~किशोर सापकोटा~
छि तपाई त – शीलाले मेरो हातलाई हुत्याई ।
उसको अनुहार ढोडे खोलामाथिवाट अस्ताउन लागेको घाम भन्दा रातो भएको थियो ।
मैले धेरै दिनसम्म साहस जुटाएपछि पहिलो पटक हात बढाएको थिएँ ।
चर्न पसेका वाख्राहरु खोज्न हामी झाडीको बाटोबाट अगाडि बढेका थियौं । सुर्यास्त हुनै लागेको थियो । हामी गाइ वाख्रा लिएर घर जाने वेला भइसकेको थियो ।
मेरो प्रयास उसलाई आकस्मिक थियो र उसको प्रतिक्रिया मलाई पनि आकस्मिक थियो । म भन्दा उमेरमा केही कान्छी भएपनि शारिरीक परिपक्वता उसमा देखिन्थ्यो । म भित्रभित्रै केही समय देखि ऊपट्टी तानिएको थिएँ र यो एकान्तमा आफुलाई नियन्त्रण गर्नै नसक्ने अवस्थामा पुगेको थिएँ ।
ऊ म संग लजाएकी थिई । डराएकी थिई । अनुहारभाव हेर्दा लाग्थ्यो – लजाएकी थिइ । शायद आज मात्रै उसलाई आफु तरुनी भइसकेको अनुभुति पनि भएको थियो होला । मेरो वाक्य नै फुटेन । के भन्ने र ?
झुम्राका दुलहीहरु वनाएर खेल्दै हुर्किएकी केटीलाई आज मात्रै मैले हुर्किएको आभास दिलाएको थिएँ । तर पनि मेरो हात के का लागि अगाडि बढेको थियो भन्ने विषयमा म नै अनभिज्ञ जस्तो थिएँ ।
ऊसले घोसे मुन्टो लाइ ।
यत्रो पढेको मान्छे – आँखामा अब आँसु पनि भरेर ऊ वोल्न थाली – वुद्धि भने के भएको होला ? पख्नुन वुवालाई भनिदिन्छु ।
मेरो सातो गयो । ऊ सातमा पढ्दै थिई । म एसएलसी दिएर खाली बसेको थिएँ ।
मैले पहिलो चोटी थाहा पाएँ, ऊ मलाई धेरै पढेको भनेर सम्मान गर्दी रहिछे । तर के गर्नु उसको मनको सम्मान पनि मेरो हर्कतले समाप्त भइसकेको थियो ।
ऊ वाख्रा धपाउंदै अगाडि लागी । म उसको छायाँ बनेर पछि लागिरहें । बोल्ने साहस नै भएन । वुवालाई नभनी देऊ पनि भन्न सकिन ।
उसको वुवाको अनुहार सम्झें । कुनबेला हातमा लौरो लिएर मलाई आएर ठटाउने हुन् भन्ने त्रास भइरह्यो बाटोभरी । उसको वुवा मेरो घरमा आएपछि मेरो वुवा पनि थपिएर दुईजना भएर भकुर्लान भन्ने लाग्यो । त्यो भन्दा पनि बढि पिर टोल समाजमा हल्ला फैलने भो भन्ने भयो । गाइवाख्रा घर पुर्याएर आमाको काखमा लाडिँदै खाजा खाने बानी मेरो थियो । आमाले काखे वालक जस्तै व्यवहार गर्नुहुन्थ्यो । तर अव मैले यस्तो हर्कत गरें भन्ने थाहा पाउँदा आमाले के ठान्नु होला जस्तो लाग्यो ।
विद्यालयमा म सबैभन्दा जेहन्दार र इमान्दारको रुपमा कहलाएको थिएँ । मेरो कुरा सुनेर मेरा साथीहरु र गुरुहरुले के भन्लान् भन्ने पीर लाग्यो । तर के गर्नु म उसलाई संझाउन सक्ने पक्षमा थिइन । बरु जे होला भनेर परिणाम बेहोर्न तयार भएको थिएँ ।
घरको नजिकै पुग्दा माओवादीका सेनाहरु काँधमा बन्दुक बोकेर टाटेपाटे कपडा लगाएर कतै जाँदै थिए । उनीहरु शायद कतै सेनासँग मुठभेठ होला कि भनेर डराइ डराइ हिडेका थिए होलान् । तर मलाई भने उनीहरुसंगै डर लाग्यो ।
