कथा : हाडखोडा र बृद्ध

~टिका खरेल सुवेदी~

नीलमणी झैं नीलो आकाश चँदुवाझैं टाँगिएको चारोको जोहोमा निस्किएका चराचुरुङ्गीहरु झूण्ड–झूण्ड भै रमाउँदै मीठो कलरवका साथ चिरबिराइरहेका थिए । सुनसान जमीन उदास अनुहार लगाएर बोझिलो निष्तब्धतामा बाँझै पल्टिएका थिए ।

तिनै फाँटिला जमिनमा चर्ने गाइहरु बेलाबेला टाउको उठाउँदै आफ्ना दूधे बाच्छा–बाच्छीहरुको मायाले होला–हवा गर्दै कराउँथे । गाइमा मातृत्वले भरिएको आवाजले मेरो शूण्यताले भरिएको मनलाई तान्यो । म एकैछिन ती गाइहरुको प्रेम मिश्रित आवाजमा अलमलिन्छु ।

महिनौं दिनको तुषारो बल्ल रोकिएको छ । घाम पनि सकेसम्म रापिलो भएको थियो । तुषारोको ओइरोले दिक्दार भएका बोटबिरुवाहरु घामले रापिलो आँतमा घाम ताप्दै जमिन तिरै घोत्लिएका थिए । म तिनै सुनझैं फैलिएका हाँगाको छहारिमा बसेर अलिपर रहेको सिमलको बोटमा रहेका हाडखोडाहरुको गुँडलाई नियालिरहेकी थिएँ । त्यो रुखमा १२–१५ वटा जति हाडखोडा पखेटा फटफटाउँदै वल्लोहाँगा–पल्लोहाँगा गरेको देखिन्छ । त्यही रुखको फेदमा एउटा बूढो हाडखोडा रुखमा चढ्नै नसक्ने भएकोले लुरुलुरु हिँडिरहेका थिए । उसको परिवारका अन्य सदस्यहरु पूmर्तिसाथ रमाइरहेपनि त्यो बूढो हाडखोडा कसैको सहारा नपाएर त्यसै आफ्नो लामो चुच्चो ठकठक गर्दै जमिनमा भौंतारिरहेको थियो ।

यस्तैमा एउटा व्याधा शिकार गर्न त्यहाँ आइपुग्यो । उसले त्यो सिमलमा रहेका चराहरुलाई निशाना बनाउन खोजेको देखेर म अत्तालिँदै त्यो शिकारीलाई ठूलो स्वरले चरा नमार्न भन्दै कराउँछु । व्याधाले मेरो गालीलाई बेवास्ता गर्दै रुखमा चढ्न नसकेर जमिनमै असहाय बनेको हाडखोडालाई समाएर निर्ममतापूर्वक हत्या गरेको देखेर म त्यो पापी व्याधालाई त्यहाँबाट लखेट्छु । व्याधा आफ्नो दिनभरको शिकार लिएर आफ्नो गन्तब्य तर्फ लाग्यो ।

परबाट एक बृद्ध मानिस आफ्नो कुप्रो शरीर लिएर म भएतिर आउँदै गरेका थिए । उनको पछिल्तिर एउटा कालो कुकुर लुरुलुरु पछ्याइरहेको थियो । मेरो छेउमा आएर उनले मलाई ठम्याएर हेरे । मैले अभिवादन स्वरुप नमस्कार गरेँ । मैलो भएपनि कालो कोट र कमिज सुरुवाल लगाएका बृद्धको बुढ्यौलीले चाउरिएका गालामा मीठो मुस्कान छर्दै कठोर परिश्रमका कारण सिथिल बनेको शरीर तीन ठाउँ भाँचिएर रसायनले जोडेको फलामे हतियारझै पीडाको खियाले डल्लो पारेको थियो । उसँगै आएको कालो कुकुर उनको छेउमा आएर लुसुक्क बस्यो ।

हुनत उनका ६ भाइ छोरा ८–८ बहिनी छोरी थिए । सबैजना छोराहरुको बिहे गरेर आ–आफ्नो गरीखाने भएका थिए । छोरीहरु प्नि बिहे गरेर आ–आफ्नो घरमा गइसकेका थिए । श्रीमतीको स्वर्गवास भएपछि बृद्धलाई छोराछोरीले वास्ता गर्न छोडेपछि आपूm एक्लै एउटा कटेरो बनाएर सकिनसकी खाना बनाएर खाने गर्थे । बेसाहारा बनेका बृद्धलाई छोराहरुले आफ्नो बाउ भत्र पनि लजाएको देखेर समाजमा छोराहरुको कुरा काटिन थालेपछि ६ जना छोराहरुले बाबु पाल्ने तालिका बनाएका थिए । एउटाको भागमा २ महिना पथ्र्यो । यसरी आँखाको कसिङ्गरझैं बनेका बृद्धको मुहारमा श्रीमतीको निधनपछि कहिल्यै खुशिको भाव झल्केको थिएन । मुहारमा उदास रेखाहरु कोरिएका थिए ।

यी बृद्ध मानिसको एक्लोपनले गहिरो उत्सुकता र दिक्दारीको भावले मेरो मन भरिएको थियो । मैले नचाहेरै पनि उनको पीडाको घाउको खाडो उप्काउन पुगेँ । पीडालाई आँसुले पखाल्दा पखाल्दै उनका आँखामा आँसुको खडेरी परेको थियो । दुःखको भवसागरनै उ¥लँदा पनि आँखाहरु रसाउन सक्दैनथे । त्यसैले मैले उनको खाटा बसिसकेको घाउलाई उप्काउँदा पनि मेरो सवाल सुनेर आँफ्ना भाँसिएका आँखा उठाएर क्षितिजलाई नियाल्दै हल्का सास फेरेर करुण मिश्रित आवाजमा आफ्नो कथा सुनाउन थाले ।

