~सागर पराजुली~
हाँसे कान्छो हट्टाकट्टा छ । गाउँमा केहि परे धेरैले उसैलाई सम्झन्छन्। जसले बोलाए पनि उ गइहाल्छ। केहि मीठो खान पाए पुग्छ उसलाई। हाँसीरहन्छ, मुख सधैं तन्किएकै हुन्छ। उसको मुखमा मात्र हैन मनमा पनि खुशी छ। बीस हलको मेलो आँफै कमाउँछ । जागिरेको भन्दा पनि व्यस्त छ उसको जीवन।
निकै मिहिनेत गर्छ। सितिमिती खेताला हाल्दैन। दाईँमा बाहेक।
बरु केटाकेटीलाई काममा लगाउँछ। छोराको आश गर्दा गर्दै पाँचवटी छोरी भइहाले। बिहान उठेदेखि खेतिपातीकै काममा जुट्छ। गोडा चालिस-पचास मुरी धान भित्र्याउँछ। खेत कहिल्यै बाँझो रहँदैन। धान काटेपछि गहुँ छरिहाल्छ। गहुँ भित्र्याएपछि मकै छर्छ। बारीमा कोदो पनि रोप्छ। हप्ताको दुई-तीन दिन मकै र ढिँडो खाए वर्षभरीनै भात खान पुग्छ। खान लाउन निर्वाह राम्रै चलेको छ।
सधैं भुसुक्क निदाइहाल्थ्यो तर आज निदाएको छैन। रेडियो खोल्छ। समाचार आइरहेको छ। हरेक दिनका समाचार उसलाइ उस्तै लाग्छ । फलाना नेताले यसो भने भन्छ। सोच्छ “बोलेर मात्र कसरी खान पुग्छ?”उ राजनीतिमा त्यति चासो राख्दैन। राजनीतिको भन्दा भोलि रोपाईँको बढी चिन्ता छ । यसपाली खडेरी परेको छ। भोलि रोपाईँलाई पानी पुगेन भने बरबाद हुन्छ।
कुलोको सिरानतिरका सबैले खेत रोपिसके। आज दिउँसो सिराने माइलासँग पानीकै लागि झगडा पर्यो । रिसले आगो भएको थियो हात चाहिं उठाउन सकेन। नाताले काका न परे। कुलोको पुछारमा घर भएपछि यस्तै हो। बीस ठाउँमा भाँच्छन् । कुलो खेततिर सोझ्याएर आयो घर आइपुग्दा सुकिसक्छ । पानी मजाले पर्दिए कसैसँग झगडा गर्न पर्थेन। रेडियोमा शास्त्रीय संगीत शुरु भयो। बन्द गर्यो। धेरैपटक कोल्टे फेर्यो तर निदाउन सकेन। चार बजेपछि जेठालाई उठायो र मसिनेकहाँ गोरु लिन पठायो। आफू फेरि कुलातिर लाग्यो।
रोपाईँ शुरु भयो । बाउसे थोरै भएकाले हाँसे कान्छोलाई दिनभरको काम थियो। बाउसे आएका मसिने र भुसुने काम कम गफ धेरै गरे। मसिने र भुसुने उसका परेली हुन् । पैसा तिरेर खेताला हाल्न गार्हो छ । खेतालाको भाउ निकै बढेको छ । बाउसेले दुईसय खोज्छन् खेतालीले पचहत्तर ।
पैसा बाउसेले बढी लिन्छन्, तर काम चाहिं खेतालीले धेरै गर्छन्। खेतालीलाई खाजामा चिया र चिउरा दिए हुन्छ। बाउसेलाई चाहिं चाम्रे दिनुपर्छ। अनि खुकुरी चुरोट पनि। चलिआएको चलन। पानी कम थियो, जसोतसो हल चल्यो। तर छिटै फुक्यो। भोलिको ठेगान छैन। पानी पर्ने कुनै छाँटकाँट छैन। यसपाली बाँकी आधा खेत बाँझै रहला जस्तो छ।
छोराछोरी ठूला भइसके। गाउँका कोहि कतार कोहि मलेसिया कोहि साउदीअरब पलायन भएका छन्। पलायन भएको पनि के भन्नु । सरकारले नै पठाउँदैछ । तिनका छोराछोरी बोर्डिङ स्कुल जान्छन् । उसका चाहिं सरकारी स्कुलनै जान्छन् ।
