~सुनिल कँडेल~
मेरो आस्थाको आकाशलाई अँध्यारोले छोप्न लागिरहेछ
मेरो सुर्य डुबिरहेछ
उ केही पर उज्यालो चम्किरहेछ
तर म यहाँ अन्धकार पर्खिरहेछु
उज्यालो र मबीच धेरै अन्तर छ
एउटा खाडल छ
एउटा सागर छ
एउटा ग्रीष्म छ
एउटा युग छ
उज्यालोलाई निर्निमेष हेर्दै,
म यो वार दुई करोड जमातबीच अँध्यारोमा उभिएको छु
हामीलाई त्यो उज्यालोसम्म पुर्याउने पुलमा धमिरा लागेको छ
किन मेरो जीवन सँधै,
दाजु भएर पनि कृष्ण अगाडि नतमस्तक बलराम जस्तै छ
गोरेको पसलबाट मासु किन्दा टुलुटुलु हेर्ने काले जस्तै छ
निभेको दियो जस्तै, द्रौपदीको केश जस्तै छ
बिधुवाको सिउँदो जस्तै, टुहुरोको भाग्य जस्तै छ
जीवनको पर्याय अस्तित्वहीनता नै भैरहने हो भने,
म को धोतक हीनताबोध नै भैरहने हो भने
मेरो जीउनुको औचित्य के?
अहँ
मेरो आस्थाको आकशलाई अँध्यारोले छोप्नु हुँदैन
मेरो सुर्य डुब्नु हुँदैन
आऊ,
यो जिजीविषाको पुललाई धमिराबाट बचाऔं
हो, जीवन फेरि पलाउन सक्छ
यही क्षितीजबाट सुर्य फेरि उदाउन सक्छ
उदाउँदाको सुर्य रक्तीम हुन्छ
बस, हामीले यत्ति बुझ्नु छ
म अहिले दुई करोड रगतबीच अँध्यारोमा उभिएको छु
आऊ,
आफ्नो रगत छताछुल्ल पारेर क्षितीज रंगाऔं
बिहानीलाई बोलाऔं
आऊ,
म र मबाट हामी बनौं
सुनिल कँडेल
बिराटनगर
(स्रोत : INLS.Org