कथा : नयाँ घर

~दीपक जडित~

जसोतसो यौटा सानो किराना पसलले दिलबहादुरको घर चल्दैथियो । काठमाण्डौ जस्तो महानगरमा बसेपछि थोरै पुँजी हुनेहरुलाई जीवन धान्न त्यती सजिलो कहाँ हुन्छ र ? छनत तिनजनाकै मात्रै परिवार छ दिल बहादुरको तर पनि आफ्नो घर छैन । दुई कोठा भाडामा लिएर सारा संसारै त्यसैलाई सम्झनु परेको छ । पहिले छोरो सानै हुंदा यौटा कोठा सुत्न बस्नको लागी प्रयोगमा आउंथ्यो र अर्को भान्सा तथा राखनधरन को लागी । अब छोरो हुर्कंदै गएपछि त्यो पनि रहेन । छोरोलाई यौटा सिंगै कोठा चाहियो भने यता दिल बहादुर र उसकी श्रीमतीलाई भने भान्सामै सुत्ने बस्ने गर्नुपर्ने भयो ।

दिल बहादुरको पसलको आम्दानी पनि भन्नु मात्रै छ । राम्रो होस पनि कसरी त्यती चहलपहल नै नहुने गल्ली भित्र सानो कोच्याक्रो परेको पसल छ । धन्न यौटा छोराको स्कूल खर्च धानेर तिनजनालाई रुखो सुखो ख्वाएको छ ।

त्यसो त गर्नेले यस्तै सानो पसल गरेर पनि कमाएका छन । घर जग्गा जोडेका छन । कतीले गाडीनै चढेका छन तर दिल बहादुरको त खै पुर्पुरोमै छैन क्यार । हुनत तराईतिर दिल बहादुरको तिन चार बिगाहा जमिन पनि छ तर जग्गा जमिन भएर मात्र पनि भएन त्यसको भोग चलन गर्न पनि पाउनु पर्यो । आफैंले खनजोत नगरे पनि त्यती थोरै जग्गा हुनेले कसैलाई अधिया ठेक्कामा दिएर त्यसको आम्दानी सम्म खान पाउने भए पनि दिल बहादुरलाई निक्कै हुनेथियो तर पञ्चायतीकालमा गाउँ पञ्चायतको उप प्रधान भएको दिल बहादुरलाई आज आएर त्यतीबेला उप प्रधान हुनुकै अभिषापले घरबार छोडेर काठमाण्डौ भाग्नु पर्यो । तराईको उस्को भएजती जग्गा अहिले सबै माओवादी जनसरकारको कब्जामा छ । दुई पटक सम्म आफ्नो धेरै सम्पती नभएको र आफुले उप प्रधान भएको बेला पनि शोषण गरेर वा भ्रष्टाचार गरेर कुनै सम्पती नजोडेको सफाई दिन पनि पुगेकै हो दिल बहादुर तर जनसरकारका मान्छेहरुले उस्लाई तँ पञ्चे होस त्यसैले तेस्रो पटक पनि यो जग्गामा हकदाबी गर्न आईस भने तेरो घाँटी छिनाईदिन्छौं । तैंले शोषण गरेको थिईनस र नै आजसम्म तेरो ज्यानमा तलवितल भएको छैन भन्ने धम्की पुर्ण जवाफ दिए । त्यसपछि दिल बहादुर फर्केर गाँउ गएको छैन । तिन चार बिगाहा जग्गाको पछि लागेर ज्यानै फाल्न पनि कहाँ सक्थ्यो र दिल बहादुर बरु गाउँको जग्गा माया मारेर काठमाण्डौमा नयाँ जोडजाम गर्न लागीपरेको छ ।

काठमाण्डौ आउंदा पाँच वर्षको छोरा र श्रीमतीको साथमा आएको दिल बहादुरले गाउँको घर बेचेको पैसाले सानो पसल शुरु गरेको थियो । अहिले आएर छोरा हुर्केर प्लस टु पढ्ने भै सक्यो तर पसल भने हुर्काउन बढाउन सकेको छैन ।

