~विश्वेश्वरप्रसाद कोइराला~
अनु : रक्तसागर
विगतको जिन्दगीको सम्झना हो- वर्तमान।
वा, म भन्न सक्छु,
हामी विगतका अनुभवलाई पुन: लागू गर्न खोज्छौं
बितेका रातको सपनालाई प्राप्त गर्न खोज्नु हो- वर्तमान।
विगत यथार्थ हो,
वर्तमान एउटा कथा
अस्तित्व रहनुमा परिणत हुन्छ- आजको रात।
गद्य विगत हो
कविता वर्तमान
सम्झनाले वास्तविक चित्रको प्रतिलिपि बनाउँछ
त्यही प्रष्ट चित्रको प्रतिलिपि बनाउँछ
सपना देख्नेहरू गए भने
अतध्र्यान हुनेछ- वर्तमान।
हामी रातबाट उठ्छौं
र दिनमा प्रकट हुन्छौं,
त्यो दिनमा, जुन व्यतीत भइसकेको थियो।
म मेरी स्वप्नकी उर्वशीलाई बाहुमा लिन्छु
र अंकमाल गर्छु,
ती मेरी प्रियतमा हुन्।
मैले उनलाई धेरै पहिले नै अँगालो मारिसकेको छु।
यो विगतमा जितिसकिएको विजय हो,
चुम्बन एउटा सम्झना हो।
हाम्रो अलिंगन कैद भएको छ
र हामीलाई विगतको प्रगाढताबाट टाढा धकेलेको छ।
ती विगतका करुणा हुन्,
जो पीडाका खत बनेर बाँचेका छन्।
ती तिम्रा प्रियजन हुन्,
जसलाई तिमीले हिजो तिम्रा शत्रुका अँगालोमा देख्यौ।
हामी दुईपटक बाँच्छौं
हामी एकपल्ट यथार्थमै बाँच्छौं
हामी फेरि कथा बाँच्छौं
हामी एकपटक निबन्धमा बाँच्छौं
हामी त्यसपछि कवितामा बाँच्छौं
हामी विगतमा बाँच्छौं
फेरि एकपल्ट वर्तमानमा बाँच्छौं।