~दीपक जडित~
‘ साबित्रा ? ‘
‘………….’
‘ ए , साबित्रा ?
‘………………….’
‘ हैन चालचुल छैन गाँठे , कहाँ मर्न गईछे ? आज पनि ब्रत हो कि क्या हो यस्को ? हैन यि आईमाईले कति ब्रत बस्न सकेका होलान ? काम धन्दा केही गर्नुपरेन ब्रत छ भन्यो , मिठो मिठो खान खोज्यो , कति सजिलो हो ईन्लाई ? ‘ शिबरामले फत्फताउँदै आँगनको एक कुनामा भएको कुखुराको खोरमाथी जुवा मिल्कायो । बिहानभरी खेत जोतेर लखतरान परेर आएको शिबरामलाई जोतेर आईपुग्दा घरमा स्वस्नीले जोतेर थाकेका गोरुलाई भुसपानी ठिक पारिदिओस , आफुले मेलो सकेर आउनेबित्तिकै हातगोडा धोएर एकछिन आराम गर्न पाईयोस भन्ने लाग्थ्यो तर उसकि स्वास्नी साबित्रा कहिल्यै उसले चाहेको जस्ती भईन ।
‘ वर्षभरी खाने अन्न उब्जाउने खेत जोत्ने गोरुलाई भूसपानी ठिक पार्नु त कहाँ हो कहाँ बिहानभरी जोतेर आएको लोग्नेलाई समेत भात खुवाउन घर छैन ‘ , भुत्भुताउन नछोडी उसले बस्तुभाउलाई पानी खुवाउन बनाएको मुढाको डुँड पल्टायो र सफा गरेर भुसपानी ठिक पार्यो ।
‘ओहो ! थुक्क ! गोरु त बाँधेकै थिएन मैले ।’ उसले झट्ट सम्झ्यो र गोठतिर नजर दौडायो । गोरु त अघि नै सिमाना काटेर माथ्लो पट्टी गँगे कार्कीको खेतमा पुगिसकेछन । छिस्रिक्क यौटा कुखुरा उसको खेतमा पस्यो भने त खाँडो जगाउँछ त्यो गँगे , हल गोरु नै उसको खेतमा पसेको देख्यो भने त के गर्ला बाबै ? उसले हतार हतार गँगेको खेतबाट गोरु निकाल्यो र थलामा हुलेर पगा लगायो ।
‘ धन्न मुखमा महला थियो नत्र आज गँगेको चार पाते मकै खत्तम पार्ने । ‘ उसले मनमनै भन्यो र गोरुको मलाहा खोलेर तान्दै डुँडतिर ल्यायो ।
उसका पहिलेका गाजले र पुँडे गोरु साह्रै सुबानी थिए । यसैपाली बेच्यो उसले बुढा भएर र यि हल मिलेका खराने रँगका बहर गोरु किनेर ल्याएको । पहिलेका गोरु मेलोबाट फुकाएर छोडेपछि थपक्क गोठमा आफ्नै थलोमा आईपुग्थे यि भने पछि लागेर गोठसम्म ल्याईपुर्याउँदा पनि आँखा झिमिक्क गर्न नपाई कहाँ बिगार गर्न पुगिसक्छन ।
‘ खराने रँगका गोरु त सुबानी नै हुन्छन् भन्थे यि डिँगा चैं किन यस्ता भ’का होलान् ‘ मनमनै असन्तोस जनायो उसले आफ्ना हल गोरु माथी ।
‘ ए ! आज किन छिट्टै गोरु खोल्यौ ? अघि आईसकेछौ त भर्खर दुई बज्दैछ । ‘ साबित्रा हातमा यौटा पोको बोकेर आँगनमा झुल्किई शिबराम माथी मालिक्नी पारा देखाउँदै । शिबरामको रिसको पारो चढेर टुप्पीबाट धुँवा भै पुत्पुताउँदै बाहिरियो ।
