~दीपेन्द्र दोङ तामाङ~
“सर यसले मलाई एकोहोरो पछ्याएर हैरान पार्यो ।”
प्रहरी चौकीमा पुग्ने वित्तिकै उनले मौखिक जाहेरी गरिन् । उनी अर्थात मनिला शर्मा ।
“के हो तैंले एकोहोरो पछ्याएको होस् ?”
मनिलाको मौखिक जाहेरी पछि प्रहरीले अलि कडा स्वरमा उसलाई प्रश्न तेस्र्यायो । उ अर्थात दिल गुरुङ ।
आफ्नै प्रेमिकाको जाहेरीले अल्मलमा परेको दिल प्रहरीको प्रश्नले झन् असमञ्जस्यमा पर्यो ।
“हो”
उसले सहर्ष स्वीकार गर्यो ।
“किन त्यसो गरिस् ?”
प्रहरीले अझ कडा स्वर बनायो ।
“किन कि म उनलाई प्रेम गर्छु ।”
उसले सहज उत्तर दियो ।
“सुन्नुभयो त सर ? कसरी यसले आफ्नो कर्तुत सहर्ष स्वीकार गरिरहेको छ ? हुँदा हुँदा आज त यो मेरो घरसम्मै आइपुग्यो । शायद मलाई जवर्जस्ती गर्ने नियतले आएको होला ।”
उनले अझै संगीन आरोप लगाइन् । उनको त्यो आरोपको संगीनको सुइरोले दिलको मुटुमै रोपियो–च्वास्स । तैपनि घायल मुटुलाई सम्हाल्दै अर्को प्रश्न वा आरोपको सामना गर्न तयारी पोजिशनमा बसिरह्यो उ ।
“एइ साले,कहिलेदेखि मन पराइस् तैंले उनलाई ?”
प्रहरीले आफ्नो पेशागत जात जनायो ।
“एक वर्ष भयो ।”
कुनै अन्तर्वार्ताकारसँग अन्तर्वार्ता दिए जस्तै उसले फेरि सहज उत्तर दियो ।
“उनले नै इन्कार गरेपछि किन पछि लागिरहन्छस् ? तैंले प्रेम गर्न अरु कुनै केटी भेटिनस् ?”
अर्को प्रहरी तम्सियो अन्तर्वार्ता लिन । सके उसलाई आफ्नो बोलीको कडाकले तर्साउँन चाहन्थ्यो–त्यो प्रहरी । तर दिल कति पनि डराएको थिएन । न त अपराधबोधको कुनै लेश छनक नै थियो उसको मुहारमा । वरु त्यो अप्रत्यासित घट्नाबाट उसलाई मनमनै हाँसो उठिरहेको थियो । त्यसैले उ मुसुमुसु हाँसिरहेको थियो ।
“हेर्नुस् त सर,यो अझै कति शानसँग मुस्कुराइरहेको छ ? यसलाई सख्त कारवाही गरिपाऊँ हजुर ।”
मनिलाले फेरि जाहेरी गरिन् ।
“ल तपाई निवेदन लेखेर उजुरी गर्नुस् यसको विरुद्ध । त्यसपछि यसलाई के गर्नुपर्छ हामी गर्छौं ।”
दिललाई प्रहरी हिरासत कक्षमा लैजान आदेश दिदैं अघिल्लो प्रहरीले मनिलालाई कानूनी बाटो देखाइदियो ।
अब दिल प्रहरी हिरासतमा थियो । जीवनमा कहिल्यै नदेखेको ठाउँमा,त्यो पनि गर्दै नगरेको अपराधमा अभियुक्त भएर उ त्यहाँ पुगेको थियो । अर्थात पुर्याइएको थियो ।
उसलाई त्यहाँ पुर्याउँने अरु कोही भए त चित्ता बुझाउँने ठाउँ रहन्थ्यो । तर हिजोसम्म आफ्नै अंगालोमा रहेर जीवनभरका लागि सुख दुख बाँड्ने कसम खाएकी आफ्नै साथीको त्यो कदमले उसलाई मनमा कता कता चिसो पार्यो । एकछिन त दुख्यो पनि । तर उसले एकैछिनमा आफूलाई सम्हाल्यो ।
“गुरुङको छोरो भएर वाहुनकी छोरीलाई ताक्ने ? त्यसलाई कानूनको हावा नचखाइ कहाँ छोडूँला र ?”