पढाईमा होनहार छ दिल बहादुरको छोरा – नविन । सरकारी स्कूलमा पढाउंदा चिनेजानेका जती सबैले छोराको भविश्य किन बर्बाद गर्छस ए दिल बहादुर ? भोली तेरो छोरो ठुलो मान्छे हुन्छ राम्रो स्कूलमा हालिदे भने । हुनपनि हो उस्को सम्पती भन्नु नै त्यै यौटा छोरा त हो । आफुले त केहि नै गर्न सकेन जीवनमा भोली त्यही छोराले केहि गर्यो भने बुढेशकालमा सुखको दिन देख्न पाउंछ उस्ले त्यसैले आफ्नो र श्रीमतीको खाने लाउने ईत्यादी खर्च कटाएर भएपनि छोरालाई राम्रो स्कूलमा हालेको छ ।

ठुलो हुँदै गएपछि छोराले घरको समस्या बुझ्ला भन्ने लागेको थियो दिल बहादुरलाई तर परिणाम उल्टो देखा पर्दै गयो । राम्रो स्कूलमा हाल्नुकै परिणाम – हुनेखानेका छोराछोरीसंगको संगतले होला दिलबहादुरलाई छोराले दिनहुं कचकच गर्न थाल्यो , ” साथीभाई छन । उनेरकोमा नि गईन्छ , कैलेकाहिं उनेरलाई पनि ल्याउनु पर्छ । खै आफ्नो त घर पनि सुँगुरको खोर जस्तो छ । यत्रो भै सक्यो काठमाण्डौमा बसेको यौटा घर पनि बनाउन नसक्नेले किन छोरा जन्माउनु ? ” छोराको दिनदिनैको यस्तै गन्थनले दिल बहादुर रुन सम्म सक्दैनथ्यो ।

धन्य मलाई बा आमाले दुखजिलो गरेर राम्रो स्कूलमा पढाईरहेकाछन । मैले भोली बा आमालाई सुख दिनु पर्छ भन्नुपर्ने छोराले संधै कचकच गर्न थालेपछि दिल बहादुर कि श्रीमतीले माईती तिर गएर रोईकराई , हारगुहार गरेर उस्को पसल भएकै गल्लीको भित्रपट्टी बाटो न घाटोको चार आना घडेरी किनेकी थिईन ।

माईतीको ठुलो मन हुने हो भने अथवा छोराछोरी दुबैले बाबुआमाको सम्पती बराबर अँशभाग पाउने हो भने दिल बहादुर कि श्रीमतीले पनि काठमाण्डौमा भने जस्तो ठाउँमा भनेजस्तो घर बनाउन सक्ने थिईन तर छोरी परिन उनि छोरी पनि अर्काको घर गै सकेकि त्यसैले माईतीले त्यती चार आना घडेरी किन्न सघाउंदा पनि पछि शान्ती भएर गाउँको जग्गा फिर्ता भएपछि ब्याज सहित तिर्ने शर्तमा मात्र सघाए ।

जसरीतसरी होस छोराकै निंती घर बनाउनको लागी दिल बहादुर कि श्रीमतीले घडेरी जोडेरै छाडिन अनि दिल बहादुरले पनि रिनपान , सरसापट गरेर दुई ट्रक जती ईंटा उसकै घडेरीबाट नजिक पर्ने गरी अर्काको खाली जग्गामा राखेको सम्म पैसा तिरेर राखेको छ । जसरी होस तिन महिना भित्रमा नक्सा कोराएर जग खन्ने योजनामा छ दिल बहादुर तर समयले नै साथ दिदैन उसलाई । महिनामा एकदुई पटक हुने बन्द हड्तालले त उस्को योजनालाई ठुलो असर पुर्याउथ्यो अब त झन दिनहुँ जसो बन्द हुन थालेको छ

आजभोली लाखौं लाख मानिसहरु सडकमा निस्किएर जिन्दावाद मुर्दावादको नारा लागाउछन । राजतन्त्रको जरै उखेलेर फाल्न अनि गणतन्त्र स्थापना गर्न मान्छेहरु हत्केलामा ज्यान राखेर नारा जुलुसमा सहभागी हुन्छन ।

