~राजेश रुम्बा लामा ‘अतृप्त’~
आफु जन्मी खेली हुर्किएको बाग झैं लाग्ने ति बस्ति आज जिवनको उत्तरार्द्धमा मसानघाटको आकृतिमा आफ्नै नजर सामु मुस्कुराई रहेको आभाष लाग्छ । खै कसरी व्यक्त गरौँ यी समाज र ढडेन झैं लाग्ने मेरो मनको कथा व्यथा । हो साँच्चै कुनै ढडेन भन्दा कम छैन मेरो मन भनौँ जिवन । जहाँ कुनै फूलहरु मुस्कुराउँदैन । तर, तर सबै भोग्न, हेर्न अनि बाँच्न बिबश छु ।
१५ औं बसन्त पार नगर्दै मेरो बैबाहिक जिवन शुरुवात भो । बैशालु उन्मात र लाली नपोतेको स्थितिले होला म त्यति खेर फिक्का थिएँ न कुनै रुप रंग नै थियो न कुनै ज्ञान नै । थियो त मात्रै चंचलता । शायद दिन बित्दै जाँदा ऋतुहरु फेरे झैं मेरो सम्पूर्णता फेर्दै गयो क्यारे १४, १५, १६ हुँदै म मा नयाँ रुप रंग र रहरहरुले बास गर्दै गयो । जन्मिएको घर र कर्म घरको दुरी ३ घण्टा पैदल यात्रा लाग्थ्यो । उमेरले म १४ वर्षको भए पनि मलाई एक २५ बर्षे केटो संग बिबाह गरिदिनुभएको थियो मेरा बाउ आमाले । पहाडी क्षेत्र एउटा जमिन्दारको छोरा संग बिबाह गर्न पाउनु नै मेरो बाउ आमाको अहोभाग्य हो सम्झिनुभो क्या रे मेरो बाबु आमा निक्कै खुशी हुनुहुन्थ्यो । ६ कक्षामा पढ्दै गरेको अवस्थामा कसैको दुलही बनेर सोह्र शृङ्गार गरेर चिटिक परेर जान पाउँदा म नि खुशी नभएको कहाँ हो र !
कुरा आज भन्दा २५ वर्षको हो । क्षेत्री जातिको परम्परा अनुसार मेरो बिबाह धुम धाम हुने भो जुन बेला म मा बिबाह के हो र केको लागि गरिन्छ भन्ने ज्ञान समेत थिएन । त्यसैले त होला म दसैं तिहार आए झैं रमाउथेँ अनि सेल रोटि र मासु भात खान पाउने सपना मनमा साँच्दै बसेको थिएँ । मेरै बिबाहको लागि पोलेको सेल रोटि चोरेर मैले कति पटक खाएँ खाएँ । कति पटक त डोल्मोलाई नि दिएँ…..एकदिन त झन् मेरो बिबाहको लागि बाउले किनेर ल्याउनु भएको नयाँ सारी चोली जानी नजानी लाएर एक्लै नाचेको थिएँ कोहि नभएको मौका छोपी । अनि आमा बाउलाई नभन्ने सर्तमा डोल्मोलाई पनि सुनाएका थिएँ । नौमती बाजा सहित मलाई लिन पारी बतासे डाँडा बाट जन्तीको लस्कर मेरो घर तर्फ आउंदै गर्दा शायद अरुलाई भन्दा मलाई नै हतार थियो होला,त्यो जन्ती कहिले यहाँ आइपुग्ला भनेर । अन्तत जन्ती नि आइपुग्यो । रामे, सुन्तली, डोल्मो र बीर्खे हाम्रो घरको माथिल्लो गह्रामा बसेर हेर्दै थिए । म चाहिं माथि चोटाको आँखीझ्याल बाट चियाएर हेर्दै थिएँ । मलाई पनि उनिहरु संग गएर हेर्न मन नलागेको कहाँ हो र ! पारीको सन्तराम दाइकी बुढी र आमाले तिमी त दुलही हो त्यसरी बाहिर जानु हुन्न पाप लाग्छ अनि तिम्रो राम्रो लुगामा फोहोर लाग्छ भनेकोले म चोटैमा बसेका थिएँ । कालो चस्मा लगाएर डोली माथि बसेको दुलाहालाइ देखेर म खित्का छाडेर हाँसे। किन कि घाम पानी केहि नपर्दै किन दुलहाले छाता ओडेको होला भनेर…………।
