~डा. रवीन्द्र समीर~
एक दिन पहाडले अणुसँग भन्यो – ’म धरतीको छातीमा सग्लो रुपमा उभिएको छु । मैले आकाशलाई चुम्बन गरिरहेको छु । अनि, उज्यालोको पहिलो र अन्तिम भोक्ता भएको छु ।’
उसले थप्यो – ’तिमी त मभित्रको माटोको कणभन्दा पनि सानो, ढुङ्गाको कणभन्दा पनि सानो अनि मेरो शरीरभरि उम्रिएका वनस्पतिका बीउभन्दा पनि सानो । तिमीलाई कसैले देख्तैन ।’
– ’ईश्वर, आकाश र भावलाई पनि कसैले देख्तैन । तिमीले पनि ।’
– ’तिम्रो विचार तिमीलाई मात्र सत्य लागेर शाश्वत हुँदैन ।’
– ’सत्यतामा यस्को र उस्को विचारको महत्त्व हुँदैन ।’
– ’सूक्ष्मतम शुक्र र डिम्बको संयोजनले स्थूल काय भएका मान्छेहरुले आनो उद्भव बिर्सन्छन् । तिमी पनि त्यस्तै रहेछौ ।
– ’अणुअणुको सङ्गठनले तिम्रो निर्माण भएको हो । अणुहरुको विघटनले तिम्रो विनाश हुन्छ ।’
– ’मेरो विनाश ?’
– ’अनि तिम्रो नि ?’
– ’जसरी अणुहरुको भौतिक संयोजनले तिम्रो निर्माण भयो, त्यसरी नै अणुहरुको रासायनिक परिवर्तनले निर्माण भएको अणुबम तिम्रो छातीमा पड्कियो भने तिमी खरानी हुनेछौ । तिमी उभिएको धरतीको छाती मसानघाट हुनेछ ।
– ’त्यो खरानीभित्र तिमी हुनेछैनौ । तर, म हुनेछु । किनकि, अणुहरुको संयोजनविना खरानी पनि निर्माण हुँदैन ।
(स्रोत : NepalBuddha)