त्यसै त चैत्रको तातो घाम काठमाण्डौको साँघुरा सडकहरु घामले तातेर आगो बल्ला झैं भै रहेको त्यसमाथी सडकभरी ,चोकचोकमा जताततै टायरको थुप्रो भेला गरेर दनदनी आगो बाल्दा र त्यसको कालो मुस्लो धुँवाले उपत्यका ढाक्दा सारा काठमाण्डौ उपत्यका नै आर्यघाट झैं प्रतित हुन्थ्यो । छिनमै सलह झैं लाखौं नरनारीहरु उपत्यका नै थर्काउंदै नारा जुलुसका साथ सडक भरी निस्कन्थे मानौं कि काठमाण्डौमा अर्को यौटा सुनामी आईरहेछ । छिनमै आर्मी र प्रहरीले निहत्था जनताको जुलुसमाथी अन्धाधुन्ध लाठीचार्ज गरेर अनि गोली बर्षा गरेर घाईतेहरु र मृतहरु मात्र सडकमा रहँदा फेरी लाग्थ्यो कि तहसनहस गरेर सुनामी भर्खरै गएको छ ।

प्रशासनको दमन देखेर दिल बहादुरको पनि रगत उम्लिन्छ । उस्लाई पनि जुलुसमा सहभागी हुने इच्छा जागेर आउछ तर फेरी गाउँमा जनसरकारका मान्छेहरुले उस्लाई तँ पञ्चे होस भनेको सम्झना आउंछ र चाहेर पनि उ जुलुसहरुमा सहभागी हुन सक्दैन ।

दिल बहादुर मनमनै आफैंलाई धिक्कारेर थुक्छ । उहिले पञ्चायतकालमा उप प्रधान भएकोमा उस्लाई आफैं देखि घृणा लागेर आउंछ । आज उ आफुलाई घर न घाटको ठान्छ । गणतन्त्रवादीहरुको कित्तामा छु भन्नलाई पनि उसलाई तिनिहरुले नै पञ्चे भन्ने गर्छन । पञ्चेहरुकै कित्तामा हुनलाई पनि आज कतै कसैसंग न उसको सम्बन्ध छ न त सरकारको कुनै रवैया नै उसलाई मन पर्छ ।

घरीघरी उस्लाई आफु यो देशको नागरिक त हुँ भन्ने कुरामै शँका लाग्छ ।

आन्दोलन चरम उत्कर्षमा पुगेको बेला एकदिन दिल बहादुरले घर बनाउन थुपारेको ईँटा केहि नौ जवानहरुले ओसार्दै गरेको देख्यो । उस्लाई ति नौ जवानहरुले ईंटाहरु कुन प्रयोजनको लागी ओसारीरहेछन भन्ने बुझ्न बेरै लाग्दैन । एकमनले दिल बहादुर खुशी हुन्छ । कम से कम मैले खरिद गरेको ईंटाले आर्मी र प्रहरीको प्रतिकार गर्न जनताको काम त गर्यो भन्ने लाग्यो उसलाई फेरी तुरुन्तै यौटा घर पनि बनाउन नसक्ने ले किन छोरा जन्माउनु भन्दै गरेको छोराको अनुहार आँखामा आयो र नौ जवानहरुलाई सम्झाएर म गरिबको ईंटा नष्ट नगरिदिनुहोस बाबु हो भन्नलाई त्यतै तिर लम्कियो ।

जसै दिल बहादुर ईंटा ओसार्दै गरेका नौ जवानहरुको नजिक पुग्छ । भिंडबाट यौटा परिचित आवाजले उस्लाई हकारेझैं लाग्छ । एकछिन सम्म उस्ले कता कस्ले कस्लाई के भन्यो पत्तो पाउंदैन । अरुलाई भनेको हो कि आफुलाईनै भनेको हो ठम्याउन नपाउंदै त्यहि भिंडबाट दुबै हातमा ईंटाको टुक्रा बोकेर उस्को छोरो उ भएतिर निस्कियो र झपारेको स्वरमा भन्यो , ” हैन तपाईं बुढो मान्छे यहाँ किन आउनु भ’को ? खुरुक्कन घर गएर बस्नु । यहाँ तपाईंको काम छैन । “