एकदिन अगाबै घरको आँगनीमा जग्गे तयार पारिएको थियो। त्यही नजिकै आँगनीमा नौमती बाजा घन्काउदै जन्तीहरु नाच्दै थिएँ । जन्ती पर्सौनलाई मेरो बाउ हतार हतार गर्दै गरेको मैले देखें अनि पर्साई सकेसी दुलाहलाई स्वागत गर्न दुलाही नि चाहिँदो रहेछ त्यसैले मलाई लिन जन्तरी आमा आउनु भो । म नि सकी नसकी सारीको सप्को समाउँदै हतार हतार भर्याङ बाट तल ओर्लें । बल्ल बल्ल त्यो जन्तिहरुलाई राम्री हेर्न पाउने हुँदा मन मनै मलाई खुशी लाग्दै थियो । दुलाहालाई माला लगाएर स्वागत गर्नु पर्ने रहेछ मैले लगाई दिएँ। त्यति खेर झनै मलाई हाँस्न मन लाग्यो र हाँसी पनि दिएँ । किन कि दुलहाले अझै छाता ओडदै थियो भने दुलाहाको जुँगा पातलो र मसिनु तर मेरो बिरालोको जुँगा जस्तै पहिलो लामो लामो थियो । रात पनि पर्यो । रातै भरि पण्डित बाको कथा सुन्यौं हामीले दुलाहा दुलहीको खेल पनि खेल्यौं । मलाई निक्कै रमाइलो नि लाग्यो । नाच्नेहरु नाच्दै थिए गाउनेहरु गाउँदै थिए । बिहानको १० बजे थियो मेरो अन्माउने साईत। १० पनि बज्यो सनाई रोयो, मलाई नि डोलीमा चढाईयो। त्यतिखेर आमा बुबा सबै रुदैं हुनुहुन्थ्यो भने जन्तरी आमा मेरो ढाडमा सुम्सुम्याउँदै यस्तै हो छोरीको जात भन्दै सम्झाउँदै हुनुहुन्थ्यो । तर मैले त्यस्तो केहि नरमाईलो महशुस गरिन बरु कहिले डोलीमा चढेर जान पाउँला झैं लागि रह्यो। डोली चडेपछि जग्गेमा फन्फन्ती घुमाईयो। बुबा अघि अघि लाग्नुभएपछि म चढेको डोली तेर्सियो बतासे डाँडातिर । घरको अलिक यता बाँसको झ्याँङमा पुर्याउनु भएपछि बुबा फर्किनु भो, आँखामा अलिकति आँशु लिएर। म चाहिं लच्चक लच्चक डोली माथि बस्दै आमा बुबालाई हेर्दै थिएँ। रमाईलो नि लाग्दै थियो। खै रात भरिको निन्द्राले होला सपना हो कि बिपना झैं लाग्यो। अनि केहि दिन अघि मृत्यु भएको डोल्मोकी आमालाई सम्झिन पुगेँ । किन कि डोल्मोकी आमालाई पनि मलाई झैँ गरेर लामाले ढ्यांग्रो र शंख बजाउँदै यहि बाटो बतासे डांडा हुँदै माथि चिहान घारीमा लागेको थियो । मन भरि अनेकौं कुराहरु खेल्न थाल्यो। किन कि डोल्मोकी आमाको मृत्यु हुँदा मेरो विवाह हुदाँको वातावरण एउटै खालको लागिरहेको थियो। डोल्मोकी आमालाई पनि मलाई जसरी नै जग्गेमा घुमाएर सबैजना रुवावासी गरेर उसै गरि बतासे डाँडातिर पठाएको थियो । गत साल तिहारमा रोटे पिंग खेल्न डोल्मो, रामे अनि रामेको आमाहरु संगै पुग्नु बाहेक कहिले नआइपुगेको ठाउँ राम्चेमा मलाई ल्याई पुर्यायो । जस्ताले छाएको घर पनि दुई तले रहेछ । आमामामा…….