उनकी आमा उनी र उनको जुम्ल्याहा दाइ जन्माएर स्वर्गवास भएपछि उनी मावलीघरमै हुर्किएका रहेछन् । आमाको माया पाउन नसकेतापनि हजूरआमाको काखमा हुर्किएछन् । मावली घरमै पहाडी पाखा पखेरामा नाँच्दै खेल्दै पाखो वारीमा घाँसदाउरा गर्दै वालापन वितेछ । हजूरआमाको निधनपछि १७ वर्षको उमेरमा बिहे गरेर घरजम गर्न श्रीमतीका साथ मधेश झरेछन् । मधेशमा जङ्गली जनावरको कुनै परवाहनै नगरी स्याउलाको झुप्रोमा ६–७ बिघा जमिन फडानी गरेर बसेछन् । औलोको महामारीमा परेर आफ्नो पहिलो सन्तानलाई गुमाउनु परेछ । जेठो छोरोको कुरा गर्दागर्दै उनको अनुहार उदासिनताले डुबेको देखिन्थ्यो । उनको उदासिनतामा त्यहाँ उभिएका बोटबिरुवाहरु पनि उदासभाव बोकेर टुलुटुलु हेरि मात्र रहको भान हुन्थ्यो । उनको कुराहरुलाई म छायाँझैं निःशब्द सुनिरहेकी थिएँ । बृद्धको मन भक्कानियो । उनी एकछिन चूप लागिरहे । दुबै हातको हत्केलाको आडमा स्तब्ध भएर जमिन तिर घोत्लिरहेँ । मलाई पनि उनको पीडालाई फेरि कोट्याइरहन मनलागेन ।

एकछिनको मौनतालाई भङ्ग गर्दै बृद्ध फेरि आफ्नो अतीत पल्टाउन थाल्छन् । बृद्धको अनुहार आफ्नो माइलो छोरोको कुराले झन निचोरेको कागतीझैं हुन पुग्छ । उनी भन्छन् माइलो छोरो बाँचेका भए नानी मैले अहिले जोगीजस्तो भएर आँखाको कसिङ्गर हुनपर्ने थिएन । उसले त मलाई असाध्यै माया गथ्र्यो । उनीहरु सुतिरहेकाबेला जङ्गली हात्तीले आएर उनकै आँखाले हेर्दाहेर्दै कुल्चिएर उनको माइलो छोरालाई मारेछ । उनीहरुले कसोकसो भागेर ज्यान बचाएछन् ।

माइलो छोरोलाई हात्तीले कुल्चेर मारेपछि उनकी श्रीमती त्यही शोकमा थलिएर स्वर्गवास भएकी रहिछन् । श्रीमतीको निधनपछि आमाले गर्नुपर्ने माया पनि आपैmले दिएर आफ्नो सन्तानहरुलाई हुर्काउँदै मधेशमा आफ्नो जमिन जोत्दै बसेछन् । ४० वर्षकै उमेरमा विदुर भएपनि छोराछोरीको लागि अर्को बिहे नगरी बसेछन् । आफूले पढ्न नपाएपनि खेतीपाती स्याहार्दै छोराछोरीलाई भने बिद्यालय पठाएछन् तर कान्छोछोरा कान्छीछोरीले बाहेक कसैले एस.एल.सी.सम्म गर्न सकेनछन् । उमेर पुगेपछि सबै छोराछोरीको जोडी बाँधिदिएर सम्पत्तिमा झगडा नपरोस् भनेर आफूछँदै अँशवण्डा गरिदिएछ । अँशवण्डा गरेपछि बृद्धलाई कसैले वास्तानै नगरेपछि त्यसै–त्यसै विरक्तिन पुगेका रहेछन् ।

छोराबुहारीको कठोर बचन बिना त उनले एकछाक पनि खान पाउँदा रहेनछन् । छोराबुहारीको अपहेलनाका कारण ब्याकुल बनेका बृद्धलाई पागल सरह व्यवहार गरिँदो रहेछ । अर्तिउपदेशलाई खिल्लि उडाइँदो रहेछ । बृद्धको बूढेसकालको साथी भनेकोनै घरमा पालेको एउटा कुकुर रहेछ । बृद्ध एताउता टहल्दा ऊ पनि पुच्छर हल्लाउँदै अघिपछि गर्दोरहेछ । बृद्धका अर्तिउपदेश सुत्रे भनेकै त्यो काले कुकुर रहेछ ।

उनको जीवन कहानी सुनेर बेचैनीले भरिएको मेरो मन अनायासै भक्कानिन्छ । ओठले ओठलाई दह्रो गरेर च्याप्छु ताकि मेरो रुवाइ बाहिर ननिस्कियोस् । यस्तैमा कुकुर जुरुक्क उठेर बृद्धको गाला सुम्सुम्याउन आएझैं गर्छ । उसको आँखाबाट तपतप आँसु चुहिरहेको थियो । कालेले पुच्छर हल्लाउँदै बृद्धलाई सान्त्वना दिएको हेरिरहेँ । बृद्ध पनि आफ्नो मायालु साथीलाई आफ्ना चाउरीले भरिएका हातहरुले सुम्सुम्याइरहेका थिए ।

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.