दिल बहादुरको गोडा जहाँको तहिँ अडिन्छन । एकै निमेशमा उस्को मनभरी यति कुराहरु खेल्न थाल्छन कि उ अवाक हुन्छ । जुन छोराको लागी घर बनाउन भनेर अनेक तरहले उस्ले केहि ईंटा जुगाड गरेको थियो आज त्यहि छोराले नै त्यो ईंटाहरुको सर्बनास गरिरहेको छ ।

” हैन घर जानु भने पछि जानु नि खुरुक्क । किन यहाँ उभिईराखेको ? ” छोराको गर्जनाले झस्किन्छ उ । सम्हालिने कोसिस गर्दै दिल बहादुर छोरालाई भन्छ , ” अनि बाबु यो ईंटा ……? घर…..? त्यत्रो पैसा……..? ” दिल बहादुरलाई छोरालाई के भनें थाहा हुदैन । जती सम्हालिएर बोल्न खोजेता पनि स्पस्ट संग केहि भन्न सक्दैन उ तर छोराले बुझ्छ दिल बहादुरले भन्न खोजेको कुरा , ” यत्रो देशमा घर नहुने हामी यौटा परिवार मात्रै हौं र ? जब यो देश नै लाखौंलाख गरिबको लागी घरजस्तो छैन भने तपाईंले तिन कोठाको घर बनाए पनि नबनाए पनि के फरक पर्छ र ? अब चाहिंदैन मलाई घर सर । यो देश नै मेरो घर हो यसैलाई नयाँ बनाउन पाए पुग्छ मलाई । ” दिल बहादुरले आफ्नो छोरालाई यस्तो रुपमा देख्छु भनेर कल्पना सम्म गरेको थिएन । उसले सानो सम्झेको छोरो कतिखेर कतिखेर ठुलो भएछ थाहै थिएन उस्लाई ।

” ए ! भाग भाग , आयो आयो । ” , ” ठोक ठोक त्यसलाई ठोक । ” एक्कासी भिंडमा खैलाबैला र भागाभाग मचियो । दिल बहादुरले हेर्दाहेर्दै उस्को छोराको छाती भ्वाङ्ग पर्यो र रगतको भल बग्न थाल्यो । भुईंमा ढल्दै गरेको छोरालाई समाउन अघि बढ्दै गर्दा दिल बहादुरको आँखाभरी अँध्यारो छायो ।
होस खुल्दा दिल बहादुरलाई निधारमा तारा भएको रातो रुमाल बाँधेका केहि अपरिचित अनुहारहरुले पानी छर्कंदै थिए । भुईंभरी छताछुल्ल पोखिएर लगभग कट्कटीएको उस्को छोराको रगत माथी उ थियो । वरपर झण्डै दुई दर्जन रँगी बिरँगी चप्पलहरु छरपस्ट थिए । उस्को छोराको मुर्दा शरिरलाई ठुलो तारा भएको रातो झण्डा ओढाईएको थियो । छेवैमा तारावाल रातो रुमालधारी यौटा अपरिचित मोवाईलमा कसै संग दोहोरो सम्बाद बोल्दै थियो । अर्को पट्टीको आवाज अस्पस्ट भएपनि उस्ले भन्दैथियो –

” कामरेड नविनले शहादत प्राप्त गर्नुभयो ।”

“……………………………..”

“कामरेड नविनका पिता “

“……………………….”

” हजुर । कामरेड दिल बहादुर । “

“…………………………………”

” खुल्यो खुल्यो । होस खुल्यो । “

“…………………………………………”

“हवस कामरेड । हामी सहादत प्राप्त कामरेड नविनको पार्थिव शरिरलाई झण्डा ओढाएर नगर परिक्रमा गराउनेछौं । “

“………………………………………………….”

” लाल सलाम कामरेड !!”

(स्रोत: Jadit’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.