कथा : एक महिनालाई दारु स्थगित

~डा. ध्रुब चन्द्र गौतम~

खिचापोखरीको एउटा रेस्टुराँमा बसेर भूपी र म रक्सी पिइरहेका थियौँ । पिउँदापिउँदै मलाई ट्वाइलेट लाग्यो । म ट्वाइलेट गएर फर्किंदा होटलको साहुसँग भूपीको दोस्ती जुरिसकेछ । उनले बढी नै रक्सी पिइसकेका थिए । पिउँदा हँसीमजाक गर्ने स्वभाव थियो उनको । भावुकताको त कुरै नगरौँ । पिउँदापिउँदै रोइदिन्थे कहिलेकाहीँ, मलाई पनि भावुकताले छुन्थ्यो । आँसु चुहिन्थे । भूपीको त्यही भावुकताले तानिएका थिए होलान् साहुजी पनि । म फर्किंदा त उनीहरूको गफ गहिराइमै पुगिसकेको थियो, युगौँदेखिका हितैषी मित्रजस्तै । फर्किएपछि मैले त केही बोल्ने मौका नै पाइनँ । गफैगफमा भूपीले हातमा बाँधेको ओमेगा घडी फुकालेर साहुजीलाई दिए ।
भूपीलाई रक्सी निकै लागिसकेको थियो । म पनि बिहेको पार्टी छोडेर उनको साथ आएको । यति पिएछौँ नि, अब हामी दुवैजना घर फर्कन सक्ने अवस्थामा रहेनौँ । अन्तत: त्यही होटलमा सुत्यौँ । म भूपीभन्दा निकै पछाडि साहित्यमा आए पनि हाम्रो सम्बन्ध निकै गाढा थियो । तपाईंबाट तिमीमा झरिसकेको थियो । नशामा लट्ठिएर पल्टिएका हामी दुवैका आँखा एकैचोटि बिहान ४ बजे मात्रै खुले । मैले उनलाई हिन्दीमा सम्झाएँ ‘तुमने क्या किया ? ओमेगा घडी तो साहुजीलाई देदिया ।’ बल्ल पो उनी झस्किए । ‘ओ π यितना महँगा घडी तो फिर्ता माग्न पडेगा । जाओ तुम मागो ।’ मलाई उल्टै घडी माग्न आदेश गर्न थाले उनी । ‘तुमने दिया चिज मै नही मागूंगा,’ मलाई पनि अप्ठेरो लाग्यो । आखिरमा दुवैले घडी फिर्ता माग्ने साहस गर्न सकेनौँ । बिहान दुवैजना चुपचाप होटलबाट बाहिरियौँ ।
०००
‘शिरीषको फूल’ उपन्यासबाट पारिजात चर्चामा रहँदा मेरो उपन्यास लेखन भर्खरै सुरु भएको थियो । तर, भेटघाटले हामीलाई पनि नजिक्यायो । कहिलेकाहीँ उहाँ मलाई फोन गर्नुहुन्थ्यो, घरमा बोलाउनुहुन्थ्यो । म जान्थेँ । सुकन्या पनि साथमा हुन्थिन् । पारिजातलाई गीत गाएर सांगीतिक माहोलमा रमाउन मन लागेका बेला अरू साहित्यकार पनि बोलाइएका हुन्थे । रमाइलो गर्ने भनेपछि ‘रक्सी’ त अपरिहार्यजस्तै थियो । पारिजात पनि ‘सौम्य ड्रिङ्कर’ हुनुहुन्थ्यो । म पनि त्यस्तै । हामी साथै रक्सी पिउँथ्यौँ । तर, बजारमा मेरो रक्सी पिउने बानीबारे जति ‘बदनाम’ गरिएको छ, त्यसरीचाहिँ कहिल्यै पिएको छुइनँ । साहित्यकार, स्रष्टाहरूले रक्सी अत्यधिक पिउने चर्चा हुने गर्छ बजारमा । तर, यथार्थभन्दा बढी हल्लाचाहिँ गर्नु हुँदैन, गहन अध्ययनपछि मात्रै छिनोफानो हुनुपर्छ । हामी दुई–चार घन्टा लगाएर एकपटकको बसाइ सक्थ्यौँ । रक्सी पिउँथ्यौँ । तर, अगाडिको यथार्थलाई फरक देख्ने गरी मलाई आजसम्म रक्सीको मात चढेको छैन ।