घर पनि कती ठुलो । हाम्रो त खरले छाएको त्यो पनि एक तलाको मात्रै । त्यत्रो घरमा हर्के मेरो लोग्ने, सासु ससुरा मात्रै बस्नु हुँदो रहेछ । हर्के जीकी दिदी काठमाडौं बस्नु हुन्छ रे । आफ्नो छोरीलाई जस्तै मेरो ससुरा टाँका बहादुरले मलाई माया गर्नु हुन्थ्यो । सासु चाँहि अचाक्ली कच् कच् मात्रै गरि रहनुहुन्थ्यो । जे काममा पनि बचन लाउने उहाँक बानी नै थियो । नयाँ दुलही बनेर गएसी म हर्केजीसंगै बस्नु पर्थ्यो.. सुत्नु पर्थ्यो । म संधै एक्लै सुत्थें घरमा । त्यसैले बिबाह पछि पनि एक्लै सुत्छु भनेर रोईकराई गरें पछि मेरो ओछ्यान हर्केजी आमाको ओछ्यान छेउमा लगाईएको थियो। हर्केजीको ओछ्यान चाहीँ चोटामा थियो । हामीले यसै गरि ५, ६ महिना अलगै सुतेर बितायौं । हर्के मेरो पति जस्तो लाग्दैनथ्यो, त्यसैले म जे मन् लाग्थ्यो त्यहि गर्थें र भन्थें। उहाँ ठुलो ठुलो किताब पढेर बस्ने गर्नु हुन्थ्यो आफ्नो ओछ्यानमा । मलाई जुन बेला मन लाग्थ्यो त्यति बेला चोटामा उक्लेर हर्केजीको किताबहरु हेर्ने पढ्ने र यत्र त्यत्र छरी दिन्थें। त्यो देखेर हर्केजीले पिट्ला झैं गर्नु हुन्थ्यो, म भाग्थें । आमा चाहिंलाइ नि कुरा लाउनु हुन्थ्यो । आमा चाहिंले प्यार प्यार कराउनुहुन्थ्यो ससुराबाउ चाहिं हाँस्दै यो सानै छे पछी बुझ्छ भन्नु हुन्थ्यो र सम्झाउनु हुन्थ्यो ।
बिवाहको ८ महिना पछी सासु ससुरा सासुको माइती स्याउली बगर जानु भो घरमा हर्केजी र मलाई मात्रै राखेर । खाना दुवै मिलेर पकाउँथ्यौं, जुठो भाँडा म माज्थें भने हर्केजीले पानीको पाइप समात्दै पानी हाल्नु हुन्थ्यो। यस्तै क्रममा हर्के जीले एक साँझ आमा सुत्ने ठाउँमा भुत आउँछ र तर्साउँछ भनेर डर देखाउनु भो । मलाई निक्कै डर लाग्यो। त्यै दिनको भोलि पल्ट मैले थाहै नपाउनी गरि उचालेर हर्केजीले मलाई आफ्नो ओछ्यानमा लगेर सुताउनु भएछ । बिहान बिउँझिना साथ मैले हर्केजीलाई सोधें : ‘म यहाँ कसरि आइपुगें ? भनेर।’ खै म पिसाब फेर्न जाँदा तिमी त पिढिंमा सुतिरहेकी रहेछ्यौ ।” शायद भूतले लगेर सुताको होला त्यसैले मैले उचालेर यहाँ ल्याएको भनेर सुनाउनु भो । एकाबिहानै डरले म थुर थुर कापेँ । अनि रात कहिल्यै नपरोस् झैँ लाग्न थाल्यो । दिन पछी रात यो त प्रकृतिको नियम नै हो। त्यो रात देखि हामी संगै सुत्ने भयौँ । तर पनि हाम्रो ओड्ने अलग अलग थियो। मैले मेरै बिबाहको रातो पछ्यौरी ओडें, हर्के जीले सिरक ओड्नु भो। लाग्दैनथ्यो । तर त्यस रात मलाइ खपिनसक्नुको पिसाब