~उत्तम पौडेल~
हरिको बुढा-हजुरबुबाले बणारस पुगी संस्कृतमा आचार्य गरि नेपाल फर्किए। धर्म,कर्म,आध्यात्म, ज्योतिषशास्त्रको क्षेत्रमा देशैभरि ठुलो नाम र ख्याति कमाए। आफ्नो छोरोलाई पनि संस्कृत पाठशालामा पढाए भगवान जप्छ, बाँचिन्जेल समाजमा नाम् कमाम्छ, मरेपछि सोर्गे जान्छ भन्ने मान्यता बनाए।
त्यसैले, हरिको हजुरबुबालाई नेपालकै संस्कृत बिधालयमा राखियो। जिल्ला र अंचलसम्म मात्र उनको नाम चल्यो। नेपाली स्कूल पढेका उनका साथीभाईले भने धेरै ‘प्रगति’ गरे। आफ्नो छोरोलाई पनि नेपाली पाठशालामा पढाए लोकसेवा दिन्छ , जागिर खान्छ, पैसा कमाउँछ भन्ने उनले मान्यता बनाए।
त्यसैले, हरिको बुबालाई नेपाली स्कुलमा राखियो। तानतुन गरि बि.ए सम्मको पढाइ सकेपछि लोकसेवाको आशिर्बाद ले उनि ‘सुब्बा साप’ भए। अंग्रेजी स्कूल पढेका उनका साथीहरुले भने धेरै ‘प्रगति’ गरे। आफ्नो छोरोलाई पनि अंग्रेजी पाठशालामा पढाए विदेश जान्छ, पैसा कमाउँछ, नेपालमा फर्केर सन्तोषले बाँच्छ भन्ने उनले मान्यता बनाए।
त्यसैले, हरिले अंग्रेजी बोर्डिंग स्कुलमा पढ्यो। ‘ताराबाजी’ नजान्दै ‘ट्वीकंल- ट्वीकंल’ गाउन थाल्यो। बोर्डिंगबाटै SLC, र निजि कलेजबाट +२ सकेपछी विदेश पस्यो। हिजोआज ऊ ‘सफल’ नेपाली भएको छ, आफ्नो बुवा र पुर्खाको सम्पूर्ण आशा-अपेक्षाहरु साकार पारेको छ, ‘अमेरिकी सपना’ बाँचेको छ, McDonald मा बर्गर बनाउँदै।
(स्रोत : Mysansar)