वाहिर उसकै प्रिय साथी मनिला कसैसँग च्याँठिदै गरेकी आवाज उसको कानमै आएर ठोकियो ।
“ओइ,मतवालीको छोरो भएर वाहुनकी छोरीलाई ताकिस् ? भन् के के गरिस् ? कति रात रंगीन पारिस् ?”
हिरासतमा सेन्ट्री बसेको प्रहरी जवानको यस्तो थप प्रश्नले उसलाई झन् नाजवाफ बनायो । त्यसैले उ चुपचाप बस्यो ।
“एइ सुनिनस् ?”
“मैले के सोधें ? ”
त्यो जवान रिसायो ।
“सुनें”
दिलले सोझो उत्तर दियो ।
“अनि किन चुपचाप बसिस् त ? मलाई नटेरेको ? लगाइदिउँ थर्ड डिग्री ? पत्रकार रहेछस्,थर्ड डिग्री भनेको त थाहा होलास् नि ।”
जवानको फूर्ति अझ बढ्दो थियो ।
“तपाईको प्रश्नको जवाफ मसँगै छैन त म के भनेर जवाफ दिउँ ? मैले प्रेम गर्दा जात हेरिनँ,मन र मायालाई हेरें । माया गरे वापत माया खोजें,अरु स्वार्थमा लागिनँ । यस्तो अवस्थामा तपाई मबाट कस्तो उत्तर चाहनुहुन्थ्यो ?”
उसको यो जवाफले त्यो जवानको आक्रोशलाई केही मत्थर बनायो ।
निरपराधी नै भए पनि यतिखेर भने दिल प्रहरी हिरासतमा थियो । थरिथरिका अनुहार र दर्जाका प्रहरीहरु आउँथे । उसको कसूर थाहा पाएर हाँसोमा उडाउँदै जान्थे । मानौं मनिलालाई प्रेम गरेर उसले ठूलो अपराध गरेको थियो ।
एकाएक दिल दुई वर्ष अघिको त्यही दिनमा फर्कियो,जुन दिन मनिलासँग उसको पहिलो भेट भएको थियो ।
…………………………………………….
“तपाईको नाम धेरैपटक सुनेकी छु । तपाईसँग काम गर्न पाउँनु मेरो अहोभाग्य हुनेछ । म आफ्नो सबै क्षमता खर्चेर भए पनि तपाईले चाहे जस्तै काम गरेर देखाउँनेछु सर ।”
अन्तर्वार्ता दिदै गरेकी मनिलाको यी कुराले भन्दा पनि उनमा देखिएको उर्जा र उत्साहले दिलको मन यसै यसै उतैतिर खिचिरहेको थियो । यसअघि पनि थुप्रै मनिलाहरुसँग सहकार्य गरिसकेका दिलको अनुभवी आँखाले मनिलासँग लुकेर रहेको क्षमता र प्रतिभा अघि नै पहिचान गरिसकेको थियो ।
“तपाईलाई जागीर मात्रै चाहिएको हो ?”
दिलले अलिकति डिप्लोम्याटिक प्रश्न गर्यो । उनले बुझिनन् क्यारे -त्यसैले इमान्दारीतापूर्वक त्यसबारे प्रष्ट्याइदिन आग्रह गरिन् ।
“मलाई त कर्मचारी भन्दा साथी चाहिएको छ । तपाई मेरो साथी बन्न सक्नुहुन्छ ?”
दिलको यो प्रश्नले पनि उनी फेरि अलमलमा परिन् ।
“हामी यहाँ सबैजना हाकिम र कर्मचारी भन्दा पनि साथीत्वको व्यवहार र वातावरणमा काम गछौं,त्यसैले त्यसमा तपाई तयार हुनुहुन्छ ? भन्न खोजेको हूँ मैले ।”
दिल आफैले आफ्नो आशय प्रष्ट पार्यो ।
त्यसको भोलि पल्टदेखि नै मनिलाले पनि दिलको टिम ज्वाइन् गरिन् ।
………………………………….
