~विश्वेश्वरप्रसाद कोइराला~
धेरै दिन पहिलेको कुरा हो , प्रायः पैंतीस वर्ष अगाडिको । दश एघार वर्षको हुँदो हुँ । वर्षा ऋतु सिद्धिएर शरद्को प्रथम चरण पृथ्वीमा परेको थियो । कोशी आफ्नै रौद्र नर्तनले विध्वंसकारी प्लावनतामा जति क्षेत्र र आरण्य, ग्राम, गृह, मनष्य र पशुहरुलाई त्यस वर्षका लागि ग्रस्नु थियो, ग्रसेर पुनः आफ्नै रौद्र नर्तनले विध्वंसकारी प्लावनतामा जति क्षेत्र र आरण्य, ग्राम, गृह, मनष्य र पशुहरुलाई त्यस वर्षका लागि ग्रस्नु थियो, ग्रसेर पुनः आफ्नो सीमित परिधिमा प्रवेश गर्न लागेको थियो, तर अझै त्यस नदीको उत्पातका चिह्न ठाउँ– ठाउँमा जमेको जलराशि, दह, पैनी, हिलो र दलदल चारैतिर देखा पर्थे, मानै तण्डव त थामियो तर त्यसको थर्कन अझै वायुमण्डलमा काँपिरहेको थियो । पृथ्वी प्रसववेदनाबाट ब्यूँिझएकी जस्ती थिई, त्यस्तै चिसी र कातर । नदीको किनारामा काँसको टल्किने मुकुट हावामा हल्लिरहेको थियो । फाटफुट रङ्गीबिरङ्गी पुतली हावामा रङ्गले उत्पातसँग पोतेको हल्का ड्ङ्गाजस्तो यताउति बगिरहेका थिए । वायुमा चिसोपन प्रवेश गरिरहेको अनुभव शरीरलाई हुन्थ्यो । वायु मधुरो वेगले बग्थ्यो, जसले त्यसै मुनष्यलाई फुर्ति आउँथ्यो । धानका खेत कहीं पहेंलिन पनि थालेका थिए । जीवन निर्धक्क, निश्शङ्ग थियो ।
हाम्रो घर–बारीको दक्खिन–पुर्वको कुनामा लेलहाको सानो घर थियो । त्यसलाई घर के भन्ने, सानो छाप्रो थियो । लेलहा केवट जतिको सानो किसान, आफ्नी एउटी छोरीको साथ त्यहाँ बस्थ्यो । हाम्रो गाउँको पूर्वपट्टिको कोशिको एउटा धारबाट फाटेर आएको एउटा सानो भङ्गालो ठिक्क लेलहाको घरनिरबाट अलिक पूर्वपट्टि बाङ्गिन्थ्यो र केही तल दक्षिणपट्टि एउटा पैनीमा मिस्सिएर पुनः कोशीको मूलधारमा प्रवेश गथ्र्याे । यो भङ्गालो अहिले कस्तो शान्त र ग्रामीणहरुका लागि उसले आफुलाई कति उपयोगी साबित गरेको देखिन्थ्यो । लुगा धुनु, नुहाउनु र भाँडा मल्नुलगाएत साना–ठूला पानीका काम हाम्रा गाउँलेले यसैबाट चलाउँछन । तर वर्षायाममा यसको रौद्रता देख्नलायक हुन्छ । यो अहिलेको शान्त ग्रामीण वधूझैं कार्यरत अचपल नदी–रेखा वर्षामा उन्मत्तभैरवी भएर उठ्थी । त्यस समय सबभन्दा ठूलो खतरा लेलहाको घरलाई हुन्थ्यो किनभने त्यसको घर ठीक भङ्गगालोको पश्चिम किनारमा थियो । कोशीमा बाटी आउनेबित्तिकै यहाँको पानी धमिलिएर अशान्त हुन थाल्थ्यो, र लेलहाको घरलाई छुँला–छुँलाजस्तो गरेर हा…हा…गर्दै