अब शीलाले उसको वुवालाई भन्छे । उसको वुवाले आफै आएर ठटाए त बरु सहन्थे तर माओवादीलाई भने भने के होला भनेर डर सुरु भयो । माओवादीलाई केवल जनतालाई कारवाही गर्ने बहाना चाहिएको थियो ।
उनीहरुले अब मेरा हात खुट्टा भाँच्ने भए भन्ने लाग्यो । आफ्ना हात खुट्टा हेरें । चकचके भएकोले मिल्ने जति ठाउँमा हातखुट्टा भाँच्ने वा मर्काउने गरी सकेको थिएँ । अव माओवादीको हातमा नै परेपछि त के वांकी राख्लान् र जस्तो लाग्यो । आफ्ना हातहरुलाई निहालेर हेरें ।
के मेरा हातहरु माओवादीले काटिदेलान् त ? मनमनै डर लाग्यो ।
मेरो अगाडिबाट एउटा बन्दुके पार गर्दै थियो । उसको बन्दुकको नालमा आँखा पुर्याएँ ।
यिनीहरुले गोली नै हानिदिन पनि के भर ? – मन मनमा तर्कना आयो । गाऊँमा हल्ला हुनु भन्दा त बरू एकै पटक गोली हानिदिए पनि हुन्थ्यो जस्तो पनि लाग्यो । तर कता कता आफ्नो जीवनको माया पनि लाग्यो ।
गाऊँबाट स्कुले वालवालिकालाई माओवादीले आफ्नो सेनामा भर्ना गराउँदै थियो । अरु सजाय दिनु भन्दा त वरु यिनीहरुको सेनामा लगिदिए पनि हुन्थ्यो जस्तो लाग्यो । तर मनमा अर्को कुरा खेल्यो । जे पर्छ गाऊँकै सजाय बेहोर्छु । माओवादीको सेनामा गएपनि सुरक्षा फौजको कारवाहीमा होस् वा चौकी आक्रमणमा होस् मारिनै पर्छ ।
मनभरी डर भरिएको वेला शीला भने मलाई छोडेर आफ्नो घरतिर छिरी । डर दोव्वर भयो । उसलाई एक पटक हेरें, उसको अनुहार अँध्यारो थियो र आँखामा आँशु भरिएको देख्न सकिन्थ्यो ।
म घर पुगेर खोरमा वाख्रा समेत हुल्न नपाइ ज्वरो आयो भनेर सुतें । सिरकले मुख छोपें । अलिअलि शिरकले वाफिएर भएपनि ज्वरोको छनक दिन खोजें ।
ज्वरो आयो भन्दा त म माथिको आक्रमण केही कम होला कि भन्ने मनमा झिनो आशा थियो । ओछेनमा सुते पनि कान भने घरको आगनमा नै तैनाथ गरेको थिएँ । शिलाको वुवा कुन बेला आउने हुन्, एक्लै आउने हुन् कि माओवादी लिएर आउने हुन् । मेरो वुवा आमासँग के भन्ने हुन् । यस्तै प्रश्नहरु मनमा आइरहे । साँझसम्म पनि नआए पछि एक रात त बढि बाँच्न पाउने भए भन्ने पनि लाग्यो । डरपनि विचित्रको हुँदो रहेछ । झन् झन् बढ्दै जाने ।
बेलुका पनि खाना खाइन । त्यत्तिकै सुतें । डर र भोकले रातीबाट साँच्चिकै ज्वरो आयो ।
विहानसम्म कसैले पनि मेरो हर्कतको बारेमा चर्चा गरेको सुनिन । शीलाको वुवा घरमा थिएनन् कि, या त माओवादीलाई खोज्दैछन् कि, यस्ता तर्कना पनि मनमा आए ।
घाम झुल्किइसकेपछि वुवा धामी खोज्न जानु भयो । वाख्रा हेर्न जंगलमा जादा मसाने भुत लागेको उहाँहरुले अनुमान गर्नुभयो । छोरोको मनको भुतवारे अनुमान पनि कसरी गर्नु ?