लाग्यो। हर्केजीलाइ भन्न नि लाज लाग्यो । रातको १ बजेको हुँदो हो । बाहिरको जूनको मन्द मन्द प्रकाश झ्यालको काप कापबाट देख्न सकिन्थ्यौ। रात निकै सुन सान ..। म चुप चाप त्यही झ्याल तिर अघि बढें । अनि सुस्तरी झ्याल खोलें । अनि आँखा चिम्लेर त्यही बाट पिसाब फेरिदिएँ । जूनको प्रकाशमा केहि देखिएला भन्ने डरले आँखा चिम्लेकोले पिसाब कहाँ खस्यो र कहाँ पुग्यो भन्ने कुरा त थाहा भएन तर मज्जाले चुइँकेर..झरना झैं गरि खसेको कानले प्रष्टै सुनिन थ्यो । पिसाब फेरिसके पछी हत न पत्त बिरालोको चालमा ओछ्यान तिर फर्कें । बाहिर भूतको डर थियो भने भित्र हर्केजिले थाहा पाउला भन्ने डर र लाज थियो । म पाइला अघि बढाउन खोज्थें तर पाइला सर्न मानि राखेको थिएन । ओछ्यान त पुग्नै पर्यो नत्र भूतले समाउला भन्ने डरले जबर्जस्ति पाइला अगाडी बढाएको मात्रै के थिए बढेमा को अजिंगार माथि टेक्न पुगे झैं लाग्यो । मेरो मुटुले ठाउँ छोड्यो । म थर थरि कामे र चिच्याएँ । भुत माथि नै पो टेक्न गए झैं लाग्यो । तर त्यो कुनै भुत नभई उही मेरो पति हर्केजी पो रहेछ । उहाँ मेरो सारा चर्तिकला हेरेर, देखेर मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो भने म चाहिं लाजले रोइ दिएँ । ‘आइ मुतुवा’ भन्दै जिस्काउनु हुँदा झनै लाजले क्वाँ क्वाँ रोइ दिएँ । अति नै रोए पछी शायद माया पनि लाग्यो क्यारे अंगालोमा बेरेर मेरो टाउको सुमसुम्याउँदै ‘त्यसरी रुन हुन्न नत्र भुत आउँछ’ भन्दै दन्त्य कथा सुनाउँदै मलाई फकाउनु भो । मलाई नि उहाँ प्रति माया र बिश्वास लाग्न थाल्यो । यसरि नै उहाँ प्रतिको माया र बिस्वासले गर्दा त्यो रात पछी हर्केजी ओछ्यान जानु भन्दा अगाबै मै गएर पल्टी सक्थेँ। किन कि हर्केजिले एउटा छोरीलाई झैं माया गर्नुभएको मैले आभास गर्न थालेकी थिएँ ।
“संधै घिउ र भात कहाँ नानी” भन्ने उखान झैं कति दिन देखि हर्केजीले कुण्ठित पारि राखेको यौन चाहना म माथि पोखाउन आईपुग्नुभयो कुलो माथि पहाड घोप्टे झैँ गरि । मैले छुट्टिन धेरै जोड गरेँ, चिच्याएँ, कराएँ, तर मेरो केहि लागेन । सायद उहाँ स्खलित हुनुहुँदा म त्यो पिडा सहन नसकी वेहोस भैसकेकी थिएँ क्या रे । जब म बिउँझें, बिहानीको मिरमिरेले झ्यालको काप कापबाट चियाउँदै थियो । ज्यान भारी भएको महसुश गरेँ। अलि अलि ज्वरो पनि आए जस्तै लाग्यो । कम्मर देखि तलको भाग हलचल पनि गर्न नसकिने गरि दुखेको थियो। उता हर्केजी कुना पटी फर्केर मज्जाले घुर्दैहुनुहुन्थ्यो । सायद उहाँलाई आफ्नु बिबाहको आफ्नो बिबाहको सुहागरात भर्खरै मनाउन पाउनुभएकोले होला निन्द्रादेबिको काखमा मजाले निदाईरहनुभएको थियो। म सुस्तरी उठ्न खोजें तर उठ्न सक्ने अवस्थामा थिइन । आफु माथि हर्केजीले गरेको…मानसपटलमा नाच्न थाल्यो । विश्वास नै लागेन । अनि बिस्तारि दायाँ हात गुप्ताङ्गतिर तिर बढाई छाम छाम छुम छुम गरेर आँखा सामु ल्याएर हेरेँ । ए…आमा…….