दक्षिणपट्टि सवेग बग्न थाल्थ्यो। लेलहाको घरैनिर त्यो धार बाङ्गिएको हुनाले नदीको तीव्र प्रवाह त्यहाँनिर वक्रखड्को धारजस्तो तेजिलो देखिन्थ्यो । त्यहाँ केही कुरा पुग्यो कि खण्ठ–खण्ड भएर काटिएलाजस्तो लाग्थ्यो । त्यो धारको नजिकै वर्षाको तीन महिना जति लेलहा र उसकी छोरी फगुनी खेपेर बस्थे । आज त्यो धार शान्त छ । लज्जाशील ग्रामबालिकाजस्ती सोझी, स्निग्ध, स्वच्छ , मनोहर ।
ललेहाकी छोरी फगुनी सोह्र वर्षकी हुँदी हो । तर यतिका दिन पछि स्मृतिको कुरा लेख्न बस्दा सबभन्दा अनावश्यक वस्तु फगुनीको उमेरको चर्चा लाग्छ । शायद सोह्र वर्ष मेरो कल्पनाको उमेर होस् जसलाई मैले आज पैंतीस वर्षपछि फगुनीलाई दिएको छु । तर यो कुरा त निश्चित थियो कि फगुनी अब नितान्त बालिका थिइन । पै.तीस वर्ष पहिलेको स्मृतिको स्वर्णग्रामको निर्दाेष वातावरणमा पनि निर्बाध ग्रामबालिकामा उमेर चढ्छ र यसको परिणामबाट त्यो बाच्न पनि सक्तिन । फगुनी बालिका थिइन, न त त्यो परिपक्व युवती । आजकाल र त्यो पनि शहरी वाातावरणमा जुन उमेरमा युवतीहरुले परिवक्वता प्राप्त गर्छन्, त्यस समयमा हाम्रो गाउँका रमणीहरुलाई त्यहाँ पुग्न अझै पाँच–छ वर्ष लाग्थ्यो । यस हिसाबले मैले फगुनीलाई सोह्र वर्षको उमेर दिएको ।
फगुनीमा एउटा विशेषता थियो । त्यो असाधारण ढङ्गबाट गोरी थी । गाउँका काला, ताम्र र हामीजस्ता गहँुगोरो वर्ण भएका मानिसहरु मध्ये फगुनीको गोरोपन असाधारणजस्तो थियो । त्यसका आँखा खैरा थिए, साना–साना र कपालले स्वर्णिम आभा लिएको थियो । यदि श्रृङ्गारप्रसाधनद्धारा आफुलाई सजाउन सक्ने भएकी भए वर्ण, केश र आँखाले त्यो दक्षिण यूरोपकी नारीजस्ती लाग्ने थिई । तर श्रृङ्गारको साधन उसलाई कहाँ उपलब्ध थियो र ? उसको केश अत्यन्त रुखो, जोगिका जटाजस्तो पहेंलो भएको थियो । गोराइमा पनि आकर्षणहीन सेतोपन थियो । गाउँका अरु आइमाई भन्दा सेख अल्गी गोल–गोल अवयव– फगुनीमा ग्रामीण आकर्षण थिएन । त्यसको स्वभावमा पनि अनौठोपन थियो जो गाउँका युवतीहरुमा पाइदैनथ्यो । त्यो अनौठो ढङ्गले अचञ्चल थिई । त्यस उमेरमा जब कि उसका दौतरीहरु घाँस काट्न जाँदा, पानी भर्न जाँदा, खेतमा काम गर्दा, साना–साना निउँमा खिल्ल हाँस्छन्, त्यो भने गम्भीर रहन्थी । उसका साथी–सँगी पनि थिएनन् । मातृविहीना फगुनी बाबुको स्याहारमा हुर्केकी थिइ, उसका भाइ–बैनी कोही थिएनन् जसले उसको बाल्यावस्थाको एकान्ततालाई खलबल्याउन