‘ कतिबेर सम्म जोत्नुपर्ने त मैले ? बेल्का पाँचबजि सम्म ? ‘ साबित्री तर्फ पुलुक्क एक दृष्टि फ्याँकेर उसले भन्यो । उसलाई आज धुमधाम गाली गर्न मनलागेको थियो स्वास्नीलाई । भित्रभित्रै काँप्तै थियो उ तर रिस थाम्यो उसले । नथामेर पनि के गरोस विचरा ! उसले एक बचन बोल्दा साबित्राले दश बचन फर्काईसक्थी । धेरैपटक उसले ऐँच्याएर राख्न खोजेको हो स्वास्नीलाई तर जति पटक प्रयास गर्यो उति पटक नै घरमा भाँड भैलो उठ्यो । छरछिमेकी आएर साबित्रीकै पक्ष लिए । नारीलाई हेप्ने , नारीलाई दमन गर्ने नामर्द पुरुष भनेर सँज्ञा भिराए ।
गाउँघरका महिलालाई प्रौढ कक्षा पढाउने र केटाकेटीलाई ट्युशन पढाउने साबित्री मुखले वरपर साखुल्ले बन्न सिपालु थिई । तर उसले कहिल्यै शिबरामलाई थोरै ईज्जत दिने कष्ट गरिन त्यसैले उसले आफ्नी स्वास्नीमाथी गर्व गरेर पनि प्रकट गर्न कहिल्यै सकेन ।
बिहे भएर आएको एकाध महिनासम्म तपाईँ हजुर गरेर बोल्ने साबित्रीले उसको सोझो चालाढाला पत्तो पाएदेखि तिमीमा झरेकी थिई । शिबरामले आफुले पनि तिमीनै सम्बोधन गर्छु के फरक पर्छ र भन्दै प्रतिवाद गरेन । ईज्जत राखिदिए तिमी भन्दैमा र तपाईँ हजुर भन्दैमा के पो फरक पर्ला र ? भन्ने सोच्यो उसले तर साबित्राले त्यसको पनि फाईदा उठाएर हरेकपटक अलिकति कुरा बाझ्यो कि तँ तँ र म म नै गर्न थालेकी थिई त्यसैले पनि शिबराम बेईज्जत हुनुभन्दा बोल्दै नबोल्नु निको ठान्थ्यो ।
‘ मैले त आज भात पनि पकाईंन । मेरो ब्रत थ्यो पिठो कुट्न माथ्लो घरको ढिकीमा ग’कि उतै रोटी बनाएर खाएँ कर्कीनी दिदीसँग । तिमीलाई पनि त्यही ल्याईदिएकी छु । आलुको अचार पनि छ सिदे नुन हालेर बनाको । ‘ घरभित्र पस्दै साबित्रीले भन्न भ्याई । शिबरामले चुपै लागेर सुनिरहयो र मनमनै भन्यो , ‘ किन पकाउँथिस त आफुलाई खान नपरेपछि ? म को हुँ र पकाएर ख्वाउने ? ‘
फेरी उसले झट्ट सम्झ्यो गँगे कार्कीकी श्रीमती त उसले जोतुञ्जेल धेरैबेर सम्म उनैको खेतमा घाँस काट्दैथिईन् । सिमाना जोडिएको माथ्लो पट्टीको खेतबाट उनले ‘ ए शिबराम कैले सक्छौ मकै छर्न हाम्रा गोड्नेबेला हुन लागीसके ? ‘ भनेकी थिइन् । उ भाउजु भन्थ्यो गँगेकी श्रीमतीलाई , ‘ ख्वै भाउजु , कैले सक्नु हो , हाम्री घरकीलाई सिँगार पेटार र ब्रत लिँदै फुर्सद छैन , त्यस्को पनि मन अलि चट्पटाए पो छिट्टो हुन्थ्यो ? आफ्नो त सँधै कामीको पालो कात्तिक भने झैं हो । ‘ उसले यसरी जवाफ पनि फर्काएथ्यो ।
‘ ढाँट्न पनि कति सकेकी ? बिहानभरी कुनकुन मुलुक अन्मरिएर आईर’छे ! ‘ , मनमनै बोल्यो उ र प्रकटमै भन्यो , ‘ ए त्यै भएर पो कर्कीनी भाउजुले डोकाभरी घाँस काट्न भ्याएकि रछिन् बिहान भरी । ‘
‘ जान्यौ जान्यौ तिमीले नै ? मलाई पिठो कुट्न सघाई ओरी ग’कि हुन घाँस काट्न मैले रोटी बनाईसक्दा आईसकेकी थि’न् । हेमकलाकि आमा पनि आ’कि थि’न् । उनेरको पनि ब्रत हो आज । ‘ आफुलाई माथी पार्न साबित्रीले दलिल पेश गरी । शिबराम चुपचाप गोरु खुटाउन खेततिर लाग्यो ।
