~टहल दाहाल~
पहाडका रंगहरू लतपतिएर
निर्लज्ज कालाहारिका तातो बालुवासँग
विम्बात्मक मिराज टेकेको
क्यानभासका चित्रमा कैद यो बेला
एउटा प्रश्न समयसँग
समय,
मसँग नाइट्रस अक्साइडका अवयव छैनन् अब
तैपनि तिमी हाँस्न सक्छौ कि सक्दैनौ ?
बुद्धको आँगन टेकेर उडेका
एक हूल परेवाहरू
इजिप्ट र वगदादका गल्लीहरूमा
मसँग भएका शान्तिका घोषणापत्रहरू जल्ने पो हुन् कि ?
अब,
अखबार भरि रगताम्य अक्षरले
च्याप्प घाँटी अठ्याएर सोध्छन् आजकाल
खोइ ! तेरो न्यायको धरहरा ?
विश्वासका पर्खालहरू ?
तर मेरो विरक्तिएको रित्तो जवाफ
धसिएको पहाड बाहेक अरु केही हुनै सक्दैन
रोएको धरहराबाहेकले सुन्नै सक्दैन
आफ्नै मुटु बन्धकीमा राखी
कहाँ पो हाँस्न सक्छ र सगरमाथा
किनकी, हृदयका तलाउभरि
आगोका फूलहरू फुलेको यो बेला
मध्यनिशाको तुषारोमा
म, मैभित्रको ज्वारभाटा
उम्लन्छ… खस्छ…
उम्लन्छ… खस्छ…
त्यसैले
म त आमाको दूध चुसिरहेको बालकभित्रका
आगोको पहाडमा ज्वालामुखी
चिच्याएको यो बेला
एउटा प्रश्न समयसँग ?
समय,
मसँग नाइट्रस अक्साइडका अवयव छैनन् अब
तैपनि तिमी हाँस्न सक्छौ कि सक्दैनौ ?
इतिहास मैसँग छ
समय मैसँग छ
ए कामचोरहरू हो, मामचोरहरू हो
खबरदार
कालीगण्डकी ठक्कर खाँदै हुत्तिँदै ढुङ्गामा
चिल्याएर शालिग्राम
बग्दैछ विकासको बाटोमा
त्यसैले आस्थाका इन्द्रेणी झुल्कनु छ
कहिले सम्म ‘मूर्दा शान्ति’ बेरिएको कात्रोविरुद्ध
चौतारीले मन फुलाउनु छ
र चरीले गाएको हेर्नु छ
चिरबिर, चिरबिर शान्तिका गीतहरू
(स्रोत : Commanderpost.com )