सक्थे । एक त बाबु र छोरीको एकान्त सम्बन्ध नै अस्वाभाविक, त्यसमा लेलहाजस्तो बाबु जो स्वयं पनि एकलकाँटे थियो । फगुनी नदीको किनारमा हुर्की, एक्ली । लेलहाको छाप्रो अगाडि एउटा आँपको हुर्किन नसकेको रुख थियो, गाँठैगाँठा परेको । यदाकदा त्यसमा मञ्जरी लाग्थे, साना–साना आँपका टिकोरा पनि फल्थे तर फल कहिल्यै पनि बढ्न पाउँदैनथे । टिकोरा अवस्थामा नै सुकेर झर्थे । पगुनीले त्यहीमुनि आफ्नो बाल्यावस्था बिताएकी थिई । दिनभरि बाबु खेतमा काम गर्न गएको बेलामा एक्लै घर कुर्दै त्यही रुखको मुनि माटोमा खेल्दी हो र बीच–बीचमा नदीमा गएर नुहाउँदी पनि हो । त्यसको स्वभाव–रचनामा कोशी नदीको त्यो भङ्गालो , त्यो आँपको रुख र पिता लेलहाको प्रभाव पर्यो होला ।
म केवल एक दिनको एउटा घटनाको वर्णन गर्न बसेको छ्ु । एउटा सम्पूर्ण दिन पनि होइन– केवल अपराह्नको एउटा शान्त घडीमा निरध्र आकाशमा हठात् कड्केको बिजुलीझैं एउटा आइपरेको आकस्मिक घटना । घटनाको वर्णनमा पूर्वकालीन एस्पेलसका ग्रीक नाटकहरुका दुई सङ्ख्यक पात्रहरुजस्ता फगुनीको नाट्यमञ्चमा प्रवेश जरुरी छ, अर्काे पात्र त स्वयं म नै हुँ । घटना पनि सानो छ र, छोटकरीमा नै सुनाउनु पनि छ मलाई ।
फगुनी हाम्रो घरमा काम गर्थी । एउटा ठुलो परिवार भएकोले हाम्रो घरका सानातिना काम गर्दागर्दै पनि फगुनीलाई दिनभरि लाग्थ्यो । कोठाहरुमा कुचो लाउनु, लिप्नु, पानी भर्नु र यसप्रकारका साना–साना गृहस्थीमा परी परी आउने काम गर्नु ।
जस्तोसुकै घर भएपनि –केटाकेटीहरुको कोलाहल, आमा ,सानीमा, फुपूहरुको कहिल्यै पनि नसिद्धिने कुरा–कहानी, बैठकमा बसेर तास खेल्ने या पासा खेल्ने वयस्कहरुको हाँसो र विनोद, जाँगरिलाहरुको अह्राइपराइ, नोकर–चाकरहरुको बाजाबाज–अपराह्नमा त्यस्तो सानो घडी आउँछ जब अचानक परिवारका परिचित शब्द र ध्वनिहरु शान्त हुन्छन् । परिवार मात्रै किन ? सम्पूर्ण गाउँमा हठात् एउटा शब्दहीनताको बाक्लो पर्दा पर्छ । चराचर मौन भएर थामिन्छ । पन्छिहरु पनि आफ्ना–आफ्ना गुँडमा निःशब्द भएर पर्खिएका जस्ता हुन्छन । नीरवताको सर्वव्यापी साम्राज्य एक छिनका लागि विश्वमा स्थापित हुन्छ, त्यस्तो नीरवता जसमा चेतना झन तिव्र भएर सजक हुन्छ केही घटनाको आशा र आशङ्कामा पर्खेर बसेको जस्तो । त्यस विश्वव्यापी नीरवतामा कुनै सानो शब्द पनि ठुलो विस्फोटका साथ गर्जिन्छ र आशङ्कित आकुलताले मुट् ढुकढुक गर्न थाल्छ । के हुन आँट्यो ?
