~गीता खत्री~
न्युयोर्क, अमेरिका, ५ डिसेम्बर
आखिर किन यो मन कहिले मुलायम नौनी भन्दा नरम त कहिले हाडे ओखरभन्दा कडा भईदिन्छ । मान्छेभित्रको भावनालाई लगाम लगाउन पनि त सकिन्न । मन समय समयमा साह्रै बरालिन्छ, काबुमा राख्छु भन्दा भन्दै यो हावा भन्दा छिटो कहा पुग्नु पर्ने हो के गर्नु पर्ने हो गरिहाल्छ ।
आजको पारिलो घाम मलाई औधि प्यारो लागिरहेछ । कहिले यही घामले अत्तालिने गरेर पोल्छ । कहिले यही घाम प्यारो । हावाले पनि मन्द मन्द मुस्कान छोड्दै अगं अगंमा तरगं ल्याए जस्तो भईरहेछ । मेरो मन त्यसैत्यसै पुलकित भईरहेछ ।
यत्तिकैमा एकजोडी युवा र युबती कतातिरबाट हो म बसीरहेको मेचसंगै बस्न आउंछन् । खाजा खाने समय भएर होला पार्कमा कुनै मेच खाली छैन, सडकका पेटीहरु भरिभराउ छन् । सबै आ-आफ्नै धुनमा । म एकजना मित्रको प्रतिक्षामा त्यहां बसीरहेको थिएं । ती जोडी कति छाडा भइरहेका छन्, आफ्नो रासलीलाको प्रर्दशनी गरिरहेका छन् । उनीहरुलाई न कसैको लाज न कसैको डर । मानिस र पशुबिचको फरक पनि थाहा नभए जस्तो गरिरहेका छन् । रोमाण्टिक मृ्डमा छन् उनीहरु ।
पश्चिमेली मुलुकहरुमा सबैको अगाडि अगं प्रर्दशन गर्ने, एक आपसमा माया गर्ने, अंकमाल गर्ने तथा अन्य रासलीला जस्ता कार्यहरु गर्नु साधारण नै हो । मेरा अगाडि भरखरै आएर बसेका ती जोडीहरु पनि पश्चिमेली खुल्ला सिद्धान्तका अनुयायी भएर एक आपसमा खुब चाहन्छन, खुबै माया गर्ने जस्तो देखिन्छन । पश्चिमी मुलुकतिरको माया र चाहना पनि अनौठो छ । हेर्दा ज्यादै गहिरो माया भएको जस्तो, जुनी जुनी माया बस्छ की जस्तो । उनीहरुको माया पाइला पाइलामा भए जस्तो, बातैपच्छिे कृतज्ञताका शव्दहरु सभ्यताको चरमोत्कर्षकै नमुना हुन की जस्तो लाग्छ । तर व्यवहारमा भने त्यस्तो देखिन्न । उनीहरुको माया त कर्कलाको पानी जस्तो छ । पातलो हावाको झोक्काले पनि सलक्क झारी दिन्छ । बैबाहिक जीवन पां“च छ बर्ष नघाउंदा बडो अनौठो पो मानिन्छ । बिबाहका अवसरमा आफन्त र साथीहरुले दिने आर्शिवाद पनि “लामो सम्बन्ध रहीरहोस्” भन्छन् । प्रसिद्ध गायिका ब्रिटनी स्पेयर्सको सन् २००४ मा भएको विबाह त ५५ घण्टामा नै अदालतमा पुगी सकेको थियो । ती गोराहरुको जोडीले मेरै अगाडि आएर छाडाकाम गरेको मलाई मन परेन । उनिहरु आउनासाथ जुरुक्क उठेरजानु पनि अलि असभ्य पो हुने हो की जस्तो ठानें । मलाई भित्रभित्रै उकुसमुकुस भइरहेको थियो । मैले घाममा लगाउने चस्मा खोजें । त्यो पनि बिर्सेछु । हेर्दाहेर्दै युवकको हात युवतीको सबै अंगहरुमाथि बिस्तारै घुम्नथाले । युवती सीमा नाघिसकेको जस्तो गर्नथाली । म अर्को ठाउंको खोजीमा लागें र अलिपर गएर बसें ।
