्त ब्रिटिश सेना अन्तर्गत अफगानिस्तान तैनाथ छन् । भर्खरै त्यहाँ एउटा ठुलो आतंक बादी हमला भयो । अहिले शान्ति छ । अनन्त बिदामा छन् । अनि नेपाल फर्कने सुरमा छन् । यसै विषयमा आज कुरा हुँदै छ । अनन्तले भाई, बहिनि, आमा, बाबा सबलाई अनलाइन आउन भनेको छ । बाबुआमा अनन्तलाई अत्यन्तै माया गर्नु हुन्छ । भाई बहिनीले पनि अतिनै माया र सम्मान गर्छन उनलाई ।अनन्तले घरमा सबै कुरा पुर्‍याएको छ । कहिले आर्थिक अभाव र कमि कमजोरीको कसैले महशुस गर्नु परेन ।

एकैछिनमा कम्प्युटरमा घन्टी बज्यो । आमा कम्प्युटर मा हुनुहुन्थ्यो । अरु सबै जना छेउमा बसेका छन् । ’बाबु किन दारी नकाटेको ? कपाल पनि लामो भएछ । सन्चो छैन र तँलाई ?’ अनन्तको फोटो कम्प्युटरमा देख्ने बित्तिकै आमाले सोध्नुभो ।

‘होइन सबै ठिक छ ।  बिदा भएकोले त्यत्तिकै बसेको हुँ’ अनन्तले जवाफ फर्कायो ।

‘अनि कहिले आउने त नेपाल अब ‘? बुबाले सोध्नु भो ।

‘एक हप्ता मै आउँछु’ अनन्तले जवाफ दियो ‘तर म सँग मेरो एउटा साथी छ । त्यो हमला हुँदा उसको दुवै खुट्टा काम नलाग्ने भो । उसको कोहि छैन आफ्नो भन्ने  । मैले मसँगै घर ल्याउने विचार गरें । उसको रेखदेख हामीलेनै गर्नुपर्छ । मैले तपाईहरुको के छ विचार बुझ्नलाई सबै जनालाइ खोजेको हो’ अनन्तले गम्भीर हुँदै भन्यो । बाबा झस्किए ‘कहाँ हुन्छ बाबु त्यस्तो अपाङ्ग भएको मान्छेलाई यहाँ कसले हेर्ने , बोझ हुन्छ ।’

‘के कुरा गर्छ यो ? किन जो पायो त्यहीलाई घरमा ल्याउने कुरा गर्छ ? हाम्रो काम छैन त्यसलाई स्याहारेर बस्नलाई ?’ आमा परर पड्किनु भो ।

‘नाई दादा डिस्टर्ब हुन्छ’ बहिनिको विचार आयो ।

‘उतै बरु अपाङ्गहरु राख्ने ठाउँमा बस्ने सल्लाह दिनुस न दाइ उसलाई’ भाइले उपाय रच्यो ।

‘ल ठिक छ म ल्याउन्न । मैले कहिलेपनि तपाईहरुको इच्छा विपरित काम गरेको छैन । दुख दिएको छैन । अहिले पनि दिन्न । ल म एक हप्तापछि आउँछु ।’ यति भन्दाभन्दै डिस्कनेक्ट भो लाइन ।

छैठौं दिन घरमा फोन आयो ‘तपाईहरु तुरुन्त एअरपोर्ट आउनुस ।’ सबैजना अतालिँदै पुगे । अनन्तको साथी गेटमै पर्खिरहेको रहेछ । नमस्कार गर्यो सबलाई र भन्यो ‘अनन्तले आत्महत्या गर्‍यो आफैंलाई गोली ठोकेर । उसको लास लिएर आएका छौं ।’ सबै स्तब्ध भए ।

‘किन र  के भाको थियो ?’ अनन्तको भाईले सोध्यो ।

‘उसको आतंकबादी हमलामा परी  दुवै खुट्टा काम नलाग्ने भाको थियो । घरमा कुरा गरेको दिन देखि अति नै दुखि भएको थियो ।’ यो सुनेर अनन्तका सबै परिवारको शिर निहुरियो । ग्लानीले अनुहार कालो निलो भो । बोली कसैको फुटेन ।

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.