म कोठामा एक्लै एउटा सानो सुकुलमा पल्टिएको थिएँ । कुन बेला म त्यहाँ आएर पल्टें, कुन बेला आमाहरुको गुनगुन शब्द कोठा–कोठामा थामियो, बैठकको खेल कहिले रोकिएछ , मैले थाहा पइनँ । एकैचोटि के थाहा पाउँछु भने म एक्लो कोठामा छु –वातावरणको निस्तब्धता प्रचण्ड छ । साथी–सहपाठीहरु कोशीको चिसो बालुवामा खेल्न र पानीमा पौडिन गए होलान्, मलाई उनीहरुले बिर्सेछन् । म पनि कसरी उनीहरुबाट छुट्टिएछु । मेरो प्रिय साथी मिट्ठुले त बोलाउनुपर्ने ? मनमा कुनै बिचार पनि दृढतासँग जम्न पाउदैथ्यो, गहिरो नीरवताको सतहमा कागजका टुक्राटुक्रा डुङ्गाजस्तो आउँथे, बग्थे । केवल अनुभव हुन्थ्यो प्रचण्ड निस्तब्धताको–त्यस्तो–गाढा निस्तब्धताको घडीमा मौका छोपेर भुत–प्रेत, अनेकानेकअशरीरी जीवहरु प्रकट हुन्छन । अशरीरीजीवहरुको कुरा मनमा एक छिनका लागि आयो–सान्नानीले भनेको बोक्सीको कुरा पनि झल्याँस्स सम्झेँ र श्मशानमा हाड चबाउने कालो थुतुनो भएको बोक्सीको कुकुर मनमा आयो । किचकन्याहरुको पल्टेका गोडा र छातीमा उम्रेको सिङ पनि नीरवताको बाक्लो पर्दामा छायँजस्तो मैले देखेँ तरडर भने मलाई लागेन । एकान्तता यति गम्भीर थियो कि भए र अभएको भावना केवल सतहमा बग्ने तृणजस्तो हलुको लाग्थ्यो । कहीं केही शब्द छैन –ध्वनिहीन चराचर–एउटा सहस्यमय भएको थियो तर जुन त्यो नीरव वातावरणको रहस्यमय लोकमा शब्द–शरीरविहीन जीवहरुको हलचल चलिरहेको थियो त्यसमा ढोकाको सानो शब्द तोप पड्केको जस्तो मेरो कानमा गज्र्याे । म भसङ्ग भएँ–मुटु ढुकढुक भयो । के हुन आटयो?
मेरो आशङ्क निरर्थक रहेछ किनभने कोठामा प्रवेश गरी सानो बाल्टिनमा गोबरमाटो र्यालेको पानी र लुँडो लिएर फगुनी भनी –सानोबाबु, म कोठा लिप्न आएकी । उठ । तबसम्म मेरो घबडाहट बिलाईसकेको थियो । म साधारण स्थितिमा आइसकेको थिएँ । अल्छी लागेर म पल्टिरहें ।
फगुनीले फेरी भनी – ल ल, चाँडै उठन बाबू मलाई अबेर हुन्छ
मैले फगुनीलाई हेरिमात्र रहें केवल आलस्यले
किन हेरिरहेको यसरी मलाई ?
मैले त्यसै भनें– आज नयाँ धोती लाएकी छौ नि ! साच्चीनै त्यसले नैनकिलाटको सोतो धोती लाएकी थी । उसले भनि –आज नयाँ धोती लाउन मन लाग्यो । यसको माड पनि राम्ररी निख्र्याछैन । राम्ररी पिटन पाईन । राम्रो छ हगि ?
छ
उसका खैरा आँखा चम्के । नीलो या कालो आँखामा जति अतलताको भान हुन्छ त्यति खैरो आँखामा हुँदैन ठीक हो, तर विनोदताको टलक खैरो आँखामा छिट्टै झल्किन्छ । त्यहि टलक उसको आँखामा आज मैले देखें । जीवनमा पहिलो अवसर थियो मेरा लागि जब कसैको आँखापट्टि मेरो ध्यान गएको थियो र जसको दृष्टिको अनुभव मलाई हुन लागेको थियो । आँखा कस्तो खैरो हुन सक्छ र कति विनोदमय ! त्यस दिन फगुनीको दृष्टिले मलाई बोध गरायो ।
आजकी फगुनीको विनोदप्रियता पनि अनौठो थियो । जसका बारेमा विनोद, हाँसो र ठट्टाको कल्पना गर्न सकिदैन । त्यसमा हठात् यो प्रवृति देख्दा एकछिन मावचरित्रको रहस्यका प्रति आश्चर्य लाग्छ । फगुनीलाई आज के भएको छ । एकदम वाचाल भएर उठेकी छ । भन्छे –एक्लै के बसेको बाबु ! साथीहरुसँग खेल्न नगएर । र ठट्टा गरेर फेरि भन्छे –एक्लै मन लाग्छ बस्न दुलही नभएर ?