त्यसदिन निक्कै अबेरसम्म उसले साबित्रीले ल्याएको रोटी खाएन । आ ! खान्न है एक छाक नखाएर मलाई केहि पनि हुँदैन भन्दै पकाएर खान पनि निच मारेर यताउता बस्तुभाउको सुसुल्को गर्दै बस्यो । साबित्रा घर बस्ने कुरै थिएन । बिहान केटाकेटीलाई ट्युशन , दिउँसो प्रौढ कक्षा पढाउन जानुपर्ने उसलाई अरुबेला पनि घरको सिन्को भाँच्ने फुर्सद हुने हैन । साँझ पर्न पर्न लागेपछि उसको पेटको क्षुधाग्नी यस्तरी बल्न थाल्यो कि जलाएर उसलाई भष्मै पार्ला जस्तो बनायो तब भने उसले ‘ स्वास्नी पो वैरी परी यो रोटी त वैरी होइन नि ‘ भनेर आलुको अचारसँग साबित्रीले ल्याईदिएको रोटी सुम्ल्यायो र फेरी घरधन्दा मै लाग्यो । बस्तुभाउ , कुखुरा , बाख्रा सबैको थान्कोमुन्को लगाएर बेलुकीको खाना पकाउनु पनि उसको नित्य कर्म नै थियो । त्यसैले उ सास नफेरी काममा जुटीरहयो ।
यौटा चुल्हामा दाल बसालेर अर्कोमा भात टेकाउन आगो जोर्दैथियो उ । एकहुल केटाकेटीहरु आँगनमा खैलाबैला गर्दै आए । उनिहरु उसैलाई डाक्दैथिए , ‘ शिबेदाइ ? ए ! शिबेदाइ ?? ‘
‘ हैन के भयो हँ भाइ हो ? ‘ शिबराम आँगनमा निस्कियो ।
‘ के हुनु नि शिबेदाइ हामी त चन्दा माग्दै हिँडेका , हामीले क्लब खोलेका छौं क्या ? अब चन्दा उठाएर क्लबको नाममा फुटबल , भलिबल , नेट के के किन्ने । खेलकुदमा हाम्रो गाउँ पछि पर्यो क्या शिबेदाइ । पोहोर पनि हामीले वार्ड स्तरिय फुटबलमा शिल्ड जितेनौं , अब यसपाली चैं जितेर छाड्ने । ‘ हुल मध्येको यौटाले एकै सासमा बेलीबिस्तार लगायो ।
‘ ए ! म त के के न भएछ भनेको ? पैसो सैसोको कुरो चैं भाउजुलाई भन उ सँगै हुन्छ रकम खाता । म त आफैं जोगी हुँ भाई हो । ‘ शिबरामले जवाफ फर्काउँदा केटाहरु गलल हाँसे । यौटाले थप्यो , ‘ हो यार बिचरा शिबेदाइ आफ्नै घरको हली हुन् बरा ! कहाँबाट दिउन ? भाउजुसँगै माग्नु पर्छ । भाउजुले दिन्छिन पनि साह्रै मनकारी पो छिन् । ‘ उसको बचन शिबरामले कष्टले पचायो , ‘ हुनपनि हो म आफ्नै घरको हली नै हुँ ।’ शिबराम भित्र पस्यो ।
‘ कस्तो नामर्द हो यो शिबेदाइ त छि ! म भए त त्यस्ती स्वास्नी उहिले लेखेटिसक्थेँ । ‘
‘ सप्पैले राम्रो भन्छन् तर मलाई त त्यो साबित्री भाउजु मनै पर्दैन , सोझो लोग्ने पाएर साह्रै पात्तिएकि , गंगे कार्कीसँग लसपस छ भनेको सुनेथेँ मैले त्यस्को । ‘ , आँगन कट्दै गर्दा अल्लारेकेटाहरुको मुटु छेड्ने तिखो बचन सुनेर भित्रभिरै मुर्मुरियो उ ।
त्यसरात उसलाई रातभरी निन्द्रा लागेन् । छट्पटाई रहयो । ओल्टे कोल्टे फेरी रहयो । ‘ अब त गाउँमा यस्तो हल्ला पनि चल्न थालेछ । कहाँबाट यो सत्र अलच्छिनी मेरै फन्दामा परिछे भगवान ? हे ! भगवान ! यो कुरा झुटो होस् है । ‘ , रातभरी उसले भगवान सम्झिरहयो ।