वुवा भात खाने बेलासम्म पनि घरमा आउनु भएन । शायद धामी भेट्नु भएन होला । पुरै गाविसको भुत भगाउने जिम्मेवारी एक दुइ जना धामी झांक्रीको जिम्मामा हुन्छ । रोग निको पार्ने डाक्टरहरुको दरवन्दी त नजिकका स्वास्थ चौकीहरुमा हुन्छ । तर पियनले उपचार गर्ने हुन् । डाक्टर जति शहरमा बस्छन् रे । आज गाऊमा डाक्टर नभएको पनि आनन्दै जस्तो भयो मलाई । डाक्टर आएर नापेर ज्वरै छैन भनिदिएका भए आपत पर्ने थिएन त ? आमा तल आगनमा के काम गर्दै हुनुहुन्थ्यो ।
काकी दाइ खोइ ? शिलाको आवाज थियो ।
मेरो मुटुको धड्कन वढ्यो । आफ्नो वुवा लिएर अब आइपुगी भन्ने लाग्यो । आँखाका वरीपरी तोरीका फुल नाच्न थाले ।
ज्वरो आएर सुतेको छ – आमाको जवाफ थियो ।
ज्वरो आयो ? ………………..
आमाको पुरै जवाफ पनि नसुनी ऊ दौडँदै भर्याङ चढेर मेरो ओछेनमा आइपुगी ।
ज्वरो आएको हो ? – शीलाले मेरो निधारमा हात राखेर सोधी ।
मैले उसको अनुहार हेरें ।
अघिल्लो दिन भन्दा राम्री थिइ । शायद अब उसको जीवनमा यौवन थपिएको थियो र अघिल्लो दिन मात्रै थाहा पाएकी थिइ । हिजोसम्म मलाई एउटी वालसखाको रुपमा भेट्न आउँथी । आज भने मलाई एउटी युवती भेटन् आएको आभाष भयो ।
तिमीले वुवालाई भनिनौ ? – मेरो निधारमा रहेको उसको हातलाई मेरो हातले थिचेर सोधें ।
ए कुरा त्यसो पो ? – ऊ अलिकति झुकी र निधार खुम्च्याएर भनी – यस्ता लुन्दीले किन हात बढाउनु ?
मपट्टी झुक्दा मेरा आँखा भने उसको अलिकति खुलेको सर्टका टाँकहरुपट्टी केन्द्रित थिए ।
अनायसै मेरा हात अर्को चोटि बढे । उ रिसाए जस्तो गरी । तर आक्रोस थिएन ।
अहिले मारिदिन्छु, चाँडो वाख्रा लिएर आउनु । पर्खि रहन्छु – ऊ मेरो जवाफ नै नपर्खिइ वाहिरिइ ।
म केही निको भयो भन्दै भात खाएर वाख्रा लिएर निस्कें ।
मलाई त्यो दिन भिन्नै अनुभुत भएको थियो ।
अब मलाई शीलासँगको एकान्तमात्रै होस् भन्ने लागिरहन्थ्यो । तर ऊ भागीरहन्थी । मैले धेरै सताएँ भने कहिलेकाहिँ आँखाभरि आँशु पार्थी । आफै तर्किन्थी । तर मलाई गाली गर्दिनथी ।
हुर्किदै गएकी शीलाका लागि विवाहका प्रस्ताव पनि प्रसस्तै आउन थाले । गाऊँमा हुर्किएका केटीहरुका विवाह हुन थाले भने युवाहरुलाई भने पीर पर्छ । हो नि, गाऊ नि निरस लाग्न थाल्छ ।
शीलाको विवाह नै गरिदिइ हाल्छन् कि जस्तो भयो । माओवादी सेनामा जानु भन्दा त घर गरी खाओस भन्ने चाहना वावुआमाको हुन्छ । फेरी उसका वुवाआमा मेरा जस्ता शिक्षित पनि थिएनन् ।
म केही केटाहरुलाई लिएर शीलाको वुवालाई सम्झाउने उदेश्यले गएको थिएँ ।
हेर्नुहोस्, शीला सानै छे, यति सानामा विवाह गरिदिनु हुँदैन – मैले भनेको थिएँ ।
