~डा. ध्रुब चन्द्र गौतम~
खिचापोखरीको एउटा रेस्टुराँमा बसेर भूपी र म रक्सी पिइरहेका थियौँ । पिउँदापिउँदै मलाई ट्वाइलेट लाग्यो । म ट्वाइलेट गएर फर्किंदा होटलको साहुसँग भूपीको दोस्ती जुरिसकेछ । उनले बढी नै रक्सी पिइसकेका थिए । पिउँदा हँसीमजाक गर्ने स्वभाव थियो उनको । भावुकताको त कुरै नगरौँ । पिउँदापिउँदै रोइदिन्थे कहिलेकाहीँ, मलाई पनि भावुकताले छुन्थ्यो । आँसु चुहिन्थे । भूपीको त्यही भावुकताले तानिएका थिए होलान् साहुजी पनि । म फर्किंदा त उनीहरूको गफ गहिराइमै पुगिसकेको थियो, युगौँदेखिका हितैषी मित्रजस्तै । फर्किएपछि मैले त केही बोल्ने मौका नै पाइनँ । गफैगफमा भूपीले हातमा बाँधेको ओमेगा घडी फुकालेर साहुजीलाई दिए ।
भूपीलाई रक्सी निकै लागिसकेको थियो । म पनि बिहेको पार्टी छोडेर उनको साथ आएको । यति पिएछौँ नि, अब हामी दुवैजना घर फर्कन सक्ने अवस्थामा रहेनौँ । अन्तत: त्यही होटलमा सुत्यौँ । म भूपीभन्दा निकै पछाडि साहित्यमा आए पनि हाम्रो सम्बन्ध निकै गाढा थियो । तपाईंबाट तिमीमा झरिसकेको थियो । नशामा लट्ठिएर पल्टिएका हामी दुवैका आँखा एकैचोटि बिहान ४ बजे मात्रै खुले । मैले उनलाई हिन्दीमा सम्झाएँ ‘तुमने क्या किया ? ओमेगा घडी तो साहुजीलाई देदिया ।’ बल्ल पो उनी झस्किए । ‘ओ π यितना महँगा घडी तो फिर्ता माग्न पडेगा । जाओ तुम मागो ।’ मलाई उल्टै घडी माग्न आदेश गर्न थाले उनी । ‘तुमने दिया चिज मै नही मागूंगा,’ मलाई पनि अप्ठेरो लाग्यो । आखिरमा दुवैले घडी फिर्ता माग्ने साहस गर्न सकेनौँ । बिहान दुवैजना चुपचाप होटलबाट बाहिरियौँ ।
०००
‘शिरीषको फूल’ उपन्यासबाट पारिजात चर्चामा रहँदा मेरो उपन्यास लेखन भर्खरै सुरु भएको थियो । तर, भेटघाटले हामीलाई पनि नजिक्यायो । कहिलेकाहीँ उहाँ मलाई फोन गर्नुहुन्थ्यो, घरमा बोलाउनुहुन्थ्यो । म जान्थेँ । सुकन्या पनि साथमा हुन्थिन् । पारिजातलाई गीत गाएर सांगीतिक माहोलमा रमाउन मन लागेका बेला अरू साहित्यकार पनि बोलाइएका हुन्थे । रमाइलो गर्ने भनेपछि ‘रक्सी’ त अपरिहार्यजस्तै थियो । पारिजात पनि ‘सौम्य ड्रिङ्कर’ हुनुहुन्थ्यो । म पनि त्यस्तै । हामी साथै रक्सी पिउँथ्यौँ । तर, बजारमा मेरो रक्सी पिउने बानीबारे जति ‘बदनाम’ गरिएको छ, त्यसरीचाहिँ कहिल्यै पिएको छुइनँ । साहित्यकार, स्रष्टाहरूले रक्सी अत्यधिक पिउने चर्चा हुने गर्छ बजारमा । तर, यथार्थभन्दा बढी हल्लाचाहिँ गर्नु हुँदैन, गहन अध्ययनपछि मात्रै छिनोफानो हुनुपर्छ । हामी दुई–चार घन्टा लगाएर एकपटकको बसाइ सक्थ्यौँ । रक्सी पिउँथ्यौँ । तर, अगाडिको यथार्थलाई फरक देख्ने गरी मलाई आजसम्म रक्सीको मात चढेको छैन ।
