~महेश पौड्याल~
“धादिङ? ए, पानीकै पधेँरो हो । दसौंपटक भैसक्यो गएको । सबै थाह छ । गाह्रो हुँदैन । जौं ।” धादिङमा साहित्यकार र युवा समाजसेवीहरूको पैदल यात्राको खबर पाएर लेखक कार्तिकेय घिमिरेले फोन गर्दा मैले यस्तै जवाफ दिएको थिएँ । “सबै थाह” हुनु भनेको कति थाह हुनु हो, मैले त्योबेलो सोचिनँ । स्याल हुइयाँ लाइयो, अनि गयौं । आज करिब दुई वर्षपछि सम्झँदा मलाई मेक्सिकोका लेखक बी ट्राभनको कथा “एसेम्ब्ली लाइन” याद आउँछ, जसमा अमेरिको न्यू योर्क शहरका व्यापरी विन्थ्रोप मेक्सिकोका गाउँ–गाउँ डुलेपछि भन्छन्, “सबै थाह छ । अब यो जाबो मेक्सिकोलाई मैले बुझ्न बाँकी नै के छ र?” विन्थ्रोपले न्यू योर्क बसेर बुझेको मेक्सिको अनि हामीले काठमाडौं बसेर बुझेको धादिङ उस्तैउस्तै सिद्ध भयो, अन्ततोगत्वा । हामीले बुझेको धादिङ भनेको हद भए धादिङबेंसी थियो । धार्के, बैरेनी, गजुरी र मलेखु त पृथ्वी राजमार्गका सबै यात्रीहरूले थाह पाएका स्टेशन हुन् । हामी भने कहिले बालसाहित्य सम्मेलन, कहिले अध्ययन परामर्श र कहिले पुस्तक विमोचन भन्दै गैरहने हुँदा थप बुझेका छौं धादिङलाई भन्ने घमण्ड पनि छँदैथ्यो ।
यात्र सकेपछि बल्ल थाहा पाइयो, धादिङ भन्नु र मोनालिसाको हाँसो भन्नु उस्तैउस्तै रहेछ, रहस्यहरूको अभिलेख— लखनऊको भूलभुलैया जस्तो, बर्मुडाको त्रिकोण जस्तो, रत्नभवन जस्तो । “सबै थाहा” पाएका मान्छे हामी; अनि सधैँ–सधैँ कि यताको, कि उताको यात्रा गरिरहने पनि । तयारीमा खासै ध्यान दिएनौं । धादिङलाई बुझ्न बाँकी नै के छ भन्ने अभिमानले उम्लेका हाम्रा शहरीया छाती । जिन्सका पेन्ट र छालाका जुत्ता लगाएर हिँड्यौ । कार्तिकेयजीका जुत्ताका पैताला हेर्ने कुरो पनि भएन, हेरिनँ; तर मेरा भने निकै चिल्ला भएका थिए, घोट्टिएर; कसैले ऐना बनाएको भए अनुहार देखिने – टिलिक्क । सहरी धाक, लेप्टप र केही किताब पनि झोलामा राख्यौं । निकै गहरुँगा झोला बेकेर हामी २ बजेतिर धादिङ बेंसी पुग्यौं । कुरो १६ साउन २०६८ को हो । नवीनबन्धु पहाडीजस्ता सिद्धहस्त साहित्यकार र प्रकाश सपकोटालगायतका सहित्यका पारखी, अनि गणेश ढुङ्गाना, अमृत अधिकारी र पार्वती श्रष्ठ जस्ता कर्मठ युवाहरुको टोली प्रतिक्षारत थियो धादिङबेंसीमा । बाटोभरि बान्ता गर्दै पुगेका हामी अभिवावदन गर्न र स्वीकार्न पनि लगभग असमर्थजस्तै भएका थियौं । केही बेर बसेर, चिसोसिसो खाएपछि थोरै त्राण आयो ।