संधैंझैं दिउंसोको खाजा खाने समय भइसकेको थियो । त्यसैले म खाजा खाने ठाउंको वरिपरि मेरो मित्र स्याण्डीलाई कुरेर त्यहां बसको थिएं । यतिबेला यो ठाउँमा असाध्यै भिड हुन्छ । रेष्टुरेण्टमा बसेर खानेको भन्दा बाटोमा उभिएर खानेहरुको भिड बढी हुन्छ । रेष्टुरेण्टमा बसेर खाँदा महंगो पनि हुन्छ र समयपनि धेरै लाग्छ । दुबैलाई किफायती हुने भएकोले गाडामा बनाएर बेचेको खानाको लामो लाम भएपनि धेरै बेर कुर्नु नपर्ने र मीठो पनि हुन्छ । नौ दश बर्ष अघि मैले यही ठाउंमा स्याण्डीलाई चिनेको । मेरो अनुमानमा उनको उमेर करिब-करिब पैसठ्ठी बर्ष जति हुनुपर्छ । पातलो जीउ, लाम्चो अनुहार, खेरौ कपाल अलिअलि फूलेर मरिचको धुलोको जस्तोरङ्ग बनेको छ । त्यसलाई थाई कटिङमा राखेकी छिन् । कुरा गर्दा पनि उनलाई कपाल मिलाई रहनुपर्छ, बिचबिचमा टाउकोलाई दाहिनेपट्ट िहल्लाइरहन्छिन र कपाल आँखासम्म आउने र जाने क्रम बनाई रहन्छिन । लुगाहरु पनि चटक्क मिलाएर लगाउछिन् । तर ती लुगाहरु त्यस्ता दामी भएजस्तो मलाई लाग्दैनन् । कहिलेकांही उध्रिएकै लुगा लगाएर पनि आउँथिन । अनि नजा“निदो किसिमले मित्रहरुको नजरबाट लुकाउने प्रयास गर्थिन । यसबाट उनि सामान्य किसिमको न्युयोर्कबासी हुन भन्ने थाहापाउन गाह्रो हुन्न ।
नौ दश बर्ष अगाडिको कुरा हो, एक दिन खानाखानेहरुको भिड थियो । बाटोमै उभिएर खान पनि उनीलाई असजिलो भइरहेको थियो । एउटा हातमा सोडा थियो, अर्को हातमा खाना । बस्ने ठाउं कतै मिल्छ की भनेर उनी यताउता हेर्दै थिइन । म बसेको मेचमा थोरै ठाउं बांकी थियो, मैले उनलाई हेर्दै- “यहां बस्न सक्नु हुन्छ नी” भनेर भनेको थिएं । मेरो परिचय उनीसंग त्यही दिन भएको थियो । मैले नसोधीकनै उनले मेरो नाम सान्ड्रा हो । तर सजिलोको लागि सबैले “स्याण्डी” भन्छन् भनिन् । मैले पनि आफ्नो नाम भन्न करै लाग्यो । उनि नजिकैको भवनमा काम गर्ने रहिछन् । त्यसबेलादेखि प्रायजसो त्यही समयमा त्यही थलोको वरिपरि उनीसंग मेरो भेट हुन थालेको हो । निस्वार्थ भेटघाटले उनीसँग मेरो बढी नै हिमचिम हुन थाल्यो । कहिलेकाँही म अबेर पुग्दा मैले खानेगरेको खाना किनेर मलाई पर्खी बस्थिन् । अनि हामीसँगै बसेर कुरागर्दै खाना खान्थ्यौं । केहीबर्ष पछि मैले उनलाई घरमा बोलाएर खाना खुवाएँ । खुबै मीठो मानेकोले कहिलेकाँही नयाँ कुरा पाक्दा उनीलाई सम्झेर लिएर पनि जान्थे र संगै बसेर खान्थ्यौ । उनीसँगै बसेर खाना खानेबेलामा जहिले पनि म मेरी आमालाई सम्झन पुग्थें । उनको उमेर र मेरी आमाको उमेर उस्तैउस्तै जस्तो भएकोले होला । त्यसैले पनि म उनीलाई बढी माया गर्थें ।