के को सानी हुन्छे, थुक ………………… – शीलाको वुवाले जति गैरजिम्मेवारीपुर्वक आफ्नी छोरीको बारेमा टिप्पणी गरे, मलाई त्यो भन्दा धेरै गुना बढी नराम्रो लाग्यो । यस्ता वाऊ छन्, यसले जीवनमा धेरै दुख पाउछे नि भन्ने पनि लाग्यो । अरु केटाहरुलाई भने रमाइलो लाग्यो । हाहा गरेर हाँसे । केटाहरुलाई गफको विषय बन्यो ।
केही दिन बिते । माओवादीको ज्यादति बढ्दै गयो । गाऊँका युवायुवतीहरुलाई जबरजस्ती सेनामा भर्ना गराउन थाले । युद्धका नाममा धेरै युवायुवतीहरु मारिने क्रम तीव्र थियो । माओवादीलाई आफ्नो संख्या बढाउनु थियो । गाऊँमा हुर्किएका युवाहरु विदेश गइहाल्थे । माओवादीहरु यसैकारण स्कुले विद्यार्थीलाई सेनामा भर्ना गर्दै थिए ।
एक रात सुतिरहेको बेला वुवा र आमाको कुरा सुनें । मलाई त भोली पल्ट नै काठमाडौ पठाउने कुरा भएको रहेछ । वुवा आमाले उज्यालो नहुँदै डाँडा कटाउने कुरा गर्नुभयो । मेरो मनमा भने औडाहा भयो । भोली पल्टवाट गाइ वाख्रा हेर्न जान नपाइने भयो । शीलासँगको साथ नहुने भयो भन्ने पिर लाग्यो ।
राती नै शीलाको कोठामा पुगें । मलाई भोलिपल्टै काठमाडौ लान लागेको जानकारी दिए । ऊ पनि रोइ । मेरो काखमा पल्टिएर । म पनि धेरैबेर रोइरहें । घुँक्क घुँक्क । कसैले थाहा नपाउने गरी । उज्यालो हुने वेलामा उसंग छुट्टिएँ । छुट्टिने वेलामा माया गर्न चाहें । ऊ तर्किइ । हातहरु फेरी पनि पन्छाइ । शारिरीक रुपमा आकर्षक देखिए पनि मानसिक रुपमा ऊ कमजोर नै छे भन्ने लाग्यो । मलाई टाढा राख्न पनि चाहन्न तर पुर्ण रुपमा स्वीकार गर्न पनि सकिहाल्ने भएकी छैन भन्ने लाग्यो । भारी मन लिएर बिदा भएँ ।
म हिँड्दा ऊ भर्खर ढोका खोलेर घरमा कुचो लगाउन लागेकी थिई । मैले अनिदा आँखाले हेरें । उसका नौ नारी गले भन्ने खुट्याउन कुनै गाह्रो परेन । किनकी उसले कुचोलाई समेत भुइँमा टेकाएर मलाई हेरिरहेकी थिई ।
देउराली, वायकजुङ, खोरुङ्गा हुँदै म भने काठमाडौतर्फ लम्किँदै थिएँ । तर मन भने फर्किदै थियो, मेरो वेसी, गाइवाख्रा र शीलापट्टी । खोरुङ्गा खोला कट्न लाग्दा आमालाई संझि एँ । मन थाम्न गाह्रो भयो र पीलपील रोएँ ।
खोरुङ्गा कटेपछि उकालो सुरु भयो । त्यसै त उकालो, अनि मन भने गाऊँतिर । क हाँ पाइला सर्नु । वुवाको हातमा झण्डिदै हलिमेला आइपुगें । घाम जिरीखिम्तीको डाँडोबाट अगाडि लागिसकेका थिए । तर नरमाइलो गरी खोरुंङ्गा सुस्सायो । भित्ताभरी माओवादीका नारा लेखिएका थिए । एउटा घरमा सुराकी भएको आरोपमा माओवादीले ताल्चा पनि लगाएका थिए । त्य हाँ एउटा चौतारो थियो । फलैंचा पनि रहेछ । अभि सुवेदी र अरुले आफ्ना वुवा आमाका नाममा ब नाएका रे । अभि सुवेदीको नाम मैले धेरै सुनेको थि एँ । नेपालका एक विद्वान । तर काठमाडौ बस्ने ।
