विभाजित र स्तब्ध
एउटा खुड्किला माथि उठेर
निरन्तर यात्रा आरम्भ भएको छ
हो ! आफू उभिएको माटो छोएर
नफर्कने
यात्रा आरम्भ भइसकेको छ ।
विभाजित र स्तब्ध
एउटा खुड्किला माथि उठेर
निरन्तर यात्रा आरम्भ भएको छ
हो ! आफू उभिएको माटो छोएर
नफर्कने
यात्रा आरम्भ भइसकेको छ ।
जीवन यतिखेर
एउटै आरम्भित शुरुवातको
मिलनविन्दु पनि हुनसक्छ
जीवन यतिखेर
अविभाजित र आरम्भित
स्वाभाविकता स्वीकार्दै
एउटै शब्दमा
एउटै भूमिमा
फेरि फर्कने
अनुभूति पनि हुनसक्छ
हो शुरुवात
प्रेमको लागि
कल्याणको लागि
फेरि निर्विकल्प
पछाडि फर्कन सक्दैन
सुनसान सडक बोकेर
क्षणिक र क्षणिकताका लागि
अचानक र
जीवनको सवैभन्दा ठूलो
परिभाषा बोकेर
यात्रा फेरि पछाडि फर्कन सक्दैन
सँगसँगै स्तब्ध बाँचेका
अँगालाहरू
बिहानी र रातहरू भित्र
म यतिनै खेर माटो छोइरहेकी छु
परिवर्तित र
पर्याय मात्र नहुने दावी
हामीले बदल्नै पर्छ
हो आफैंलाई भेट्न
आरम्भित यात्राको पुनर्निर्माणमा
म
सम्वेदनशीलता छिचोल्दै
युद्ध शुरु भै सकेको छ
युद्ध हार्न पनि सकिन्छ
युद्ध जित्न पनि सकिन्छ
तर विषयान्तर कुरा गर्दा
यात्रा फर्कन सक्दैन
म उभिएको माटोमा
मेरो अस्तित्व र विकल्पको लागि
म गाउँहरूलाई
त्रसित विरुद्ध
प्रशस्त अनुभवरत भएर नै
अमूर्त जीवन रुन सक्दैन
हो सिङ्गो आस्था बोकेर
हामी दुख्न हुन्न
पटक्कै दुख्न हुन्न
हो यो माटोमाथि उभिएर
मैले भन्नै पर्छ
मेरो या हाम्रो
यात्रा फर्कन सक्दैन ।
(स्रोत : Majheri.com)