जिल्लाबाटै भर्खरै स्नातक पढ्ने शिलशिलामा राजधानी छिरेकी थिइन् मनिला । पत्रकारिता उनको नसा जस्तै थियो । त्यसैमा केही गरेर केही बन्ने सपना थियो उनको । मनिलाले आफ्ना यस्तै सपनाका बारेमा समेत अवगत गराइसकेकी थिइन्–दिललाई । गाउँमै जन्मेको भए पनि राजधानीमै हुर्केर बढेको दिल पनि आफूले केही सहयोग गरेर हुने भए मनिलाको त्यो सपनालाई मूर्ततः दिन चाहन्थ्यो । त्यही भएर पनि होला उनीहरुबीचको घनिष्ठता बढ्दै गयो ।
उनीहरुबीचको त्यो घनिष्ठता कतिखेर प्रेममा रुपान्तारित भएछन्,दुवै जनाले पत्तै पाएनन् । जव उनीहरुले थाहा पाए त्यतिखेर सम्म उनीहरु दुवै एक अर्काबाट एक पल पनि टाढा रहन नसक्ने भैसकेका थिए ।
पातलो शरीर,औसत उचाइ र मुहारकी मनिलाको वाहिरी सौन्दर्य भन्दा उनको फरक सोंच र प्रतिभाबाट प्राभावित भएको थियो दिल । उता मनिला भने दिलको सानो सानो कुरामा पनि आफूलाई ख्याल गर्ने र मायालु व्यवहारबाट रत्तिएकी थिइन् ।
“तपाईलाई आज म एउटा कुरा भन्छु ल ? रिसाउँन चाहिं पाउँनुहुन्न नि ।”
अफिस छुटेपछि कफी पिउँन दिलसँगै क्याफेमा पुगेकी मनिलाले कफीको चुस्की लिदै भनिन् ।
“के कुरा हो ? भनन । म रिसाउँन्न ।”
दिलले पनि कफीको मग उचाल्दै भन्यो ।
“तपाईलाई एक दिन मात्र नभेट्दा नि मलाई हिजो आज खै किन हो कस्तो छट्पटी हुन्छ । कतै म तपाईको प्रेममा त परिनँ ?”
मनिलाले आफ्नो कुरा सीधै भनिन् ।
उनको त्यही प्रष्ट विचारधाराबाटै दिल प्रभावित थियो । त्यसैले मनिलाको कुराबाट उसलाई खासै आश्चर्यमा पार्न सकेन । अर्को कुरा के पनि हो भने दुवै जना एक अर्कालाई मन पराउँथे,खाली मुखले भन्न मात्र बाँकी थियो । त्यही कुरा आज मनिलाले भनेकी थिइन् ।
“माया भन्ने कुरा होइन,महसूस गर्ने कुरा हो । र, मैले त तिमीलाई पहिलो दिनदेखि नै माया गर्न थालिसकेको थिएँ ।”
दिलले प्रत्युत्तर दियो ।
उसको जवाफले मनिला निकै खुशी भइन् । शायद त्यही खुशीको प्वाँख हालेर सपनाको आकाशमा बतासिदै उड्न थालिसकेको थियो उनको मन । उनको मुहारको भाव भांगीले त्यो स्पष्टै देखाइरहेको थियो ।
त्यसपछिका दिनहरु झनै प्रेमिल रहे ।
हुन त धेरै जसो समय उनीहरु आ आफ्नै काममा व्यस्त रहन्थे । तर मुस्किलले मिलेको फुर्सदका पलहरु उनीहरु एकापसका लागि खर्च गर्न पाउँदा दंग हुन्थे ।
तर त्यस्तैमा एकदिन मनिलाले आफू दिलभन्दा पहिले अर्कै एकजनालाई माया गर्ने गरेको कुरा सुनाइन् । तर त्यो साथीले आफ्नो प्रस्तावलाई अझै स्वीकार नगरेको पनि सुनाइन् उनले । मतलवी,घमण्डी..खै के के उपनाम दिएर गाली गरिरहिन् उनले त्यो साथीलाई ।
प्राप्तिमा रमाउँनु र नपाउँदा दुखी हुनु मानवीय स्वभाव हो भनेर राम्रैसँग बुझेका दिलले मनिलाको कुरालाई सहजै लियो । उनको विगत जे भए पनि वर्तमान त आफैंसँग थियो,त्यसैले मनिलाको कुराहरुले खासै फरक पारेन उसलाई ।
तर अचानक मनिलाको व्यवहारमा केही परिवर्तन आउँन थाल्यो । सानो सानो निहूँ झिकेर उनी दिलसँग रिसाउँन र झर्किन थालिन् । उनको त्यो हरकतलाई पनि मायाकै एउटा पाटो ठानेर बसिरह्यो दिल । मनिलामाथि शंका गर्नु आफ्नै माया माथि शंका गर्नु थियो । त्यसैले पनि दिल मनिलाको वेवास्ताको वावजुद पनि माया गरि नै रह्यो ।
…………………………………………………………….
