~टीका खरेल सुवेदी~
ठण्डीको मौसम । जहाँ गएपनि जसको मुखबाट पनि चिसो मौसमकै बारेमा चर्चा–परिचर्चा सुनिन्छ । कोहीसँग भेटघाट भयो कि कुराकानीको सुरुवातनै ओहो ! सारो जाडो भत्रे वाक्यबाट हुन्छ ।
जाडोको बिदा मनाउने क्रममा हामी रमाइलो गर्न भनी घरबाट बाहिर निस्कियौं । धेरै दिनको अन्तरालमा बल्ल आज धमिलो हुस्सुलाई लोप्पा खुवाउँदै घाम पनि आफ्नो सुनौलो पहेँलो रुपमा प्रकट भएको छ । घामको न्यानोपनले मन फुरुङ्ग थियो । हाम्रा पाइलाहरु बस स्टेशनतिर मोडियो । तराइको चारैतिर खाली जमिन निष्तब्ध भएर फैलिएको छ । केहिबेरको हिँडाइपछि हामी बस स्टेशन पुग्यौं । हाम्रो गन्तब्यतर्फ लाग्नको लागि हामीले आधाघण्टा जस्तो बस पर्खनुपर्ने भयो । त्यहाँ बसको पर्खाइमा रहेका मध्ये कोही उत्सुकताका साथ आ–आफ्ना कुराहरु गरिरहेका थिए भने कोही निःशब्द छायाँझैं उभिएर कुरा सुनिमात्र रहेका थिए ।,
सा–साना नीजि गाडीहरु आ–आफ्नो उद्देश्यका साथ अज्ञात स्थलतिर बेस्सरी हुइकिन्थे । म र मेरी साथी भने नीलो आकाशलाई छानो बनाएर त्यही फैलिएको निश्चल आकाशमुनि निकै बेरसम्म मौन रह्यौं । टाढादेखिको गाडीको आवाज आएर हाम्रो कानमा ठोक्किँदै निकै सुदूर पुगेपछि मात्रै ती आवाजहरु विलीन हुँदै हराउँदै जान्थ्यो । फेरि अर्को गाडीको आवाज त्यसैगरी दोहोरिन्थ्यो । मेरी साथी भने खै कुन कुरा सोचेर समय कटाइरहेकी थिई कुत्री ? म भने तिनै गाडीहरुको आवाज भित्र हराइरहेकी थिएँ । ती आवाजहरुले मेरो मनमा अत्यन्त उदास भावहरुको सञ्चार गरिरहेका थिए ।
मैले जात्रेबुझ्ने भएदेखिनै यो स्टेशनका दायाँबायाँतिर उभिएका घरहरु आजसम्म पनि कुनै परिवर्तन नभै जस्ताको तस्तै उभिएका छन् । यहाँ रहेका सान्साना घुम्तीहरु भित्र बस्ने पसलेहरु पान चपाउँदै पिच्च–पिच्च सडकमा थुक्दै आफ्ना ग्राहकलाई सेवा गरिरहेका छन् । बस स्टेशनको नजिकै फुथपाथमै पकौडा–पापड बेच्ने आदिवासी महिलाहरु आफ्नो व्यवसायबाट सन्तुष्टिको लामो सुस्केरा हाल्दै आफ्नो काममा व्यस्त देखिएका थिए जो आजभन्दा २० औं वर्ष अघिदेखि यही पेशामा अल्झिरहेका छन् ।