‘ हैन त्यो गँगेको स्वास्नी छे , हुर्केका छोराछोरी छन , त्यसले किन मेरी स्वास्नीलाई आँखा लगाउँथ्यो होला र ? गाउँमा त्यसै भनेका होलान नि मान्छेले ।’ , घरी उ आफैंलाई ढाडस दिन्थ्यो ।
‘ गँगे मान्छे त अलि बेसारे नै हो हुनत । फेरी दोष यै फुँडीको पनि त हुन सक्छ । मेरा बालबच्चा भ’का छैनन् , त्यही निहुँमा पो फकायो कि ? यो अलच्छिनी फेरी मलाई दोष दिन्छे बच्चा भएनन् भनेर , के थाहा सल्केकि पो छे कि त्यै गँगेसँग ? ‘ फेरी शँका पनि गर्थ्यो उ ।
छट्पटिंदै उसले नाडीको घडी हेर्यो बिहानको तिन बज्नै लागेछ । ‘ कुखुरा बास्ने बेला भै सकेछ किन निन्द्रा नलाग्या होला ? निन्द्रा लागे त यो टेन्शन कम् से कम् अहिलेलाई त हुँदैनथ्यो ‘ , मनमनै बर्बराउँदै उसले अलिकति टाउको उठाएर पल्लो खाटमा सुतेकि साबित्रीलाई हेर्यो । उ मस्तले निदाईरहेकी थिई तर उसलाई भने पट्टक्कै निन्द्रा आएन । सोच्न थाल्यो , ‘ हावा नचली पात हल्लिंदैन भन्छन । नचल्नु गाउँमा कुरा चलिसकेछ अब यो कुरा अगाडी नफैलियोस् भनेर त मैले सोच्नै पर्छ । के गर्ने होला ? ‘ चिन्ताको भुमरीमा रुमलियो उ , ‘ यो ढिकीकै बाहाना बनाएर दिनदिनै माथ्लो घर जान्छे । यस्लाई ब्रत न लि पनि कसरी भन्नु ? भने पनि मान्ने होइन बरु एउटा ढिकी घरमै हाल्न पाए आनन्दै हुन्थ्यो कि ? ‘ उसले रात छर्लङ्गै काटेर घरैमा ढिकी हाल्ने निधो गरीछाड्यो । रातीनै उसले करेसामा तेर्स्याएर राखेका मुढाहरु मध्ये ढिकीको लागी कुन उपयुक्त छ भनेर छान्यो । ढिकीको टेको , मुसल , आग्लो सबै उसले राती नै छान्यो आफुसँग भएका कुनै बारेका , कुनै करेसामा तेर्स्याएका मुढाहरु मध्ये तर ओखलको निमित्त उपयुक्त काठ फेला परेन ।
भोलीपल्ट बिहान कुनै सुरतमा पनि ढिकी बनाएरै छाड्छु चाहे ओखलको लागी काठ किन्नै किन नपरोस भन्ने ठान्दै उठेर उ भर्याङ्ग ओर्लँदा उसले बर्षातले भर्याङ्ग जमिनमा नधसियोस भनेर भर्याङ्गको फेदमा ओच्छाएको राम्रै लम्बाई चौडाई भएको काठ ओखलको निमित्त उपयुक्त हुने देख्यो ।
‘ के खोज्छस् कानो आँखो ‘ बिहानै चियासिया पिएर उ भर्याङमुन्तिर खन्न थाल्यो ।
‘ हैन ब्यान् ब्यानै कल्लाई पुर्न आँङ्नामा खाल्डो खन्न थाल्यौ ? ‘ साबित्रीले निधीखोजी गरी ।
‘ याँ अर्कै काठ हाल्नुपरो यो काठ अन्त काम आउँछ कि भनेर । ‘ उसले यतिमात्रै भन्यो ।
‘ लौ जे जे मन लाग्छ तेई तेई गरेर बस । सबैका मकै उहिल्यै छरीसके , तिमीलाई चैं जोत्न जानु नि पर्दैन । आङ्नामा खाल्डो पारेर मलाई पुर्ने हो कि आफैं पुरिने हो ? म त हिँडे पढाउन । ‘ साबित्री हिंड्ने तरखरमा लागी ।