उसले बुझेको छ जहाँ पढे पनि मिहिनेत गर्ने र पढ्ने आफैँले हो । धेरै पैसा तिर्दैमा र सुकिला लुगा लगाएर बोर्डिङ स्कुल जाँदैमा कोही पनि जान्ने हुँदैन । तर, हाँसे कान्छी त्यस्तो सोच्दिन। आफ्ना छोराछोरी पनि बोर्डिङ स्कुल जाउन् भन्ने चाहन्छे उ ।
आफ्नो घर पनि डाँडारे माइलीको जस्तै ढलान गरेको होस् भन्ने उ चाहन्छे। माटोको घरको भुईँ सधैं पोत्नुपर्छ। वाक्क छे सधैं दैलो पोत्दा।
कुनै कुना पनि छोड्न मिल्दैन । सासुले देखिहाल्छिन्। हाँसे कान्छालाई इष्टमित्रको पनि दबाव छ। ससुरा घुमाउरो गरी ज्वाईँ विदेश जाउन र धन कमाउन् भन्ने इच्छा राख्छन्। गाउँमा मान्छेहरु उसको कुरा काट्छन् भन्ने उसलाइ थाहा छ । उसले केहि गर्न सकेन भन्छन् । त्यसैले आजकल उ अलि चिन्तित छ । सुर्ति पनि खान थालेको छ। सुर्ति खाएपछि उ यी सबै कुराहरु भुल्छ।
उसका बाउले आमालाई निकै दुःख दिएका थिए रे । बर्मा गएको दश वर्षसम्म बेपत्ता भएछन् । पछि फर्किंदा फुटेको कौडी पनि ल्याएनछन् । आफ्ना छोराछोरीले यस्तो कुरा सुन्न नपरोस् भन्ने उ चाहन्छ । तर, परिस्थितिले बाध्य बनायो ।
जाने भयो उ पनि कतार । टारीको खेत बेच्यो । तिनै जिम्मल काकासँग नपुगेको पैसा माग्यो। दलाललाई दुई लाख बुझाउनुपर्यो। जे होस् अब चाहिं उ पनि लाउरे हुने भयो। दंग छ। उसको घरमा पनि अब विदेशी सामान हुने भए । जाने वित्तिकै सबैलाइ एकजोर लुगा पठाइदिने सोचेको छ। गाउँका सबैलाई पुग्नेगरी विदेशी चकलेट पठाइदिने पनि सोचेको छ। गएको दुई वर्षपछि घर आउने सोचेको छ। घर आउँदा हातमा दुईतीन वटा सुटकेश होलान्। अलिकती सुन पनि ल्याउला। बिदेशी अत्तरले उ हिंडेको बाटो हरर बसाउँला । हाँसे कान्छी उसलाई लिन बजारसम्म आउली।
तीन वर्ष भयो । हाँसे कान्छो कतार गएको। ऋण तिरेर अझै सकिएको छैन। तै पनि पैसा पठाउँछ सकेको। मान्छे पाउँदा । कम्पनि राम्रो परेन । सोह्र घन्टा काम गर्नुपर्छ। दिउँसो निकै घाम हुन्छ। कपडाले टाउको छोपेर काम गर्नुपर्छ । वरपर सबै मरभूमि छ । मान्छे हिंडेको देखिंदैन ।
सोच्छ गाउँमा यति काम गर्दो हुँ त सबै खेत एक्लै कमाउन सक्थें। भनेको बेलामा पानी पनि खान पाइदैन खाना त परै जाओस्। राती अबेर कोठामा फर्किन्छ । सानो कोठा छ । तीन नेपाली अनि अरु पाकिस्तानी बंगाली आदि गरी आठजना सुत्छन्।
दिन यसरी नै बित्छन् । कतार आएदेखि उ हाँसेको पनि छैन । पहिले धेरै हाँस्ने भएकाले मुख चाहिं अझै त्यस्तै छ। साथिभाइले हाँसे कान्छोभन्दा उसलाई आजकल रिस उठ्छ ।
हाँसे कान्छी उसलाई असाध्यै माया गर्छे। नखाउ भन्छे तर उसलाइ सुर्ति नभइ हुँदैन । मान्छे पाउँदा सधैं एक बन्डल राधा सुर्ती पठाइदिन्छे । फोनमा अब फर्क भन्छे । फर्किने उसले पनि सोचेको हो तर ऋण नतिरी फर्किने कुरा भएन।
हाँसे कान्छी सासुसँगै बस्छे । उसको आश नभएपछि ऋण गरेर किनेकी छ एउटा बकेर्नो भैंसी । लैनो भैंसी किन्ने सोचेकी हो तर, बीस हजार रुपैयाँ जुटाउन सकिन। बकेर्नो भएपनि पाँचमुठी दुध दिन्छ। काली हो नाम। उसैले राखेकी । छोराछोरीलाई भन्दा भैंसीलाई धेरै समय दिन्छे। परिवारको आड त्यहि एउटा भैंसी छ । भैंसी ब्याउला र दुध घ्यु बेचेर घर राम्रोसँग चलाउँला भन्ने सोचेकी छ।