यी वुढाहरुले काठमाडौ बस्नुको सट्टा यतै गाऊमा बसेर यता कलेजहरु खोलिदिएको भए मैले काठमाडौ जानुपर्ने त थिएन, मेरो गाऊँ र शीलालाई छाड्नु पर्ने त थिएन – मनमनै भनें – तर यी माओवादीले यस्ता विद्वानलाई गाऊमा बस्न के देलान् र ? माओवादीका तारो वुद्धिजिवीहरु नै हुने गरेका छन् ।
कलेज नै नभएको कारण पनि म हिँडेको होइन । केवल अभि बुढासँग रिस उठेको मात्रै हो । बुढाहरु गाऊमा बसेका भए माओवादी हुने थिएनन् कि भन्ने आश लागेको हो ।
बेलुका जिरीखिम्ती आएर बास बस्यौं र भोलीपल्ट वसन्तपुर । अब राजधानीतर्फ जाने हुँदा एक खालको उत्सुकता र अर्कोथरी मानसिक त्रास दुबै थिए । वुवा काठमाडौ आएर छोडेर फर्कनु भयो । केही दिन यादले सतायो । फेरी बिर्सिएँ बिस्तारै । आरआर कलेजको विद्यार्थी थिएँ । राती कलेज गयो । दिनभर घुमघाम ।
घुम्दा देख्थें – आरआर कलेज, ल क्याम्पस, विश्वभाषा क्याम्पस, वाल्मिकी क्याम्पस, शंकरदेव क्याम्पस, त्रिचन्द्र क्याम्पस, पद्मकन्या क्याम्पस । एक किलोमिटर वरीपरी यति धेरै क्याम्पस केन्द्रित गर्ने र गाऊँघरलाई भने शिक्षाबाट टाढा गर्ने नीतिले नै यी माओवादी बढेका हुन् । गाऊँ गाऊँमा कलेज भएको भए, सबै पढ्थे, बुझ्थे अनि बन्दुक समाउन को जान्थे र ? युद्धका लागि बन्दुक बोकाउने नेताहरु जति जिम्मेवार छन् त्यो भन्दा बढी जिम्मेवार राज्य चलाउनेहरु छन् ।
एकदिन वुवाको चिठि आयो । चिठीले मेरो मलाई नराम्ररी चिमोट्यो ।
गाऊँमा माओवादीको ज्यादति तिब्र हुँदै गएपछि माओवादी सेनामा पठाउनु भन्दा शीलाको विवाह गरिदिनु उपयुक्त हुने निर्णयमा शीलाको परिवार पुगेछ ।
वाल्यकाल देखि मसंगै हुर्किएकी शिला मेरा हर्कतमा रोइरहन्थी । अब अर्कै अपरिचित केटासँग पहिलो रात कसरी बिताइ होला भन्ने मनमा लाग्यो । कता कता अब त पुर्ण त एक्लो भएको महसुस भयो ।
दशैमा घर गएँ । शीला आफ्नो घरमा थिई । उसको माइती घर मेरो लागी सुन्य थियो । दशै उत्सव जस्तो लागेन ।
टीकाको भोली पल्ट सबै जना मामाघर जानुभयो । म भने गइन ।
खाटमा सुतिरहेको थिएँ ।
दाइ ?
शीलाले आँगनबाट बोलाई ।
मैले माथि बोलाएँ उसलाई ।
मेरा लागि बारीबाट अम्बा टिपेर ल्याएकी रहिछे । एकले अर्काको अनुहार हेर्यौं। एकले अर्कालाई खुवायौ ।
बिस्तारै हामी अँगालोमा बेरिँदै गयौं । आज ऊ मलाई पुर्ण लागिरहेकी थिई ।
कति समय देखि मैले पालेर बसेको इच्छा पुरा भइसकेको थियो ।
हामी मनमनै सन्तुष्ट थियौं । एकअर्कासँग अलिकति लजाएका पनि थियौं ।
मैले विस्तारै उसको अनुहार उठाएँ ।
आज त तिमी रोइनौ नि ? – मैले अनायसै सोधें ।
अब अनुभवी भएकी छु – थोरै लजाउँदै उसको जवाफ थियो ।
(स्रोत: NepalPlus)