‘ चिया खाएर जाउ , गिलासमा हाल्देको छु । ‘ उसले अनुरोध गर्यो ।
‘ भो म उतै खान्छु । ‘ उ हिँडी ।
यस्लाई केटाकेटी पनि त्यही गँगेकै घरमा पढाउनु पर्ने ? बुढी आईमाईहरु पनि त्यै गंगेकै घरमा पढाउनु पर्ने ? आफ्नै घरमा पनि त पढाउँदा हुन्थ्यो । ‘ फत्फताउँदै उसले भर्याङ्गमुनि राखेको ठुलो मुढा झिक्यो र त्यसको ठाउँमा यौटा बाकली हालेर पुरपार पारेर गोरु लिएर जोत्न हिंड्यो ।
त्यहीदिन दिउँसो देखि शिबराम दत्तचित्त भै ढिकी बनाउन लाग्यो । हलो , जुवा , कोदालो , फरुवा ईत्यादी मर्मत गर्नलाई उसँग बसिला , राँबो , छिनु , हथौडा ईत्यादी सामाग्री मौजुदा छँदैथियो । उसले जिन्दगीकै ठुलो योजना ठानेर ढिक्की निर्माण थाल्यो । हुनपनि त उसको जिन्दगी कै सवाल थियो त्याँहा । उसको घरमा ढिकी हुँदो हो त उसकी स्वास्नी गँगेको घरमा ढिकीमा जाने निहुँ बनाएर नजाँदी हो अनि गाउँका मान्छेले उसकी स्वास्नी गँगेसँग लहसिएकी छे भनेर कुरा नगर्दा हुन । प्रमाणित रुपमा कसैले कुरा नगरे पनि गाईँगुईँमै उसले सचेत हुनु नै बुद्धिमानी ठानेको ठिकै हो ।
लगातारको परिश्रमले तिनचार दिनभित्रै उसले घरमै ढिकी तयार पारीछाड्यो । उसले ढिकी बनाएको थाहा पाउने गाउँलेले ‘ अहा ! कति मजाको ढिक्के बनायो यो शिबेले ‘ भनेर तारिफ गरे । उ एक प्रकारले ढुक्क भयो अब त कम्तीमा ढिकीको निहुँ गरेर उसकी स्वास्नी गँगेको घर नजाली भनेर । तर लागेको बानी कहाँ छुट्ने ? साबित्रीले ढिकीको निहुँ लिएर गँगेको घरजाने क्रम रोकिनँ । उसले सोध्यो पनि , ‘ मैले तिम्रै लागी घरमै ढिकी बनाएको छु तिमी किन खाली माथ्लो घरको ढिकीमै जान्छ्यौ ? ‘ भनेर ।
उसले सहज जवाफ दिई , ‘ तिमीले बनाएको यो गह्रौँ न गह्रौँ ढिकी कस्ले कुट्न सक्छ ? मेरो तेत्रो तागत छैन फेरी तिम्रो ढिकी तिमी जस्तै ढिकीच्याउँ छ , सिधा लाग्छ र ? आफुजस्तै बना’का छौ ढिकी अनि के गर्नु ? ‘
‘ ख्वै तिमीलाई नै बाउँठे भएछ तेसोभए सबैले राम्रो , सजिलो छ भन्छन् यो ढिकी । ‘ ह्रदयभित्रै एकप्रकारको ठेस महसुस गरेर शिबरामले भन्यो ।
साबित्रीलाई पुगीहाल्यो , ‘ तिमी आफैं कुट तिम्रो ढिकी तेसोभए ? कसैको नभ’को ढिकी हालेछौ ? के के न गरेँ भन्ठानेका होलाउ हैन ? यो गह्रौं ढिकी म कुट्न सक्छु ? माथ्लो घरमा त कैले कर्कीनी दिदीले सघाईदिन्छिन् , कैले गँगेदाइले सघाईदिन्छन् र पो सजिलो हुन्छ । यहाँ कस्ले सघाईदिन्छ ? तिम्रो फुर्सद हुन्छ मलाई सघाउन कहिल्यै ? ‘ आगोको रापले भेट्दा प्लास्टिकको भाँडा खुम्चिएझैं निधार खुम्च्याएर चर्किंन थाली उ ।