यात्रा थियो काउले गाउँको, धादिङबेंसीबाट अरुलाई पाँच, र हामीलाई करीब आठ घण्टाको उकालो यात्रा । शुरुमा “ऊ त्यहीँनिर हो, अलिकति माथि” भनियो, र हामी हौसियौं । हुन त त्यहीँ बसिरहेनलाई यो “ऊ त्यहीँनिर” नै हो, तर उकालोसँग त्यती बानी नपरेका हामीहरुलाई अग्निपरीक्षा नै सिद्ध भयो । यसै पनि पाँच घण्टाको यात्रा भनेपछि दुईबजेतिर शुरु गर्नु मनासिब थियो । तर “सबै थाहा” पाएका हामी करीब चार बजेमात्रै पुगेका थियौं धादिङ बेंसी । यसै पनि हामीले अलि हेल्चेक्र्याइँ गरेको हुनुपर्छ, काठमाडौंबाट गाढी चढ्दा नै लगभग एक बजेको थियो । फेरि राजमार्गमा गुडने माइक्रो – उही त हो, चढदिने भए राँगा–भैसी पनि हाल्न पाए हुन्थ्यो भन्ने सोचाइबाट ग्रसित । उनीहरुलाई के थाहा हाम्रो गन्तब्य कति टाढा थियो, र हामीलाई समयमा पुग्नु कति जरुरी थियो । केही बेर थकाइ मारियो, बेंसीमा । केही साथीहरू यतायती छरिएकाले प्रतीक्षा गर्नु छँदैथियो । साहित्यका पारखी, प्रौड र युवाहरु भेला भएकाले केही कविता, गजल र हाइकु सुनाउने सिलसिला पनि चल्यो । मेरो पालो पनि युवाहरूलाई लक्षित गरेर एउटा हाइकु सुनाइदिएँ, जसले हाँसोको बजार लगायो, धादिङबेंसीको बीच–बजारमाः नाग पोखरी तन्नेरीको घुइँचो दिउँसै रात ।
करीब चारबजे शुरुभयो यात्रा, जुन उद्देश्यमा सुन्दर थियो, व्यावहारमा अत्यन्त कठिन र अहिले सम्झनामा अत्यन्तै रोमाञ्चक । उद्देश्यमा सुन्दर तीन अर्थमा थियो । प्रथम, आफूपनि बालसाहित्यको अध्येता र बालअधिकारमा चासो राख्ने व्यक्ति भएकोले काउलेमा बालसाहित्य सम्मेलन गर्न हिँडेको त्यो यात्रा हाम्रो कार्यक्षेत्रको एक सुन्दर योजनाअन्तर्गत थियो । दोस्रो, केटाकेटी नेपाल, जसको प्रतिनिधि म र कार्तिकेय घिमिरे थियौं, सह–आयोजक थियो । तेस्रो, काउलेमा बालसाहित्य सम्मेलन र कथालेखन शिविर इतिहासमै कहिल्यै भएको थिएन सायद, र हाम्रा लागि पनि त्यति उचाइमा साहित्यसम्मेलन गर्नु एउटा स्वर्णीम उपलब्धी हुने निश्चित थियो । यात्राहरु उद्देश्यमा सुन्दर हुनु कतिको आवश्यक हो? क्याप्टन कुकले पनि यात्रा गरेका थिए अस्ट्रेलियाली महादीपको, तर उपनिवेशवादको घ्रिणित उद्देश्य बोकेर । त्यस यात्रालाई मानिसहरु सूचना र सामान्य ज्ञानका लागि सम्झन्छन्, त्यो. भिन्दै कुरा हो । तर जीवनका सौन्दर्यको खोजी गर्ने रोमान्चकारी यात्राका रुपमा त्यसलाई कसैले पनि सम्झँदैन । कोलेम्बसले पनि यात्रा गरे, अमेरकाको पत्ता लगाए भन्ने ढोल पनि पश्चिमा राष्ट्रहरूले नपिटेका होइनन्, तर अमेरिकामा मेस्वाकी, किओवा र क्रोजस्ता जाति र हियावाथाको पूर्वजहरुले युगौंदेखि विकास गरेर ल्याएको सुन्दर तर निर्दोष सम्यताको हत्यारा थियो कोलोम्बस, यो कुरा पश्चिमा इतिहासकारहरुले कहिल्यै भनेनन् । कोलोम्बस मेरेको धेरै वर्षपछि उनका अत्यन्त निकट सहयोगीको डाइरी फेला परेर प्रकाशित गरिएको छ, जसमा कोलोम्बसको क्रूरताको वर्णत सचित्र गरिएको छ । अफ्रिका महादीपबाट अमेरिकामा बेच्नका लागि जबरजस्ती जहाजमा हातखुट्टा बाँधिएर लादिएका नेग्रोहरुको वजनले जब जहाज बीचसमुद्रमा ढलपल गर्न लाग्थे, कोलोम्बस उनीहरुलाई एकएक गरेर निकाल्थे र समुद्रमा