एक दिन मैले उनको जीवन र परिवार बारेमा निकै प्रश्नहरु गरें । कतिले त यस्ता प्रश्नहरु निको मान्दैनन् पनि । तर उनले भने मलाई बेलिविस्तार लगाइन । अनि केहीबेर अगाडि हामीले देखेका गोराजोडीहरुको छाडागतिविधिलाई देखाउंदै हाँस्दै भनिन् – समय भएसम्म यस्तै रमाइलोमा लागिन्छ, । जीवन स्वतन्त्र छ १ अठार बर्ष नाघेपछि हामीलाई नियन्त्रण गर्न पाइन्न भनेर बाबुआमालाई धम्काउन पाइन्छ, र धम्काइन्छ पनि । उनिहरुले नमानेमा घर नै छोडेर हिडिन्छ । अठारै बर्षा त मान्छे परिपक्व नहुंने रहेछ । अरुको लहैलहैमा लाग्ने, जे मन लाग्यो त्यही गर्ने गर्दा कलिलो उमेरमै धेरै समस्याहरु आउने रहेछ । एउटा समयमा म पनि कोलम्बिया विश्वविद्यालयको मेडिकलको विद्यार्थी थिएँ । बाबुआमाले भनेको मानिन, म एक्लै केहीगर्न सक्छु भन्ने ठृ्लो सहास र हिम्मत थियो । अठार बर्षको उमेरमा म निकै रा म्री पनि थिएं । म भनेपछि हजारौ केटाहरु ताँती लाग्थे र हुरुक्क हुन्थ्ये । मैले समय चिन्न सकिन । त्यसले मैले आफ्नो मनलाई अटल र दृढ संकल्पित राख्नै सकिन । कोलम्बियाबाट बाहिरन पुगें । कामको खोजीमा लाग्नु पर्यो । पर्ढाई कुनै बिषयमा पनि टुंग्याउन सकिन । जीवनभरै हातमुख जोडने प्रयासमा दौडिरहनु पर्यो । अहिले मलाई ठृ्लो पश्चाताप भइरहेकोछ । केटाहरुको लहैलहैमा लाग्दा मैले एउटा छोरीलाई जन्म दिन पुगें । पालन पोषण गर्नै पर्यो, दायित्वको बोझ अझ भारी हुदैं गयो । मलाई जस्तो दुख छोरीलाई नआओस् भनि सानैदेखि उनलाई सम्झाउने र राम्रोसंग पढ्नु पर्छ भन्ने कुरा सिकाउंदै आएँ । पढाइसकेपछि मात्र व्यक्तिगत स्वतन्त्रताका कुरा गर्नु पर्छ भन्ने ज्ञान दिने प्रयास गरिनै रहें । तर फेरि उहि इतिहास दोहोरियो । मेरी छोरी अहिले क्यालिफोनिर्याको एउटा बुटिकमा काम गर्दैछिन । उनले पनि हाइस्कृ्लमात्रै सकिन ।
एक्लो जीवन काम गर्दा गर्दा म जीवनदेखि थाकिसकेको छु । त्यसैले आउने नयाँ सालदेखि म निबृत्तभरण लिंदैछु नी । सरकारबाट दिने सामाजिक सुरक्षा भत्ता र निबृत्तिभरण भत्ता गरेर मलाई बस्न खान पुग्ने पैसा आइहाल्छ । औषधी उपचारको लागि पनि मेडिकेयर र अर्को इन्स्योरेन्स छंदैछ । कति दिन काममा दौडिरहने । काम गर्न नपर्ने भएर हो की यती भन्दा उनको अनुहारमा खुसीका लहरहरु देखिएका थिए ।