उ कतार गएपछि खेतिपातीको काम चाहिं छुटिसक्यो । अधियाँ दिएकी छ। हाँसे कान्छीको जीवन मेसिन जस्तै चल्छ । भैंसीको आइँ सँगै चल्न सुरु हुन्छ मेसिन।
कुँडो पकाउनु पहिलो काम हो । कुँडो बसालेपछि दैलो पोत्न थाल्छे। सासुले एक मुठी चिया दिएपछि घाँस काट्न जान्छे । बर्खा झरी केहि भन्न पाइंदैन। प्लाष्टिक ओडेर भएनि जानुपर्छ । हात काट्यो भने घाउमा झुम्रो बाँधेर भएनि जानुपर्छ। भैंसी पनि सौखिन छ । मीठो घाँस मात्र खान्छ। भकारो सफा भएन भने बेलुका त्यहि पाँच मुठी दुध पनि दिँदैन । आँङ कन्याइदिए काली निकै खुशी हुन्छ।
भैंसी आज कराएको करायै छ । अरुबेला नचली बस्ने काली आज दाम्लो चुँडाम्ला झैं गर्दै छ । भोकाएर हो की भनी पेट छामी तर भैंसी डम्मै छ । पल्लाघरे लिकिनलाई बोलाइ ।
उनले भैंसीको हाउभाउ बुझिहाले र भने, “रांगो खोजेको हो।” हाँसे कान्छीले कुने प्रतिक्रिया जनाइन तर भित्रभित्रै खुशीले गदगद भई। राँगो लाउन भोलिपल्टै डाँडामा लिएर गइ । केहि दिनपछि लिकिनलाई बोलाएर फेरि भैंसी देखाइ । “भैंसी ब्याउने भएको छ ।” ढुक्क भइ।
दिन सधैं उस्तै हुन्थे तर, आज अलि फरक छ । कालीले आज बिहान आँई गरेन । बिहानदेखि बसेको बस्यै छ । पछाडिबाट पानी फालेको फाल्यै छ । कान्छीले उठाउन प्रयास गरी । आंङ कन्याइदिइ । मीठो घाँस खान दिइ । तर उठेन । कुँडोमा एक पसर ढुटो थपिदिइ । आधा पसर ढिके नुन पनि थपिदिइ । तर खाएन । कालीलाई सन्चो भएन । उ आत्तिइ । लिकिनलाई गुहारी ।
उनले फुक्न सल्लाह दिए । भुइंफुट्टालाई फुक्न बोलाइ । भुइंफुट्टाले कुचो र पातीले फुके । अलिअली चल्यो भैंसी। खुशी भइ । भुइंफुट्टाले बोल्दिए । “भोली उठ्छ भैंसी ।” अल्ली ढुक्क भइ । त्यही पनि रातभरी सुत्न सकिन।
भैंसीले आईँ नगरे पनि उ बिहानै उठी । तर काली उठेन । आज झन् चल्दै चलेन । हाँसे कान्छी आत्तिइ । के गरौं के गरौं भयो । दाउरो उचाली र भैंसीलाई हिर्काइ । अहँ चलेन । कान्छी कराएको सुनेर लिकिन आँफै आए । लाइट बाल्दै । सबैतिर छामे र हेरे । केहि बोलेनन् । हाँसे कान्छीले बुझी ।
भित्र पसी र डांको छोडेर रोइ । भैंसी मर्यो। सँगै धेरै इच्छाहरु पनि मरे। शायद काल पनि पल्क्यो।
उता कतारमा हाँसे कान्छो पनि सुतेको सुत्यै छ । मुख सुन्निएको छ । साथीभाईहरुले हेरेका छन्। खाना नखाएको तीन दिन भयो । सुर्तिचाहिं छोडेको छैन। अस्पताल लानका लागि इन्सुरेन्स पनि थिएन। हालत निकै खराब देखेपछि साहुँले अस्पतालसम्म लग्दिने भयो। रगत दिशा पिसाब सबै जाँच भयो। सजिलै रोग पत्ता लाग्यो। घांटीको क्यान्सर।