विवाह, दुलही, प्रेम यस्ता सम्बन्ध हुन जसबारे त्यस उमेरमा मलाई त्यसै लाज लाग्थ्यो । यी शब्दहरुले कुन मार्मिक सम्बन्धलाई लक्ष्य गर्छन् त्यो म राम्ररी बुझ्न सक्दिनथें तर यति कुरा त बुझेको थिएँ, यिनले कुनै गोपनीय सम्बन्धलाई लक्ष्य गर्छन् जसमाथि सदासर्वदा लज्जाको आवरण परेको हुन्छ । यो त्यस्तो बर्जित लोक हो जसमा केवल निर्लज्जतासँग हामीभन्दा बुढापाकाहरु मात्र प्रवेश गर्छन । मेरो कान लाजले तातो भयो ।
मैले भने–धत् !
फगुनीले निश्चय नै मेरो विव्रत अवस्था –सङ्कटावस्थालाई बुझिहोली । उ मरी मरी हाँस्न थाली । मेरा कान झन् राता हुँदै गए, उसको हाँसो उतिउत बढदै गयो । जतिसुकै मलाई लाजले थिचेता पनि फगुनीको निर्मम हाँसोले मेरो गर्वाहत गर्यो । मैले पौरुष झिकेर सोधें –तिम्रो दुलाहा खोइ नि ?
उसको हाँसो त थामियो, तर एउटा विचित्र आकृति गरेर उ मुस्कुराई । भनी तिमी
मैले फेरि भनें –धत् !
उसको आँखाको रङ्ग देख्दादेख्दै बदलिएको जस्तो लाग्यो । अलिक काला भए त्यसका आँखा । पालुवा हाल्नुभन्दा पहिले पतझडमा खैरिदैं गएको वृक्ष समुहमाथि बादलको छायाँ परेको जस्तो धमिलो । त्यतिमात्र परिवर्तन त्यसको आँखामा आयो । तर मलाई लाग्यो कुनै एउटा ठुलो कुराको वेगलाई उसको शरीरले सह्माल्न थालेको छ । ऊ काँप्याजस्तो गर्थी ।
मैले भने – धत् ! तिम्रो दुलाहा छ मलाई थाहा छ । हँ फगुनी, दुलाहासँग किन बस्दिनौं तिमी ?
मेरो चुमौन ( चुम्बन) मात्र भएको छ । गौना भएको छैन ।
चुमौन के ?