फालिदिन्थे, अनि जहाजालाई हल्का गर्थे । उनका लागि मान्छेलाई समुद्रमा फाल्नु र एउटा ढुङ्गो समुद्रमा फाल्नु उस्तैउस्तै थियो । मार्को पोलो, इबल बटुटा र वास्को डेगामाले पनि यात्रा नगरेका होइनन्, तर ती सबै यात्रा उद्देश्यमा गलत थिए । हाम्रो यात्रा व्यावहारमा अत्यन्तै कठीन थियो । उकालो बाटो । बेलुकै हुनलागेका भए पनि यात्राको प्रथम चरण भने घामको पूर्ण प्रताप हामीमाथि हावी बन्यो । हामी त यसै पनि बाहिरका थियौं, भित्रैकालाई पनि पसिनाका धारा नछुटाएको होइन गर्मीले । तर हामीसँग गनगन गर्ने जति सुविधा थियो, स्थानीयहरुलाई त थिएन, कारण त्यो यात्रा त उहाँहरुकै रोजाइ थियो । गनगन गर्नु भएन उहाँहरुले, तर मलाई लाग्छ, हुनसम्म भएको थियो सबैलाई, मनमनै । उकालो बाटो, चिप्लो । साउनको महिना, भर्खरै पानी परेर गीलै थियो जमिन । मलाई जिन्दगीमा पहिलोपल्ट भान भयो छालाका महँगा र टिलिक्क टल्कने जुत्ता लाउनु कति कष्टकर, निरर्थकर र हास्यास्पद बन्न सक्छ । जिन्सको कुरै नगरौं; आखिर कोलोम्बसले पत्तो लगाएको मुलुकबाट आयातित न प¥यो ! भर्खर गोडेका मकै, हरियालीमा पूर्ण यौवना देखिने । मकैबारीका बीचबीच बोडी पनि लगाइएका । कलिला बेडी कति चुँडेर क¥याक–क¥याक खायौं हामीले, त्यसको लेखाजोखा थिएन । गाउँसमाजमा त्यसलाई चोरी पनि मानिँदैन । शहरको जस्तो साँगुरो कहाँ हुन्छ र गाउँको छाती! पहाडको बाटो, निकै उकालो । हरियालीको त के कुरा, साउनको माध्य, खेतमा धान लहलह, बारीमा मकै, वनजङ्गलाका हरिया पातहरूको सम्राज्य । र त्यसै हरियालीबीच पनि पर–पर, गाउँगाउँमा गिर्जाघर । अचम्म, कसरी यतिधेरै गिर्जाघर उभिए यहाँ? “यो त के हो र सर, यो दुईवर्षको बीचमा धादिङमा जिल्लमा छ सयभन्दा बढी गिर्जाघरहरु बनाइएका छन् । यहाँसम्म कि कुनैकुनै गाउँ त पूर्णतः इसाई भैसके,” सहयात्रीमध्ये एकजना स्थानीयले हामीलाई भने । त्यो राम्रो हो या नराम्रो, त्यसको मूल्याङकन हामीले गरेनौं । तर देश धर्मनिर्पेक्ष घोषित हुनुको संवैधानिक र कानुनी अर्थ के हो, र व्यावहारमा के भइरेहेको छ भन्ने बारेमा हामी जिज्ञासु अवस्यै बन्यौ । हामीलाई दुईवटा कुरा विषेशतः जान्न मन लाग्यो त्यति बेला । के राष्ट्र धर्मनिर्पेक्ष घोषित हुनुको अर्थ खुलेआम अरुको धर्म परिवर्तन गर्न पाउनु पनि हो ? हामीले नबुझेको कुरा थियो यो, त्यसैले जिज्ञासा स्वभाविक पनि थियो । दोस्रो, गरिबी निवारण, महिला शसक्तिकरण लगायतका जनकल्याणका मुद्दामा काम गर्ने सयौं अन्तर्राष्ट्रिय गैरसरकारी संगठनहरू आफ्ना कार्यक्रमहरुको बीचमा धर्मान्तरणको सर्त किन घुसार्छन? मानवताकै लागि काम गर्दा धर्मान्तरणलाई सर्त बनाउने कुनै पनि संगठनहरू के वास्तवमै मानवतावादी हुन् त? जसले जेसुकै भनोस्, यस्ता गैरसरकारी संगठनहरुको फुटबल