रिंगटा चल्ने खालको काँचो रगत देखेँ । विश्वास लागेन फेरी पनि बायाँ हात उसै गरि गुप्ताङ्गमा पुर्याई फेरि हात आँखा सामु ल्याइ हेरेँ उफ् त्यो पनि रगतै रगत देखे पछी मैले मन थाम्न सकिन । त्यसैले रोएँ कराएँ । हर्केजी नि उठ्नु भो । गुप्ताङ्गको रगताम्य हातले आँशु पुछ्दै रुदाँ आँशु संगै रगत बगेर मेरो गालाभरि लागेछ क्यारे हर्केजीले तन्ना तानेर मेरो गालामा आँशु पुछिदिनुभयो र फकाउन थाल्नुभयो ।
मैले पिसाब फेर्छु भने सी हर्केजीले मलाई बोकेर भर्याङबाट तल ओराल्नुभयो । अनि घरको कुना पटी कुलासोमा राखिदिनुभयो। पिसाब फेर्दा फेरि रगत देखें। म झनै त्रसित भएँ जसको कारण म फेरि वेहोस हुन पुगेछु। हर्केजीले पानी छ्याप्नुभएपछि म होसमा आईछु । त्यतिखेर भने हर्केजी पनि रुदैंहुनुहुन्थ्यो। म दबाई लिएर आउँछु भनेर हर्केजी मलाई चोटामा पुर्याईराख्नुभै तल ओर्लनुभयो । खै कता कता गायब हुनु भो ँ एक छिन पछी दबाई होइन २ वटा चाउ चाउ र १०, १२ वटा ल्याक्टो चकलेट लिएर आउनु भएछ । उहाँ निक्कै थकित मुद्रामा देखिनुहुन्थ्यो। अनि मलाई सम्झाउँदै हुनुहुन्थ्यो ।’ बिबाह पछी सबैलाई यस्तो हुन्छ त्यसैले नरुनु अनि कसैलाई नभन्नु ल ‘भनेर । त्यो दिन हर्केजीले नै सबै तन्ना र सिरकको खोलहरु धुनुभयो । जुन रगतले भिजेको थियो । खाना पकाउने देखि लिएर मलाई नुहाईदिने सम्पुर्ण काम आफैँ गर्नु भो। त्यो देखेपछि मलाई पनि सायद बिहे पछि यस्तै हुन्छ क्यारे भन्ने लाग्यो र हर्केजीको साह्रो माया लाग्न थाल्यो । त्यसपछिका रातहरुमा पुन उहि कृयाकलाप दोहरिन थाल्यो । जुन् म चुपचाप सहन विवश थिएँ ।
त्यसको दुई चार दिनपछि सासु ससुरा पनि फर्किनुभयो । उहाँहरु निक्कै खुसी देखिनुहुन्थ्यो । सायद छोराको चर्तीकला सबै थाहा पाउनुभयो र सोच्दै हुनुहुन्थ्यो होला कि अब म पुर्ण रुपमा उहाँहरुको बुहारी भएँ। बिबाह भएको २२ महिना पछी मैले छोरा बलेलाई जन्म दिएँ । जति खेरमेरो उमेर १६ पुग नपुग् थियो । त्यसै गरी छोरा छोरी जन्माउने क्रम जारि रह्यो ५ साल सम्म । त्यति खेर सम्म दुइ छोरा र दुइ छोरी भै सकेको थियो भने मेरो उमेर २१ बर्षको थियो । केहि बर्ष अघि मात्र सुनसान देख्ने टाँकाजिको घरमा वर्षौटी बच्चाहरुको बथान बढ्दैथियो । कोहि रुने कोहि कराउने कोहि खाने त कोहि सुत्दै गरेका । धन्न आर्थिक रुपले सु-सम्पन्न थियो र मात्रै । यति नै खेर हर्के जीलाई जागिरको लागि काठमाडौं पठाउने निधो गर्नु भो सासु ससुराले । बालबच्चा र वृद्द बुबा आमालाई छाडेर लाग्नुभयो हर्केजी काठमाडौं । बाल बच्चा भर्याङबाट खस्ने डरले हाम्रो र सासु ससुराको सुत्ने ओछ्यान साटिएको थियो। उहांहरु चोटामा सुत्नु हुन्थ्यो भने हामी तल । लस्करै आधा दर्जन बच्चाहरु संगै सुते पनि हर्के जीको अभाब कता कता खट्किरहन्थ्यो । उसो त त्यहाँ भूतले सताउँछ भनेर मलाई चोटामा सुताउन हर्केजीले गरेको त्यो चलाखीलाई सम्झेर हासेँ पनि । अनि ति बितेका स्मृतीलाई पल्टाउँदै पल्टिन्थेँ, रात बिताउथेँ अनि त्यही हर्केजीको कसिलो अंगालोमा कसिने रहर भित्रै देखि जाग्थ्यो । आर्थिक रुपमा सम्पन्न हुनाले मेरो काम त्यहि बाल बच्चालाई स्याहार गर्ने मात्रै हुन्थ्योयो । ससुराले त्यसै गर्नु भन्नु हुन्थ्यो भने सासु चाहिँ उहिले म बुहारी हुँदा यसो गरेको थिएँ, उसो गरेका थिएँ भन्दै कच् कच् मात्रै गरि रहनु हुन्थ्यो ।
समय बित्ने क्रममा हर्के जी काठमाडौ लागेको ३ बर्ष बितीसकेको थियो सासु आमाले धर्ति छाड्नु भो । यो खबरले मर्माहत बनेर हर्केजी रातारात आउनु भो तर आमालाई घाटमा मात्रै भेटाउन सक्नु भो । २४ बर्षको त्यो उमेरमा मनै भरि लोग्ने संग बस्ने चाहना हुँदा हुँदै पनि उहाँको आमाको शोक र उहाँको जागिरले ले गर्दा हामी बिच अनेकौं इच्छा आकांक्षा हुँदा हुँदै पनि हामी खुलेर कुनै संसर्गमा रमाउन सकिरहेका हुँदैनौं । एकातिर सासुको शोक अर्को तिर लोग्नेसंगको बिछोड हुनुपर्ने कुराले मेरो मन अमिलो भयो। केहि दिन पछि हर्केजी काठमाडौं फर्किनुभयो । जहाँ पहिरो जान्छ त्यहाँ गइ रहन्छ भन्ने उखान झैं सासु बितेको केहि दिनमा नै ससुरा बा परलोक जनुभो। जसले गर्दा हामी माथि निकै ठुलो बजर्पात पर्यो। आफ्नो बुबाले झै आँट र ढाडस दिने ससुराको मृत्युले म साँच्चै नै विक्षिप्त हुन पुगेँ । उहाँको निधन लगतै हर्केजीले जागिरै छाडेर आउनु भएछ । जति खेर छोरा छोरी सबै हिँड्न सक्ने भैसकेका थिए भने जेठो छोरा बले स्कुल जान थालि सकेको थियो । एकतिर आमा बाउको शोक अर्को तिर भएको जागिर छोडेकोले उहाँ निक्कै तनाबमा देखिनुहुन्थ्यो। सँधै गम्भीर मुद्रामा देखिने हर्केजी एक साँझ बोल्दा बोल्दै बसेको ठाउँ अगेना छेउमै ढल्नु भो । म आतिएर काखको कान्छी छोरी च्याखुरीलाइ भुइमा राखेर उहाँलाई सम्हाल्न खोजेँ तर उहाँको जिउको आधी भाग नै नचल्ने र लाटो भयो भन्दै सुस्तरी पानी माग्नु भो । एकाएक उहाँको मुहार नै फेरियो। हे भगवान !! मलाई के दसा आइ लाग्यो। एका तिर सानु सानु नानी बाबु अर्को तिर सासु ससुराको शोक त अर्कोतिर लोग्नेको यो बिजोग? उफ्फ़…