चुम्बन ! युगल–ओष्ठद्धयको सङ्गम–तीर्थ ! दुई हृदयको आफ्नो–आफ्नो शरीर सीमामा आएर चिह्ना–परिचय । नौ–दश वर्षको बालक चुम्बनको महात्म्य के जान्दथ्यो र ! उसलाई यति मात्र अस्पष्ट रुपबाट थाहा थियो कि विवाह, पति, पत्नी र प्रेमसँग सम्बन्ध राख्ने वस्तु हो चुम्बन, र ती कुराहरु जस्तै गोपनीय र लज्जायुक्त ।
उसले भनी –सानै केटाकेटीमै हाम्रो चुमौन हुन्छ, वर र केटीको रगत–रगत जोर्छन्–दुवैको कान्छीऔलामा सानो घाउ पारेर दुइटैको औंलामा आपसमा दलिदिन्छन् । पछि ठूलो भएर दुलहाले गौना गरेर केटीलाई लैजान्छ ।
मैले पल्टी–पल्टी सोधें –तिम्रो दुलहाले तिमीलाई लिन किन आएन ? ऊ एक चोटि काँप्याजस्तो गरी र व्यग्र भएर भनी –ल,ल, उठ चाँडै मलाई कोठा लिप्नु छ ।
भनिहालें नि ! हाँसेर भनी –तिमी मेरो दुलहा ।
अनि हठात् अठोर मुर्तिवत् भई । उसको हाँसो एकदम बिलायो । यद्यपि शब्दले मलाई हतार गराउने चेष्टा त गर्थी तर कामले भने तरखर थिएन उसमा । केवल एउटा विचित्र दृष्टिपात गरिरही मउपर । उसमा विनोदको उल्लास अब थिएन र मलाई दुलहा भनेर जिस्क्याउँदा उसका आँखा टल्किदैनथे –केवल कालो बादलको छायाँ त्यसमा पथ्र्याे । शरीर र दृष्टिमा आमोदको सट्टा एउटा काठोरता आएको जस्तो मलाई लाग्यो । कोशीमा बाढीको पहिलो हूल आउँदा नदीमा जुन एक प्रकारको तनाव देखिन्थ्यो त्यस्तै तनाव उसको दृष्टि र शरीरमा आयो । कोशीको त्यस कठोर तनावले हाम्रो इलाकामा एउटा आशङ्काको लहर फैलिन्थ्यो । सानो आशङ्काको लहर मेरो शरीरमा पनि फैलियो । मैले धत् ! भनें । र उठेर बसें, र फेरि त्यसै भनें धत् !
उसको शरीर झन् कठोर भयो, उसको दृष्टि झन् कालिमामय । उसको वाणीमा अनायास शुष्कता आयो। धोद्रो बोलीमा उसले साधी –यहाँ अरु त काही छैन ? तल नि ? हठात् जुरुक्क ऊ कोठा कोठा हेर्न थाली । शिरबाट झरेको आँचललाई बडो दृढतासँग कम्मरमा बाँधी, उसको रुक्ष केश काँधमा खस्यो । उसको व्यग्रताले यताउति गरेको भयोत्पादक थियो । तर हेरेर फेरि मेरो कोठामा फर्किएर आउँदा उसको अनुहारको गोरोपन कन्नि कहाँ लुप्त भइसकेको थियो । त्यसको ठाउँमा बैगनी वर्ण पोतिएको थियो, आँखा दुइटा गहिरा जलशुन्य जस्ता भस्सिएका थिए । दम फुलेर त्यो स्वाँ…स्वाँ गरिरहेकी थिई । धोती त उसको सफा थियो तर उसले लाएको चोलो तेल, पसीना, धुलो र गृहस्थीका सानातिना कामले मैलोमैलो भइसकेको थियो । धोतीको फुर्काेलाई उसले कम्मरमा कसेर बेरेकी थिई । छातीमा भएङ्कर रौद्रताले कालो चोलोबाट उसको यौन चिह्न हरिणीको टाउकोमा उमे्रको सिङजस्तो कठोर र तिक्ष्ण भए । कोशीको बिरानो बालुवाका तटमा हठाट् उठ्ने हावाको भुँवरीजस्तो हुर्रिदै त्यो मनिर आई । तिमी मेरो दुलहा ! त्यही हावाको भुँवरीजस्तै तातो निःश्वास, त्यही बिरानो ठाउँको कुनै अतृप्त अशरीरी जीवको हृदयलाई कम्पाउने किसिमको उच्छ्वास ।