ग्राउण्ड नेपाल भएको छ, तर नेपालको आर्थिक–सामाजिक स्थितिमा कुनै उल्लेख्य सुधार देखिएको छैन । चार घण्टा हिँड्यौं हामी । अहा, कस्तो चिसो हावा! कति स्वच्छ, प्रकृतिको घरबाट सीधै हामीसम्म आएको । निकैबेर उभियौ हामी र मनमनै कल्पना ग¥यौं – सबै सुविधा भएका शहरवासीलाई साठी काट्न किन गाह्रो परिरहेछ दिनदिन, र पाहाडमा हुर्केका बाआमाहरु नब्बे लाग्दा पनि कसरी एक माना घ्यू पचाएर ठम्ठमी हिँडिरहेका छन् । अँध्यारो छिप्पिइसकोको थियो । काउले आउने छाँटकाँट थिएन । पर, पाखाभरि झिलीमिली बत्ती देखिन्थे, कसैले बल्दै गरेका कोइला छर्केजस्तो । धन्न पानी परेन, नत्र उकालो बाटो अकल्पनीय नै हुनेथियो । सबैका आआफ्ना झोला र तिनीहरूको भार; साँस बढेकै देखिन्थ्यो । यस्तो अवस्थामा पनि कसैले मलाई सोध्यो, “सर, खै झोला म बोकिदिन्छु नि । सर त हाम्रो पाहुना ।” पाहुना हुनु एउटा कुरा हो, एउटै नियतिले हिर्र्काएको घाइते चरो हुनु अर्कै कुरा । मन निकै गहरुँगो भयो मेरो – दिउँ कि नदिउँ । अन्तमा झोला दिएँ । आखिर मान्छे नै सिद्ध भएँ आधा बाटोमा; सबै स्वार्थहरू पोखिए, नग्नतामा । साडे आठ । अरुतिर भातको सम्झना आउने बेला, रेडियो–टेलिभिजनको समाचार सुन्ने बेला, कताकती त सुत्न जाने बेला । हामीलाई कुनै कुराको सम्झना आयो त्यो बेला भने चिसो पानीको । चिसो पानी, घटघट पिउन पाए! हामी निकै तिर्र्र्खाएका थियौं, र जङ्गलको उकालो बाटो, छेउछाउ घरटहरा नदेखिएको निकै लामो भएको थियो । अलि माथि पुगेपछि आठ–दस घर झुरुप्प बसेको, बजारजस्तो देखिने फाँटमा पुग्यौं हामी –जुरेथुमदेखि अलि माथि । “जुरेथुम त नुवाकोटमा पनि छ नि, त्रिसुली जाने बाटोमा,” म जान्ने पल्टिएँ । हुन पनि काठमाडौं उपत्यकाबाहिर नुवाकोट म सबैभन्दा बढी गएको जिल्ला हो, अहिलेसम्म । धन्न मैले विक्रमलाई भेटेंछु । पहिले विद्यार्थी नै भनें, हो पनि । पछिपछि माया बढ्दै गायो, र छोरा भनें । ऊ काठमाडौमा नभेटिएको भए सधैँ व्यस्त–व्यस्त रहने मेरो संसार भावनात्मक रुपमा निकै सुक्खा हुनसक्थयो । उसैले त लान्थ्यो मलाई नुवाकोट । “साँच्चिकैको जुरेथुमचाहिँ यो हो । ऊ त्यो पाहाड हेर्नुस् त, साँच्चिकै गोरुको जुरोजस्तो छैन?” नवीनबन्धु पहाडीले भन्नुभयो । मैले पुलुक्क माथि हेरें । साँच्चिकै गोरुकै जुरो जस्तो । यो वास्तविक जुरेथुम, र उता नुवाकोटको चाहिँ नामको मात्रै जुरेथुम भन्ने कुरा ठम्याएँ । “यो जुरेथुप पहाडको ठ्याक्कै उतापट्टि पर्छ नुवाकोटको जुरेथुम । हामी जहाँ जाँदैछौं काउले, त्यसको तल खोलो छ । खोलापारि नुवाकोटको तारुका पर्छ । खनालगाउँ त सुन्नुभाकै होला । ल, त्यो पनि सुन्नुभाछैन भने माघे संक्रान्तीमा गोरु जधाउने मेला लाग्छ भन्ने त सुन्नुभाको होला नि । त्यही ठाउँ हो,” पहाडीजीले थप्नुभो । तारुका