~कवी शिरोमणी लेखनाथ पौड्याल~
म बस्ने कोठाकै दलिन-बिचमा गौंथली बस्यो
पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो ।
मलाई त्यो देखी हृदयबिच लाग्यो किरकिरी
चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ।।१।।
अहो !! त्यस्ता ताता नजर अति राता विष सरी
तरी तात्यौ बाबा ! किन मनमनै त्यो रिस गरी ।
तिमी धर्मात्मा छौ घरबिच म छू आज अतिथि
तिथी माघे औंसी शहरभर भूकम्प-फजिती ।।२।।
जहाँ बस्थ्यौँ हामी भवन उहि पातालमय भो
चल्यो भारी हा हा नसहिसकनू नै प्रलय भो ।
कहाँ पाऊँ ठाडो घर, कसरि ओतौँ शिर भनी
दुवै भाले-पोथी फनफन घुम्यौँ व्याकुल बनी ।।३।।
बिरालोको फेरि अधम चिलको, काग शठको
शिकारी बोहोरी, कुकुरहरुका दुष्ट हठको ।
परी शङ्का भारी सबतिर बिचारी डुलिडुली
निराशामा रुन्थेँ अघि अघचिलो ठाम नमिली ।।४।।
यहाँ तिम्रो सानू घरमहल वा रामझुपडी
खडा देखी राम्रो गगन-बिच खेल्दै लडिबुडी ।
पसेको हूँ बाबा ! अलि दिन बसूँला कि म भनी
प्रियाको आगामी प्रसव दिनको उत्सव गनी ।।५।।
तिमी भन्छौ मेरो सकल घर यो खास यसमा
चरी फुस्र्यो सानू कुन चिरबिरे रङ्गरसमा ।
म भन्छू हे बाबा ! घरमहल मेरो छ नभन
पलामा घर्केका घरउपर दौडाउ नयन ।।६।।
निमेषैमा भत्की घररर गरी घर्र त्यसरी
ढली ज्यानै हर्ने घर छ डरको दीर्घ भुमरी ।
विधाताको भित्रै मधुर करुणाको रस परी
परेनौँ तै हामी विकट भुमरीमा अरु सरी ।।७।।
तिमी जान्ने सुन्ने मनुज चतुरा, हामी बिचरा
चरा साह्रै साना अबुझ वनका केवल किरा ।
तथापी श्रद्धाले झुकि विनति गर्छू म सरस
वृथा मेरो भन्ने जटिल ममता-ग्रन्थि नकस ।।८।।
खुला पारी राम्रोसँग नयनको भित्र नयन
बिचारी यी सारा गृह-विभवको चञ्चलपन ।
दयालू भै रोऊ मिलिजुलि सबै वान्धवसित
भलो होला जाऊ, रिस नगर रन्केर मसित ।।९।।
कुनै पल्टेका छन् मलिन मुख लाई रुखमनि
कुनै रुन्छन् बाटो-बिच नमिलि सानू रुख पनि ।
कुनै भोका शोकाकुल मरिरहेछन् नगरमा
हरे ! तिम्रो यस्तो कुन तुजुक यो तुच्छ घरमा ।।१०।।
त्यहाँ त्यो शय्यामा गर तिमि खुशीसाथ शयन
यहाँ यो डन्डीमा बसिबसि म चिम्लन्छु नयन ।
अरू सेरोफेरो सब मुफत मेरो छ नभन
अघी मेरो भन्ने कतिकति गए ती सब गन ।।११।।
उघारी त्यो भारी मधुर करुणा-द्वार मनको
गरी रक्षा सारा विकल बिचरा दीन जनको ।
यता विश्व-प्रेमी बन। मनुज चोला सफल होस्
उता स्वर्गद्वारा क्षणभर पनी बन्द नरहोस् ।।१२।।
तिमीभन्दा लाखौँ गुन अझ धनी मानिस पनि
डुलेका छन् बाबा ! फगत भिखमङ्गासरि बनी ।
विधाताको सारा अघट घटना सम्झ मनमा
सबै मेरो मेरो भनि नभुल यो मोह-वनमा ।।१३।।
कदाचित् यो तिम्रो भवन चकनाचूर पहिले
हुँदो हो ता हुन्थ्यो कसरि किन यो भेट अहिले ।
दया राख्यो भारी सदय विधिले सङ्गत भयो
सुन्यौ मेरो सानू चिरिबिरि, सबै पाठ पढ यो ।।१४।।
कसै सक्तैनौ यो यदि तिमि भने घच्च सहन
मलाई द्यौ बाबा ! फगत अब यो रात रहन ।
म भोली नै जान्छू नृपतिसँग भूकम्प कहन
पखेट छन् सक्छू अझ त नभमा सर्र बहन ।।१५।।
गरी यस्तो राम्रो चिरिबिरि चरी त्यो चुप भयो
भनेँ मैले भैगो तँ बसि कुहि दे गैह्र घर यो ।
पखेटा पैँचो दे बरु म पछि आएर तिरुँला
दयाधारी राजासित सकल मै विन्ति गरुँला ।।१६।।
वि सं १९९२
शारदा वर्ष १, संख्या ७