म भएले चिच्च्यएर उठें र कोठामा यताउति भाग्न थालें मेरो भए अतक्र्य थियो, बुद्धिप्रेरित थिएन, अस्तित्वको मध्यबाट चिरिदै उम्लिएर उठेको भय । मानव अहिलेसम्म पनि असहाय नै छ बालक, प्रकृतिको बीचबीचमा उघ्रिएको विराट् रुपको दर्शनले अत्याहटमा आएर भयग्रस्त । प्रकृतिको कुनै पनि गग्न रुप, जुन रुपसँग फगुनी थिइन – त्यो कोशी नदीको त्यस्तो भङ्गालो भएकी थिई जो बाढीमा प्रलयको वेग लिएर उर्लिन्छ । र उग्र भयङ्ककर प्रलयङ्कारी हुन्छ , जब त्यसले मानिसका प्रति उन्मत्त भएर सबैलाई निल्दै हिंद्छ – हाहाकार मच्चाउँदै । त्यस्तै श्वेतभैरवी जाग्रत भएकी फगु्नीको जटा हावामा फैलिएको आँखा निभेको आगो, चरणमा ताण्डवको शक्ति, कालो–नीलो थियो, वक्षमा श्रृङ्गाङकुर, खुलेको मुखको गुफाबाट तप्त उच्छ्वासको बाफ । श्वेतभैरवी फगुनी । म भागिरहेको थिएँ ।
कातरभीत बालक । उन्मत्त यौनको अँध्यारो भीरबाट तर्सेर श्वेतभैरवी मेरो खेदो खनिरहेकी थिई । लाग्यो, भागिरहेका मेरा गोडा भासिइरहेछन् र भीरमाथिको गर्त मलाई निल्न झन–झन मुख बा बाउँदै आइरहेछ –कोशीको असंयमित बाढीजस्तै । उसको हात गोबर र हिलोले कुहिनासम्म मुछिएका छन र त्यसलाई बार–बार माथि उठाउँथी । ऊ, खड्गबाहु कालीजस्ती । कहिले हो कुन्नि भुईमा राखेको बाल्टिन उसको गोडाले ढलेछ, बाल्टिनबाट निस्केको काँटीले उसको गोडा चिरेछ । रगत र गोबर मिस्सिएको गोडाको डाम भुईभरि थियो । उसको नयाँ धोती पनि काँटीले च्यातेछ । तर ऊ सुद्धि हराएजस्ती भएर मलाई खेदिरहेकी थिई । म भागिरहेको थिएँ । हे ईश्वर मलाई बचाऊ , बचाऊ श्वेतभैरवीको दानवी नङग्राबाट । म भुट्टिन्छु उसको उन्मत्त भट्टीमा, म उनिन्छु उसको छातीको सिङमा –बचाऊ मलाई ! मेरो बालहृदय दन्त्यकथाका भुत–प्रेत र दानव, किचकन्या श्मशानवासी वायुहरुको कल्पनाले भएभीत भएर उठयो । म संज्ञाहीन हुँलाजस्तो भएँ । आँखा चिम्लेर त्राणको अन्तिम मार्ग समातेर माथिबाट हाम फालें ।
तल बारीलाई घेर्न भनेर बाँसहरु थुपारेर राखिएको थियो त्यस्तै अकस्मात् ढङ्गबाट त्यो शान्त पनि भयो । कोशी नदी मानौँ पुन ः आफ्नो स्थानमा फर्केर आइन र मन्द गतिले बग्न थालिन । मानौँ वर्षाको प्रलयसँग उसको वास्ता थिएन । फगुनी मनिर आएर उभिई । शान्त अनुद्धिग्न, शीतल हास्यका साथ श्वेतवर्ण ग्राम–तरुणी फगुनीले मलाई साधी– सानोबाबू, धेरै चोट लाग्यो कि ?