शिबरामलाई पनि औडाहा छुटेर आयो । केटाहरुले साबित्री भाउजुको गंगे कार्कीसँग लसपस छ रे भनेको कहाँ कसरी मनबाट पोखुँ भैरहेको थियो उसलाई । थाम्न नसकेर साबित्रीलाई नै भन्दियो , ‘ तिम्रो गँगेदाइले त सघाईहाल्छ नि तिमीलाई ? गाउँभरी गन्हाईसकेको थाहा छैन । अझै गँगेदाइ रे त्यो बेसारेलाई ? मेरो त कहिल्यै ईज्जत गरिनौ गरिनौ , कम्तिमा आफ्नो त ईज्जतको ख्याल राख ? ‘
‘ के रे ? के भन्यौ रे ? त्यो बुढो भ’को मान्छेलाई ? तेत्रा हुर्केका छोराछोरी छन । श्रीमती छिन् , तिमीले कसरी यस्तो असत सोच्न सक्यौ ? त्यै पनि आफ्नै श्रीमती माथी ? गाउँलेले के भन्छन् के भन्दैनन् ? गाउँलेको कुराको पछि लाग्छौ तिमी ? तिमीलाई तिहारमा गँगेदाइको हातको फूलटिका लगाएर देखाउनु पर्यो कि तामा तुल्सी छुनुपर्यो मैले भन ए असती ? तिम्रा मुखमा त भोली नै स्याउँ स्याउँती किरा उब्जिन्छन् । हेरीमात्रै राखन किरा परेर मरेनछौ भने तेतीखेर मलाई भन्नु । कहीँ नभा’को जान्ने अक्कडो । क कस्को के के कुरा सुन्छ र मलाई नानाथरी भन्छ । ‘ रुँदै साबित्रीले उसलाई सरापी र कोठामा पसी । त्यो दिन दिनभरी नै रोईरही उ ।
जतिसुकै बैगुनी भए नि आँखिर स्वास्नी नै हो । अन्तत उसलाई माया लागेर आयो । हतार मुख फोरेर प्रमाण बिनाको कुरा ओकलेकोमा पश्चताप पनि लाग्यो उसलाई । राती उसले माफी माग्यो र करले भात खुवायो ।
भोलीपल्ट देखि नै केटाकेटीहरु पढाउन र प्रौढ महिलाहरुलाई पढाउन उसले गँगे कार्कीकै घर जानु नै पर्थ्यो गई । उसको काम नै हो , शिबरामले आपत्ती जनाएन तर फेरी पनि ब्रत छ भन्दै ढिकीमा जाने निहुँले उसले गँगे कार्कीको घरजान छोडिन । उसलाई यत्ति नै मन पर्दैनथ्यो । ‘ गाउँका मान्छेहरु एकोहोरो खनिए भने नखाएकै विष पनि लाग्न के बेर भोली उसकी साबित्री गाउँ समाजको अगाडी बद्नाम भै भने उसले पनि कसरी मुख देखाउने ? उसले भनेजस्ती छैन तर स्वास्नी त उसैकि हो । बेईजत उसैको हुन्छ । अब के गर्ने ? ‘ उ सोच मै डुब्न थाल्यो र अन्तत गँगे कार्कीको ढिकी भत्काएर काम नलाग्ने नै बनाएर छाड्ने अठोटमा पुग्यो उ ।
एकसाँझ भात खाँदैगर्दा उसले साबित्रीलाई भन्यो , ‘ आज मलाई तल्ला गाउँ जानु छ , गोठ छाउनलाई निरेको बाउलाई भन्नुपर्यो म अहिले नै जान्छु है । ‘ उसले स्विकृती मागेको देखेर साबित्रीले साबिकझैं चढिएरै भनी , ‘ राती हुँदो किन जानु पर्यो ? तिमीलाई भोली बिहान हुँदैन र ? बिहान गए पनि त हुन्छ । ‘
बोली चढिएको भएपनि आज उसले त्याँहा प्रेम मिसिएको देख्यो र मनमनै दँगहुँदै भन्यो , ‘ हुन्छ नि बिहान त तर बिहान भएदेखि रात हुन्जेल सम्म मेरो फुर्सद कैले को दिनमा हुन्छ र ? फेरी भएन बिहान गएर निरेका बाउलाई पनि त भेटिँदैन उनि पनि त काममा निस्कन्छन् त्यसैले मैले त अहिले नै जानु पर्छ । ‘