“मेरो पहिलेको साथीले मेरो प्रस्ताव स्वीकार गर्यो । त्यसैले अब हाम्रो सम्बन्ध यही अन्त गरौं है ?”
एकदिन मनिलाले दिलका सामू कति सहजताका साथ यस्तो प्रस्ताव राखिन्,त्यो सुनेर दिलले टेकेको धर्ती भित्रै भासियो ।
“मलाई यस्तो ठट्टा पटक्कै मन पर्दैन काली । ”
दिलले मनिलासँग गुनासो पोख्यो ।
“यो ठट्टा होइन, यथार्थ हो । अब मलाई विर्सिदिनुस् । मैले त सुरु पनि गरिसकें ।”
यी कुराहरु भनिरहँदा उनमा कति पनि संकोच र हिनतावोध देखिदैन थियो ।
मनिलाको यो अप्रत्यासित निर्णयमा दिलले केही निर्णय गर्नै सकेन । हुन पनि उसले जिन्दगीमा कहिले पनि यस्तो मोड आउला भनेर सोचेको पनि थिएन । किन कि उसलाई आफ्नो प्रेममाथि एकदम विश्वास थियो । तर आज उसको त्यही विश्वासले उसलाई लोप्प ख्वाइरहेको थियो ।
त्यसपछि मनिला दिलसँग बोल्नै छोडिन् । एउटै सिफ्टमा र कार्यालयमा काम गर्ने भएर पनि उनीहरु अब विल्कुलै अपरिचित जस्तै थिए । कुनै काम अह्राउँने र सो काम सम्पन्न गरेर बुझाउँने बाहेक उनीहरुबीच अरु कुराकानी नै हुन छोड्यो । मनिलाको त्यस्तो कठोर निर्णयले दिलको कमलो मन भित्रभित्रै भत्किदै गएको थियो ।
मन किन रुन्छ र मुटु कसरी दुख्छ ? भनेर दिलले बल्ल महसुस गर्न थालेको थियो ।
“तिमी यसरी कसरी बद्लियौ काली ?”
एकदिन मनिलालाई आफ्नै क्याविनमा बोलाएर उसले सोध्यो ।
“म बद्लिएकी होइन सर । बरु तपाईको बुझाइ फरक भएको हुन सक्छ ।”
मनिलाको जवाफमा कुनै ग्लानी थिएन ।
“अनि यो सब ? किन ?”
दिलले प्रष्ट हुन चाह्यो ।
“त्यो तपाईको गलत बुझाइ थियो । तपाईसँग नजिक भएँ भन्दैमा र तपाईलाई माया गरें भन्दैमा जिन्दगी नै तपाईसँग विताउँनुपर्छ भन्ने मलाई लाग्दैन । माया त म तपाईलाई अझै पनि गर्छु । तर जीवन विताउँन सक्दिनँ । फेरि, किन भनेर चाहिं नसोध्नुहोला ।”
यति भनिसकेर मनिला कक्षबाट निस्केर गइन् । दिल किम्कर्तव्यविमूढ बनेको थियो,त्यसवेला ।
त्यसपछि पनि आफ्नो कुरा राख्ने धेरै प्रयास गर्यो दिलले । तर मनिलाले एकोहोरो छलिरहिन् । अझ कतिपटक त आफ्नो बाटोमा आउँन नछोडे,टेलिफोन र इमेल लेखेर मानसिक टर्चर दिए वैकल्पिक उपाय अपनाउँन बाध्य हुनेसम्मको चेतावनी पनि दिइन्,मनिलाले दिललाई ।
“उनलाई मैले मायाले गरेका व्यवहारहरु सबै सिर्फ टर्चर लाग्छन् ?”
यस्तो सोचेर दिलको मुटु अनायसै टुक्रा टुक्रामा विभाजित हुन्थ्यो ।
तैपनि दिल आफ्नी मनिलालाई निस्वार्थ र एकोहोरो माया गरि नै रह्यो ।
…………………………….