स्टेशनमा जम्मा भएका मान्छेहरुको खैलाबैलालाई चिर्दै एउटा मिनीबस हावामा हुइँकिएर हर्न बजाउँदै आइपुग्दा मेरो ध्यान बसतिर मोडियो । मेरी साथीले मलाई घच्घच्याएर ल हाम्रो बस आइपुग्यो , लौ चढौं भन्दै हतार–हतार ब्याग उठाउन थाली । हामी निकै कठीनकासाथ बसभित्र पस्यौं । बस भरिएकाले हामी दुबैजना अलग–अलग सिटमा बस्नुपर्ने भयो । किनकी बसमा सिटनै खाली रहेनछ । मभन्दा २ सिटअघि मेरी साथीले बस्ने ठाउँ पाई भने मैले एक अधबैंसे लोग्नेमान्छेको छेउमा बस्नुपर्ने भयो । ४–५ घण्टाको लामो यात्रा मैले त्यही लामा–लामा दाह्री पालेको कपडाबाट फोहोरको गन्ध आइरहेको अनुहार पहेँलिएको आँखा मुनिको भाग थलथली सुनिएको मान्छेको सामु बसेर काट्नुपर्ने भयो ।
तिलचामले भएको कपाल कन्न्याँउँदै उसले परिचय माग्यो , मैले आफ्नो परिचय दिनुभन्दा अघिनै उसले आफ्नो परिचय दिन थाल्यो उसको नाम दिपक रहेछ । शुरुमा त मलाई उसँग कुरा गर्न अलि–अलि डर लागिरहेको थियो तर उसको कुरा गराइले ममा एकप्रकारको दयानै जागेर आयो । त्यसैले म उसका हरेक शब्दहरुलाई तन्मयसाथ ध्यान दिएर सुनि मात्रै रहन्थेँ अनि उसको यस मायालाग्दो कुरा सुनेर ममा एकप्रकारको साँसारिक दुःख देखेर शिथिलता पैदा हुन गयो । खोइ त ईश्वर कहाँ छौ ? किन मान्छेलाई यहाँसम्मको हण्डर दिएर अर्धपागल बनाउन बाध्य बनाउँछौ भन्दै म भगवानको अस्तित्व खोज्ने प्रयास गर्छु । त्यो मेरो नजिकै बसेको मान्छे एकोहोरो भटभटाइरहेको छ । ऊ कहिले संसारनै जितेको झैं फुरुङ्ग हुन्छ त कहिले रोउँलाझैं गरेर अनुहार बिगार्दैं आफ्नो अतीतलाई नङ्ग्याउँछ । उसका अद्भूत आँखाहरुमा कहिले सागरझैं पानी टिलपिलाएको देखिन्छ भने कहिले अनौठो पाराले खुशी नाचिरहेको देखिन्छ ।
उसको कुरा ध्यान दिएर सुनिदिएकाले होला ऊ आफ्नो सारा व्यथाहरु एक सासमै ओकल्न खोजेझैं गरेर मेरो सामु भटभटाइरहन्छ । एकोहोरो किसिमले कराइरहेको देखेर बसभित्रका यात्रुहरु दिक्दार मानेझैं आँखीभौं उचालेर खेद प्रकट गर्छन् तर मलाई भने उसका कुराहरु फिल्मको कहानीभन्दा साह्रै मर्मस्पर्शी लाग्छ ।
करुणा मिश्रित स्वरमा ऊ बेलाबेला चुकचुकाउँछ । ऊ पढ्नमा अतिनै तेज रहेछ । आजभन्दा ३०–३२ वर्ष अगाडिनै उसले एस.एल.सी. प्रथमश्रेणीमा पास गरेका रहेछन् । एस.एल.सी. पास गरेर आइ्.एस.सी. पढ्दै गर्दा ऊ बिना जानकारी प्रहरीद्वारा हत्याराको अभियोगमा समातिएको रहेछ । उसले आफू हत्यारा हैन भनेर सावित गराउन खोज्दा अघिल्लो भागका चारवटा दाँत गुमाउनु मात्र होइन सारा शरीरभर सियोले घोपेर पैताला त छ्यान्द्रोनै बनाइदिएछन् त्यत्तिसम्मको शारीरिक यातनाले नपुगेर जिव्रोमा समेत करेण्ट लगाएर जिब्रोनै डढाइदिएको