०००
रक्सीले मान्छेमा रासायनिक परिवर्तन ल्याइदिन्छ । नशानशामा ‘इमोसन’ भरिदिन्छ । कहिलेकाहीँ इमोसन आक्रामक पनि बन्न सक्छ । आफूले अघिसम्म महसुस गरेको संसारलाई फरक ढंगबाट हेर्ने दृष्टि बनाइदिन्छ । म पनि रक्सीको नशा चढ्दै जाँदा महसुस गर्छु– अघिसम्म मैले देखेको संसार विस्तारै फरक हुँदैछ । यद्यपि वस्तुस्थिति सबै उस्तै हुन्छ । परिवर्तनको रसायन त रक्सीको पेगले थपेको मात्रै हो । यथार्थमा म बसेको धरातल उस्तै हुन्छ, केही परिवर्तन हुँदैन ।
१९ वर्षको थिएँ । वीरगन्ज छाडेर भर्खरभर्खर काठमाडौं आएको ठिटो । कहिल्यै रक्सीको स्वाद लिएको थिइनँ । त्यसै समयताका एउटा साथीको बिहे थियो, काठमाडौंमा । निम्तालुहरूको भीडमा म पनि थिएँ, सँगै मिल्ने साथी पनि थियो । अरू साथी रक्सी पिउँथे । हामी दुवैजनाले चाहिँ यसको स्वाद लिन भ्याएका थिएनौँ । पार्टीमा प्यालामा रक्सी आइपुग्यो । रातको समय, त्यसमाथि साथीहरूले पिउन कर गरे । सामान्य परिवारमा वर्जितजस्तै हुन्छ रक्सी । हाम्रा लागि पनि त्यस्तै थियो । मनमा भने स्वाट्ट पारूँ कि के हो, लागिरहेको थियो । अर्को साथीलाई पनि त्यस्तै लागेको रहेछ । आनाकानी गरिरह्यौँ, वास्तवमा दुवैजनालाई एकअर्काप्रतिको असहजता मात्र कारण थियो त्यहाँ । पिउने साथीहरूले हाम्रो मर्का बुझेछन् क्यारे, झ्याप्प बत्ती निभाइदिए । त्यही मौकामा मैले प्यालाको रक्सी स्वाट्ट पारेँ । बत्ती बल्दा अर्को साथीको प्याला पनि रित्तिएको थियो । त्यसपछि लामो समय रक्सी पिउने मौका जुरेन ।
पाँच/सात महिनापछि म घरमा एक्लै थिएँ । सबैजना वीरगन्ज गएका थिए । प्यालाको रक्सीले काउकुती लगाइरहेको थियो, झ्याप्पै लाग्ने गरी पिउने सुर कसेँ । एक्लै परेको मौकामा एक क्वार्टर खुकुरी रम किनेर घर ल्याएँ । साथीभाइ कसैलाई पनि बोलाइनँ । अहिलेजस्तो खुलेको कहाँ थिएँ र त्यति बेला सबै जनासँग । एक्लै सिध्याएँ एक क्वार्टर खुकुरी रम । त्यसपछि त के चाहियो र, संसारै फनन घुमेझैँ पो लाग्न थाल्यो । १९ वर्षमा रक्सीको स्वाद लिए पनि धेरै पिएको चाहिँ २०२२ देखि २०२६ सालसम्म हो । त्यतिबेला आफ्नै दाइहरू ध.च. गोतामे, गोपाल गौतम साथी हुन्थे । धु्रव सापकोटा, नगेन्द्रराज शर्मा, विनोद दीक्षितलगायत साथी पनि मेरा रक्सी पार्टनर हुन् ।