त्यसदिन पनि दिल मनिलालाई जन्म दिनको बधाइ दिन गएकी थिइन् । त्यही पनि विहानभरि मोवाइल र फोनबाट बधाइ दिने कोशिस असफल भएपछि ।
“तँ मेरो घरसम्म कसरी आइस् ? तँलाई कसले बोलाएको थियो र ?”
थुप्रै उमंग बोकेर गएको दिललाई बाहिर गेटमै रोकेर मनिला कड्किइन् । मनिलाको यो स्वरुप अहिलेसम्म नदेखेको दिल एकछिन त अक्क न बक्कमा पर्यो । त्यसपछि आफ्नो कुरा राख्न चाह्यो उसले तर सुन्ने तत्परता पटक्कै थिएन,मनिलामा ।
शायद अपमानको बोधले होला गुरुङको छोरो दिल पहिलो चोटि मनिलासँग रिसायो ।
“म आफ्नो कुरा नराखी जान्नँ मनिला । तिमीले मेरो कुरा आज सुन्नै पर्छ । मलाई मेरो प्रश्नको जवाफ आज चाहिन्छ । आखिर किन तिमीले मेरो मायालाई खेलौना बनायौ ?”
“तपाईको प्रश्नको जवाफ छैन मसँग र जवाफ दिनुपर्छ भन्ने पनि लाग्दैन मलाई । किन कि म अरु कसैको हुनेवाला छु ।”
“तिमी यो सब कसरी गर्न सक्छ्यौ काली ? यति धेरै निष्ठुर नबन तिमी ।”
दिलले लगभग अनुयय नै गर्यो ।
“मेरो साथी अहिले यही आउँदैछ,प्लिज तपाई अहिले गइहाल्नुस् त ।”
यसपटक तपाई नै भनेर सम्बोधन गरिन् उनले ।
उनको कुराले दिलको मन झन् साह्रै दुख्यो । अपमानबोधले पोल्यो पनि । त्यसैले आज एउटा निष्कर्षमा नपुगी त्यहाँवाट नहट्ने अड्डी कस्यो उसले ।
“राम्रो मुखले नमान्नेलाई के गर्नुपर्छ भन्ने मलाई पनि राम्रैसँग थाहा छ ।”
यति भन्दै उसले एउटा नम्बरमा फोन गरिन् । त्यसको १५ मिनेटमै प्रहरीको भ्यान आयो । किन र के भैरहेको छ भनेर पत्तो हुन नपाउँदै प्रहरीले दिललाई भ्यानमा हाल्यो र चौकीमा पुर्यायो ।
………………………………………………………………………………
“ओइ आशिक पत्रकार । ल हिंड् अब भित्र । मिलापत्रमा हस्ताक्षर गर्न ।”
प्रहरी जवानको आवाजले सपनाको तान्द्राबाट व्यूँझे झैं झसँग भयो उ ।
प्रहरीको आदेश बमोजिम उसैको पछि लागेर गयो दिल । मुद्दा फाँटमा उसको अफिसको साथी र मनिलाको दिदी र भाउजू पनि आएकी रहेछिन् ।
“ल पहिलो पटकको गल्ती सम्झेर मनिलाजीले माफी दिनुभएको छ तपाईलाई । तर अब आइन्दा यस्तो गल्ती गर्नुभयो भने प्रहरीको सीदा खान तयार हुनुभए हुन्छ । बुझ्नुभयो त पत्रकारज्यू ?”
लेखनदास प्रहरीले चेतावनीयुक्त खबर सुनायो । उसले कुनै प्रतिक्रिया जनाएन र खुरुखुरु हस्ताक्षर गरिदियो ।
तर भित्र भित्रै उ आफ्नो अपराध खोज्दै थियो । उसलाई अभियुक्त बनाइनुका कारणहरु खोतल्दै थियो ।
‘शायद मनिलालाई साँचो र धेरै माया गर्नु नै उसको ठूलो अपराध थियो । उनलाई दिलमा सजाउँनु अनि उनले गरेका वाचा र उनको अभिनयलाई साँचो ठान्नु उसको महाभूल थियो । त्यही अपराधका कारण आज उ अभियुक्त बन्यो ।’ उसको मनको एउटा कुनाबाट यस्तै उत्तर आयो । तर यसले पनि उसको अधैर्य मनलाई आश्वस्त पार्न सकेन । दुखेको मन पग्लेर निकास खोज्दै कतिखेर आँखाबाट बग्न थालेछ,उसले हेक्कै पाएन ।
(स्रोत : Mysansar)