‘ हुन्छ जाउ तेसो भए तर अलि ख्याल गरेर हिंड्नु , रातीको माम्ला काल जमाना ठिक छैन । कतिबेला आ उँछौ ? ‘ यो पल्ट साँच्चै नरम भएर साबित्री बोली मानौं उनिहरुबिच कहिल्यै मनमुटाब भएको थिएन ।
‘ ख्वै , लाग्ला नि डेढ दुई घण्टा पुगेपछि यसो कुराकानी गरिहालिन्छ । ‘ भात खाईसकेर चुठ्न उठ्दै उसले भन्यो ।
‘ ल ल आएर मलाई बोलाउनु नि , म भित्रबाट चुकुल लगाएर बस्छु । ‘ साबित्रीले सत्य साबित्रीकै छाँटले भनी । हात चुठेर ‘ल म गएँ ‘ भनेर शिबराम हिंड्यो । खासमा उसलाई निरेका बाउकोमा हैन गँगे कार्कीकोमा जानुथियो । आज उसले गँगे कार्कीको ढिकी भत्काएरै छाड्ने विचार लिएको थियो त्यसैले अलि चकमन्न होस भनेर उ खेतमा गएर निक्कैबेर धुम्धुम्ती बसिरहयो र अब चैं गँगे कार्कीको घरमा सबै सुतिसके भन्ने भएपछि उ सरासर त्यतै लाग्यो ।
गँगे कार्कीको ठुलो घरको पछिल्तिर बारबेर गरेर चट्ट पारेर हालेको हालिएको थियो ढिकी । घरका सबै मान्छे माथ्लो तलामा सुतिसकेपछि तलबाट आएर ढिकी भत्काएको कसैले पत्तो पाउँदैनन् भन्ने उसको ठम्याई थियो । सुमुसुमु अँध्यारोमा गँगे कार्कीको ढिकीनेर पुग्दा उसले कोही गुनुगुनु बोलेको सुन्यो र अँध्यारैमा बेराको आड लागेर कान थापेर सुन्यो ।
ढिकीनेर बाट उसकै स्वास्नी साबित्री मसिनो स्वरमा भन्दैथिई , ‘ अब त मेरो बुढोले पनि पत्तो पाईसक्यो हाम्रो कुरा । गाउँभरी गन्हाईसकिस् भन्दैथियो मलाई । त्यो नामर्दसँग त म मरे नि बस्दिनँ अब कि त मलाई भगाएर लैजानुस् कि चैं कान्छी स्वास्नी बनाएर हुल्नुस् घरमा जे पर्ला देखा जाएगा । ‘
‘ अलि ठण्डा दिमागले सोचन मेरी साबि , आवेशमा आएर केहि पनि काम बन्दैन । कि चैं यो बच्चा पनि गिराउ पहिले कै जस्तै नत्रभने घरमै पाउ न त्यै शिबेको भन्नु क्या कस्ले थाहा पाउँछ ? अब यो उमेरमा कहाँ तिमीलाई भगाएर हिंड्नु म ? घरमा हुल्न पनि भनेको जस्तो सजिलो कहाँ हुन्छ ? ‘ गँगे कार्कीले पनि उसैगरी मसिनो आवाजमा बोलेको सुन्यो शिबरामले । उसलाई अगाडी सुन्नु नै के बाँकी थियो र ? उसको ओठतालु खक्रक्कै भएर सुक्यो । अँध्यारैमा उसले चारैतिर झिल्झिल सितारा देख्यो । हिँजोसम्म तामा तुल्सी छुने , तिहारमा फूलटिका लाउने कुरा गर्ने स्वास्नीलाई त्यहीँ गएर भकुर्न मन लाग्यो । ठाउँको ठाउँ एक्कै ताल हानेर गँगेको ज्यान लिन मन लाग्यो तर उसले केही गरेन ।
सम्हालिएर उ लुरुलुरु घर फर्क्यो । ‘ हे भगवान ! मैले किन यस्ती स्वास्नी पाएँ ? यो कि त मरे हुन्थ्यो कि त आजै राती त्यै गँगेसँग पोईला गए हुन्थ्यो । भोली मैले यो गाउँ समाजमा कसरी मुख देखाउंने ? म मर्नु कि बौलाउनु प्रभु ? ‘ भगवान पुकार्दै घर फर्केको शिबराम रनाहामा परेर अँध्यारोमा कता लाग्यो घर आईपुगेन ।
(स्रोत: Jadit’s Blog )