पनि सुनेको थिएँ । जोरचौतारा पनि थाह थियो । तर पाहाडीजीको व्याख्या सुनेपछि लाग्यो, नुवाकोटको जुरेथुमलाई बरु सबैले भन्ने गरेजस्तो “पैंतीस किलो” भन्नु राम्रो । हामी “शहर” बासीहरुका लागि लगभग अभेद्य नै भएको त्यस उचाइबाट उत्तरपट्टि देखाएर नवीन पहाडीजीले भन्नुभयो, “ऊ माथि, गणेश हिमाल । भोलि बहिन देखिन्छ, क्या राम्रो । यो धादिङ त हिमालसम्मै फैलिएको छ नि । त्यो माथि, हामालकै छेउ, पिप्लिङ गाविस पर्छ । त्यहाँ गुफाहरु छन्, उहिले ऋषिमुनिहरुले तपस्या गरेका रे । हुर्नस् त, सभ्यता कसरी पहाडमा जन्मिएर ओराली झ¥यो सँगसँगै?” मलाई यो कुरा निकै गजब लाग्यो । मैले पनि तत्काल समर्थनमा भनें, “हो सर । पश्चिमाहरुले भनेजस्तो सभ्यता तल मैदानमा, नदी किनारका फाँटहरुमा विकसित भएको हुनसक्दैन । मान्छे त पहाडबाट सुविधा खोज्न वेंसी झरेको हो ।” हुन पनि हो, विज्ञानले चमत्कार गरेको यस युगमा किन अझै हाम्रा बाआमाहरु पहाड कुरेर बसेका छन्? किन अझै छ गाउँ दुर्गममा – काउलेमा, सेरीमा, सिन्जामा, तिप्लिङ्मा, कालापत्थरमा? किन ढुङ्गा, माटो, पहाड, पर्वत, कुना–कन्दरा र बोट–बुट्यानहरुसँग आत्मा गाँसेर तलको सभ्यतालाई “इस!” भन्दै बसिरहेका छन् अझैसम्म? तपाइँ सोच्नुहँदोहो, तल जग्गा महँगो छ । यो महँगी त आजको कुरा हो । उहिले–उहिले फाँड्न सकेको झोडा सबै फाँड्नेको हुन्थयो । हामीले निचोड निकाल्यौं, “सम्याताको बाटो सधैं ओरालो ।” निकै माथि पुगेपछि निस्पट्ट अँध्यारोमा कतै टर्चलाइट बलेको देखियो । जनयुद्ध त सिकइसकेको अवस्था थिया त्यो, त्यसैले टर्चहरु बल्दैमा डराइहाल्नुपर्ने केही थिएन । साहस थियो, अगाडि बढ्यौ । अहो, अझै हाम्रालागि दुई घण्टा लाग्ने बाटोमा हामीलाई लिन यहाँसम्म आउनुभएको रहेछ काउलेको प्रकाशिमाविका एकजना शिक्षक मित्र । कत्रो चासो, कत्रो श्रद्धा । पाहुनाहरुलाई स्वातग गर्न दुई घण्टा ओरालो, दुई घण्टा उकालो – यो चानचुने कुरो थिएन ।
यात्राको अन्तिम अंश भनेको ठाडो ओरालो । माथि काउलेको टाउकोमा पुगेपछि, नुवाकोटको तारुकातिरको ओरालो भएर अलि तल हाम्रो निवासको व्यवथा गरिएको थियो । साउनको हिलो चिप्लोमा लढ्दै–पढ्दै हामी एउटा तामाङ् निवासमा पुग्यौ, जहाँको आतिथ्य सधैं सम्झन लायक छ । साहित्यकारहरू आएका; अवेर राति रचना सुन्ने सुनाउने कार्यक्रम राखियो । मैले मनमनै सोचेँ, हामी आएकाहरू त बाटोभरि गीत गजल गाउँदै–सुनाउँदै नै आएका हौं, र यति दुर्गम ठाउँका गाउँलेहरूले के सुनाउलान् । थाकेको बेला, सुत्न पाए हुन्थ्यो । तर जब रचना सुन्ने–सुनाउने क्रम शुरु भयो, काउलेका स्थानीय युवायुवतीहरुका गजलको लालित्यले मेरा सारा भ्रमहरू चकनाचूर पारिदियो । अहो, कति फस्टाएको गजल – सबै साँध–सिमाना छिचोलेर । हो, पछिल्ले समय, युवा–युवतीहरुबीच – चाहे