निबृत्तभरणमा बसेपनि हामी भेटघाटभने गरिरहनु पर्छ है । कहिले तपाई मेरो घरमा आउनु होला, कहिले म आउँला तपाईकोमा भनेर त्यो दिन म उनिबाट विदा लिएर हिडें ।
त्यसपछि एक हप्तासम्म मैले उनीलाई देख्दैदेखिन । फोन गरुंला भन्दा भन्दै घरको कामले गर्दा समय बिति गयो । यहाँको ठृ्लै पर्ब “थ्याक्संगिभिङ” आउंदै थियो, त्यसमा उनलाई बोलाउनु पर्यो भनेर हिजो मैले उनको घरमा फोन गरे । स्याण्डीको जस्तो स्वरमा उताबाट जवाफ आयो – हेलो, कस्लाई खोज्नु भयो । मैले भने – स्याण्डी म जेनी बोलेको, चिनिनौं – उताबाट जवाफ आयो – होइन म स्याण्डी होइन, म उनको जुम्ल्याहा बाहिनी हुं । मैले भने- “म स्याण्डीसँग कुरा गर्न चाहन्छु, दिनुस न” उनले भनिन् – “स्याण्डी त अस्ती बीस तारिखकै दिन मरिन नी । उनलाई हृदयघात भयो र उनलाई उपचार गर्नै पाइएन, उनी अब यो संसारमा छैनन् ।” म केही बोल्नै सकिन । टेलिफोन मेरो हातबाट आफैं खसेछ, म टोलाएर थचक्क बसें, उताबाट केहीबेरसम्म हेलो हेलो भनेको आवज आइरहेकै थियो, मैले फोन उठाउनै सकिन ।
म आफू बसेको ठाउँबाट उठ्दा अध्यांरो भइसकेको रहेछ । कसरी यति छिटो मरिन स्याण्डी मलाई पत्यारै लागिरहेको थिएन । नपत्याएर के गर्ने, बित्ने त बितिसक्यो । उनका कति मीठामीठा सपनाहरु बांकी नै थिए । निबृत्तभरण भएपछि नगएका ठाउंहरुमा घुम्न जाने, आफूसँग मन मिलेका साथीभाइहरुलाई घरमा बोलाएर खाना खुवाउने, रमाइलो गफ गर्ने आदि आदि । तर मान्छेले सोचे जस्तो नहुने रहेछ । समयले जता लैजान्छ मान्छे त्यतै जान परिहाल्यो । मान्छेको बसमा समय रहेनछ, समयको बसमा पो मान्छे रहेछ ।
मेरो मन अति दुखित भयो । यस्लाई शान्त पार्न उनको नाउँमा नुहाउनु पर्यो भनेर नुहाउन गएं । त्यसपछि धेरै अगाडि मैले मोबाइल फोनबाट उनको एउटा रा म्रो फोटो खिचेको थिएँ । त्यसलाई कम्प्यृ्टरमा डाउनलोड गरेर ठृ्लो बनाएँ । म फूलको शौखिन भएकोले घरभरि बिभिन्न थरीका फूलहरु थिए । एउटा राम्रो गुच्छा बनाएर ल्याएं । एउटा मैनबत्ती बालेर उनको नाममा एक्लै एक मिनेट मौन धारण गरें । उनका ती मीठामीठा बाँकी अधुरा सपनाहरु स्वर्गमै पनि पुरा होउन, यो जन्ममा पुरा गर्न नसकेका र गर्न खोजेका कुराहरु अर्को जन्ममा भएपनि पुरा होउन, उनको आत्माले चिरशान्ति पाओस् भनि फूलको गुच्छा चढाउंदै स्याण्डीलाई अन्तिम श्रद्धान्जली अपर्ण गरें । अस्तु ।
(स्रोत: Nepalpost )