~दीपक जडित~
दक्षिण एसियाली मानब अधिकारकर्मीको अन्तरक्रिया अमेरिकामा , साँझको पत्रिकामा समाचार छापियो । दैनिक पत्रिकाले यो समाचार लेखिसक्नै भ्याएको थिएन । सुन्दरमानको सेलफोन घन्किन थाल्यो । अनेक प्रकारका कलहरु आउन थाले । यात्राको शुभकामना दिने र कार्यक्रमको सफलताको शुभकामना दिनेहरु पनि कम थिएनन तर धेरैजसोले सुन्दरमानलाई मानब अधिकारकर्मीको टोलीमा सामेल गराएर एकजनालाई अमेरिका सम्म पुर्याउन सकिन्न भनेर सोधेका थिए । सुन्दरमानले मान्छे हेरीहेरी जवाफ दिए । कसैलाई त्यो त सरासर मानब तस्करी भै हाल्यो नि भने । कसैलाई होईन हजुर मानब अधिकारको निम्ती डटेर लागेको छु म यस्तो काम कसरी गरुं भने । धेरैलाई टाल्दै गएपनि यस्तै कलहरु आउने क्रम जारी नै थियो । अन्तत: कल गर्नेमध्येको यौटालाई उनले प्रश्न गरे , ‘ हामी यो कुरालाई कतिको गोप्य राख्न सक्छौं त ? ‘ उताबाट जवाफ आयो , ‘ त्यसको धन्दा नमान्नुस् न । म समाजमा तपाईंको ईज्जतमाथि आँच आउन दिउंला त ? ‘ सुन्दरमान एकछिन घोरिए र भने , ‘ हुन्छ नि त त्यसो हो भने । टोलीमा मिलाउंला तर हामीहामीको कुरा हो हजुर अहिले त यसकामको दरभाउ १२ भन्दा माथि पुगेको छ नि , तर म हजुरको लागि १२ मै गरुँला नि । ‘
दुबैतर्फ सहमती भयो । भोलीपल्ट सुन्दरमानले अधिकारकर्मीको टोलीमा थपघट गरे । भित्रभित्रै दरभाउ बुझ्ने बुझाउने काम भयो । सुन्दरमानको टोली अमेरिका पुगेर यौटा मानब उतै थन्को लगाई उद्धार गरेर फर्कियो । भित्रभित्रै भएको यो खबर पत्रिकाले सुईंको पनि पाएन । त्यसैदिन सुन्दरमानले पत्रकार सम्मेलनमा खाडी मुलुकमा बेचिए सरी ठगिएका नेपालीहरुको हकका लागी एकहप्ताभित्रै फेरी यौटा टोली खाडी मुलुक जाने जानकारी गराए ।
(स्रोत: Jadit’s Blog )