त्यो सुगममा होस्, या दुर्गममा – गजल सबैभन्दा लोकप्रिय विधाको रुपमा फैलिएको कुरा साँचो हो । गजलका अग्रजहरूले नै मूल्याङ्कन गरेका होलान्, यो विस्तारको सैद्धान्ति मूल्य कति छ । तर मोतीराम भट्ट, भीमनीधि तिवारी र ज्ञानुवाकर पौडेलका मानसपुत्रहरूले डाँडा–काँडा ढाके भन्दाचाहिँ अत्युक्ति हुँदैन नै, पक्का । काउलेको मात्रै कुरा होइन, हामीले बालसाहित्य सम्मेलन र अन्य साहित्यक कार्यक्रमका लागि दुर्गम गाउँहरुको यात्रा गर्दा पाएको यथार्थ हो यो । कथा, निवन्ध र कतिवाका पारखीहरुले सिक्नुपर्ने एउटा पाठ । राति, कुनकुन साथीहरूले कतिको घुरे, ठम्याउनै गाह्रो भयो । निषदका राजा नललाई स्वयंभर गर्न जाँदा धेरै नलहरू देखेर अवाक भएकी थिइन् रे दमयन्ती । महारानी पद्मिनीलाई आक्रमण गर्न जाँदा राजपूत योद्धाहरुका बीच लडाकुभेषमा थिइन् पदिमनी । चिन्नै सकेनन् रे दुष्मनले । यस्तै कथा त थियो महारानी लक्ष्मीबाइको । हो, धेरै योद्धा उस्तै भएपछि कहाँ जसिलो हुन्छ र ठम्याउनँ । घुर्ने सबै साथीहरुलाई योद्धा मानें, र परमवीर चक्र दिने घोषणा गरें । पुरस्कार – एक रातको निद्रा उनीहरुकै नाममा स्वाहा ।
भोलिपल्ट हामी प्रकाश माविको प्रङ्गणमा भेला भयौं । जनयुद्धका सहिद कामरेडहरुका सलिक लहरै राखिएका । निकै देखियो जनयुद्ध र नेकपा माओवादीको प्रभाव । कतिको आयो विकास, कति आयो साम्यवाद, कहिलेसम्म हिडने हुन् काउलेवासी धानचामलका बोरा बेकेर घण्टौंको उकालो–ओरालो, कुन पार्टीको सरकार आउँदा हुने हो काउले र धेरै अन्य यस्तै काउलेहरूको पनि प्रतिनिधित्व…ठम्याउन गाह्रो थियो । सहिदहरुलाई सलाम; नेपाल आमाकै छोराछारी हुन् तिनी । कति बुझेर गए, कति नबुझी गए । तर तिनीहरुको बलिदानीले काउलेलाई के दियो, दिन्छौं भन्नेहरु कहाँ छन्, यसको मूल्याङ्कन समयले अवश्यै गर्ला । निर्दोष बालबालिकाहरुसँग खेल्यौं हामी दिनभरि । कथा पनि भन्यौं, कविता पनि सुनायौं । गीत नगाउने त कुरै भएन, गाइयोः “म लडेर फेरि उठ्छु, उठेर माथि हेर्छु, हिमाल मेरो भन्छ, नझुक्नू नेपाली ।” झोलाभरि काउलेबासी स–साना भाइबहिनीहरुले लेखेका कथा बेकेर साँझ फेरि झ¥यौं ओरालो । उही चिप्लो बाटो, उही चिल्ला पैताला भएका जुत्ता, उसैगरी गहरुङ्गो र गुम्स्याउने जिन्सका पैन्ट, उसैगरि पल्सिएका काछहरू । निकै अबेर राति हामी धादिङ् बेसी आइपुगेपछि एक पल्ट हामीले तय गरेको दूरी र छिचोलेको उचाइ हेररे भन्यौं, “आम्मामामामा!” त्सस यात्रापछि तीन दिनसम्म केही गर्न नसकेको कुरा भनिरहनु नपर्ला । तैपनि हामीले नदेखेको, नजिक भएर पनि कति टाडा रहेको नेपालआमाको एउटा सुन्दर छटालाई स्पर्श गरेर आएका थियौं हामी । त्यसपछि बस, काउलेको अर्को यात्रा कहिले गर्न पाइएला, यही प्रतीक्षामा छौं, आजसम्म ।
(स्रोत : NepalBuddha)