दाइहरूसँग बसेर पिउँदा साहित्यका कुरा हुन्थे । पारिवारिक कुरा हुन्थे । तर, रोमान्टिक गफ कहिल्यै हुँदैनथ्यो । साथीभाइसँगको जमघटमा बढीजसो साहित्य र साहित्यकारका गफ हुन्थे । थुप्रै साहित्यकार अनि कृतिहरूलाई धुरन्धर गाली गथ्र्यौं । रक्सीको चुस्की लाउँदै साहित्यकारहरूका व्यवहारको टिप्पणी गर्दा आनन्द नै आउँछ । मलाई भीडमा बसेर रक्सी खान कहिल्यै रुचि जागेन । तीन–चारजना साथीभाइ मात्रै हुँदा आनन्द लाग्छ । समूह नरुचाउने भएकाले साथीभाइ मलाई ‘चुइयाँ’ पनि भन्ने गर्छन् । तर, म सधँै ट्याक्सीमा यात्रा गर्छु, भाडा तिरेकै हुन्छु । टिभीमा अलि राम्रो सामानको विज्ञापन आए विदेशबाट भए पनि मगाएर युज गर्छु । बाहिर कतै निस्कनुपरे पकेटमा आठ दस हजार रुपियाँ बोकेकै हुन्छु । रक्सी खाएको पैसा तिर्ने पालोमा सधैँ तिरेको हुन्छु । आफूले कल गरेको जमघट भए आफैँले ‘पे’ गर्छु । मलाई पकेटमा पैसा राखेर आनन्द लिन मन लाग्दैन । रक्सीको जमघटमा पनि म चुइयाँ छैन ।
०००
‘बाँदर एउटा रूखबाट अर्को रूखमा हामफाल्दा लड्यो भने समूहमा जति बेइज्जत हुन्छ, रक्सी खाएर छाद्नेको पनि त्यतिकै बेइज्जत हुन्छ,’ रक्सीको मात चढ्दै गएपछि भूपी भन्ने गर्थे । म पनि ड्रिङ्कर्स हुँ । पिउने समयको ग्याप राखे पनि मात्रामा भने कुनै सम्झौता गर्दिनँ । न त आफू अघि बसेर पिउनेले कति ग्लास रित्यायो भनेर नै ख्याल गर्छु । ड्रिङ्क्स गरेर क्षणिक रोमान्टिक बन्ने बानी पनि छैन । बरु मनमा फुरेका लेखनका केही अंश छन् भने लेख्नमा सुर चल्छ । कति लेख त्यसरी पनि लेखेको छु । हुन त रक्सी लागेपछि मान्छे संसार नै परिवर्तन भएर अलौकिक दुनियाँमा पुगेझैँ अनुभव गर्छन्, व्यवहारले त्यस्तै देखाउँछ ।
म भने पिएपछि अझ सभ्य र शान्त हुन्छु । रक्सीको नशामा कसैसँग झगडा गरेको स्मरण छैन । बरु, रक्सी पिउँदा मिठो स्न्याक्ससँगै अर्को एउटा कुरा भने हरेक पटकको पिउने पार्टीमा खाने गरेको छु । त्यो हो– ‘रक्सी छोड्ने कसम ।’ २०२६ सालमा अल्सर भएपछि रक्सी छोड्ने कसम खाएँ । ६ वर्षसम्म रक्सी नपिई पनि बसेँ । त्यस्तो कसम कति खाइयो–खाइयो, गन्ती नै छैन । तर, जमघट, समूहमा हुने मान्छे एकदिन पक्कै ढल्छ । म पनि उसै गरी ढलेँ, बानी दोहोरियो । फेरि, उही क्रम चल्न थाल्यो । नशानशामा रक्सीको लत फेरि चढ्यो । दुई–तीन दिनको फरकमा फेरि जमघटको अवसर जुर्न थाल्यो । कहिलेकाहीँ बढी नै पिएर आउँदा परिवारले पनि सम्झउँथे– ‘पिउन कम गर्नुपर्यो ।’ नटेर्ने भएपछि कर त कसरी गरुन् । अस्ति जनवरी फस्र्टदेखि रक्सी स्थगित गरेको छु । नपिउने अठोट भने होइन । तात्कालिक आनन्द, एकैछिनका लागि यथार्थ नै उल्टिएझैँ अनुभव लिएर मात्रै पनि भएन । शरीरमा रोग थपिँदै गए । सुगर बढ्यो, प्रेसर हाइ हुने समस्याले पनि समातेको छ । त्यसैले कम्तीमा एक महिनाका लागि भने रक्सी स्थगित गर्ने निर्णय गरेको हुँ ।
(स्रोत : Sourya Dainik)