उसका खैरा आँखाले आफ्नो स्वभाव पुन ः प्राप्त गरिसकेका थिए, शरीरले आफ्नो प्राकृतिक वर्ण, त्यसमा अब तनाब थिएन, सिङको स्थानमा तरुणीको शोभामय उभार मात्र थियो जो मैलो चोलो र आँचलले चोपिएको थियो । हात र गोडामा हिलो अझै लागेको थियो तर त्यो गृहकार्यनिमग्ना नारीको स्वाभाविक लक्षण थियो । लेलहाकी दुहिता, चुमौन भैसकेकी तर द्धिरागमनका लागि पतिको प्रतिक्ष गर्दै बसेकी हाम्री नोकर्नी–फगुनी । तर जे होस एउटा ठुलो हुरी त बग्यो केही छिनपहिले । हामी दुवैलाई अज्ञात रुपबाट वृक्षलाई हल्लाएको झैं गरेर उत्ताउने गरेर सेलाएर गयो । के त्यो बिर्सने कुरा थियो ? जुन तुफान र आँधी–बेहरीको एकान्त अनुभव केवल हामी दुवैलाई मात्र भयो । शरद्को त्यो अपराह्नमा, के त्यसको हामीलाई निर्दाेष रहन दिन्छ ? के त्यसले एउटा रहस्यमय सम्बन्धमा एउटा गोपनीयताभित्र हामीलाई बाँधेर गएन ? यो भर्खरैको अनुभव हाम्रो आफ्नो निजी कोष हो , त्यसमा अरु कसैलाई साझेदार गराउन उचित हुने छैन । अरुले यो कुरा थाहा पाए भने –मेरो बालक मनमा लाज होला भन्ने कुरा मात्र आइरह्यो । कसैले थाहा पाए भने लाज होला । किन लाज होला यसको विवेचना गर्ने बुद्धि ममा पलाईसकेको थिएन , लाज होला कसैले थाहा नपाउन भनेर मैले भनें मलाई ठिक छ, फगुनी तिमी जाउ ।
फगुनीले त धेरै कुरा बुझिहोली । लाजको स्पष्ट कारण मैले बुझ्न नसकेको पनि उसकोे लागि दुर्बाेध थिएन । यसो मलाई आखिरीचोटि हेरेर माथि कोठामा लिप्न भनेर गई ।,
एकछिनपछि मिट्ठुले मलाई त्यस अवस्थामा पाए । मेरो घाउ धोइयो । पानीपट्टी बाँधियो । घाउ निको हुन धेरै दिन लाग्यो । चोट लागेको दिन घरमा काफि हल्लीखल्ली मच्चियो ! तर कसैले पनि फगुनीमाथि श्वेतभैरवी चढेको कुरा थाहा पाएनन् । केहि दिन पछि घाउ भरियो । एक दिन म लेलहाको घरनिर कोशीको त्यो भङ्गालोलाई तरिरहेको थिएँ । त्यसमा घुँडासम्म मात्र पानी थियो । निर्मल पानी । धोती घुँडामाथि सारेर पानीमा रमाइलो मान्दै गोडा चालिरहेको थिएँ । घाउ भरिइसकेको थियो र रातो खाटो टाढैबाट टल्किन्थ्यो । फगुनी आफ्नो आङ्ना अगाडिको आँपको रुखमुनि उभिएर टाढैदेखि मलाई आएको हेरिरहेकी थिई । नदी तरेर ऊनिर आएपछि उसले भनी–चुमौन भनेको तिमीले अब राम्ररी बुझ्यौ होला । रगत–रगतको मेल । त्यस दिन तिम्रो रगत र मेरो रगत बाँसको थुप्रोमाथि मिस्सिएको थियो ।
मैले हाँसेर भनें –गौनाका लागि धेरै दिन पर्खनुपर्छ होइन ?
उसले भनि –चुमौन मुख्य कुरा हो–तर जे होस् मैले यस्तो किसिमबाट डामेर छाडेकी छु कि आजीवन त्यो दाग तिमी आफ्नो जीउमा धारण गरेर हिंडिरहनेछौ । मैले पनि त्यस पागल क्षणको चिह्न शरीरमा लिराखेकी छु । नभन्दै उसको गोडाको घाउ अझै राम्ररी निको भएको रहेनछ । आज धेरै दिनपछि पैंतीस वर्षपछि घुँडाको खाटोलाई हेर्दा फगुनीको सम्झना हुन्छ । कहाँ छ त्यो ? गौना कहिले भयो होला उसको ? जब उसको पति उसलाई लिन त्यो गाउँमा आयो होला, उसको पतिले श्वेतभैरवीको दर्शन पायो होला कि पाएन होला ? कोशीको त्यो भङ्गालो त्यो हुर्किन नसकेको आँपको रुख, र लेलहा केवटको के हाल छ आजकाल ?
सुन्दरीजल बन्दीगृह १० चैत्र,
२०१८ २३ फेबु्रअरी, १९६२
(स्रोत: कथा संग्रह “श्वेतभैरवी” बाट)