रहेछ बिचराको । टाउको वल्लो भित्ता र पल्लो भित्तामा बजार्दै पिट्नसम्म पिटेर नाक र मुखबाट रगत निकाल्दा पनि उसले आफूले नगरेको गल्ती स्वीकार्न नमान्दा शारीरिक यातना मात्र हैन आफ्नी आमालाई नङ्गयाएर बजार परिक्रमा गराउँछौं भन्दै मानसिक यातना दिँदा उसको शरीरले थेग्न नसक्ने भएपछि अपराधनै नगरेपनि म अपराधी हुँ भनी प्रहरी हिरासतमा आफ्नो भिडियो रेकर्ड गराउन बाध्य भएछ । त्यसरी बिना कसूर जन्मकैदको सजायँ भोग्न बाध्य बनाइएछ ।
उसका बाबु–आमालाई आफ्नो छोरो ज्यानमाराको अभियोगमा समातिएर कैदीको नारकीय जीवन बिताइरहेको छ भत्रे कुराका बारेमा केही थाहा थिएन । बारम्बार पत्र पठाइरहने छोरो पढेर एकदिन ठूलै मान्छे बनेर घर आउने छ अनि आफ्नो कुलको मर्यादा बढाउने छ भन्दै छोरोको बाटो हेरेर धेरै वर्ष बसेका रहेछन् । सातजना छोरीहरु पछिको एक्लो छोरोले एस.एल.सी. राम्रोसँग पास गरेर विज्ञान विषय लिएर पढ्न जाँदा छात्रवृत्ति पाएकोमा सातैजना छोरीहरु आफूले अक्षर चित्र नपाए पनि आफ्नो भाइले राम्रो पढ्ने अवसर पाएकोमा दङ्गदास भएका रहेछन् । भाइ पढेर ठूलो मान्छे बनेर आउँछ भनेर आशामा रहेका दिदीहरु पनि भाइको पर्खाइमा दिन गन्दै बसेका रहेछन् ।
पहाडी जीवन त्यसै पनि कष्टकर त्यसमा पनि वर्षौसम्म आफ्नो एक्लो छोराको कुनै अत्तोपत्तो नहुँदा निरस जीवन विताइरहेका उसका बाबु धेरैवर्ष त्यही वरफिलो पहाडी क्षेत्रमा निर्जिव प्राणीझैं बाँचेछन् । उनीहरुलाई अरु कुनै प्रकारको दुःखले छुँदैन रहेछ तर आफ्नो छोराको बेखबरले शरीरनै गाल्दो रहेछ । छोराको खोजी गर्न भनी घरबाट निस्किएर शहर भौंतारिरहेको उसको बुबाले छोरो ज्यान मुद्दामा परेर जन्मकैदमा पर्यो भत्रे कुरो उसले आफ्नै छोरोलाई फसाउने छोराकै साथीको मुखबाट सुन्छ । कुलको दीप्तीमान उज्वल नक्षत्रका रुपमा उसले छोरोलाई हेरेको थियो तर छोरो हत्यारा बनेर जेल सजायँ भोग्दै गरेको कुरा सुनेपछि उसको छात्तीमा भीर खसेर थिचेझैं भएर बृद्ध शरीरले थेग्ननै नसक्ने भएछ । ऊ ड्याम्म भुइँमा पछारिन पुगेछ । छोरोप्रतिको विश्वासमा डढेलो लगाइएपछि ऊ डढेलाले खाएको शरीर जसोतसो घिसार्दै घरसम्म पुर्याएछ । छोराको खोजीमा निस्किएको लोग्ने निन्याउरो अनुहार लगाएर आएको देखेपछि आमाको यत्तिका वर्षसम्म आशा र भरोसाले थुमथुमाएर चित्त बुझाएको मनको बाँध एक्कासी फुट्न पुग्छ । आँखाबाट बलिन्द्र आँसु झार्दै छोराको बारेमा सोध्न थालिछन् । स्वास्नीको छोराको शोकले च्याउरिएको अनुहारका रेखाहरु सुम्सुम्याउँदै बाबुले छोरो मान्छे मारेर जन्मकैदको सजायँ भोगिरहेको कुरा सुनाउँदा ती बृद्ध आमा छोराको त्यस प्रकारको घृणित कुरा सुनेर मुर्छा परिछन् र सधैंका लागि यस पापी संसारबाट बिदा भइछन् ।
