लघुकथा : नमिठो पल

~भगवती बस्नेत~

बडो उत्साहकोसाथ हामी ट्याक्सीबाट उत्रियौं । अमृतले भन्यो, “आज दिन कत्ति उज्यालो, आकाश खुलेको छ, साथीहरू निकै आउँछन आज” ।

“हो त, हिजोसम्म दिन कस्तो थियो, आज मनै उज्यालो पारेको छ मौसमले ।” मैले पनि थपे ।

हामी:अमृत र म तेर्सोतेर्सो हुदै छड्के ओरालो लाग्दै साँस्कृतिक कार्यक्रम भैरहेको कम्युनिटी हलतिर लम्कियौ । एम्रिगेशन प्रहरीले देख्ला भनेर अमृत हतार हतार हलभित्र पस्यो ।

नेपाली दिदी बहिनीहरू साडीमा सजिएका थिए, भने दाजुभाइहरू शुट, दौरा सुरुवाल, ढाका टोपीमा सजिएका देखिन्थे । एक पछि अर्को गीत बज्दै थियो । सबैजना नाच्दै, गाउदै, रमाउदै थिए । अमृत सबैलाई हेरेर मनमुग्ध देखिन्थ्यो । बिचरा ! एक बर्षसम्म कामबाट बाहिर निस्किएको थिएन । त्यसैले नेपाली बोल्न नेपालीलाई देख्न नपाएर न्यस्रिएको थियो । आज ऊ दंग र मख्ख थियो । बसन्त ऋतुको पूर्व सन्ध्याले मनमा आशा, उत्साह र उमंग भरेझैँ ऋतु फेरिन लाग्दा मन फेरिएझैँ आज उसको लागि परिवेश बदलिएको थियो । पिंजडाबाट फुत्किएको पंछीझैँ स्वतन्त्र भएर खुला आकाशमा उडेझैँ आज निस्फिक्री रमाएकोले मुहार चम्किएको थियो । उस्ले कार्यक्रममा आउदिन भन्दा भन्दै मैले नै जबरजस्ती, “केही हुन्न आज सब्बात (शनिवार) हो आज त इजरायलीहरू काम गर्दैनन् । एम्रिगेशन कसरी आउँछ ? तिमी ढुक्क बन, आजसम्म शनिवार जाचँ पड्ताल गरेको थाहा छैन,” भेनेको थिएँ ।

ऊ गरिवीको रापले रापिएर बिरामी भएका आमाबाबालाई बचाउन सकुँला भन्ने आशामा आफ्नो घरबारी बन्धकी राखेर बिदेसिएको थियो । ऊ आएको १ बर्ष नबित्दै क्यान्सरले थला परेर उपचार गराउँदा गराउदै उसको आमाको देहावसान भयो । आमा बितेको एक बर्ष नहुदै बाबाको दुवै मृर्गौला ‘फेल’ भएर उपचार गराउँदा गराउदैमा बाबा पनि आमा गएकै बाटो लागे । उपचारमा कमाएको जति सबै पैसा सकियो अनि बाबा आमा दुवै गुमायो । एउटा छोरालाई योभन्दा अरु के नै पीडा होला र ? सबै पैसा उपचारमा नै सकियो न घरखेत उकास्न सक्यो न नगद जम्मा गर्न । इजरायल आएर बैधानिक रुपमा कम गर्ने समय पनि सकियो आफूले हेर्ने एम्पोलाएर पनि परलोक गए । ५ बर्षमा बाबा आमा पनि देख्न पाएन । अन्तिम संस्कारमा पनि सहभागी हुन् सकेन, उल्टै काम छुट्यो अबैधानिक भयो । उसको अनुहारमा त्यो दर्दनाक पीडाको छनक सजिलै बुझ्न सकिन्थ्यो । त्योभन्दा नि धेरै पीडा उसलाई एम्रिगेशन पुलिसले भेट्ला भन्ने थियो । उसका जोडी आखाँ घरिघरि बाहिरको ढोकातिर हानिन्थे ।

अप्रत्यासित रुपले बन्दुक बोकेर एक पुरुष र एक महिला एक्कासि हलभित्र छिरे अनि एक एक जनालाई सोधपुछ गर्दै पासपोर्ट माग्न थाले । २, ३ जना रातो पासपोर्ट हुने पनि थिए । हरियो पासपोर्ट हुने पनि कतिको भिषा सकिएको थियो । सबै पासपोर्ट देखाउन थाले भिषा प्रोसेसमा हुनेहरू आफ्नो एम्पोलाएर(मालिक)सँग फोनमा कुरा गर्न लागे त्यही हुलमा अमृत पनि मिसियो । ऊ अबैधानिक थियो । डरले लगलग खुट्टा कमाउदै झोलामा हात हाले झैँ गर्यो तर त्यहाँ केही थिएन । अर्काको देश, विवश परिवेश । कति नमिठो पल ! मलाई आँशु भरिएको आखाँले टुलुटुलु हेर्दै चुपचाप प्रहरीसगै गयो । आफ्नो जबर्जस्तीले ल्याएको साथी कस्तो अनर्थ भयो मनमा पश्चाताप, ग्लानिले अनि त्यो परिस्थितिले मन अमिलो भयो ।

ऊ रोयो, करायो धेरै अनुनय बिनय गर्यो । तर पनि कठोर मन भएका इजरायलीहरूको हृदय पग्लिएन । अन्तमा अनगिन्ती समस्याको थाक बोकेर ऊ नेपाल फर्कियो । भर्खरै खबर पाएँ, गरिवी र अभावमा अहिले पनि ऊ खाडीमा भौतारिन विवश छ ।

(स्रोत : Nepalkuwait )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.