~कृष्ण बजगाई~
गाउँको तिरतिरे खोलाको लघु जलबिद्युत गृह मार्फत निकालिएको बिजुलीले गाउँ झलमल्ल भयो । गाउँमै पहिलोपल्ट गाविस अध्यक्षको घरमा टेलिभिजन जोडियो । टेलिभिजनबाट सबै गाउँलेहरु पहिलोपटक समाचार हेर्दै थिए ।
- हालै आएको सुनामीका कारण जापानको अर्थतन्त्र गिर्दो अवस्थामा । बेरोजगारहरुको संख्या दशककै सबै भन्दा बढी ।
- विश्वब्यापी आर्थिक मन्दीका कारण अमेरिकामा लाखौं मानिसले जागिर गुमाए । हजारौं मानिसहरु घरवार बिहिन ।
- उपभोग्य वस्तुमा भएको अत्याधिक मुल्य बृद्धिका कारण युरोपका मानिसहरु आर्थिक संकटको मारमा । आआफ्ना दैनिक खर्च कटौती गर्दै ।
- रेमिट्यान्सका कारण हाम्रो देशको ग्राह्यस्थ उत्पादनमा बृद्धि । विश्वब्यापी आर्थिक मन्दीको न्यून प्रभाव ।
समाचार सकिएपछि एक वार्डस्तरिय कार्यकर्ताले भने – ‘हउ अध्यक्षज्यू ! जे जस्तो भए नी खानलाउन त हामीले पाईरहेकै छौं । विश्वब्यापी आर्थिक मन्दीले हामीलाई छोएकै रहेनछ । स्वर्गमा त कत्रो गरिबी र बेरोजगारी पो रहेछ!’
(स्रोत : ILNSNY)