आमाको बर्षदिन पनि पुग्न नपाउँदै बाबु पनि बिदा भएछन् । उसलाई आमा–बाको बिछोडमा संसार अँध्यारो भएछ । ऊ मलिन अनुहार लगाएर छरछिमेकमा पुग्दा ऊ सबैबाट अपहेलित हुन पुगेछ । मुटु छेड्ने गरी गरिएका बचनले उसलाई पिर्नुसम्म पिरेछन् । पढेर देशको लागि केही गर्छु भनेर आमाको हातबाट दहीको सगुन खाएर निस्किएको त्यो १६–१७ वर्षको कलिलो ठिटो विना कसूर २० वर्षपछि आफ्ना बा–आमा र दिदीहरु र इष्टमित्रहरुलाई भेट्न भनी सिधै घर पुगेछ । घर पुग्दा उसका दिदीहरु बिहे गरेर गइसकेका रहेछन् । बा–आमा उसलाई धिक्कादैै यस पापी संसारबाट बिदा भैसकेका रहेछन् । उसलाई आमा–बाको बिछोडमा संसार अँध्यारो भएछ । यस शून्य संसारमा ऊ मलिन अनुहार लगाएर छरछिमेकमा पुग्दा ऊ सबैबाट अपहेलित हुन पुगेछ । मुटु छेड्नेगरी भनिएका बचनले उसलाई पिर्नुसम्म पिरेछ । जन्मकैदको सजायँ भोगेर आजको यो अर्धपागल अवस्थामा पुर्याउने जिम्मेवार भनेको पनि ऊ बसेको समाजनै रहेछ । जेल भित्र जस्तो सुकै यातना थेग्न परेता पनि उसले मानसिक सन्तुलन कायमनै राखेको रहेछ जब ऊ घर फर्कियो ऊ बाबुआमा बिनाको टुहुरो मात्र होइन उसले त पूरै समाजबाट नै तिरस्कृत हुनु परेछ । सबैका आँखामा ऊ अपराधी कहलिन पुगेछ ।
उफ ! जीवन कति असङ्गत पनि हुँदोरहेछ ।
पीडाले भरिएका उसका आँखामा दुःखका सुनामी छालहरु ज्वारभाटा निकाल्दै खोपिल्टा परेका गाला हुँदै तल झर्छन् । निकोटिनले पहेँलिएका दुबै हत्केलाले खसिरहेका ती छालहरुलाई हत्त न पत्त पञ्छाउने चेष्टा गर्दै ऊ खिस्स हाँस्न खोज्छ तर उसको हाँसोमा पीडा मिसिएको छ । पीडा भित्रै रमाउने प्रयत्न गर्दा उसको अनुहार बेढङ्गले मुस्कुराउँछ । उसको त्यो बेढङ्गको हँसाइ देखेर मान्छेहरु ऊदेखि डराएर अलि पर भाग्न खोज्छन् । उसको सामु पर्न कोही सक्दा रहेनछन् ।
निर्दोष भएर पनि जालझेल गर्नेहरुको जालमा परेर आज यो पापी संसारमा एक्लो जीवन जिउन बाध्य बनाइएको छ उसलाई । मान्छेहरुको निस्सासिने भीडमा पनि एक्लो जीवन बाँचिरहेको छ । आज ऊ एक्लो छ नितान्त एक्लो ।