क्यान्सर अरुलाई मात्र हुने रोग हो भन्ने ठानेको थियो। पहिले अरुलाई भएको मात्र सुनेको थियो। आज आँफैलाई भयो भन्ने सुन्यो। विश्वास लागेन तर गर्नसक्ने केहि थिएन। कम्पनिले घर जाने सस्तो टिकट सम्म काटिदियो।
हाँसे कान्छो विस्तारामा पल्टेको छ । दिन गन्दै छ । सबैले मर्ने नै हो अलिकति चाँडो मर्दा के भयो । चित्त बुझाउँछ। पछाडि फर्केर हेर्छ। केहि पाप गरेजस्तो लाग्दैन। सूर्ति अरुले पनि खान्छन् मलाई नै किन यस्तो भयो।
जवाफ पाउँदैन । पूर्व जुनीको सजाय होला भन्ठान्छ । पछुताउँछ विदेश गएकोमा। त्यहि खेत कमाएर पहिले पुगेकै थियो । घरमा रंगिन टिभी थिएन । घर ढलान गरेको थिएन। छोराछोरीलाइ बोर्डिंङ हाल्न सकेको थिएन। अरु त पुगेकै थियो। अब चाहि भएको एउटा छोरो विदेश नजाओस् भन्ने उसको इच्छा छ।
हाँसे कान्छो मर्यो। तर, हाँसे कान्छी रोइन। आंशु रित्तिइसकेका थिए। हाँसे कान्छो मरेपछि गाउँमा उसको बोलाउने नाम फेरियो । बिधुवाई कान्छी भइ ।
छोराछोरीको सबै जिम्मा उसैको काँधमा आयो । गरिब थिइ झन् गरिब भइ। गाउँलेहरुले वास्ता गर्न छाडे। उसको घरको बाटो पनि हिंड्न छाडे । हाँसे कान्छीले हांस्न बिर्सिसकी।
छोरीहरुको बिहे गर्दिए अलि हल्का होला भन्ने सोची। ऋण खोजी । जसोतसो सबै छोरीको बिहे गरिदिइ। ऋणमाथि ऋण थपियो । छोरीहरु नभएपछि खेतको काम गर्ने पनि कोहि भएन। छोराले चाहिँ आँफै बुहारी ल्यायो। जात हेरेन। गाउँलेले अझ भन्ने बाटो पाए।
बिहे गरेपछि छोरो बदलियो । आमाकोभन्दा बढी बुहारीको कुरा सुन्न थाल्यो। बुहारी सुखसयलमै हुर्केकी परी। बुहारीले भनेको लुगा पनि किन्दिन सकेन। गहना त परै जाओस् । हेर्दाहेर्दै छोरो बाउ बन्ने भयो । क्याम्पस जाने उमेरमै ।
घर व्यवहारले पिरोल्न थाल्यो । बच्चाको भविष्य सोच्यो । ऋण पनि तिर्नु पर्यो । जाने भयो उ पनि विदेश । खोरियाको खेत बेच्यो । मलेसिया रोज्यो।
छोरो गएपछि बुहारी माइत गएर बसी। हाँसे कान्छी एक्लै भइ। छोराले पठाएको पैसा बुहारीको हातमै हराउन थाल्यो। हाँसे कान्छी सधैं अरुको भर परी । पहिले लोग्नेको । पछि छोराको आश गरी । अब भर पर्ने पनि कोहि भएन। अब उ सँग दूईटा बाटा मात्र भए। कि मर्ने कि गर्ने । मर्ने खोजेकी हो तर, सकिन । बाँच्न बाध्य भई । बाँच्नका लागि संघर्ष पनि गर्ने भई ।
आजकल भएको खेत आँफै कमाउन थालेकी छ। मौसम अनुसारको तरकारी लगाउँछे । कृषि अफिसबाट ऋण लिएर एउटा भैंसी पनि किनेकी छ । मल खादकै मलले पुग्छ । चिनी मल हाल्दिन। कृषि अफिसले अर्गानिक तरकारी भनी प्रमाणित गरिदिएको छ।
व्यापारीहरु घरै तरकारी किन्न आउँछन् । दोब्बर पैसा तिरेर अर्गानिक तरकारी लान्छन्। घर माटाकै छ । कान बुच्चै छ । तर पनि उ खुशी छ । गाउँमा प्रौढ शिक्षा पढ्न थालेपछि अक्षर पनि चिन्न थालेकी छ। आमा समूहकी अध्यक्ष पनि भएकी छ। हरेक हप्ता उसैको घरमा मिटिङ बस्छ। उ फेरी हाँस्न थालेकी छ । गाउँलेहरु पनि उसलाई फेरी हाँसे कान्छी नै भनी बोलाउँछन्।
(स्रोत: Setopati)