०००
रक्सीले मान्छेमा रासायनिक परिवर्तन ल्याइदिन्छ । नशानशामा ‘इमोसन’ भरिदिन्छ । कहिलेकाहीँ इमोसन आक्रामक पनि बन्न सक्छ । आफूले अघिसम्म महसुस गरेको संसारलाई फरक ढंगबाट हेर्ने दृष्टि बनाइदिन्छ । म पनि रक्सीको नशा चढ्दै जाँदा महसुस गर्छु– अघिसम्म मैले देखेको संसार विस्तारै फरक हुँदैछ । यद्यपि वस्तुस्थिति सबै उस्तै हुन्छ । परिवर्तनको रसायन त रक्सीको पेगले थपेको मात्रै हो । यथार्थमा म बसेको धरातल उस्तै हुन्छ, केही परिवर्तन हुँदैन ।
१९ वर्षको थिएँ । वीरगन्ज छाडेर भर्खरभर्खर काठमाडौं आएको ठिटो । कहिल्यै रक्सीको स्वाद लिएको थिइनँ । त्यसै समयताका एउटा साथीको बिहे थियो, काठमाडौंमा । निम्तालुहरूको भीडमा म पनि थिएँ, सँगै मिल्ने साथी पनि थियो । अरू साथी रक्सी पिउँथे । हामी दुवैजनाले चाहिँ यसको स्वाद लिन भ्याएका थिएनौँ । पार्टीमा प्यालामा रक्सी आइपुग्यो । रातको समय, त्यसमाथि साथीहरूले पिउन कर गरे । सामान्य परिवारमा वर्जितजस्तै हुन्छ रक्सी । हाम्रा  लागि पनि त्यस्तै थियो । मनमा भने स्वाट्ट पारूँ कि के हो, लागिरहेको थियो । अर्को साथीलाई पनि त्यस्तै लागेको रहेछ । आनाकानी गरिरह्यौँ, वास्तवमा दुवैजनालाई एकअर्काप्रतिको असहजता मात्र कारण थियो त्यहाँ । पिउने साथीहरूले हाम्रो मर्का बुझेछन् क्यारे, झ्याप्प बत्ती निभाइदिए । त्यही मौकामा मैले प्यालाको रक्सी स्वाट्ट पारेँ । बत्ती बल्दा अर्को साथीको प्याला पनि रित्तिएको थियो । त्यसपछि लामो समय रक्सी पिउने मौका जुरेन ।
पाँच/सात महिनापछि म घरमा एक्लै थिएँ । सबैजना वीरगन्ज गएका थिए । प्यालाको रक्सीले काउकुती लगाइरहेको थियो, झ्याप्पै लाग्ने गरी पिउने सुर कसेँ । एक्लै परेको मौकामा एक क्वार्टर खुकुरी रम किनेर घर ल्याएँ । साथीभाइ कसैलाई पनि बोलाइनँ । अहिलेजस्तो खुलेको कहाँ थिएँ र त्यति बेला सबै जनासँग । एक्लै सिध्याएँ एक क्वार्टर खुकुरी रम । त्यसपछि त के चाहियो र, संसारै फनन घुमेझैँ पो लाग्न थाल्यो । १९ वर्षमा रक्सीको स्वाद लिए पनि धेरै पिएको चाहिँ २०२२ देखि २०२६ सालसम्म हो । त्यतिबेला आफ्नै दाइहरू ध.च. गोतामे, गोपाल गौतम साथी हुन्थे । धु्रव सापकोटा, नगेन्द्रराज शर्मा, विनोद दीक्षितलगायत साथी पनि मेरा रक्सी पार्टनर हुन् ।