२६ बर्षको उमेरमा म यी सब बेहोर्दैथेँ। जतिखेर म मा आफ्नो कुमारित्व गुमाउनुको पीडा भर्खरै बिर्सेर लोग्नेको कस्सिलो अंगालोमा बेरिने चाहनाले वास गर्दैथियो। तर त्यसको ठिक विपरित म लोग्नेको मलमुत्र सोहर्दैथें। त्यतिबेला अहिले जस्तो गाउँमा स्वास्थ्य केन्द्रमा स्वास्थ्य उपचार कहाँ पाइनु अनि सदरमुकाम नै लानु पर्ने तर त्यहाँ पनि भने जस्तो दवाई र उपचार् पाउन मुस्किल हुन्थ्यो । गाँउघरमा भने सासुससुराको मृत्यु पश्चात चुईयाँ बाहुनको घरमा जानु हुन्न भनेर कोहि आउँदिनथे ।त्यसैले मैले चिनेको धामी झाक्रीहरुलाइ बोलाएर झारफुक गर्न लगाएं। उसो त ती झाक्रीहरु हर्केजीको लागि भन्दा पनि मेरो वैशंमा र्याल काढेर आउने गर्थे । एक दिन त एउटा झाक्रीले मुखै फोरेर भन्यो “कठै ! बाटुली नानीको जिन्दगी त्यसै खेर जाने भो । अब हर्के त बाँच्ला जस्तो छैन । त्यसैले बेलैमा विचर गर्नु है। यिनी त यसै मर्छन् तिमी आफ्नो जोबनलाई किन मार्छयौ? त्यसो त तिमीहरुको जोडी पनि कहाँ मिलेको हो र । टाँकाजीले यस्तो कलिलो बुहारी ल्याएर पापै गरेका हुन् ।” त्यसो त रिठ्ठे झाक्रीले पनि दक्षिणा दिँदा नजनिदोँ पाराले मेरो हात नसमाएको कहाँ हो र । तर म यि सब सहन बाध्य थिएँ । सास हुन्जेल आश भने जस्तै म हर्केजीको स्वास्थ्यमा सुधार आउँला भनि म आशावादी थिएँ । तर बिडम्बना दैबको लेखान्तलाइ टार्न सकिन मैले र शितकालिन पुषको बिहानीमा घामले धर्ती नटेक्दै ४३ वर्षको उमेरमा हर्केजीले यो धर्ती छाड्नुभो । म मर्माहत भएँ । एउटा भएको सहारा पनि त्यसरी दैबले लुटेर लैजाँदा म टुलुटुलु हेर्न बाध्य थिएँ । हो म ३० बर्ष मै बिधुवा बनेँ । साउने भेलले भिजेको, निभेको चुल्हो झैँ जिन्दगि भए पनि मैले छोरा छोरीको लागि भएनी बाँच्नु पर्थ्यो । त्यसैले मैले जीन्दगीका धेरै उतारचढावहरुसंग मुकाबिला गरेर बाँच्न सिकेँ । त्यो उमेरमा म विधुवा बन्नुपरेको पीडाले आहत थिएँ नै त्यसमाथि गाउँकै जान्नेमान्ने बुजुर्कहरुले म माथि भेदभावपुर्ण व्यबहार गर्दै आफ्नो गिद्दे दृष्टी लगाउनाले म झनै घाईते भएँ।
समाजको नजरमा म अलच्छिना साबित भएँ। कतै शुभ काममा जाँदा होस् वा एकाबिहानै पानी थाप्न धारामा जाँदा होस् सबैले मलाई नमिठो वचनले रोप्न थाले । मुटु दुख्थ्यो यस्तो व्यवहारले । मनमनै रुन्थेँ । उता एकान्तको मौका पारेर कसैले आफ्नो अस्मिता लुट्ला भन्ने डर यथावत नै थियो । यस्तैमा जीवनका हरेक काँडा पन्छाई ठूलो छोरो बलेलाई एसएलसी गराईछाडेँ । कान्छा