दाइहरूसँग बसेर पिउँदा साहित्यका कुरा हुन्थे । पारिवारिक कुरा हुन्थे । तर, रोमान्टिक गफ कहिल्यै हुँदैनथ्यो । साथीभाइसँगको जमघटमा बढीजसो साहित्य र साहित्यकारका गफ हुन्थे । थुप्रै साहित्यकार अनि कृतिहरूलाई धुरन्धर गाली गथ्र्यौं । रक्सीको चुस्की लाउँदै साहित्यकारहरूका व्यवहारको टिप्पणी गर्दा आनन्द नै आउँछ । मलाई भीडमा बसेर रक्सी खान कहिल्यै रुचि जागेन । तीन–चारजना साथीभाइ मात्रै हुँदा आनन्द लाग्छ । समूह नरुचाउने भएकाले साथीभाइ मलाई ‘चुइयाँ’ पनि भन्ने गर्छन् । तर, म सधँै ट्याक्सीमा यात्रा गर्छु, भाडा तिरेकै हुन्छु । टिभीमा अलि राम्रो सामानको विज्ञापन आए विदेशबाट भए पनि मगाएर युज गर्छु । बाहिर कतै निस्कनुपरे पकेटमा आठ दस हजार रुपियाँ बोकेकै हुन्छु  । रक्सी खाएको पैसा तिर्ने पालोमा सधैँ तिरेको हुन्छु । आफूले कल गरेको जमघट भए आफैँले ‘पे’ गर्छु । मलाई पकेटमा पैसा राखेर आनन्द लिन मन लाग्दैन । रक्सीको जमघटमा पनि म चुइयाँ छैन ।
०००
‘बाँदर एउटा रूखबाट अर्को रूखमा हामफाल्दा लड्यो भने समूहमा जति बेइज्जत हुन्छ, रक्सी खाएर छाद्नेको पनि त्यतिकै बेइज्जत हुन्छ,’ रक्सीको मात चढ्दै गएपछि भूपी भन्ने गर्थे । म पनि ड्रिङ्कर्स हुँ । पिउने समयको ग्याप राखे पनि मात्रामा भने कुनै सम्झौता गर्दिनँ । न त आफू अघि बसेर पिउनेले कति ग्लास रित्यायो भनेर नै ख्याल गर्छु । ड्रिङ्क्स गरेर क्षणिक रोमान्टिक बन्ने बानी पनि छैन । बरु मनमा फुरेका लेखनका केही अंश छन् भने लेख्नमा सुर चल्छ । कति लेख त्यसरी पनि लेखेको छु । हुन त रक्सी लागेपछि मान्छे संसार नै परिवर्तन भएर अलौकिक दुनियाँमा पुगेझैँ अनुभव गर्छन्, व्यवहारले त्यस्तै देखाउँछ ।
म भने पिएपछि अझ सभ्य र शान्त हुन्छु । रक्सीको नशामा कसैसँग झगडा गरेको स्मरण छैन । बरु, रक्सी पिउँदा मिठो स्न्याक्ससँगै अर्को एउटा कुरा भने हरेक पटकको पिउने पार्टीमा खाने गरेको छु । त्यो हो– ‘रक्सी छोड्ने कसम ।’ २०२६ सालमा अल्सर भएपछि रक्सी छोड्ने कसम खाएँ । ६ वर्षसम्म रक्सी नपिई पनि बसेँ । त्यस्तो कसम कति खाइयो–खाइयो, गन्ती नै छैन । तर, जमघट, समूहमा हुने मान्छे एकदिन पक्कै ढल्छ । म पनि उसै गरी ढलेँ, बानी दोहोरियो । फेरि, उही क्रम चल्न थाल्यो । नशानशामा रक्सीको लत फेरि चढ्यो । दुई–तीन दिनको फरकमा फेरि जमघटको अवसर जुर्न थाल्यो । कहिलेकाहीँ बढी नै पिएर आउँदा परिवारले पनि सम्झउँथे– ‘पिउन कम गर्नुपर्‍यो ।’ नटेर्ने भएपछि कर त कसरी गरुन् । अस्ति जनवरी फस्र्टदेखि रक्सी स्थगित गरेको छु । नपिउने अठोट भने होइन । तात्कालिक आनन्द, एकैछिनका लागि यथार्थ नै उल्टिएझैँ अनुभव लिएर मात्रै पनि भएन । शरीरमा रोग थपिँदै गए । सुगर बढ्यो, प्रेसर हाइ हुने समस्याले पनि समातेको छ । त्यसैले कम्तीमा एक महिनाका लागि भने रक्सी स्थगित गर्ने निर्णय गरेको हुँ ।

(स्रोत : Sourya Dainik)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.