छोरा देउ सिंग ८ पढ्दै थियो । ठुली छोरी आइती माया ७ मा र कान्छी प्याकुली ५ मा पढ्दै थिइन् । शायद म भित्रको पीडालाई जेठा छोराले बुझ्यो क्यारे । पारीको काजी राम, सूर्यहरु संगै पैशा कमाउन अरब जान्छु भन्यो। जेन तेन ऋण गरेर नि पठाएँ । अरब कमाउन लागेको छोराको खबर नपाउँदा ब्याकुल हुँदै थिएँ । तिन महिना पछी खबर आयो छोरा बले सुतेको ठाउँमै सुतेको सुतै भयो रे। यो खबरले म कत्तिखेर वेहोस भएछु थाहै भएन। पछि छोराको लाश बक्समा बन्द भएर आउँदा म लिन एयरपोर्ट पुगेँ। सायद यो खप्नै नसक्ने पीडाले होला म पागल हुन थालेछु । मेरो पागलपनादेखि बच्चाहरु पनि डरले बहिनीकहाँ गएछन् । कसो कसो फेरि म विहोस भएछु । म बिउँझिँदा आफ्नो वरिपरि कोही भाला कोही हँसिया, कचिया लिएर उभिएका मान्छेहरुको हुल देखेँ।” यो बोक्सी हो। यसले सासुससुरा, लोग्ने हुदाँहुँदा आफ्नै छोरा पनि खाई आज । यसलाई दिसा खुवाउनुपर्छ। जिउँदै जलाउनुपर्छ ।” भन्दै म माथि खनिनेहरुको जमात देख्दा म आत्तिएँ । उनिहरुको खुट्टा समातेर मैले आफ्नो जीवनको भिख मागेँ तर मेरो कुरा सुन्ने कोहि थिएन । अचम्म त मलाई यो लाग्दैथ्यो कि कहिले फर्केरै न आउने मेरो आमाजु पनि त्यतिखेर आगोको ज्वाला बोकेर “यसैले हो मेरो बाबु आमा खाएको । यसलाई नमारी हुन्न । यो बोक्सी हो “भनि काँप्दै गरेको देखेँ । उसैको उक्साईमा गाउँका जान्ने बुझ्ने जो आफुले भने जस्तो नहुँदा अझ भनु मेरो अस्तित्व हरण गर्न नपाउँदा क्रुद्द भएकाहरुले मेरो शरीरभरि आगो दाग्न थाले। म जीवन रक्षार्थ सहयोगको लागि गुहार्दै दौड्न थालेँ तर त्यहाँ त सबै पशु सरहका मानिसहरु थिए । कसैले मेरो बिन्ति सुनेनन्। अनन्त म भागेर आफ्नो माइती पुगेँ।
म मेरो घाईते शरीर लिएर माईत पुग्दा त मेरो आमा बुबाले पनि यो धर्ती छाडीसक्नुभएको पाएँ । आजभोली म त्यहि मक्किएको घरमा बस्दै आएकी छु। कुनै बेला त लाग्छ साँच्चिकै म बोक्सी हुन पाए त मलाई आरोप लगाउनेहरु सबैलाई म मार्थें अनि सबै पीडीत नारीहरुलाई बोक्सी सिकाएर ती समाजका राक्षसहरुको बध गर्न लगाउँथें। तर यि सब त भ्रम त हुन्। कहाँको बोक्सी हुनु ? यदि यहाँ बोक्सी हुदोँ हो त के ती बोक्सीको आरोपमा मारिने र घाईते पारिनेहरुले ती जलाउनेहरुलाई त्यसै छाड्थे र ? तन्त्र मन्त्र गरेर सबलाई मार्थे होला।संसारमा किन बम बारुदको आबिस्कर गरिनुपर्थ्यो।यिनै बोक्सीहरुले नै सबै काम तमाम गरिहाल्थे नि । अनि शक्तीशाली राष्ट्रहरुले त्यस्तै बोक्सीहरु पालेर बस्थे होला दुश्मन राष्ट्रहरुलाई परास्त गर्न । उफ्! यो सब त चेतनाको कमीले भएको हो ……….
(स्रोत :DCNEPAL)